जब सैनिककाे हातमा बन्दुक हाेइन चक्कु थियाे…



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि। सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । गत साता हामीले पुस्तकको पहिलो अंश प्रकाशित गरेका थियौँ ।

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

अपहरणको समाचार

ग्याम्जोसँग चिनजान भएका मध्यस्थकर्ता अर्थात् दलाल आत्मा ग्लास सेन्टरका साहूजी अाफ्नै पसलमा छन् भन्ने सूचना प्राप्त भयो, फागुन २८ गते । गाडी लिएर म, मुखिया र आर्मीका साथीहरु बिहान छ बजेतिर नारायणगढतर्फ लाग्यौँ । शहीद चोकमा गाडी अड्याउन लगाएर पसलमा मान्छे छ की छैन हेर्न एक जना सैनिक साथी, म र मुखिया जाने सल्लाह भयो । बजारमा चहलपहल निकै थियो । पसलेलाई देखेपछि हामीले अरु साथीहरुलाई पनि नजिक आउन इसारा गर्याैँ । म सरासर पसलमा पसेँ र पसलेलाई सोधेँ– ‘तपाईं हो यो पसलको साहूजी ?’
उसले भन्यो– ‘हो, किन र ?’
‘अलिकति जस्तापाता खरिद गर्नु थियो ।’
‘कति ?’
‘चार–पाँच बन्डल ।’
‘हुन्छ नि, मिलाएर दिउँला ।’
मैले सोधेँ– ‘तपाईंको नामचाहिँ के हो ?’
उसले भन्यो– ‘किन र ?’
मैले जबाफ दिएँ– ‘मेरो साथीले तपाईंलाई चिन्दो रहेछ; उसैले तपाईंकोमा जानू, मिलाएर दिनुहुन्छ भनेको थियो, त्यसैले ।’
प्रेम विकले बताएको हुलिया बमोजिमको मान्छे यही हो भनेर मैले अनुमान गरिसकेको थिएँ । तर पनि यकिन गर्न यी सबै कुरा गरिरहेको थिएँ ।

कथमकदाचित् अपराधी नभएर अर्कै मान्छे पर्याे भने अपराधी हातबाट सधैँका लागि उम्कन्छ । त्यसैले चाहिएको मान्छेबारे यकिन हुनु जरूरी थियो ।
‘तपाईं एक छिन हामीसँग आउनुस्,’ मैले उसलाई भनेँ ।
‘किन ?’
‘आउनुस् न आउनुस्,’ मैले जोड गरेँ ।
ड्राइभरलाई अगाडि नै भनेको थिएँ– ‘म पसलभित्र पसेँ भने बुझ्नु कि मान्छे लिन भित्र गएको हुँ, त्यति बेला गाडी पसलनजिक ल्याएर रेडी पोजिसनमा बस्नू ।’
ऊ आनाकानी गरिरहेकै थियो, मैले भनेँ– ‘हामी तपाईंलाई लिन आएका हौँ । जबर्जस्ती गर्नुभयो भने नराम्रो हुन्छ, तपाईंकै बेइज्जती हुन्छ ।’ यस्तो बेला इज्जत जान्छ भन्यो भने मान्छे खुरूक्क हिँड्छ भन्ने मलाई लागेको थियो । नभन्दै मैले यति भन्नासाथ ऊ चुपचाप हामीसँग हिँड्यो ।

हामी त्यहाँ धेरै बेर बस्नु ठीक हुँदैनथ्यो । म नयाँ मान्छे, नारायणगढको ठाउँ, त्यहाँका बासिन्दाको सेन्टिमेन्ट कस्तो छ, थाहा थिएन । हामी तुरून्तै हिड्यौँ । हामीले बाटोमा उसलाई सोधपुछ गर्न थाल्यौँ । उसले इन्कारी गर्दै गयो । भन्दै थियो– ‘म बिरामी छु; मलाई केही नगर्नुस् ।’
उसलाई गाडीमा राखेर हिँड्नासाथ एफएम रेडियोले फलानो नम्बरको गाडीले व्यापारी अपहरण गरेर लग्यो भन्ने समाचार फुकेछ । प्रशासन कार्यालयबाट खोजखबर भएछ । पछि थाहा भयो, एउटा मोटरसाइकलले हामीलाई नारायणगढ बजारदेखि कसरा जाने बाटामा पर्ने प्रेमबस्तीसम्म पिछा गरेछ । उसैले एफएमलाई गाडी नम्बर टिपाएको रहेछ ।

उसको नाउँ रहेछ नगेन्द्र श्रेष्ठ । यसरी उसलाई पक्रेर हामीले कार्यालयमा त बुझायौँ तर कताबाट हो चिफ वार्डेनकहाँ ‘ऊ बिरामी छ’ भन्ने फोन आउन थालेछ । त्यसपछि उहाँले ‘उसलाई केरकारमा कडाई नगर्नू, बिरामी छ’ भन्नुभयो । म काममा व्यस्त थिएँ, खासै सोधपुछ गर्न भ्याइनँ । मैले सुनेँ, इजलासमा उनको बयान तीन–चार पटक फेरियो रे । म नयाँ थिएँ, अदालती बन्दोबस्त सम्बन्धि त्यति धेरै ज्ञान पनि थिएन । मेरो कानुनी ज्ञान आईएस्सी फरेस्ट्रीमा पढेको पचास नम्बरको कानुनको कोर्समा सीमित थियो । त्यो बाहेक हामीले व्यवहारबाटै मुद्दाको अनुसन्धान, तहकिकात तथा अन्य अदालती बन्दोबस्ती जान्नैपर्थ्याे ।

नगेन्द्र पक्राउ परेपछि निकै हल्लाखल्ला भयो । धेरै जनाले भने– ‘बल्ल खुँखार मान्छे पक्राउ पर्याे ।’ कोही भन्थे– ‘यो नै नारायणगढको मुख्य मान्छे हो, यसले यत्रो पैसा कसरी कमायो भनेको त यस्तो पो गरेको रहेछ ।’
मान्छेहरुले विभिन्न चर्चा–परिचर्चा गर्न थाले । तर बयानमा उसले तीस हजार रूपैयाँ लिएको मात्र स्वीकार गरेको थियो । मलाई पनि ठूलै मान्छे पक्रिए जस्तो त लाग्यो । तर खास सूचना प्राप्त गर्न सकिएन । किनकि म नयाँ थिएँ, सूचना ओकल्न लगाउने ट्रिक (तौरतरिका) पनि थाहा थिएन र ऊ बिरामी भएकाले राम्रोसँग केरकार पनि गरिएन ।

एक दिन बिहानै मेरा एक अङ्कल आउनुभयो। गफसफ भयो । उहाँले भन्नुभयो– ‘सीता दिदीले भेट्न बोलाउनुभएको छ ।’ भोलिपल्ट दिदीलाई भेट्न म नारायणगढ बजार गएँ । भान्जाले भर्खरभर्खर ‘मन्च टाइम क्याफे रेस्टुराँ’ खोल्नुभएको थियो । त्यहीँ दिदीले नगेन्द्रका
सालासँग भेटाइदिनुभयो । मैले पनि भेट गर्दैमा के फरक पर्याे भन्ने ठानेँ । कफी खाँदै हामी कुरा गर्न थाल्यौँ ।

नगेन्द्रका सालाले भने– ‘तपाईं नै त्यहाँको मुख्य मान्छे हो रे । तपाईंले भनेपछि हुन्छ रे । भन्न त मलाई यहाँ अरुहरुले दस लाख रूपैयाँ दिए मिलाइदिन्छु भनेका छन् तर मलाई विश्वास लागेन र तपाईंसँग भेटेको ।’ उनले मलाई दुइटा सन्देश दिन खोजे जस्तो लाग्यो । एक, मेरो भिनाजुलाई छुटाउन जति पनि खर्च गर्छु । अर्को, उनी मप्रति विश्वस्त छन्, र मबाट काम गराउन चाहन्छन् । तर गैँडा तस्करबाट घूस लिएर उसलाई छाड्ने कुरो मेरो कल्पनाभन्दा परको थियो । घूसका कुरा ठाडठाडै कसरी गर्न सकेको भन्दै मैले उनलाई हप्काएँ र भनेँ– ‘यो मबाट हुन सक्दैन । अब आइन्दा मलाई नभेट्नुस्, कानुन बमोजिम जे हुन्छ, त्यही हुन्छ ।’

त्यसपछि उनले मसँग भेट्ने प्रयास गरेनन् । उनको भनाइले अर्को कुरा पनि उजागर गरिरहेको थियो— पैसा खुवाएर तस्कर छुटाउने गिरोह पनि सक्रिय छ । ‘जम्मा तीस हजार रूपैयाँ लिएको मान्छे’ का लागि दसौँ लाख खर्च गर्छु भन्नुको अर्थ के हो ? यसले गैँडाको खाग तस्करीमा नगेन्द्र श्रेष्ठको संलग्नता कति गहिरो थियो भन्ने पनि सङ्केत गरिरहेको थियो ।

सैनिकको हातमा चक्कु

चैत ४ गते फागु पूर्णिमाको दिन थियो । मकवानपुर, बस्तीपुरको सुराकीले हामीले पक्रनुपर्ने मान्छे घरमै छ भन्ने सूचना दियो । हामी कसराबाट थोत्रो ल्यान्डरोभर गाडीमा केही सैनिक साथीहरुसहित त्यता लाग्यौँ । बस्तीपुर पुगेपछि ऊ घरमा छ की छैन हेर्न साथीहरु उसको घरतर्फ गए । छ भन्ने खबर आयो । हामीहरु अबिर किन्न थाल्यौँ । उसको घरमा फागु खेल्ने निहुँमा जानु थियो । गाडी अलिक वरै रोकेर दुई जना सैनिक साथी र म घरनजिकै पुग्यौँ । उभिएको एउटा मान्छे मिस्त्रीहरुले घर बनाउँदै गरेको हेर्दै थियो ।

मान्छेहरु काममा व्यस्त थिए । हामी करिब बीस मिटर टाढा थियौँ । उसले हामीतर्फ फर्केर एक पटक हेर्याे । मैले देखेँ— अग्लो–अग्लो, दारी पालेको, सर्ट–पाइन्ट लगाएको, गलामा लकेट झुन्डिएको । हामीलाई देख्नासाथ ऊ तलतिर भाग्न थाल्यो । सैनिक साथी र म गराका अग्ला–अग्ला कान्लाबाट फाल हान्दै पछिपछि दौडियौँ ।

करिब आधा किलोमिटर पर पुगेपछि सैनिक साथीले उसलाई समाते ।
तुरून्तै म पनि पुगिहालेँ । सैनिकको हातमा चक्कु रहेछ । उनले चक्कु देखाएर भने– ‘भागिस् भने हान्दिन्छु ।’
ऊ ‘भाग्दिनँ, भाग्दिनँ’ भन्दै थियो ।
सैनिकसँग चक्कु मात्र भएको थाहा पाएर म जिल्ल परेँ । मैले सोचेको थिएँ— उनीहरुसँग पेस्तोल होला, तर उनीहरु त बिनाहतियार गएका रहेछन् ।

त्यसरी पक्राउ परेको गैँडा सिकारी रामशरण विक थियो । उसलाई नरबहादुर विक र प्रेम विकले पोलेका थिए । अरु साथीहरु पनि जम्मा भएपछि हामीले उसलाई धकेल्दै मकै बारीबारी तलतिर छिटछिटो लग्यौँ । गाडी अलि माथि ल्याउनुभएको रहेछ चिफ वार्डेन पुरनभक्त श्रेष्ठले । गाडीमा चढ्नुअघि रामशरणकी दिदी आइपुगिन् । उनले रामशरणलाई तान्न थालिन् । तानातान भयो । मैले सबैलाई गाडीमा चढ्न भनेँ, गाडी स्टार्टमै थियो । धकेलाधकेलमा रामशरणलाई गाडीमा चढायौँ । गाउँलेहरु ‘के हो? के हो ?’ भन्दै जम्मा हुन थाले । आत्तिएर चिफ वार्डेन सरले गाडी अगाडि बढाउनुभयो ।

दुई जना सुराकी र साथीहरु चढ्न बाँकी नै रहेछन् । उनीहरु छुटेमा गाउँलेले कुटिहाल्थे । म उत्रिएँ र हतारहतार उनीहरुलाई गाडीमा चढाएँ । म चढ्न नभ्याउँदै रामशरणकी दिदीले समातिहालिन् । मेरो पालो उनलाई बेस्सरी धकेलिदिएँ । उनी बाटोतल पुगिन् । त्यही मौकामा म दौडँदै चलिरहेको गाडीमा पछाडि झुन्डिएँ। कच्ची बाटोमा गाडी स्पिडमा थियो । हुटमा अरु साथीहरु पनि थिए । म हुटमा पुग्न लागेको थिएँ, जोडले ब्रेक लाग्यो । मेरा दुवै घुँडा बेस्सरी हुटको फलामे जालीमा ठोक्किए। सारै दुख्यो, हुरूक्कै भएँ । मैले लगाएको ट्राउजरै च्यातिएको थियो । गाडी राजमार्गमा पुगेपछि म तल झरेँ । खुट्टा चलाउन पनि गार्हो भइरहेको थियो । घुँडाको छाला बेस्सरी उप्किएर रगत बगिरहेको थियो ।

टिकौली, गोन्द्राङ चौकीमा प्रहरीले हाम्रो गाडी रोक्न खोजे । अगाडि सिटमा सैनिक साथी थिए । उनले ‘किन रोकेको ?’ भनेर हप्काएपछि प्रहरी चुप लागे । उनीहरुलाई बस्तीपुरबाट सेतो रङको गाडीले मान्छे अपहरण गरेर लग्यो भन्ने खबर गएको रहेछ । त्यसैका आधारमा रोक्न खोजेका रहेछन् । हामी नारायणगढमा खाना खाएर कसरातर्फ लाग्यौँ । मैले खुट्टा मेडिकलमा देखाएँ र औषधि किनेँ । घुँडा बेस्सरी दुखिरहेको थियो ।

सौराहाको टोलीले फागुन १५ गते पक्राउ गरेर थुनामा राखेका लोकबहादुर राई र रिफल राईले बयानका क्रममा खास केही भनेनन् । उनीहरुकै अर्को साथी चतुरे राईलाई ल्यायो भने सबै कुरा खुल्छ भन्ने सूचना प्राप्त भयो ।

चैत १२ गते हामी उसलाई पक्रन सौराहाबाट पूर्व प्यारीढाप गाउँतर्फ लाग्यौँ । राप्ती नदीको ड्याकमा गाडी अड्याएर चैते धान रोपेको खेतको आलीआली टर्च लाइट पनि नबाली उसको घरमा पुग्यौँ। घर चारैतर्फबाट घेरेर भित्र पस्यौँ । तल–माथि कहीँ पनि ऊ थिएन । घरमा तेर्ह–चौध वर्षका दुई केटा सुतिरहेका थिए। माथिल्लो तलामा चित्तल मृगका केही सिङ भेटिए । सुतिरहेका  केटाहरुलाई उठाएर ‘यो घरको मान्छे खै ?’ भनेर सोध्दा ‘थाहा छैन’ भने। अनि एक्कासि बाहिर ‘समात्–समात्’ भनेर धानबालीमा दौडादौड भयो । हामीले खोजेको मान्छे पाली गाँसेको भान्छापट्टि सुतेको रहेछ । भित्र होहल्ला भएको थाहा पाएर भाग्न खोजेको रहेछ तर चारैतर्फबाट घेरिएकाले सफल भएन । उसलाई समातेर ल्याएपछि श्रीमतीले रोक्न खोजिन्, कराउँदै पछि–पछि आइन् । हामीले उनलाई सम्झाएर फर्काइदियौँ ।

चतुरे राई, रिफल राई र लोकबहादुर राईलाई सँगै राखेर सोधपुछ थाल्यौँ । उनीहरुले जङ्गल जाँदा गैँडा मरेको भेटेर खाग काटी खरको भारीभित्र लुकाई ल्याएको, गोरखा बजारमा एउटी भोटिनीलाई बेच्न दिएको, तर उसले आफूहरुलाई पैसा दिन्छु भनी काठमाडौँ लगेर मान्छे लगाई कुटेर खेदेको भन्ने बयान दिए । यसबाहेक वीरेन्द्रनगर बस्ने टीकाबहादुर पुनसमेत भई पटकपटक गैँडा मार्न गएको तर गैँडा नभेटेर त्यसै फर्किएको भन्ने पनि बयान थियो उनीहरुको। खाग ल्याएर बेच्न लगेको भन्ने अभियोगमा तीनै जनालाई वैशाख १९ गते पुर्पक्षका लागि थुनामा पठाइयो ।

खागको दलाली गरेको अभियोगमा चितवन, खैरहनी बस्ने हीरालाल श्रेष्ठको तारेख थियो। यसैबीच बस्तीपुरबाट पक्राउ गरिएको रामशरण विकले आफ्नाे बयानमा हीरालालले उसको घर गई ‘मसँग बन्दुक छ, गैँडा मार्नुस्, माल म किनिदिन्छु’ भनेर आफ्नो घरको फोन नम्बरसमेत छाडेको बताएको थियो ।

त्यही आधारमा उनलाई तारेखमा आएका बेला चैत २७ गते पक्राउ गरी सोधपुछका लागि राखियो। तर उनीविरूद्ध थप अन्य प्रमाण सङ्कलन गर्न सकिएन् । कुरा वा सल्लाह मात्र गरेका आधारमा मुद्दा चलाउन सकिने अवस्था थिएन । राष्ट्रिय निकुञ्ज ऐनले गैँडा मार्ने उद्योगमा मुद्दा चलाउने कानुनी आधार दिँदैन । रामशरण जस्तै प्रेम विकले पनि आफ्नो बयानमा हीरालाललाई खागको दलाल भनेको थियो । तर उनले कोसँग खाग लिए, कसैले बताएन । ठोस प्रमाण नभएकाले उनलाई २०६० वैशाख २२ गते कार्यालयले हाजिर जमानीमा छाडेको थियो ।

क्रमशः


 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics