प्राथमिकतामा जलाधार व्यवस्थापन : नेतृत्व तहलागि उत्प्रेरणाका ७ सूत्र

–विजयराज पौड्याल,
नेपालमा जलजन्य र जलवायुजन्य विपद् जोखिम बढ्दैछ । यसका लागि नेपालको जलाधारीय स्रोतको जलीय सिमानाका आधारमा नीति तथा कानुनि व्यवस्था र प्रशासनिक संरचनाको स्थापना र संचालन आवश्यक छ, जुन सरकारको नेतृत्ववर्गबाट वा राजनीतिक तहमा बुझाइ भएमात्र सम्भव छ । कतिपय प्राविधिक वा विज्ञहरूले यसलाई राजनीतिकरण भयो भन्न हिच्किदाउदैनन् । तर, उनीहरूलाई के हेक्का रहेन भने मुलुक संघ संस्थाले चलाउने होइन, राजनीतिक व्यक्तिले चलाउने हो । तसर्थ, जलाधार व्यवस्थापनको अवधारणा र व्यवहारबारे राजनीतिक नेतृत्वमा उत्प्रेरणा जगाउने विवेकशील ढंगको प्रयासको कमिको महशुस भएको छ ।


जलाधारिय स्रोत व्यवस्थापनको उदेश्य राखि जलाधारिय सिमानाको आधारमा योजना तर्जुमा र सो को सफल कार्यान्वयनबाट समृद्धि हुन सक्छ र सोको बुझाइ र उत्प्रेरणा बृद्धि आजको आवश्यकता हो । जलाधार व्यवस्थापनका बारेमा जबसम्म राजनीतिक नेतृत्वले यसको महत्त्व बुझदैनन् र प्राविधिकहरूबाट बुझाउने प्रयास गरिदैन्, तबसम्म नेपालको दिगो विकास र सामाजिक न्यायको लक्ष्य केवल देखाउने दाँत मात्र हुनेछ ।


विषयगत प्राविधिक जानकारहरूले जबसम्म राजनीतिक नेतृत्वलाई बुझाउने प्रयास गर्दैनन, तबसम्म यो विषय केबल आकासको फल, आखाँ तरी मर र जलाधार व्यवस्थापन परामर्शदाताको पेवा मात्र रहने छ । तसर्थ, जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नका लागि राजनीतिक नेतृत्व लक्षितका विषयहरू के के हुन सक्छन्, सो बारे उजागर गर्न र सम्वध्द प्राविधिकहरूका लागि नयाँ कार्यशैली अपनाइ कार्य गर्न ध्यान जानेछ भनि यस प्रकारको लेखन प्रयास गरिएको छ ।


पहिलो विषयमा जलाधार व्यवस्थापन गरेर के के फाइदा हुन्छन् ? सो उजागर गर्नु जरुरी छ । पानीको संरक्षण र सुरक्षण, दिगो कृषि, बाढी नियन्त्रण, पारिस्थितिक प्रणाली संरक्षण बारे तथ्यांक, मामिला अध्ययन, सफलताका कथाबाट सफल जलाधार व्यवस्थापनको सकारात्मक सन्देश जस्ता विषयबाट आर्थिक फाइदा, जनस्वास्थमा सुधार एवम् जलवायु परिवर्तनको प्रभाव समानुकुलन समेतमा भएका फाइदा स्पष्ट पार्न सकेमा राजनीतिक नेतृत्व जलाधार व्यवस्थापनका लागि चाहिने आवश्यक नीति, कानुन, संरचना र जनशक्ति एवम् बजेटको यथेष्ठ व्यवस्था गर्न सहयोग गर्न सक्ने सम्भावन रहेको पाइन्छ ।


दोस्रो महत्त्वपूर्ण उत्पेरणाको विषयमा जलाधार व्यवस्थापनको औचित्य पुष्ठि गर्न सक्नु पर्छ । राजनीतिक नेतृत्व जब जनतामा जान्छन्, तब विविध सवालहरू झेल्नु पर्छ । जस्तै पानीको अभाव र समाधान, भूक्षय, प्रदूषण वा विपद् जोखिम न्यूनीकरण । जब जलाधार व्यवस्थापनका समस्या र समाधानका उपायहरू राजनीतिक उदेश्यसंग तालमेल रहेको लाग्दछ तब जलाधार व्यवस्थापनको सिध्दान्त र व्यवहारका वारेमा आवश्यक निर्णय लिन सहज हुने देखिन्छ । किनकि जलाधार व्यवस्थापनले जीविकिोपार्जन सुधार, जन स्वास्थ्य प्रवर्दन र आर्थिक विकासलाई बढवा दिन्छ ।


तेस्रो र महत्वपूर्ण पक्ष भनेको राजनीतिक नेतृत्वलाई जलाधार व्यवस्थापनका विविधि चरण र पक्षहरूमा संलग्न गराउन सकेमा सोबाट उत्प्रेरणा जाग्न सक्दछ । जलाधार व्यवस्थापन र पूर्वाधार विकाससंग सम्बन्धित समस्या पहिचान, योजना तर्जुमा, कार्यान्वय, समिक्षा, अनुगमन तथा मूल्यांकनका चरणहरूमा राजनीतिक नेतृत्वलाई जति वढि सहभागिता गराउन प्रयास गर्छाँै, त्यति नै बढी जलाधार व्यवस्थापनका लागि आवश्यक वातावरण निर्माण अर्थात नीति, कानुन, कार्यविधि, मार्ग दर्शन स्वीकृतिमा समेतमा सहज हुन सक्छ ।


जलाधार व्यवस्थापनमा संलग्न प्राविधिकहरूले एकल प्रयासबाट मात्र जलाधार व्यवस्थापनका लागि कार्य वातावरण बन्दैन । साथै, सम्बध्द संघ, संजाल वा समाजको पनि एकल र सिमित सोच तथा घेरा र निश्तेजको वातावरणले मात्र जलाधार व्यवस्थापन जस्तो महान, बहुआयमिक, बहुविषयगत क्षेत्रमा सफलता पाउन नसकिएको सबैका अगाडि छ ।

जब समस्या पहिचानका बखत राजनीतिक नेतृत्वलाई स्थानीय समुदाय, किसान, संघ संस्था, वैज्ञानिक एवम् अरु सरोकावालाहरूसंग प्रत्यक्ष अन्तरकृया वा सम्वाद हुन्छ तब मात्र हामिले चाहेको र खोजेको जलाधार व्यवस्थापनको मर्म र भावना अनुसारका शासकिय व्यवस्था स्थापना र मजबुत पार्न सकिन्छ । मुख्य वा चुरो कुरो जनता र प्राविधकहरू साथ साथै नेतृत्वले सुन्ने र स्थलगत अवस्था हेर्ने वातावरण बनाउन सकेमा जलाधारिय स्रोतको व्यवस्थापनमा समान बुझाइ र प्रतिवध्दता आउन सक्छ ।


चौथो, जलाधार व्यवस्थापनको महत्त्व बुझेका वा बुझन चाहेका सरोकारवालाहरूबीच ऐक्यवद्धता वा नेटवर्क जरुरी छ । खास गरी राजनीतिक व्यक्तिहरू, नागरिक समाज, वकालत गर्ने समूहहरू, एवम् सामुदायिक नेताहरूको एकता र सहकार्य अनिवार्य आवश्यकता रहन्छ । यस प्रकारको सहकार्य र एकवध्दताले नै जलाधार व्यवस्थापन प्राथमिकतामा पर्न सक्छ र सोही वमोजिम नीति तथा कानून परिवर्तनमा वकालत गर्न सहज हुन्छ, कार्यक्रम तथा बजेट विनियोजनामा शक्ति पुग्छ, एवम् संस्थागत सुधारमा समेतमा दवाव दिन सकिन्छ । त्यसैले एकीकृत आवाज र सहकार्यवाट नै राजनीतिक कदम उठाउन र सहयोग पाउन सहयोग पुग्छ ।


पाचौं पक्ष हेर्ने हो भने जलाधार व्यवस्थापनको पक्षमा जागरुक वा अभियन्ताका रूपमा प्रस्तुत भएका राजनीतिक नेतृत्वहरूलाई सम्मान र कदर गर्नु आवश्यक रहेको छ । हाम्रो समाजमा कतिपय शसक्त रूपमा जलाधार संरक्षणका एजेण्डा बनाएर आफ्ना आवाज र गतिविधि संचालन गरेका राजनीतिक नेतृत्वहरू पहिचान गरी सम्मान र कदर गर्नु नै जलधार व्यवस्थापनलाई मूलधारमा ल्याउने सहज बाटो हुनेछ । जलाधार व्यवस्थापनलाई एजेण्डा वनाएका राजनीतिक नेतृत्वको निर्वाचन क्षेत्र वा जलीय सिमानका आधारमा आयोजना संचालन गर्न बजेट प्रवाह गर्ने हो भने जलाधार व्यवस्थापनका लागि मुलुकभर माहोल वन्न सक्दछ । यतिमात्र होइन जलाधारमुखि कार्यहरूको सञ्चारकर्मि मार्फत सकारात्मक प्रचार प्रसार र जनचेतना बढाउन पनि लगानी आवश्यक छ । अर्थात् जलाधारमुखि बजेट र कार्यान्वयनको कारण प्राप्त भएका सकारात्मक उपलब्धिले नै राजनीतिक नेतृत्वहरूको प्रतिष्ठा र निरन्तरता अभिबृध्दि बढाउन मदत गरेको हुन्छ ।


छैठौं, राजनीतिक नेतृत्वहरूलाई पनि जलाधार व्यवस्थापनका बारेमा आवश्यक सचेतना र क्षमता बढाउने अन्तरकृया, तालिम, कार्याशाला, अध्ययन भ्रमणमा सहभागि गराइ वा शैक्षिक समाग्री वितरण गर्दा पनि जलाधार व्यवस्थापनको पक्षमा सकारात्मक परिवर्तन ल्याउने सहज उपाय हो । खास गरी जलाधार व्यवस्थापनको महत्व, सिध्दान्त तथा सफल अभ्यास वारे सचेतना र क्षमता अभिबृध्दि वढाउन आवश्यक छ । आफ्नो निर्वाचन क्षेत्रमा जलाधार व्यवस्थापनका फाइदा वारे ज्ञान र सिप वारे जानकारी, नीति परिवर्तनका लागि वकालत, प्रभावकारी सन्चार गरेर राजनीतिक नेतृत्वलाइ्र्र निर्णय प्रकृयामा सहभागिता गराउनु अति महत्त्व पक्ष हो ।


सातौं उत्प्रेरणाको पक्ष भनेको समयक्रममा जलाधार व्यवस्थापनका कृयाकलापहरूको अनुगमन तथा मूल्यांकन गरि भए गरेका कार्यहरूको प्रभाव स्थापित गर्नु आज जरुरी भइ सकेको छ । राजनीतिक नेतृत्वहरूलाई नियमित रूपमा जलाधार व्यवस्थापनका प्रगति प्रतिवेदनहरू अधावधिक गर्न पनि जरुरी छ । यसक्रममा जलाधार व्यवस्थापनका कार्यक्रमहरूको सफलता, चुनौति तथा सिकाइहरूको वारेमा प्रतिवेदन प्रकाशन र वितरण जरुरी छ । राजनीतिक नेतृत्वहरूमा विश्वास दिलाउन र उनीहरूबाट सहयोग पाउन स्रोत व्यवस्थापन र नतिजा पाउन गरेको कार्यहरूको पारदर्शिता र जवाफदेहीता देखाउन पर्ने छ ।


समग्रमा, जलाधार व्यवस्थापनमा संलग्न प्राविधिकहरूले एकल प्रयासबाट मात्र जलाधार व्यवस्थापनका लागि कार्य वातावरण बन्दैन । साथै, सम्बध्द संघ, संजाल वा समाजको पनि एकल र सिमित सोच तथा घेरा र निश्तेजको वातावरणले मात्र जलाधार व्यवस्थापन जस्तो महान, बहुआयमिक, बहुविषयगत क्षेत्रमा सफलता पाउन नसकिएको सबैका अगाडि छ । तसर्थ, नेपालमा जलाधार व्यवस्थापनको मर्म र भावना अनुरूप जलिय सिमानाका आधारमा स्थलगत कार्यक्रम संचालन गर्नका लागि राजनीतिक नेतृत्वहरूलाई उत्प्रेरणा जगाउने सात पक्षमा ध्यान दिन सके नीति तथा कानुनमा सुधार एवम् जलाधारमैत्री कार्यक्रम तथा लगानिको व्यवस्था गर्ने हाम्रो एकीकृत प्रयास सफल हुनेमा दुइमत छैन । यसका लागि सम्बध्द प्राविधिकहरूको नयाँ रणनीति तथा कार्यमूलक योजना तयारी तथा कार्यन्वयन प्रतिवध्दता आजको आवश्यकता हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics