डेढ महिनामा एकै क्षेत्रमा मारिए ४ बाघ

बारा – विश्वकै दुर्लभ वन्यजन्तु मध्येमा पर्छ बाघ । यसको संरक्षणका लागि विश्वका विभिन्न मुलुकले कडा कानुन बनाएका छन् । उनीहरूले संरक्षण क्षेत्र छुठ्याएर नै बाघ बचाइरहेका छन् । तर, नेपालमा भने बाघको संख्या बढे पनि यसको महत्त्व नबुझ्दा मारिँदैछन् र मानव–बाघ द्घन्द बढ्दै छ ।

गत मंगलबार मात्रै पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको वनमा एउटा बाघ गोली लागेको अवस्थामा मृत फेला पर्यो । यो पछिल्लो डेढ महिनामा मानिसका कारण ज्यान गुमाउने चौथो बाघ हो । यस अघि यो क्षेत्रमा नै तीन वटा बाघ मानिसबाटै मारिएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगत भन्छन्, ‘पर्सा निकुञ्जको वन क्षेत्रबाहेक यससँग जोडिएका वरपरका वनमा बाघको गतिविधि पछिल्ला वर्षहरूमा बढेको थियो । मानिससँग पनि बारम्बार जम्काभेट हुने र आक्रमण हुने क्रम बढेकाले कसैले निरन्तर हत्या गरेको हुनसक्छ ।’ उनका अनुसार पछिल्ला पटक मारिएका चार बाघमा दुई भाले र दुई पोथी बाघ हुन् । उनी थप्छन्, ‘यी घटनाले दुर्लभ बाघको संरक्षणमा चुनौती थपेको छ ।’

मंगलबार भेटिएको बाघको उमेर दुई वर्षको हुनसक्ने अनुमान वन प्रशासनको छ । बाघको कन्चटमा घाउ लागेको देखिएकाले उसलाई गोली हानिएको हुनसक्ने आंकलन प्रशासनले गरेको हो । यस्तै कोल्हवी सब–डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा मृत अवस्थामा फेला परेको पोथी बाघको कन्चटमा घाउ देखिएको सूचना अधिकारी भगतले बताए ।

गत फागुन २२ मा निजगढ नगरपालिका–४ मा पोथी बाघ, फागुन १६ गते पर्साको सखुर्वा प्रसौनी गाउँपालिकाको मनवा भन्ने स्थानमा भाले बाघ, माघ १९ गते सखुवा प्रसौनी– २ मा पोथी बाघ मरेको अवस्थामा भेटिएका थिए ।

यस क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्घन्द पछिल्ला वर्षहरूमा बढेको बताउँछन् पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपाने । उनका अनुसार बाघको अकालमै मृत्यु हुने क्रम पछिल्लो पटक बढ्दै गएको छ । सन् २०२२ को गणना अनुसार नेपालमा बाघको कुल संख्या ३५५ छ ।

पर्सा निकुञ्ज ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । चितवन, बर्दियापछि बाघको धेरै संख्या पर्सामा छ । यस निकुञ्जमा सन २०२२ को गणनामा ४१ वटा बाघ भेटिएका थिए । यो निकुञ्ज बाघको तेस्रो ठुलो वासस्थानको रूपमा परिचित भइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics