तुलसीपुर फुलै फुलको सहर हुनेछ : घनश्याम पाण्डे
- नेचर खबर
स्थानीय तहको दोस्रोचरणको निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट तुलसीपुरमा मेयरका उम्मेदवार बनेका घनश्याम पाण्डे स्पष्ट दृष्टिकोण र विकासप्रति नवीन अवधारणा अघि बढाउन सक्ने उम्मेदवारका रूपमा चिनिन्छन् । खासगरी विश्वमा भइरहेका हरित विकास र हरित अर्थतन्त्रका सबैजसो नमुनाको अध्ययन गरेका पाण्डे वन, वातावरण, सहकारी तथा कृषि विषयका विशेषज्ञ हुन् । उनी नेपालको विकास प्राकृतिक स्रोत साधनको अधिकतम उपयोगबाट गर्न सकिनेमा विश्वास गर्छन् । स्थानीय स्रोत र साधनको वैज्ञानिक र दीर्गकालिन उपयोग नै विकासको मूल मन्त्र भएको उनको भनाई छ । सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रीय अध्यक्षका रूपमा सफल नेतृत्व गरिसकेका पाण्डे सामुदायिक वन विश्वव्यापी सञ्जालका संयोजकसमेत हुन् । उनै पाण्डेसंग गरिएको कुराकानीको सारसंक्षेप ।
चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
चुनावी तयारीका सन्दर्भमा नेकपा एमालेका तर्फबाट हामीले वैशाख ३१ लाई नै लक्षित गरेर व्यवस्थित चुनावी अभियान सुरु गरेका थियौँ । निर्वाचन मिति सर्ने काम भए पनि पार्टीका तर्फबाट गर्ने सबै तयारी पुरा गरिसकेका छौँ । जस्तो तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा र टोलहरुमा सङ्गठन कमिटी निर्माण गरिएको छ भने नगरस्तरको समन्वय कमिटी पनि गठन भइसकेको छ ।
त्यस्तै प्रचारलाई व्यस्थित बनाउन प्रचारप्रसार समिति पनि बनाएका छौँ । प्रचारलाई जनताको घरदैलोमा पुरयाउने काम पनि गरेका छौँ । अर्को कुरा एमालेले उपमहानगरका १९ वटै वडाका अध्यक्षलगायत सदस्य, महिला सदस्य र दलित महिला सदस्य र उपमहानगरको मेयर, उपमेयरको समेत टुंगो लगाएर घरदैलोमा पुग्ने काम भइरहेको छ । त्यस्तै सूर्य चिन्ह लिएर आम मतदातासमक्ष पुग्ने काम पनि भएको छ । यद्यपि उम्मेदवारको हिसाबले पुनः मतदाता भेटघाट पनि भइरहेको छ । त्यसैले चुनावी माहोल तातिएको छ, जनलहर पनि उत्तिकै छ ।
तुलसीपुर उपमहानगरपालिकालाई विकास गर्ने तपाईका एजेन्डाहरु के के छन् ?
तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै एउटा नमुना नगरको रूपमा विकास गर्ने हो । ७ सय ४४ स्थानीय सरकारमध्ये तुलसीपुर उपमहानगरपालिका नमुना बनाउनेछौ । जसलाई हामीले समृद्ध, सफा, हरित र जनसहभागिता भएको उपमहानगरको रूपमा विकास गर्नेछौ ।
हाम्रो भिजन के हो भने तुलसीपुर नेपालको पवित्र गन्तव्यस्थलका रूपमा, सुन्दर गन्तव्यस्थलका रूपमा यसलाई विकास गर्छौँ ।
युवाहरुका सपना कुल्चीएका, मरेका र बाटो नपाएका अन्य नागरिकहरुका सपनाहरुलाई फुलको थुंगाझै उनेर माला बनाउछौ । त्यो माला बनाउने नगरवासीको सपनालाई साकार बनाउछौ भन्ने हाम्रो प्रतिबद्धता छ । सुन्दर, हरियाली, स्वच्छ र समृद्ध उपमहानगर बनाउने हाम्रो लक्ष छ ।
तुलसीपुर उपमहानगरपालिका स्वच्छ, हरियाली बनाउन के कस्ता कार्ययोजना बनाउनु भएको छ ?
तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुलाई जोड्ने सडकहरुलाई पाँचवर्ष भित्र कालोपत्रे गर्छाै, प्रत्येक टोलहरु जोड्ने सडकहरुलाई सके कालोपत्रे नसके ग्राभेल गर्छौँ । आउने पाँचवर्षमा नगरका कुनै पनि घर सडक सञ्जालबाट बाहिर पर्ने छैनन् । शुद्ध खानेपानीकालागि सबै घरहरुमा धारा, धारा नपुग्ने ठाउँमा कुवा र धारा र कुवा पनि नहुने ठाउँमा हामीले आधुनिक प्रविधिको प्रयोग गरी खानेपानीको उपलव्धता गराउनेछौँ ।
तुलसीपुरमा धेरै कृषि क्षेत्र छ । त्यसको उपयोग नीति हामीले बनाउनेछौँ । खासगरी कहाँ हरियाली बढाउने, कहाँ औद्योगिक क्षेत्र बनाउने, कहाँ पर्यटकिय क्षेत्र बनाउने, कहाँ सामुदायिक वनक्षेत्र बनाउने, कहाँ शहरी क्षेत्र बनाउने, कहाँ निजी वनको विकास गर्ने, कहाँ कस्तो कृषि उत्पादन विधि तयार गर्ने यसको खाका तयार गर्नेछौँ । उदाहरणकालागि कृषि, खानेपानी, विद्युत् र पर्यटनलाई एकआपसमा जोड्छौँ ।
त्यसकालागि हामीले दाङको उत्तरी वेल्टबाट बग्ने खोलाहरुको मुहानमा प्राविधिक अध्ययन गरेर उपयुक्त ठहरिने भएमा त्यसलाई हामीले ड्याम निर्माण गर्ने ताकि त्यहाँ वरिपरीका जनतालाई पछि जोखिम नहोस । जसबाट खानेपानी, सिंचाई र अझ ऊर्जा उत्पादनको लागि समेत सदुपयोग गर्ने योजना बनाएका छौँ । अझै भन्ने हो भने त्यो ठाउँमा माछापालनको रूपमा प्रयोग गर्ने, त्यो ठाउँमा गएर मनोरञ्जनकालागि पनि सदुपयोग गर्न सकिन्छ । जस्तो पातुखोला, गतेखोला, ग्वारखोला, भमकेखोला यी ठाउहरुको मुहानमा यस्तो काम गर्न सकिन्छ भने दक्षिणी क्षेत्रमा पनि त्यो सम्भावना छ ।
त्यस्तै बबइखोलामा दुवैतर्फबाट तटवन्ध गर्ने, बाँध बाँध्ने र सिंचाइ नपुग्ने स्थानहरुमा बबईको पानीलाई लिफ्ट गरेर सिंचाईको व्यवस्था गर्ने र बबईको दायाँवायाँ क्षेत्रमा हरियाली र सडकको विकास गर्ने, त्यहाँ भएको कृषि क्षेत्रको संरक्षण गर्ने र तुलसीपुरवासीहरुका निम्ति एउटा पवित्र स्थल ववई सभ्यता र संस्कृतिको विकास गर्ने योजना छ । यसो गर्दा खानेपानी, सिंचाइको समस्यालाई समाधान गर्छौ । त्यो पूर्वाधार हामीले तयार गर्छौ । यसै गरी तुलसीपुर भनेको गाउबाट बजार, बजारबाट नगर र नगरबाट सहरमा रुपान्तरित हुँदैछ । एउटा सहर हुदावित्तिकै त्यहाँ उच्च शिक्षा हुन आवश्यक छ । हामीसँग नेपाल संस्कृत विश्वविद्यालय छ । त्यो संस्कृत विश्वविद्यालय तालाझुण्डि विश्वविद्यालयको रूपमा विकसित भएको छ । त्यस्तो तालझुण्ड्याउने कार्य सदाकालागि अन्त्य गर्दै नेपाल संस्कृत विश्वविद्यालयलाई विश्वभर खासगरी पूर्वीय दर्शन, संस्कृति, साहित्य, आयुर्वेद र योगाको केन्द्रका रूपमा विकास गर्छौ । जहाँ विश्वका विभिन्न देशबाट संस्कृत भाषा, साहित्य, आयुर्वेद, योगा सिक्नकालागि तुलसीपुरमा आउने वातावरण निर्माण गर्नेछौ ।
