रातभर जाग्राम बस्न बाध्य छन् आरक्ष क्षेत्रका स्थानीय

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।

इनरुवा - सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेका हुन् ।

प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ रहेको छ । दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए । रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ रहेको छ ।

भट्टाई जस्तै बराहक्षेत्र–२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै रहेको छ । दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हँदै आएको छ । भदौै १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पुर्याएको उनले बताए । यी दुईजना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् ।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ । हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन । क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक–पटक स्थानीयले माग गरेका छन् ।

कोशी टप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ । साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए । - रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics