सुदूरपश्चिमको को शुक्लाफाँटा ११ औं निकुञ्ज
- सुजाता कार्की
सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा घोषणा गरेको छ । बिहिबारको मन्त्रीपरषद बैठकले यो निणर्य गरेको हो ।
३ सय ५ क्षेत्रफल वर्ग किलो मिटरमा शुक्लाफाँटा अवस्थित रहेको छ । २०३१ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थापना भएको थियो । शुक्लाफाँटा मध्यवर्ती स्थापना भने त्यसको ३० वर्ष पछि २०६१ सालमा भएको थियो ।
यो वन्यजन्तु आरक्ष सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा रहेको छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस आरक्षको प्रमुख विशेषता हो ।
आरक्षका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ । यो आरक्ष बाह्रसिंगाको लागि प्रसिद्ध छ । दक्षिण एसियामा नै नेपालमा सबैभन्दा बढी बाह्रसिंगा पाइन्छ । विभिन्न अध्ययनका अनुसार नेपालमा २५ सय भन्दा बढी बाह्रसिंगा रहेको पाइन्छ । यो आरक्ष जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । पछिल्लो समयमा गरिएको गणना अनुसार यस आरक्षमा १७ ओटा बाघ रहेको छ । राष्ट्रिय गैँडा गणना २०१५ का अनुसार यस क्षेत्रमा ८ वटा गैडा रहेका छन् ।
आरक्षको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस आरक्षका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् ।
वन्यजन्तु अवलोकनका लागि यो आरक्ष स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् ।
राष्ट्रिय निकु्ञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता नारायण रुपाखेतिका अनुसार ‘शुक्लाफाँटा आरक्ष बाट निकुञ्जमा रुपान्तरण हुँदा पर्यटकको मात्रा बढ्छ । यसले गर्दा त्यहाँका स्थानिय समुदाय प्रत्यक्ष लाभान्वित हुन सक्छन् ।’
अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसिन) को वर्गिकरणमा समेत निकुञ्ज दोस्रो र आरक्ष चौथो श्रेणीमा राखिएको छ । आरक्षभित्र खासै पर्यटकीय गतिवधि खुला गरिएको छैन ।
यसअघि १० वटा राष्ट्रिय निकुञ्ज घोषणा भएका छन् । रारा, शिवपुरी नागार्जुन, शे फोक्सुण्डो, मकालु बरुण, खप्तड, बाके, बर्दिया, चितवन, लाङटाङ, सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । यि निकुञ्जमा भित्रिने पर्यटकका कारण स्थानिय वासिन्दाको आय आर्जन बढेको छ । साथै यहाँका मानिसले रोजगारी पनि पाएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएपश्चात् पर्सा र कोसीटप्पु गरी द्ई मात्र आरक्ष क्षेत्र रहने छन् ।
प्रतिक्रिया दिनुहोस