शिक्षा क्षेत्रमा उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयको भौतिक अवस्था सुधार, त्यहाँ हुने पठनपाठनलाई गुणस्तरिय बनाउछौ र त्यहाँका शिक्षक अभिभावक र विद्यार्थीहरूको अन्तरसम्वन्धलाई विकास गर्छौ । त्यसो गरेपछि सबै सरकारी विद्यालयको गुणस्तरलाई थप प्रभावकारी बनाउछौ । सँगसँगै जहाँ उच्च शिक्षा पढ्न नसकेर प्राविधिक विषय पढ्न चाह्यो भने सीपयुक्त प्राविधि विषयहरूको पठनपाठन सञ्चालन गर्ने काम हामीले गर्नेछौ । त्यस्तै जीवन उपयोगी शिक्षाकालागि पनि पहल गर्नेछौ । खासगरी उपमहानगरपालिका भित्र कम्तीमा एउटा इञ्जीनियरीङ कलेजको स्थापना गर्छौँ, कम्तीमा कृषि र बनसम्वन्धि पठनपाठनकालागि एउटा कलेज स्थापना गर्छौँ , त्यस्तै होटेल व्यवस्थापन र पर्यटन शिक्षाकालागि पहल गर्नेछौ यसकालागि उपमहानगरपालिका मात्रै होइन, यहाँका शिक्षावीद्, बुद्धिजीवीहरू, लगानीकर्ताहरुको सहयोग खोजीनेछ । यसो गर्न सकियो भने तुलसीपुुरलाई एजुकेशन सिटीका रूपमा स्थापित गर्नेछौ ।
विकास र रोजगारीका लागि कस्तो सपना देख्नुभएको छ ?
स्वास्थ्यकालागि यहाँ सञ्चालनमा रहेका संस्थाहरूलाई स्तरोन्नती गर्ने र नयाँ ठाउँमा उपचार केन्द्रको विकास गर्न हामीले योजना बनाएका छौ । खासगरी १९ वटै वडामा एमविविएस डाक्टरसहितको स्वास्थ्य कार्यालय सञ्चालन गरिनेछ । अहिले बजार केन्द्रित एम्वुलेन्सहरु वडा केन्द्रित बनाउछौ । उहाँहरू जानुभएन भने उपमहानगरपालिकाले नै वडाबाट एम्वेलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिनेछ । तुलसीपुरमा व्लड बैङ्क तत्काल सञ्चालनमा ल्याउनेछौ । अहिलेका वडा कार्यालय सरकारका सेवा केन्द्र हुन । उनीहरूलाई भौतिक पूर्वाधारयुक्त बनाउछौ र कार्यालय वरीपरी साना सहरको विकास गर्छौ । अव बनाउने संरचनाहरू बालमैत्री, अपाङगमैत्री, ज्येष्ठ नागरिकमैत्री हुनेछन । सरकारी संरचनामात्रै होइन निजी क्षेत्रलाई पनि त्यत्तिकै सुविधायुक्त बनाउने मापदण्ड बनाएर लागु गरिनेछ । र ज्येष्ठ नागरिकका निम्ति स्पेशल ज्येष्ठ नागरिक हस्पिटल स्थापना गर्छौ । यस नगरभित्र रहेका मध्यपश्चिम क्षेत्रीय आयुर्वे अस्पताल, राप्ती अञ्चल अस्पताल, राप्ती अञ्चलस्तरिय आयुर्वेद अस्पताल र राप्ती आँखा अस्पतालहरुको क्षमता विकास गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने र भविष्यमा कम्तीमा मेडिकल कलेज सञ्चालन गर्न सक्ने अवधारणा ल्याएका छौ । तुलसीपुर उपमहानगरपालिका एउटा पवित्र वृक्ष तुलसीको नामबाट सुरु भएको छ । यो आयुर्वेद र संस्कृतिसंग नाम जोडिएको हुनाले यो संसारका निम्ति आयुर्वेद मेडिसिन, जनरल मेडिसीन, जनरल एजुकेशन र टेक्नीकल एजुकेशनको हवका रूपमा विकास गर्छौ । यसले वरीपरीका क्षेत्रमा धेरै रोजगारीको सिर्जना गर्न हुन्छ ।
बजार व्यवस्थापन, यातायात व्यवस्थापन गरी तुलसीपुरलाई पाँचवर्ष भित्रमा एउटा स्मार्ट सिटीको रूपमा स्थापित गर्ने लक्ष बनाएका छौ । कम्तीमा पाँचहजार घरहरू निर्माण गर्न मिल्ने र अबको ५० वर्षपछिको दाङको विकासलाई मध्यनजर गरेर यसका संरचनाहरू हामीले बनाउनु पर्ने छ । दाङलाई प्रदेशको राजधानी बनाउनुपर्नेछ, त्यसकालागि आवश्यक पर्ने पूर्वाधारलाई समेत मध्यनजर गरेर हामीले काम गर्नेछौ । त्यसका निम्ति सुविधासम्पन्न एयरपोर्ट सञ्चालन गर्ने, हस्पिटल, होटेलहरुको विकास गर्ने, पर्यटकिय क्षेत्रको विकास गर्नुपर्ने यी सम्पूर्ण कामहरू हामीले गर्नुपर्छ ।
यसै गरी यहाँ कृषि पकेट क्षेत्रको रूपमा विकास गर्छौ । त्यसमा स्थानीय सरकारको तर्फबाट चाही अनुदान, प्रविधि र तालिम तथा कृषि उपज खरिद गर्ने ग्यारेन्टी लिएर एउटा कोल्ड स्टोरको निर्माणलगायतका काम गर्छौँ । त्यस्तै तुलसीपुरभित्र गरिब, विपन्नहरुको ठुलो उपस्थिति छ । खोलाको दायाँवायाँ क्षेत्रमा त्यस्तो बस्ती छ जुन जोखिम मोलेर बसेको देखिन्छ । त्यसैले सुरक्षित आवासको ग्यारेन्टी गर्ने काम हामीले गर्नेछौ । तुलसीपुरक्षेत्रमा जति भूमिहिन सुकुम्वासीहरु हुनुहुन्छ उहाँहरुका हातहातमा लालपुर्जा पुरयाउने काम हामीले गर्नेछौ । संविधानले ग्यारेन्टी गरेको आवासको अधिकारलाई हामी सुनिश्चित गर्नेछौँ । आवश्यक परे अनुदानको व्यवस्था समेत गर्नेछौ । सुविधायुक्त आवासकालागि हामीले त्यस्ता कार्यक्रम ल्याउनेछौ कि कसैले अबको पाँचवर्षमा रहरले म खरको छानो भएको घरमा बस्छु भन्यो भने उसको अधिकारको कुरा भयो नत्र हामीले खरको छानोमुनि बस्ने बाध्यतालाई अन्त्य गर्नेछौ । यसो गर्दा गरिबी र भोकमरीलाई शून्यमा झार्ने र गरिबी, भोकमरी मुक्त र असुरक्षित बसोवासमुक्त बनाउने छौ ।
यी सबै विकासका योजना कार्यान्वयनमा आउलान त ?
यहाँ समस्या के भयो त भन्दा हरेक, संस्था, संरचना, समूहमा हामी कहाँ जाने भन्ने कुरा प्रस्ट नहुने, त्यो गन्तव्यमा पुग्ने योजना नहुने र त्यो गन्तव्यलाई पछ्याउने कार्ययोजना नहुने समस्या छ । तर हामीसँग, नेकपा एमालेसंग तुलसीपुरको समृद्धि ल्याउने सपना छ, त्यसलाई कार्यान्वयन गर्ने योजना छ र योजनालाई पछ्याउने हामीसँग राजनीतिक शक्ति पनि छ । यो सबै काम गर्नकालागि सबैभन्दा पहिला नागरिकसंग सम्वाद गर्छौ, नागरिकलाई यो क्षेत्रमा लाग्न अपिल गर्छौ, अर्को कुरा त्यसकालागि लाग्ने बजेट, स्रोतकालागि भ्रष्टाचारलाई शून्यमा झारेर व्यवस्थापन गर्छौ । यस्तै नेपालजस्तो देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्ने सहयोगी हातहरूको समस्या छैन । तर सहयोग हातहरू भएका संस्थाहरूलाई सरकारलाई कहाँ सहयोग गर्ने योजना छैन, त्यो योजना हामी प्रस्तुत गर्छौ । विश्वका महानगर र नगरपालिकासंग, विश्वका विकास साझेदार संस्थाहरुसंग स्वदेशकै निजीक्षेत्रसंग यहाँको उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, सहकारी, सामुदायिक वन यी सबैलाई परिचालन गर्छौ । समृद्धिको सपना मेरो व्यक्तिगत मात्र होइन, समृद्धिको सपना त हरेक नगरवासीहरुको पनि हो । हरेक पार्टीको हो । हरेक संघसंस्थाको हो । त्यो समृद्धिको सपनाको फुललाई गाँसेर माला बनाउने काम चाही विजयी बनाएमा उपमहानगरपालिकाको मेयरको हिसाबले मेरो जिम्मेवारी हुनेछ ।
यसका निम्ति हामीले दाङको लगानी दाङको भूमिमा र तुलसीपुरको लगानी तुलसीपुरको भूमिमा भन्ने कुरालाई अघि बढाउछौ । निजी, सहकारी, सामुदायिक क्षेत्र राज्यको र विकास साझेदारहरुसंग मिलेर सोच्दै नसोचेको विकासको लहर जनतामा पुरयाउनेछौ । पाँचवर्ष भित्र आधारभूत रूपमा विकासको संरचना खडा गर्छौ । यो सबै गरियो भने तुलसीपुर उपमहानगरपालिका देशकै नमुना बन्ने छ । मान्छेहरुकालागि यो ड्रिम सिटी हुनेछ ।
यसरी तुलसिपुरलाई नेपालकै नमुना सहर बनाउँदा, यहाँको नेपाली मौलिक संस्कृतिमा असर पर्ने पो हो कि ?
अवश्य पनि । यहाँका मौलिक कला, संस्कृति, संस्कारलाई जीवन्त राखेर, जगेर्ना गरेर यसलाई ड्रिमसिटीको रूपमा विकास गर्ने हो । खासगरी दाङको सन्दर्भमा तीनवटा सांस्कृतिक पक्षलाई उजागर र संरक्षण गर्ने योजनामा हामी छौ । पहिलो कुरा थारु संस्कृति र भाषाको कुरा हो । यहाँ थारु समुदायको बाहुल्यता छ । त्यसको संरक्षणका निम्ति हामीले तुलसीपुर उपमहानगरपालिकामा थारु भाषालाई कामकाजी भाषाको रूपमा प्रयोग गर्नेछौ । जसले उपमहानगरपालिका यो बहुल जातिको घरको रूपमा स्थापित हुनेछ । थारु संस्कृति र इतिहाससंग जोडिएको दंगीशरणलाई हामीले संरक्षण गर्नेछौ । भुयाँरथानहरुको संरक्षण गर्नेछौ । दोस्रो कुरा भनेको यहाँको आयुर्वेद र संस्कृत शिक्षासँग जोडिएको कुरा हो र यो सँग जोडिएको कुरा बबई सभ्यता र कोट सभ्यता हो । पहिले पहिले हाम्रा पुर्खाहरू गर्मीको समयमा चिसो खान पहाड चढ्ने र जाडोको समयमा दाङ आउने चलन थियो । त्यसले मान्छे स्वस्थ बनाउथ्यो ।
अहिले पनि दाङमा छिल्लीकोट, मुलकोट, सुइकोटजस्ता कोटहरु छन् । यिनीहरूलाई कोट सभ्यताको प्रतीकका रूपमा र पर्यटकिय क्षेत्रको रूपमा विकास गरेर त्यसलाई हिल स्टेसनका रूपमा विकास गर्नेछौ ।
गर्मीले छटपटाइरहेको अवस्थामा कोटमा पुग्ने रमाइलो गर्ने स्थानको रूपमा विकास गर्ने हो अहिले त्यो क्षेत्र सबैभन्दा दुखको ठाउँ भाछ तर भोलि त्यो सबैभन्दा आनन्द र सुखको ठाउँ हुनेछ । तेस्रो भनेको यो क्षेत्रमा हिन्दु, इसाई, बौद्धलगायतका विभिन्न धर्मावलम्वीहरुको बसोबास छ । संविधान प्रद्धत्त आफ्नो धर्म, भाषा, साहित्य, संस्कृतिको विकास एवं संरक्षण गर्न हामी सबैसँग समन्वय गर्नेछौ ।
तपाइसँग भएका ज्ञान र सिप स्थानीय विकासमा कसरी प्रयोगमा ल्याउनुहुन्छ ?
नेकपा एमालेको विगत, वर्तमान र भविष्यका गतिविधी सबैलाई थाहा छ । व्यक्तिगत रूपमा पनि मेरो विगत र वर्तमान पनि थाहा छ । हाम्रो उपमेयरको उम्मेदवार माया आचार्यको विगत, वर्तमान पनि सबैलाई थाहा छ । सबै वडा अध्यक्ष र सदस्यहरु पनि थाहा छ । राजनीतिक रूपमा एमालेले देशको समृद्धि, राष्ट्रियताको जगेर्ना, वृद्ध भत्ता र सामाजिक सुरक्षाको क्षेत्रमा जे गरयो त्यसले जनताको बिचमा काम गर्ने पार्टी एमाले हो त्यसको चुनाव चिन्ह सूर्य हो भन्ने पनि सबैलाई थाहा छ । मेरो हकमा भन्ने हो म सामान्य किसान परिवारमा जन्मेका मान्छे हुँ । गरिबीभित्र चपेटीदै सङ्घर्ष गरेको मान्छु हुँ । संसारका सबैभन्दा धेरै धनी मान्छेहरुसंग पनि भेटे मैले, अमेरिकाका शक्तिशाली राष्ट्रपति बराक ओवामासंग पनि भेटेको छु मैले, संसारका धेरै राष्ट्रपति, प्रधानमन्त्रीहरुसंग पनि भेटको छु मैले । संयुक्त राष्ट्रसंघ सँग पनि काम गरे । मलाई रमाइलो के लाग्छ भने गाउघरको गरिबीको पीडादेखि अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न ठाउँको समृद्धि के हुन्छ र त्यसका बिचका खाडल के हुन्छन् , त्यो खाडललाई पुरनकालागि निम्ति चीनले के गरयो, भारतले के गरयो, अमेरिकाले के गरयो, युरोपले के गर्यो, अफ्रिकाले के गर्दैछ भन्ने कुरालाई मैले नजिकबाट अध्ययन गरेको छु ।
यी सबै कुरा र हिजो हामी ०५४ सालमा तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएर आउदाखेरी नगरपालिकामा कर्मचारीहरूलाई तलब खुवाउने पैसा थिएन । नगरपालिकामा आफू बस्ने कार्यालय भवन थिएन, भाडामा वस्थ्यो । नगरपालिकाभित्र फोहर फाल्नका निम्ति ट्रेक्टर आफ्नो थिएन भाडामा थियो । नगरपालिकाभित्र मासु काट्ने पसल,त्यसैको छेउमा अगरवत्ति बेच्ने पसल, त्यसको अर्को छेउमा तरकारी बेच्ने पसल थियो, अव्यवस्थित थियो । त्यसले बजार दुर्गन्धित थियो । गाउमा विकासका नाममा बजेट जाने कुरा के हो जनतालाई थाहा थिएन । तर नेकपा एमालेको अगुवाईमा यी सबै कामको सुरुवात गरेका थियौँ ।
हामीले पाँचवर्षको अवधिमा तुलसीपुर नगरपालिकाको सुविधा सम्पन्न कार्यालय भवनको निर्माण गरयौं । धुलो उड्ने पुरानो बसपार्कमा पुष्पलाल वालउद्यान निर्माण गर्यौँ । तुलसीपुरमा धुलो उड्थ्यो त्यो बिचमा ग्रीनवेल्टको निर्माण गर्यौँ र त्यसको दायाँवायाँ फूटपाथ निर्माण गर्यौँ ।
तरकारी मण्डी, बधशालाको निर्माण गरयौं र हरेक वडामा बजेट जाने व्यवस्था पनि गरयौं । र नगरपालिकाभित्र रहेका हरे सामुदायिक वनहरुलाई व्यवस्थापन गर्ने, उपयोग गर्ने कुरामा जोड दियौं । हिजो हामीले तुलसीपुर नगरपालिकाको सफा, स्वच्छ, हरितनगरी हाम्रो अभियान, तुलसीपुरको विकासमा जनसहभागिता तुलसीपुरबासीको पहिचान भन्ने कुरा हामीले अघि सारयौं । त्यसैमा टेकेर अहिले क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान सञ्चालन गरिएको छ । यसलाई सफल बनाउने कुरामा हामी निरन्तर लाग्नेछौ । हिजो हामीले काम गरेको गौरवशाली इतिहास छ । नेकपा एमालेको पनि इतिहास छ र व्यक्तिगत रूपमा मैले उपमेयर भएर विकास निर्माणको कामको इतिहास छ । म सामुदायिक वनमा उपभोक्ता महासङ्घको नेता भएर जाँदाखेरी महासङ्घमा गाडी किन्नु पर्छ भन्दा मान्छे हास्थे, इन्टरनेट चाहिन्छ र वाइफाइ फ्रि गराउने कुरा गर्दा मान्छेहरू हास्थे । महासङ्घकै वार्षिक बजेट ५०/६० लाख हुन्थ्यो । तर म गएर त्यसलाई सुविधासम्पन्न बनाए । वाइफाई फ्रि जोनका रूपमा विकास गरे । बजेटको दायरा बढाएर १०/१५ करोड पुरयाए । त्यो घनश्याम पाण्डेले घरबाट ल्याएको त होइन । त्यो त मसँग भिजन थियो । योजना थियो । नेपालको सामुदायिक वन कसैले चिन्दैनथे ।
आज विश्वमा नेपाल लुम्बिनीको देश, गौतमवुद्धको देश, सगरमाथाको देश, पशुपतिनाथको देशले मात्रै होइन सामुदायिक वनको देश भनेर चिनिन्छ । मैले संसारभरि सामुदायिक वनको माध्यमबाट वन जोगाउन सकिन्छ भन्ने नयाँ सन्देश विश्वलाई दिए । मैले संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरे, चीनमा गरे । संसारका शक्तिशाली राष्ट्रका रूपमा परिभाषित गर्थे उनीहरूलाई बन जोगाउने कुराको शिक्षा प्रदान गरे । त्यो त सम्भव हुदैरैछन त । त्यसैले मैले माथि भनेका कुराहरू सम्भव छन् । नेल्सन मण्डेलाले भन्नुभा छ । कुनै पनि काम नगर्दासम्म असम्भव देखिने हो तर गरयो भने सबैभन्दा सजिलो काम त्यही देखिन्छ ।
तपाईँ संसार घुमेको मान्छे , तुलसीपुरलाई कसरी उत्कृष्ट सहर बनाउनु हुन्छ ?
म टुरिष्ट भएर संसार घुमेँ । ज्ञान, शिक्षा र अनुभव भन्ने कुरा त्यो कुवाको भ्यागुतोलाई कुवाभित्रको पानीमात्रै थाहा हुन्छ । तर त्यो भ्यागुतो बाहिर निस्क्यो भने मात्र बाँकी संसार देख्छ । मेरो जिन्दगी मैले कुवाको भ्यागुतो भएर बिताउन चाहेन । मेरो जिन्दगी मैले एउटा चिलका रूपमा, एउटा संसार परिचर गर्ने अवसर पनि मिल्यो र म टुरिष्टका रूपमा संसार घुमे, अनुभव बटुले, सिके र ती अनुभव र सिकेका कुराहरूलाई म घरमा आएर मैले जहाँ मेरो घर थियो म त्यो कुरालाई गरेर देखाउन चाहन्छु ।
म टुरिष्ट बनेर गएको मान्छे हो, टुरिष्ट भएर यहाँ आएको होइन, म बरु संसारका टुरिष्टलाई तुलसीपुरमा ल्याउछु र तुलसीपुरवासीले पनि टुरिष्टका रूपमा बाहिर जाने, हेर्ने, पढ्ने, घुम्ने, सिक्ने अवसर पनि मैले मिलाउनेछु । चारा खोज्न उडेको चरालाई उड्यो भन्न मिल्छ र ? चरा जहाँ गए पनि आखिर फर्कने त गुँडमै हो नि ।
प्रतिक्रिया दिनुहोस