खतरनाक गैँडा–सुटर वीरमानकाे वाईबीएक्स पछ्याउँदा…
‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि। सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको चाैथाे अंश –
(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)
साङ्ले भूत
चितवन आएको करिब तीन हप्तापछि अर्थात् २०५९ साल फागुनको दोस्रो हप्तातिर म चिफ वार्डेन पुरनभक्त श्रेष्ठ र मुखिया श्रीरङ्ग कँडेलसँग एक जना पूर्व वन कर्मचारीको घर गएको थिएँ । उहाँले हामीलाई आफ्ना आफन्तकहाँ लैजानुभयो जसले पुरानो पदमपुरको एउटा चेपाङलाई सुराकी राखेर सूचना लिन सक्यो भने सबै गैँडा तस्करहरुलाई पक्रन सकिन्छ भन्ने सल्लाह दिनुभयो । उसलाई भेटेर कुराकानी गर्न म पदमपुर जानुपर्ने भयो ।
म एक जना साथी लिएर पदमपुरतर्फ लागेँ। हामी राप्ती नदीको तीरमा पुग्दा साँझ पर्न थालेको थियो। फागुन महिना भएकाले हिँडेरै नदी तर्न सकिन्थ्यो । राप्ती तरेर गाउँ पुग्ने बेलासम्म अँध्यारो भैसकेको थियो । त्यसपछि मलाई लैजाने साथी र म छुट्टिनुपर्ने भयो । म निकुञ्जको पुरानो पदमपुरस्थित अमृते पोस्टमा जानुपर्ने थियो र उहाँ गाउँतर्फ। छुट्टिने बेला उहाँले मलाई भन्नुभयो– ‘राम्रोसँग जानुस् है; यता त भालु लाग्छ ।’ हुन पनि त्यहाँ मान्छेको बस्ती थिएन । दुरदराजमा कताकतै फाट्टफुट्ट झुप्रा मात्र देखिन्थे ।
म पहिलो पटक त्यहाँ गएकाले कहाँनेर के छ भन्ने केही थाहा थिएन । पोस्टको टिनको छाना मात्र धमिलो देखिन्थ्यो । म निकुञ्जमा काम गर्ने मान्छे, वन्यजन्तुसँग डराउने कुरै भएन । हामी उनीहरुलाई साथी मान्छौँ । म बयरको झ्याङ र झाडीको बाटो पोस्टको छाना हेर्दै अगाडि बढेँ । एक किलोमिटरजति हिँडेपछि छिर्लिम छिर्लिम छिर्लिम छिर्लिमको आवाज आयो । म टक्क अडिएँ । आवाज केको हो अनुमान गर्न खोजेँ । तर दिमागले केही पहिल्याउन सकेन। अनि भूत, प्रेत, बोक्सी वा त्यस्तै अरु केही हो कि भनेर सोच्न थालेँ। डर लाग्यो, तर म पछाडि फर्कन पनि सक्दिनथेँ ।
अघि बढ्नुभन्दा अर्को विकल्प थिएन । यसलाई छलेर कसरी पोस्ट पुग्ने भन्ने सोच्दै सानो लट्ठी भाँचेँ र आवाज आएको दिशालाई छाडेर अर्को दिशा समातेँ । म काँडा र झाडीबीच फसेँ । त्यसलाई पन्छाउँदै, बिस्तारै र चनाखो हुँदै पोस्टनजिक के पुग्न थालेको थिएँ, छिर्लिम छिर्लिम को आवाज झन् टड्कारोसँग नजिकै सुनिन थाल्यो । मैले मन दरो बनाएँ अनि आँखा च्यातेर आवाज आएतर्फ हेरेँ— दुइटा हात्ती बाँधिएका रहेछन्; तिनै हात्तीले खुट्टामा बाँधेको साङ्लो बजाएका रहेछन् ।
म मरीमरी हाँसेँ र ढुक्क भएर लामो सास फेरेँ । हात्तीले त्यसरी साङ्ला बजाउँछन् भन्ने मलाई थाहा थिएन । त्यसपछि म पोस्टमा पुगेँ। त्यहाँ रारा राष्ट्रिय निकुञ्जमा मसँगै काम गरेका सिनियर गेमस्काउट गोपाल गिरी र गेमस्काउट तुलाराम महतो थिए। उनीहरु पनि मलाई देखेर छक्क परे ।
‘यति राति कसरी आउनुभयो ?’ भनेर सोधेपछि मैले सबै कुरा बेलीविस्तार लगाएँ । हात्तीको साङ्लाको कहानी सुनेर उनीहरु पनि मरीमरी हाँसे । हामी सबै जना खाना खाईवरी एउटाएउटा लट्ठी हातमा लिएर गाउँतर्फ लाग्यौँ । मान्छे कुट्न होइन, बाटामा भालु भेटियो भने तर्साउन।
गाउँमा एउटी बूढी बज्यैको सानो झुप्रोमा पसल रहेछ । हामी पिर्कामा बसेपछि उहाँले स्टिलको गिलासमा ‘झोल पदार्थ’ दिनुभयो । अरु दुई साथीले खाए । म त्यति बेला रक्सी खान्नथेँ। मैले आफ्नो भाग खाए जस्तो गरेर अरु साथीलाई दिएँ । म साँझपख आउँदै गर्दा बाटोमा केटाकेटीले मलाई देखेका थिए । नौलो मान्छे पोस्टमा आएको छ भनेर गाउँभरि हल्ला फैलिएको रहेछ । त्यहाँ मलाई स्टाफको भाइ, घुम्न आएको भनेर चिनाइयो । गाउँमा केटाकेटी र बूढाबूढी मात्र देखिन्थे; अरु कता गए भनेर अप्रत्यक्ष रुपमा बुझ्दा जङ्गलमा काठ लिन गएको भन्ने थाहा भयो। आज राति नै उनीहरुले काठ राप्तीपारि लाँदै छन् भन्ने पनि बुझियो ।
पोस्टमा फर्केपछि राप्तीपारि जान दुइटा हात्ती कस्न लगाएँ । राप्ती तर्दै गर्दा अफिसको गाडीको हेडलाइट देखियो; हामीले पनि टर्च लाइटले इसारा गर्यौँ । तर पारि पुगेपछि गाडी देखिएन । चितवन, कुमरोज गाविसको जनकपुर गाउँसम्म पुगेर हेर्दा पनि गाडी नभेटेपछि निराश भएर पोस्टमा फर्कियौँ । भोलिपल्ट बिहान हामी चिया खान पुनः बूढी बज्यैको पसलमा गयौँ । अघिल्लो दिन भेटिएका केटाकेटी र बूढाबूढी मात्र भेटिए ।
काठ हिजो राति नै पारि लगेको थाहा भयो । ‘काठ किन नपक्रेको ?’ भनेर सोधे । हामीले केही जबाफ दिएनौँ र पोस्टमा आयौँ । त्यहाँ दुई जना केटा आएका रहेछन् । राजन प्रजा र चन्द्रबहादुर प्रजा । मैले राजनलाई ‘हामीसँग मिलेर काम गर’ भनेँ । उसले पनि सकारात्मक कुरा गर्यो । मैले चेपाङबारे सुनेको थिएँ, अत्यन्त पिछडिएको सोझो जाति भनेर । उसलाई त्यस्तै पाएँ । उसले अफिसको परिचयपत्र बनाइदिन अनुरोध गर्यो । मैले ‘हुन्छ, त्यसका लागि फोटो बनाउनू’ भनेँ । यसबीच चन्द्रबहादुरले हात्तीसारमा खाना पकाइसकेको थियो । हामीले सँगै खाना खायौँ । मैले राजनलाई फोन गर्न एक सयको नोट दिएँ र बिदा गरेँ ।
म पोस्टबाट फर्किएँ । राप्तीपारि बाटामा चिफ वार्डेनहरु भेटिनुभयो । उहाँहरु राप्तीको तटबन्ध अर्थात् ड्याकमा हामीलाई पर्खंदै रातभरि गाडीमा भोकभोकै सुत्नुभएछ । हाम्रो टर्च लाइटको इसारा देखेपछि अघिल्लो रात पनि हामीलाई कुर्नुभएको रहेछ । हाम्रो भेट भएको भए डम्बरे प्रजा, ढिडरा महतोहरु त्यही रात पक्राउ पर्ने रहेछन् ।
त्यो घटनापछि राजनलाई परिचयपत्र बनाइदिन म कार्ड साथमै लिएर हिँड्न थालेको थिएँ । तर दुई महिनासम्म उसले मलाई फोन पनि गरेन र कार्ड बनाउन फोटो पनि दिएन । उसलाई भेट्न खबर पठाउँथेँ तर ऊ आउँदैनथ्यो । मैले उसलाई शङ्का गर्न थालेँ । ऊ डराएर नआएको हुनुपर्छ भन्ने लाग्यो । ऊ पनि गैँडा मार्ने काममा संलग्न रहेकाले सम्पर्कमा आउन नचाहेको हो भन्ने खबर आउन थाल्यो । अब म उसलाई पक्राउ गर्ने सुरमा थिएँ ।
२०६० जेठको सुरूमा एक दिन उसले खबर पठायो, पुरानो पर्सा बजारमा चार बजे भेटौँ भनेर । तर त्यो दिन पनि ऊ आएन । त्यसताका पूर्वी चितवनमा शनिबार विभिन्न स्थानमा लोकदोहोरी कार्यक्रम हुने गर्थे । एउटा शनिबार वीरेन्द्रनगर गाविस कार्यालयनजिकैको स्कुलमा दोहोरी गीत कार्यक्रम राखिएको थियो । मसँग रुपक र माधव रेन्जरहरु पनि हुनुहुन्थ्यो ।
हामीले त्यहाँको सम्पर्कसाथीलाई भेट्यौँ; उसले त्यस दिन ‘राजन र अरु पनि दोहोरीमा आउँछन्’ भन्यो । हाम्रो योजना थियो गैँडा सिकारीको मुख्य नाइकेलाई चिन्ने, यदि ऊ आएको रहेछ भने सैनिक बोलाएर पक्रने । तर हामीले खोजेको मुख्य मान्छे आएन । दोहोरी गाउने टोलीमा राजन प्रजाको पनि नाम रहेछ । उसले ‘छाता ओझेल पारिदेऊ वर्षे झरीमा...’ बोलको गीत गायो । हामीले त्यस दिन उसलाई मात्र नपक्रने निधो गर्यौँ र छाडिदियौँ ।
भाग्ने सन्देश
अर्को दिन जेठ १६ गते पूर्वी चितवन, टाँडी बजारनजिकै बेल्सी पुलछेउको प्रतीक्षालयमा लोकदोहोरी सुन्न मान्छे जम्मा हुँदै थिए । मुखिया श्रीरङ्ग कँडेल र म मोटरसाइकलमा त्यहाँ पुगेका थियौँ । मङ्गले र राजकुमार प्रजा पनि आउँछन् भन्ने खबर थियो । हामी समय कटाउन घरी चुइङगम चबाउँथ्यौँ त घरी चिसो पिउँथ्यौँ । त्यहाँ जम्मा भएका केही मान्छे आज कलाकार नआएर कार्यक्रम नहुने भयो भन्दै थिए ।
यत्तिकैमा राजन प्रजा र अर्को एक जनालाई मैले देखेँ । सुराकीले राजनसँग मङ्गले र राजकुमार पनि आउँछन् भनेको थियो । मलाई राजनसँग आएको मान्छे मङ्गले हो जस्तो लाग्यो । उसलाई पहिले कहीँ देखे जस्तो पनि लाग्यो। तर ती दुवै जना एक छिनमै कता हराए, कता । मलाई उनीहरु हामीलाई देखेर भागे जस्तो लाग्यो; म एकदम चिन्तित भएँ ।
उनीहरु पुनः आउँछन् कि भनेर दस–पन्ध्र मिनेट तनावमै प्रतीक्षामा बस्यौँ । नभन्दै दुवै जना टाँडीतिरबाट मोटरसाइकलमा आए । त्यति बेलै पूर्वबाट साइकलमा दुइटी केटी पनि आइपुगे । उनीहरुले राजमार्गमै उभिएर आपसमा दुईतीन मिनेट कुरा गरे अनि सबै जना पश्चिम टाँडीतिरै लागे ।
हाम्रो मोटरसाइकल अलि परै थियो । हामी मोटरसाइकल लिएर आउँदा राजनहरु चढेको मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो । मुखियाले भन्नुभयो– ‘अघि तिनीहरुले भेटेका दुइटी केटी साइकलमा जाँदै छन्; यी पक्कै तिनै केटा भएको ठाउँमा जान्छन् । त्यसैले यिनैलाई पिछा गरौँ ।’
हामी ती केटीहरुलाई पछ्याउन थाल्यौँ । उनीहरु बकुलहर, टाँडीको एउटा रेस्टुराँमा पसे । त्यति बेलासम्म हामीले सौराहामा फोन गरेर सेनालाई बोलाइसकेका थियौँ । लेफ्टिनेन्ट गणेश महतसहित चार–पाँच सैनिक कोभर्टमा आइसकेका थिए (मान्छे पक्रन जाँदा सुरक्षाकर्मी भन्ने नचिनियोस् भनेर हतियार लुकाई सादा पोसाकमा अर्थात् बिनाबर्दी जानुलाई कोभर्ट भनिन्छ)। दिउँसोको तीन–चार बजेको हुँदो हो, हामी सरासर होटलभित्र पस्यौँ; त्यहाँ दुइटा केटा र दुइटी केटी चिसो मगाएर खाँदै थिए । राजनले मलाई चिनिहाल्यो । उसले ‘नमस्कार सर’ भन्यो । मैले दुवै केटालाई ‘तिमीहरु हामीसँग हिँड’ भनेँ । त्यसो भन्दा ती केटीहरुचाहिँ अक्क न बक्क परे ।
केटाहरुले चढेको मोटरसाइकल रेस्टुराँबाहिर नदेखेकाले मैले ‘तिमीहरुले चढेको मोटरसाइकल कहाँ छ ?’ भनेर सोधेँ । मोटरसाइकल मर्मतमा दिएका रहेछन् । हामीले धेरै दिनदेखि खोजिरहेको मोटरसाइकल थियो त्यो । यामाहा वाईबीएक्स ना१प ५९७३ नम्बरको त्यो मोटरसाइकलमा चितवनको सबभन्दा खतरनाक गैँडा–सुटर (गोली हान्ने सिकारी) वीरमान प्रजा हिँड्छ भन्ने सूचना हामीले पाएका थियौँ ।
हामी उनीहरुलाई लिएर टाँडीबाट सौराहा गयौँ, भाडाको गाडीमा । सौराहा ब्यारेकमा गएर सोधपुछ गर्दा राजन प्रजाले दुईतीन पटक वीरमान प्रजासित गैँडा मार्न हिँडेको स्वीकार गर्यो । उसले गैँडा मार्ने मुख्य मान्छे वीरमान नै हो भन्यो । उसबाट वीरमानको सम्पूर्ण विवरण लियौँ । मङ्गले भनेर पक्रेर ल्याएको अर्को व्यक्ति त मलाई हात्तीसारमा खाना पकाएर खुवाउने चन्द्रबहादुर प्रजा पो रहेछ । ऊ पनि गैँडा मारेको अभियोगमा दुई–तीन वर्ष जेल बसेर हालसालै छुटेको रहेछ । राजन भने ‘ऊ निर्दोष छ; उसलाई छाडिदिनुस्’ भन्दै थियो । हामीले ‘ल... ल... भन्दै गयौँ ।
राजनले वीरमानका अरु साथीबारे पनि बतायो । पदमपुरको विजय लामा उसको मुख्य साथी हो भन्यो । वीरमान प्रजाको घर कोराक, सोमीटार भए पनि वीरेन्द्रनगर, वानग्रुपमा एउटी मगर्नीलाई कान्छी श्रीमती बनाएर बसेको छ भन्ने सूचना हामीलाई पहिल्यैदेखि थियो । उनीहरु त्यहाँ चित्तल मारेर भोज लगाएर बस्ने गरेको खबर हामीकहाँ आइरहन्थ्यो । एक दिन मुखिया साहेब र म गाडी लिएर त्यता गएका थियौँ । बाटामा ५९७३ नम्बरको मोटरसाइकल खडा गरी राखिएको थियो। तर हामी अलि माथि पुगेर फर्की आउँदा मोटरसाइकल त्यहाँ थिएन ।
आज राति हामी वीरमानलाई पक्रन वीरेन्द्रनगर जाने भयौँ । त्यहाँ माओवादी कार्यकर्ता बस्ने नगरेको सूचना पाएकाले सेना लिएर सरासर वीरमान बस्ने घरमा पुग्यौँ। ऊ गाडी देखेर नभागोस् भनेर हामीले आफ्नो गाडी अलि वरै राखेका थियौँ । उसकी श्रीमती र साली आगनको खटियामा सुतिरहेका रहेछन् । हामी घरभित्र पसेर हेर्यौँ; वीरमानलाई भेटेनौँ। एल्बमबाट फोटाहरु निकाल्यौँ र उनीहरुलाई फोटामा भएका मान्छे कोको हुन् भनेर सोध्यौँ । त्यहाँ वीरमान र विजय लामाको फोटो भेटियो ।
हामी त्यहाँबाट नयाँ पदमपुर गयौँ । राजनले नै बाटो देखायो । विजय लामाको घरमा पुग्यौँ र चारैतिरबाट घेरा हाल्यौँ। घरमा उसकी भाउजू र बच्चाबच्ची सुतेका थिए । ऊचाहिँ रहेनछ । गोठमा पनि हेर्यौँ। उसका बूढा बाबुआमा सुतिरहेका थिए ।
‘विजय खै ?’ हामीले सोध्यौँ ।
उनीहरुले जबाफ दिए– ‘ऊ प्रायः यहाँ आउँदैन; उतै नारायणगढ काकाको घरमा बस्छ ।’
विजयको काका च्याङ्बा लामा पनि नामुद खाग तस्कर थियो । हामीले उसकी भाउजूलाई काकाको घरमा लैजान भन्यौँ । उनले ‘घर देखेकी छैन; फोन नम्बर मात्र छ’ भनिन् । हामीले उनलाई भरतपुर अस्पताल लैजाने, त्यहाँबाट ‘आमा बिरामी हुनुहुन्छ; हस्पिटलमा आउनू’ भनेर बोलाउन लगाउने अनि ऊ अस्पताल आएपछि पक्रने योजना बनायौँ । त्यसका लागि उनलाई लिएर जान खोज्दा विजयकी बूढी आमा पनि जबर्जस्ती गाडीमा चढिन् ।
भरतपुर अस्पताल पुगेपछि हामीले मेडिकल हलबाट विजयलाई फोन लगायौँ र भाउजूलाई कुरा गर्न भन्यौँ । उनलाई हामीले नेपालीमा मात्र बोल्नू, तामाङ भाषामा नबोल्नू भनेका थियौँ । तामाङ भाषामा कुरा गरेर विजयलाई उम्काउँछिन् कि भनेर तामाङ भाषा बुझ्ने साथीलाई पनि उनीसँगै राख्यौँ । उनले फोनमा कुरा गरिन् । उताबाट तामाङ भाषामा कुरा भयो । यताबाट पनि उनले एक–दुई शब्द तामाङ भाषामा कुरा गरिन् अनि फोन राखेर ‘विजय छैन; बाहिर गएको छ भन्यो’ भनिन् । हामीले फेरि फोन गर्न लगायौँ तर फोनै उठेन ।
हामीलाई उनले केही सङ्केत दिएर विजयलाई भगाइन् भन्ने शङ्का लाग्यो । तर केही गर्न सकिने स्थिति थिएन । हामी उनीहरुलाई पुनः पदमपुर पुर्याएर सौराहा फर्कियौँ । हाम्रो अभियान रातभरि जारी थियो तर खाली हात फर्कनुपर्यो । साथै चोरहरुलाई भाग्ने सन्देश दिए जस्तो पनि भयो । हचुवाको भरमा मान्छे पक्रन जाँदा प्रायः यस्तै हुन्छ ।
क्रमश :
प्रतिक्रिया दिनुहोस