खुंखार वन्यजन्तु तस्कर इयान बेकर पक्राउ

फाइल फोटो

खुंखार वन्यजन्तु तस्कर इयान बेकर ग्रीसको एथेन्समा पक्राउ परेका छन् । सर्वाधिक खोजीको सूचीमा रहेका बेकर पक्राउ परेको इन्टरपोलले पुष्टी गरेको छ । उनी अहिले ग्रीस प्रहरीको हिरासतमा छन् ।


बेकर सन् २००८ देखि वेपत्ता थिए । उनी काठमाडौंमा दुर्लभ वन्यजन्तुका अंगको अवैध कारोबारमा संलग्न भएको प्रमाण फेला परेपछि प्रहरीले रेड कर्ननर नोटीस जारी गरेको थियो । उनी बस्ने नक्सालको एउटा घरमा दुर्लभ वन्यजन्तुका अंगहरु ठूलो परिमाणमा बरामद भएको थियो । उनले आफ्नो घरलाई वन्यजन्तुका अंगले सजाएर राखेका थिए ।



सोफा, ओभरकोट, ज्याकेट, टोपी, ब्ल्यांकेट पनि बाघ वा चितुवाको छालाले बनेका थिए।

पक्राउ परेका बेकरलाई नेपाल ल्याउने भने अझै टुंगो लागिसकेको छैन । उनलाई नेपाल ल्याइसकेपछि भने उनी विरुद्धका दश वर्षअघिको मुद्दाको सुनुवाइ हुनेछ ।


बेकर पछिल्लो पटक थाइल्यान्डमा देखा परेका थिए । वन्यजन्तुका अंग र पुरातात्विक महत्वका वस्तुसहित काठमाडौंमा सानसौकतको जीवन बिताएका अमेरिकी नागरिक बेकर कहिले तिब्बत त कहिले थाइल्यान्डको राजधानी बैंकक घुम्ने गरेका थिए।


पछिल्लो समय उनी भुटान पुगेर थाइल्यान्ड फर्किएका थिए। २४ वर्षदेखि नेपाल बसिरहेका बेकरको नक्सालस्थित सममार्गको ८०७ नम्बरको घरबाट प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी दुर्लभ वन्यजन्तुका अंग र पुरातात्विक वस्तु बरामद गरेको थियो। तर उनी भने फरार ।


बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटोपहार र पुरातात्विक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐनअनुसार अपराध गरिरहेका थिए।


यी ऐनले वन्यजन्तु घरमा पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्विकक वस्तु राख्न निषेध गरेको छ। प्रहरीले २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सामग्री कब्जामा लिएको थियो।


बेकर प्रहरी प्रधान कार्यालय पश्चिमतर्फको भव्य महलको माथिल्लो तलामा बस्थे। उनी प्रहरी–प्रशासनको उच्च ओहदाका पदाधिकारी रिझाएर नेपाल बसिरहेका थिए।


हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल सममार्गस्थित घर र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्विक गरी १ सय २२ थान अवैध सामग्री बरामद गरेको थियो।


जसमा बाघ, हिउँचितुवा, चितुवा, हाबे्र, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नंग्रा र खप्पर थिए। सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए जुन अहिलेसम्मकै ठूलो परिमाण हो। यो घटना हुँदा बेकरको उमेर थियो, ५५ वर्ष। अहिले उनी ६४ वर्षका भइसकेका छन्।


उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ। नेपाल प्रहरी र इन्टरनेसनल पुलिस कर्पोरेसन (इन्टरपोल) ले ‘अवैध वन्यजन्तुका अंग’ संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो ।


उनको सममार्गस्थित घर छिर्ने जोकोही आश्चर्यले जिब्रो टोक्थे। अरूकहाँ जस्तो टेबलकुर्सी, सोफा र कृत्रिम सजावट सामग्री मात्र त्यहाँ थिएनन्। बगैंचादेखि भान्सा र बेडरुमसम्मको शोभा बढाउन प्रयोग गरिएका थिए। दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्विक वस्तु पनि थिए।


डाइनिङ टेबलमुनि बाघको छाला थियो भने ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी। सोफामा चितुवाकै छालाबाट बनेका चकटी थियो। बैठककोठामा त सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्मको भण्डारै थियो।


घरका लुगाफाटा पनि वन्यजन्तुकै अंगबाट बनेका थिए। बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्यांकेट, बाकस, दाप, माला भूँइभरी थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics