रूख काट्न किन हतार ?

गंगा पोखरेल -
पख्नुस्,
त्यो रूख नकाट्नुस् !
किन काट्न लाग्या त्यो रूख ?
कहिँ कतै अन्धाधुन्ध रूख काट्न लागेको देखे प्रायः यसै भन्ने गर्दछु म । मलाई रूख काटेको पटक्कै मन पर्दैन ।


हामी आमा–छोरी कतै जाँदै थियौं । बाटोमा हिड्दै गर्दा सानी छोरीले सोधिन् – आमा, त्यो ठूलो रूखलाई काटेर किन नम्बर लेखेको ? म अलमलमा परेँ । के उत्तर दिनु ? साँच्चिकै सधैं हिड्दै गरेको बाटोमा मैले याद नै गरेकी रहनेछु ठूला ठूला वरपिपल लगायत धेरै प्रजातिका हजारौं रूखका बोक्रा तासेर नम्बर लेखिएको रहेछ ।


यो हृदयविदारक दृश्य पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने तिनाउ नदी पारिको राजमार्गको हो । यो ठाउँ भनेको वर्षमा २ महिना मात्रै जाडो हुने ठाउँ हो । बाकि दस महिना उखरमाउलो गर्मी हुन्छ । पछिल्लो समयका गर्मीहरूमा अधिकतम तामक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो ।


बाटोका दुई छेउमा रहेका सयौं वर्ष पुराना हजारौं रूखहरूमा अलिकति पेटको छाला च्यातेर नम्बरको बिल्ला लगाइएको छ । आफ्नो ढल्ने दिन कुरेर ठिङ्ग उभिइरहेका विशाल वृक्षहरू देख्दा मुटु छियाछिया हुन्छ । भनिन्छ, ‘हरेक प्राणी र वनस्पतिको पनि आफ्नै भाषा हुन्छ रे ।’ मलाई पनि त्यस्तै लाग्छ ।


भरियाले भारी बिसाउने, दुःखीले आफ्नो मनको पिर बिसाउने, भत्भती पोल्ने घामबाट जोगिन टाउको लुकाउने ठाउँ हो चौतारो । हिंड्दै गर्दा बर्सिएको मुसलधारे पानीको दर्को पनि रोक्न सक्छ । त्यहीँ बाटोमा हिंड्ने साधनधारीलाई पनि चाहिन्छ चौतारो । हजारौं वृक्षमा आफ्नो जीवन निर्वाह गरिरहेका लाखौं चराचुरुङ्गीको पनि त हो चौतारो । रूखै नभए चौतारीमा को आउने ? को बस्ने ?


सबैले गम्भीर भएर सोचौं त एउटा वृक्ष हुर्काउन कति वर्ष लाग्छ ? त्यसको देन प्रकृतिमा, मानवमा कत्रो छ । तर, आज कति सजिलोसँग वृक्ष काट्न तम्तयार भएर लागेका छौं हामी । कति हतार रूख काट्न मान्छेलाई ? तिम्रा छोराछोरीको पनि अधिकार छ । तिम्रो मात्रै एकाधिकार नचलाऊ, कति बाँच्छौ र तिमी ? तिम्रा सन्तानलाई तिमीले भन्दा धेरै सुरक्षा यिनै वृक्षले दिनेछन् । माया लाग्छ नि है आफ्नो भन्दा धेरै आफ्ना मुटुका टुक्राको ? तसर्थ रूख काट्न हतार नगरौं ।



अन्य विकसित मुलुकमा रूख काट्नुलाई गैर कानुनी मनिन्छ । हाम्रो देशमा त कानुन बनाएरै रूख काटिरहेको देख्दा मन खिन्न हुन्छ । सडक किनारमा वृक्षरोपण गरौं । भएका रूख जोगाऔं । रूख बाँच्न सके मात्र हामी बाँच्न सक्नेछौं ।

स्कुलमा गरुङ्गो झोला बोकेर पढ्न गएका तिम्रा छोराछोरीलाई पनि सोध । सयौं वर्ष पुराना रूख काटौ कि नाईं भनेर ? तिनीहरूको पनि जवाफ सुन । के भन्छन् तिनीहरुले ? अहिले यी रूख काटेर विकासको नमुना तयार गर्दैछौ नि तिमी ? तिमीले भुलिसक्यौ तिमीलाई नेपाली शिक्षकले पढाएको ‘अन्तिम भोज’ को कथा । तिमीलाई भन्दा धेरै थाहा छ तिम्रा छोराछोरीलाई । दिनानुदिन पृथ्वीको तापक्रम बढ्दै गइरहेको कुरा । अनेकौं भाइसरहरू उत्पन्न भैरहेको कुरा । माइक्रो प्लास्टिक र नानोमाइक्रो प्लास्टिक हाम्रो पेटभित्र पर्न लागेको कुरा । अहिले हावामा देखिएको वायु प्रदूषणको कुरा तिमीलाई भन्दा धेरै तिम्रा छोराछोरीलाई थाहा छ एकछिन घरमा बसेको बेला यसको बारेमा पनि चर्चा गर्ने गर ।


बाटो राम्रो छ चलिरहेकै छ । यात्रीहरू आफ्नो समयमा आफ्नो गन्तव्यमा पुगेकै छन् । अर्बौंको लगानीमा ६ लेनको बाटो बनाउने रे । यति धेरै सुबिधा चाहिएको छैन नेपालीलाई । अहिले आर्थिक मन्दीको चरम चपेटामा परेको छ देश । व्यवसाय डुब्दै गैरहेको छ । दक्ष युवाशक्ति सबै बिदेशिए । महङ्गीले आकाश छोएको छ । जति मिहिनेत गरे पनि खान, बस्न नपुग्ने स्थिति नेपालीको आइसक्यो । आयातित सामानले बजार ढाकेको छ । मान्छेहरू ऋणले चुर्लुम्म डुबेका छन् ।


निकास कतै देखिदैन । कतिले त आत्महत्या पनि गरिसके । यस्तो अवस्थामा पहिला उत्पादन बढाऊ नेपालीलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ । त्यसतर्फ ध्यान देऊ । देशलाई आत्मनिर्भर बनाउनेतर्फ मात्रै ध्यान देऊ । विकास गर्दै खन्ने भत्काउने गर्दै गरौंला । अँ साँच्चै, बरू त्यो तुइन हटाएर त्यहाँ झोलुङ्गे पुल बनाइदेऊ । कालापानीमा नेपालको सीमा कुरिरहेका नेपालीले भारतको बाटो प्रयोग गरिरहेका छन् । उनीहरूले गाडीको बाटो पनि होइन नेपालमै पैदल बाटोको माग गरेका छन् । बरू त्यहाँ बनाइदेऊ बाटो । त्यो पनि नेपाल नै हो । त्यहाँ पनि नेपाली नै बस्छन् । दुरदराजका दुर्गम बस्तीहरूमा औषधि उपचार पुर्याऊ । शिक्षाको पहुँच बढाऊ । धेरै छ्न् गर्नुपर्ने अत्यावश्यक कामहरू ।


शान्त चलिरहेको तराईको बाटो एकछिन नचलाऊ । बाटो हेर समयको । समयले सब ठिक गर्नेछ । हतार गर्नुछ भने रूख रोप्न हतार गरौं । किन काट्न हतार गर्ने ? विकास गर्नुको अर्थ प्रकृति मास्नु होइन । ती रूखले के बिगारेका छ्न् र तिनलाई मृत्युदण्ड दिने ? बिन्ती छ, अहिले धुलो नउडेको सडकमा धुलो उडाउने काम नगरौं । जति ठाउँमा काम सुरू भएको छ पहिला त्यो काम जति सक्दो छिटो सकौं । रूख भएको ठाँउमा थप क्षति नगरौं ।


अन्य विकसित मुलुकमा रूख काट्नुलाई गैर कानुनी मनिन्छ । हाम्रो देशमा त कानुन बनाएरै रूख काटिरहेको देख्दा मन खिन्न हुन्छ । सडक किनारमा वृक्षरोपण गरौं । भएका रूख जोगाऔं । रूख बाँच्न सके मात्र हामी बाँच्न सक्नेछौं । आफ्नो आयु लम्ब्याउने अचुक उपाय नै पर्यावरण जोगाउनु हो । पर्यावरण जोगाउन पहिला त रूखै जोगाउनु पर्यो नि, होइन र ? अनि, रूख काट्न किन हतार ?

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics