प्रदुषण नियन्त्रणमा अल्लोको महत्व



विना खेती नै प्रकृतिमा पाइने अल्लोबाट हामीले लगाउने लुगाको निर्माण गर्न सकिन्छ । केही समय अघिसम्म राई समुदायका मानिसले जन्म मृत्युको संस्कारमा प्रयोग गर्ने गरेका अल्लो हाल विभिन्न फेसनेवल लुगाबनाउन प्रयोग गर्न थालिएको छ ।

अल्लो प्राकृतिक रुपमा नै पाइने र यसको प्रशोधन पनि प्राकृतिक रुपमा नै हुने हुनाले यसको प्रयोगले वातावरणमा केहि असर नपर्ने देखिन्छ ।

 

अहिले बजारमा पाइने कटनबाट निर्मित लुगाले विश्व वातावरणमा नै असर पारेको छ । कटनको एउटा टिसर्ट निर्माणका लागि २७ सय लिटर पानी आवश्यक पर्छ ।

 

यसैगरी अर्गानिक कटनबाट एक जोर जिन्स र टिसर्ट निर्माण गर्दा ५ हजार लिटर पानि खर्च हुन्छ । विश्व बैंकले गरेको अनुमान अनुसार कटनको प्रयोगले विश्वको २० प्रतिशत पानी प्रदुषित हुने गरेको छ । प्रदुषण न्युनिकरण गर्नका लागी अल्लोको प्रयोग आवश्यक देखिन्छ ।। हामीले लगाउँने ४० प्रतिशत लुगा कटनबाट निर्मित हुन्छन ।

सवाह नेपालले सन् २००९ बाट घरमै बसेर लुगा बुन्ने महिलालाई लक्षित गरी अल्लोलाई प्रसोधन गरी लुगा बानाउने धागो निकाली लुगा बनाउने काम सुरु गरेको थियो । अल्लोबाट आउटर, पञ्चो, मफलर, टि–सर्ट, सल, कोट जस्ता लुगाको निर्माण गर्न सकिन्छ ।

सवाह नेपालको उत्पादन व्यवस्थापक बिनि बज्राचार्य भन्छिन्, ‘नेपाली युवाले फेसन र पार्टीमा अल्लोबाट निर्मित लुगाको प्रयोग गर्ने गरेका छन्, विदेशमा बस्नेले पनि नेपाली उत्पादन भनेर प्रयोग गर्ने गरेका छन् ।’

नेपालमा हालसम्म अल्लोको खेती भएको छैन । प्रकृतिमा नै भएको अल्लोको प्रयोग गरी लुगाको निर्माण हुँदै आइरहेको छ । नेपालमा अल्लो पर्याप्त मात्रामा नभएकोले पर्याप्त मात्रामा उत्पादन गर्न नसकिएको जानकारी सवाह नेपालका कार्यक्रम अधिकृत कलश शाक्यले बताए ।

अल्लोबाट निर्मित लुगाहरु हाल बजारमा ४ हजारदेखि १५ हजारसम्ममा विक्री हुने गरेका छन् । शाक्यले भने, ‘यो पूर्ण प्राकृतिक र यसको निर्माणको लागि धेरै समय खर्चिनु पर्ने भएकाले यसको मूल्य बढ्न गएको हो ।’

अल्लो पूर्णतया प्राकृतिक भएकाले यसले वातावरणमा कुनैपनि असर गर्दैन । समुद्र सतह भन्दा ३ हजार फिटको उचाईमा पाइने अल्लो नेपालको संखुवासभा, दार्चुला लगायतका क्षेत्रहरुमा पाइन्छ ।

समाजमा मानिसको चाहाना अनुसार विभिन्न प्रकारको लुगा लगाउने फेसन परिवर्तन भइरहेकोे हुन्छ । अहिलेको समयमा प्रयोग हुने कटनबाट निर्मित कपडाको मूल्य सस्तो भएपनि वातावरणको लागि भने हानिकारक मानिन्छ ।

हाल विश्वभरी नै फेसन रिभोलुसनले सबैको ध्यान केन्द्रित गरेको छ । वातावरण प्रदुषणमा फेसनले पार्ने असरको बारेमा सबैले ध्यान दिनु पर्ने कुरामा यस अभियानले जोड दिएको छ ।

नेपालमा अल्लोबाट कपडा बनाउन थालेपछि जंगलमा खेर गइरहेको अल्लो उपयोगमा आइरहेको छ । अल्लोको एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।

बलियो, टिकाऊ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोको कपडा स्वदेशी तथा विदेशी बजारमा राम्रो व्यापार हुँदै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics