नेपालमा अवसरै-अवसर छन्, आउनुहोस्, मिलेर लगानी गरौं : अध्यक्ष ढकाल

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । उनले नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयुक्त आयोजनामा शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित 'अन्डरस्ट्यान्डिङ नेपलिज इकोनोमी इन्भेस्टमेेन्ट प्रोस्पेक्ट्स एन्ड बैंकिङ सर्भिस' कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो आह्वान गरेका हुन् ।

सो अवसरमा ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकाले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । उनले भने, 'गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषिजन्य उद्योगहरूको प्रचुर सम्भावना छ । यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस् ।'

अध्यक्ष ढकालले नेपाल सरकारले हालै आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने विषय समावेश गरेको उल्लेख गर्दै यसलाई अवसरको रूपमा लिन र नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका सबै गैरआवासीय नेपालीहरूलाई आग्रह गरे ।

'नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हामीले १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र मुलुकका सातवटै प्रदेशमा रहेका स्थानीय सम्भावित आयोजनाहरूमा लगानी गर्ने निर्णय गरेका थियौँ । त्यस कुरालाई नेपाल सरकारले आगामी वर्षको बजेटमा सम्बोधनसमेत गरेको छ । यसलाई हामी सबै नेपालीहरूले एक अवसरको रूपमा लिएर नेपालमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक विकास र समृद्धिमा हातेमालो गर्ने अवसरका रूपमा लिनुपर्छ,' ढकालले भने ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेस्क स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्नेसमेत बताए । उनले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताए ।

मिश्रले गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा थप पुँजी जुटाउन ऋण लगानीका लागि समेत नेपाली बैंकहरू तयार रहेको उल्लेख गरे । नेपाल राष्ट्र बैंक नेपालमा लगानी बढाउन हरतवरले सहयोग गर्न तत्पर रहेको र यसमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उनले बताए ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावनाहरू निकै धेरै रहेकाले ती अवसरहरूलाई रियालिटीमा बदल्न सम्भावित आयोजनाहरू लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले ऋण प्रदान गर्न सक्ने बताए । नेपालको बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी ठूलो मात्रामा रहेको र गैरआवासीय नेपालीहरूले नेपालको कुनै सम्भाव्य आयोजनामा लगानी गर्न इच्छुक रहेमा बैंकले सहयोग गर्ने उनको भनाइ थियो ।

वज्राचार्यले ग्लोबल आईएमई बैंकले गैरआवासीय नेपालीहरूलाई बैंकिङ प्रणालीमार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनका लागि अस्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने बताए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैरआवासीय नेपालीहरू नेपालमा लगानीका अवसरहरू खोजिरहेको बताए । उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेमा धेरै नेपालीहरू लगानीका लागि इच्छुक रहेको उनको भनाइ थियो ।

पोखरेल भने, 'अस्ट्रेलियामा रहेका हामी नेपालीहरू आफ्नो मातृभूमि नेपालमा लगानी गर्न हरेक हिसाबले इच्छुक रहन्छौँ । कुनै न कुनै हिसाबले हामी नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौँ । त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्छ ।'

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics