‘१९ वर्षे केटीलाई बन्दुक देखाएर ढाेका खाेल्न लगायाैं’
‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको एघाराैँ अंश –
(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)
तस्कर खोज्दै काठमाडौं
लाहुरेले काठमाडौँ र पोखरा लगेर खाग बेच्ने गर्थ्याे । पोखरामा उसले महेन्द्रपुलमा जडीबुटी बेच्ने मनाङेलाई खाग दिन्थ्यो भने उसलाई वीरमानले चिनाइदिएको साहू अर्थात् ताम्लिङ काठमाडौँ, बौद्धमा बस्थ्यो । फागुन ८ गते हामीले लाहुरेलाई काठमाडौँ लिएर जाने सोच बनायौँ । सेनासँग पनि सल्लाह गर्यौँ । आवश्यक परे फोर्स काठमाडौँबाटै उपलब्ध गराइदिने कुरा भयो । हामी ल्यान्डरोभर गाडी लिएर हिँड्यौँ । भरतपुर आएर लाहुरेलाई पेट्रोल पम्पबाट काठमाडौँ ताम्लिङको घरमा फोन गर्न लगायौँ । कसरास्थित निकुञ्ज कार्यालयबाट फोन गर्दा कलर आईडीमार्फत हामीले गरेको थाहा पाउला भनेर त्यसो गरेका थियौँ । लाहुरेले फोन गर्यो ।
काठमाडौँमा महिलाले फोन रिसिभ गरी– ‘साहूजी हुनुहुन्न।’
‘कहाँ हुनुहुन्छ?’
‘इन्डिया जानुभएको छ।’
‘कहिले आउनुहुन्छ?’
‘भोलि ।’
उसले सोधी– ‘तिमी को हौ ?’
यसले भोटे लवजमा भन्यो– ‘म बिर्मानको भाइ । माल छ; म लिएर आउँछु ।’
‘कत्रो छ?’
‘एघार सय ग्राम ।’
‘हुन्छ आऊ ।’
‘साहूजी कहिले आउनुहुन्छ ?’ यसले फेरि सोध्यो ।
‘म नै किनिदिन्छु,’ उसले भनी ।
लाहुरेका अनुसार, उसले सामान लगेर कहिले साहूलाई त कहिले साहूकहाँ काम गर्ने त्यही केटीलाई दिन्थ्यो । त्यो केटीले सामान जोखेर चेकजाँच गरेपछि मोलतोल हुन्थ्यो अनि उसले फोन गरेर साहूलाई बोलाउँथी र ऊ आएर पैसा दिन्थ्यो । कहिले उसको छोराले पनि किन्थ्यो ।
हाम्रो ल्यान्डरोभर भर्खर काठमाडौँबाट दुई लाख पचास हजार रूपैयाँ खर्च गरेर बनाएर ल्याइएको थियो । गाडी बिग्रियो भनेर वर्कसपमा देखाउन थाले गुरूजी दस–पन्ध्र मिनेटमा हुन्छ भनेको दुई–तीन घण्टा लाग्यो । बनिसक्दा खबर आयो— जुगेडीमा बाटो बन्द छ, चक्काजामले । मान्छे मारिएको विरोधमा । आज शिवरात्रि थियो; पैसा उठाउँदै हिँड्नेहरुलाई माओवादी ठानेर गोली ठोकेका रहेछन् सैनिकले । हाम्रो सामु हेटौँडा हुँदै दामनको बाटो काठमाडौँ जानुभन्दा अर्को विकल्प थिएन । हामी फर्केर पूर्वतर्फ लाग्यौँ । वीरेन्द्रनगर गाविस कार्यालय नजिक पुग्दा मोबाइलमा फोन आयो; चिफ वार्डेन भट्टले विष्णुजीलाई फर्काइदिन भन्नुभयो ।
भोलिपल्ट गैँडा स्थानान्तरणका सट्टामा गैँडालाई रेडियोकलर (गैँडा कहाँकहाँ विचरण गर्छ भनेर उसको गतिविधि निगरानी गर्ने ट्रान्समिटरजडित यन्त्र, जुन गैँडाको घाँटीमा बाँधिन्छ) जडान गरी छाड्ने योजना थियो ।
स्थानान्तरणको छायाङ्कनका लागि विश्वभरका टीभी च्यानल नेपाल आइसकेका थिए । महानिर्देशक डा. तीर्थमान मास्केसहित विशिष्ट पाहुनाहरु चितवन आउँदै हुनुहुन्थ्यो । त्यसैको व्यवस्थापनका लागि विष्णुजीलाई बोलाइएको थियो । उहाँलाई फिर्ता पठाएर हामी अगाडि बढ्यौँ । मलाई गैँडा तस्करको नाइके पक्रने भूत सवार भएको थियो । लाहुरेका अनुसार ताम्लिङले एक सयभन्दा बढी खाग बेचिसकेको थियो । बमबहादुर प्रजाले गैँडा मारेर निकालेको खाग विजय लामामार्फत उसैकहाँ पुग्थ्यो; ग्याम्जोले पनि उसैलाई दिन्थ्यो; वीरमान प्रजा, झलेन्द्र गुरूङ, अनिल घिसिङ लगायतका खुँखार तस्कर र सिकारीले पनि खाग उसैलाई दिने गरेको तथ्य खुल्न आएको थियो। यसरी मूल्याङ्कन गर्दा एक सयभन्दा बढी खागको व्यापार उसले गरेको अनुमान सहजै लगाउन सकिन्थ्या । म त्यो खुँखार तस्करलाई समातेर आप्mना हाकिमहरु चितवन छँदै उनीहरुलाई देखाउन चाहन्थेँ ।
हामी हेटौँडाको बाटो काठमाडौँतर्फ बढिरहँदा लाहुरेले गैँडा मार्न बन्दुक र बारूद उपलब्ध गराउने मान्छे छबिर पुन (जसलाई हामीले पक्रेर प्रमाण नभेटिएपछि तारेखमा छाडेका थियौँ) नै हो भन्ने जानकारी दियो । उसको तारेख १० गते थियो । मैले उसलाई तारेखमा आउँदा पक्रनू भन्ने आदेश दिएँ । ऊ त्यही दिन पक्रिइएछ ।
नौबिसे पुग्न बीस किलोमिटर वरै साँझ पर्न थाल्यो। हेडलाइट बालेको, बलेन । भरतपुरमा दुई–तीन घन्टा लगाएर बनाएको बत्तीले पनि काम गरेन । बल्लतल्ल नौबिसे पुगेर इलेक्ट्रिसियनलाई देखायौँ । मैले ‘डिम लाइट भए पनि जाऊँ’ भनेँ तर गुरूजीले मानेनन् । त्यहाँ पनि आधा घण्टा भनेर दुई घण्टा लगाइदियो । हामीले त्यहीँबाट लाहुरेलाई बिहानकी आइमाईलाई फोन गर्न लगायौँ, ‘म आज आउन नभ्याउने भएँ’ भनेर ।
हामी राति दस बजेतिर काठमाडौँ, बौङ पुग्यौँ र ताम्लिङ्काे घर र फ्ल्याट हेयौँ । तीन तलामाथिको फ्ल्याटमा बस्दो रहेछ । फ्ल्याटमा मान्छेहरु गफ गरिरहेको तल प्रस्टै सुनिन्थ्यो । हामीले उसलाई कहिले समात्ने भनेर एक छिन सल्लाह गर्यौँ।
मैले भनेँ– ‘मुख्य तस्करले फोन उठाएको छैन; ऊ भोलि आउँछ भनेपछि भोलि नै गरौँ।’
तर मुखिया सा’बले ‘हैन, आजै गरौँ’ भन्नुभयो ।
अनि हामीले कसरामा सेनालाई फोन गर्यौँ। त्यहाँबाट भनिदिएपछि काठमाडौँको भैरवनाथ गणबाट क्याप्टेन मिलन तुलाचनको कमान्डमा एउटा टोली आइपुग्यो । मैले हाम्रो मिसन छोटकरीमा बताएँ ।
तल गेट बन्द थियो र अग्लो कम्पाउन्ड वाल थियो । हामी बल्लतल्ल माथि चढ्यौँ । तल पनि मान्छे राख्यौँ । माथि फ्ल्याटतर्फ जान च्यानल गेट थियो । सेनाको टोली आइपुग्न समय लागेकाले मान्छेहरु सुतिसकेका थिए ।
हामीले च्यानल गेट ठोकेर मान्छेलाई उठायौँ । उन्नाइस–बीसवर्षे मङ्गोलियन केटी निक्लेर ‘को हो?’ भनी । हामी को हौँ उसलाई बतायौँ र गेट खोल्न भन्यौँ । तर उसले मानिन । क्याप्टेनले परिचयपत्र देखाउनुभयो । तर पनि नमानेपछि बन्दुक निकालेर देखाउनुभयो र बल्लतल्ल च्यानल गेट खुल्यो ।
हामी भित्र पस्यौँ र लाहुरेलाई ‘अघि फोनमा कुरा हुने केटी त्यही हो कि?’ भनेर सोध्यौँ।
लाहुरेले ‘होइन’ भन्यो । ऊ डराई–डराई भित्र पस्यो । ऊ दिउँसैदेखि कति डराएको थियो भने हामी मकवानपुरको दामनमा खाजा खाएर ओरालो लाग्दा रून थालेको थियो ।
मैले उसलाई सोधेँ– ‘किन रोएको?’ ऊ केही बोलेन ।
मैले भनेँ– ‘तँ ऊसँग डराएर रोएकाे ? ताम्लिङले मार्छ भनेर?’ ऊ फेरि पनि केही बोलेन; रोई मात्र रह्यो ।
मैले भनेँ– ‘तँ हामीले नपक्रिउन्जेल त दादा थिइस् रे । अरु साथीहरुलाई पनि खुकुरीले काट्छु भनेर लखेट्थिस् रे । लाहुरे भनेपछि सब जना डराउँथे रे; हामीलाई पनि ठीक पारिदिन्छु भन्थिस् रे । तर आज त तँ कायरझैँ रून थालिस् । तँ नामर्द रहिछस् ।’
त्यसपछि उसले भन्न थाल्यो– ‘मलाई मार्छ सर, त्यसले । त्यो एकदम खतरनाक छ । ठूल्ठूला मान्छे चिनेको छ । जर्नेल, कर्णेल, पुलिसका हाकिम साथी छन् त्यसका । मलाई त मारिदिन्छ त्यसले ।’
मैले भनेँ– ‘हामीले तँलाई पक्राउ गरिसकेका छौँ । अब तँलाई मार्न दिँदैनौँ; केही हुँदैन ।’ यसरी सम्झाएको निकै बेरपछि ऊ रून छाडेको थियो । जे होस्, हामी ताम्लिङको घरभित्र पस्यौँ । त्यहाँ एउटा मोटे गोरे पच्चीस–छब्बीस वर्षको ठिटो सुतिरहेको थियो । ताम्लिद्धको छोराले पनि तस्करीको काम गर्छ भनेको थियो लाहुरेले । उसलाई देखाएर सोध्दा ‘यो त उसको छोरो होइन’ भन्यो । केही लामा गुरूहरु अर्को कोठामा सुतिरहेका थिए। नेपाली नबुझेझैँ गरिरहेका थिए ।
घरको खानतलासी लियौँ; हामीले खोजेको मान्छे भेटिएन । फोटो एल्बमहरु हेर्यौँ; नागरिकता, फोटो, पासपोर्ट सबै जफत गर्यौँ र त्यहाँ काम गर्ने केटीलाई हामीले अघि मोबाइलमा सम्पर्क गरेको फोनमा कल गर्न भन्यौँ ।
उसले फोन लगाई र लाहुरेले फोनमा कुरा गर्यो । ‘म कोठामा छु; सामान लिएर आएको, आउनुस्,’ भन्यो । उसले ‘अघि भोलि आउँछु भनेको होइन?’ भनी । यसै कुरामा शङ्का गरी र ‘पन्ध्र मिनेटभित्र आउँछु’ भनेर फोन राखी। हामी तल–माथि मिलाएर पोजिसनमा बस्यौँ, ऊ आउली भनेर । एक छिनपछि उसले फोन गरी र त्यो केटीलाई ‘त्यहाँ भएका आफ्ना मान्छेसँग कुरा गर्छु’ भनी । मैले केटीलाई इसारा गरेर हुँदैन भन्न लगाएँ । उसले भनी– ‘त्यसो भए आउँदिनँ ।’
अनि लामाहरु सत्यवादी र इमानदार हुन्छन् भन्ठानेर मैले एक जना लामालाई नेपालीमा कुरा गर्न र उसलाई बोलाउन भनेँ । तर लामाले फ्याट्ट तिब्बती भाषामा कुरा गर्यो र फोन राख्यो ।
हामीले आधा घण्टाभन्दा बढी प्रतीक्षा गर्यौँ, तर ऊ आइन । त्यसपछि शङ्का लाग्यो, लामाले उसलाई बताइदिएछ भनेर । लामालाई विश्वास गरेर कुरा गर्न दिनु मेरो ठूलो भूल थियो । तर मेरो लामाहरु प्रतिको श्रद्धाले त्यसो गराएको थियो ।
खाग किन्ने व्यक्ति नभेटिएपछि हामीले त्यहाँबाट त्यो तिब्बती केटालाई पनि लिएर हिँड्यौँ । त्यहाँबाट हामीले खाग जोख्न ठिक्क पारेको तराजु, फोन लगायतका सामान बरामद गर्यौँ ।
लाहुरेले ताम्लिङ अर्को घरमा पनि बसेको हुन सक्छ भनेकाले हामी त्यसपछि महाङ्कालको अर्को घरमा छापा मार्न गयौँ । त्यहाँको गेट अग्लो थियो । बाहिरबाट फोन गर्दा उठेन । बल्लतल्ल पहिलो तलामा उक्लेर ट्वाइलेटको भेन्टिलेसनको सिसा फुटाली भित्र पसेर सुतेका मान्छे उठायौँ । तर त्यहाँ पनि हामीले खोजेको मान्छे भेटिएन ।
त्यसपछि हामी चाबहिलको दूरसञ्चार कार्यालय गयौँ, अघिकी केटीले फोन गरेको घर पत्ता लगाउन । ड्युटीको सैनिकलाई उठायौँ र दूरसञ्चारको मान्छेलाई लिन उसको घरमा गाडी पठायौँ। राति करिब दुई बजिसकेको थियो । त्यो मान्छे आएर फोन नम्बरको क्याटलग हेर्न थाल्यो । एक छिनपछि त्यो फोन नम्बर जोडिएको घरको रफ (खेस्रा) नक्सा फाइलबाट निकालेर हामीलाई देखायो ।
हामीले घर पत्ता लगायौँ र बाहिरबाट फोन हान्यौँ । घण्टी बज्यो तर फोन उठेन । घर घेरा हालेर भित्र पस्यौँ। त्यहाँ एक जना काम गर्ने केटो मात्र भेटियो। ताम्लिङ त थिएन नै, उसका लागि काम गर्ने बुटी नाम गरेकी त्यो केटी पनि त्यहाँबाट राति नै हिँडिसकेकी रहिछ । त्यो घर मुगुको मार्चे भन्ने व्यक्तिको रहेछ । पछि मुगुकै ऐडी भन्ने व्यक्तिलाई पक्राउ गरेपछि थाहा भयो, त्यो मान्छे पनि तस्कर हो भन्ने ।
हामी त्यहाँबाट पनि रित्तै हात फर्कियौँ । मलाई यो घटनाले खुबै निराशा र आत्मग्लानि भयो । आफैँले निर्णय नगरेर सामूहिक निर्णय गर्न खोज्दा यस्तो भएको थियो । आज पनि सम्झँदा असाध्यै दिक्क लाग्छ, त्यो दिनको असफल अपरेसन ।
त्यो रात हामी हताश भएर भैरवनाथ गणतर्फ लाग्यौँ । त्यहाँ पुग्दा बिहानको करिब चार बजेको थियो । क्याप्टेन मिलन तुलाचनले मलाई अफिसर ब्यारेकमा सुताउनुभयो । अरु सबै साथीहरु गाडीमै सुते । एकातिर लामो यात्राको थकानले लखतरान थियौँ भने अर्कोतिर असफलताले पेट पोलिरहेको थियो । तर पनि म निदाएछु ।
भोलिपल्ट उठेर हामी तयार भयौँ र पक्राउ गरेर ल्याइएको तिब्बती केटो निमा खम्बालाई सोधपुछ गर्यौँ । उसले ‘केही थाहा छैन’ भन्यो । त्यसपछि सैनिकले लगेर केरकार गरे । म पनि गएँ। केटो निकै जब्बर रहेछ ।
उनीहरुले त्यो केटाका आँखा र मुखमा पट्टी बाँधेर नाकमा पानी हालिदिन्थे । ऊ बेस्सरी आत्तिन्थ्यो र ‘भन्छु, भन्छु’ भन्थ्यो तर छाडिदिएपछि फेरि ‘मुझे कुछ नहीँ मालुम भैया’ भनेर हिन्दीमा भन्थ्यो । नेपाली पनि अलिअलि बोल्थ्यो तर नजानेझैँ, नबुझेझैँ गर्थ्याे ।
नाकमा पानी हालेर केरकार गर्ने तरिका मैले त्यहीँबाट सिकेको हुँ । नढाँटी भन्नुपर्छ, कसरा र लाङटाङमा पनि हामीले धेरै पटक त्यही विधि अपनायौँ । धेरै कुरा खोल्न त्यो तरिका सहयोगी बन्यो । तर त्यसरी पानी हाल्दा मान्छे निसास्सिएर मर्छ कि भनेर म निकै सतर्क हुन्थेँ । त्यो विधिले मात्र सबैलाई पर्याप्त हुँदैनथ्यो । विशेष क्ल्यु नभैकन पक्राउ परेका कुनै पनि मान्छेले कुरा खोल्दैनथे । बरू मर्न तयार हुन्थे । ‘मलाई मारिदिनुस्’ भन्थे, तर सत्य कुरा भन्दैनथे। तर एक पटक कुरा खोल्न सुरू गरेपछि भने प्रायः नलुकाई सबै कुरा बताउने गर्थे । अनि ‘अघि किन नभनेको? यत्रो दुःखै पाउने थिएनौ’ भनेर सोध्यो भने ‘सकेसम्म बाँचिन्छ कि भनेर’ भन्थे । म त्यहाँका गणपतिसँग भेट गर्न गएँ । म शुक्लाफाँटा वन्यजन्तु आरक्षमा काजमा बस्दा त्यहाँ गुल्मपति रहेका व्यक्ति नै हुनुहुँदो रहेछ ।
करिब चार वर्षपछि हाम्रो भेट भएको थियो । भलाकुसारी भयो । त्यसपछि हाम्रो योजना बन्यो— एयरपोर्टमा निगरानी राख्ने । हिजो पक्रन नसकिएको गैँडा तस्करको नाइके आज दिल्लीबाट आउँदै छ भन्ने सूचनाका आधारमा हामीले एयरपोर्टका सुरक्षाकर्मीसँग कुरा गरेर भारतबाट आउने मान्छेको निगरानी गर्न थाल्यौँ । यात्रीहरुको नाम लिस्ट हेर्न थाल्यौँ । दिनभर हामी त्यहीँ रह्यौँ, तर हातलाग्यो शून्य । राति ठमेलको होटलमा गएर बस्यौँ । भोलिपल्ट मोबाइलमा ताम्लिङकी सहयोगी केटीलाई फोन गर्न लगायौँ, एक जना नाम्चे घर हुने शेर्पा साथीमार्फत । तर उसले आफू कहाँ छु भनेर बताउन इन्कार गरी । त्यसपछि निराश भएर लाग्यौँ आफ्नो बाटो ।
हामीले अघिल्लो रात ताम्लिङको घरबाट केही डकुमेन्ट बरामद गरेका थियौँ । ती डकुमेन्ट विचित्रका थिए । नक्कली नेपाली नागरिकता, इन्डियन एम्बेसीले दिएको सिफारिसपत्र, तिब्बती शरणार्थी कार्ड र पासपोर्ट आदि ।
उसको पासपोर्टमा ‘टी छिरिङ’ लेखिएको रहेछ । त्यो देखेर उदेक लाग्यो मलाई । एकै मान्छेका विभिन्न किसिमका आईडी कार्ड ! हामी चितवन फक्र्यौं । बाटामा आउँदै गर्दा मोबाइलमा फोन आयो– ‘मावलाकी हजुरआमा सिकिस्त हुनुहुन्छ; नातिको मुख हेर्न पाए हुन्थ्यो भन्नुभएको छ।’ म मुगलिनबाट कास्की, सराङकोट मामाघरतर्फ लागेँ ।
तिब्बती केटो निमा खम्बालाई पछि सोधपुछ गर्दा पनि खास केही पत्ता नलागेपछि हामीले उसलाई छाड्नुपर्ने भयो । यसैबीच तिब्बतीहरुले नेपाल पत्रकार महासंघका सभापति तारानाथ दहालमार्फत चिफ वार्डेन शिवराजकहाँ कुरा पुर्याएछन् । हामीले उसलाई भनसुनमा होइन प्रमाणको अभावमा छाडेका थियौँ तर तिब्बतीहरुले सोचेछन्— पत्रकारले भनेकाले छाडिदियो ।
ताम्लिङको सम्बन्ध अन्तर्राष्ट्रिय गिरोहसँग छ । ऊ नेपालका गैँडाको मात्र होइन, भारतका गैँडाको समेत खाग तस्कर गर्ने व्यक्ति हो । भारत, असमको काजीरङ्गा राष्ट्रिय निकुञ्जबाट पनि खाग तस्करी गर्छ ।
विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जलाई एसियाका उत्कृष्ट दस राष्ट्रिय निकुञ्जभित्र पारिएकाले त्यसैसम्बन्धी एउटा कार्यक्रमको सिलसिलामा देहरादूनस्थित भारतीय वन्यजीव प्रतिष्ठान (डब्लुआईआई) बाट कन्सल्ट्यान्सी लिएर भारतका पूर्व चिफ कन्जरभेटर एवं वन्यजन्तु एन्टी–ट्राफिकिङका प्रमुख मनोज मिश्र नेपाल आएका थिए । त्यस बेला चोरी सिकारकाे छलफल चल्दा उनले टी छिरिङकाे कुरा उठाए। त्यो सुनेपछि आफूले खोजेको त्यो खुँखार खाग तस्कर अब यिनीहरुकै माध्यमबाट पक्राउ पर्ने भयो भनेर म निकै उत्साहित भएँ । मैले मनोजलाई आफ्नो कोठामा लगेँ र आफूसँग भएका ताम्लिङसँग सम्बन्धित सबै कागजात देखाएँ । उनले आफ्नो डिजिटल क्यामरामा तिनको फोटो लिए ।
तर कुरा गर्दै जाँदा मनोजजीले भनेको व्यक्ति मैले खोजेको छिरिङ नभएर अर्को परेछ । भारतको कुख्यात बाघ सिकारी तथा तस्कर संसार चन्द्रले बाघको छाला दिने काठमाडौँमा बसोबास गर्ने टी छिरिङ पक्राउ पर्न सकेको थिएन । भारतीय केन्द्रीय जाँच ब्युरो (सीबीआई) का जासुसहरुले नेपाल आएर उसबकाे विस्तृत विवरण तयार पारेर नेपाल प्रहरी र राष्ट्रिय निकुञ्ज विभागमा बुझाएका थिए। उनीहरुले टी छिरिङको नाममा रेड कर्नर नोटिससमेत जारी गरेका थिए ।
भारतीयहरुले उसलाई नेपाली नागरिक भनेर जोड दिएको उनीहरुले तयार पारेको डकुमेन्टमा प्रस्टै झल्कन्थ्या । तर खासमा ऊ तिब्बती शरणार्थी थियो । खोज्दै गएको भए ऊसँग पनि नेपाली नागरिकता, तिब्बती शरणार्थी कार्ड र भारतीय सिफारिस पत्र हुन सक्थ्यो, ताम्लिङको जस्तै ।
काठमाडौँबाट पठाएको बाघको छाला तथा हड्डी लामटाङ राष्ट्रिय निकुञ्जमा पक्राउ परेपछि नेपाल प्रहरीको सहयोगमा उसलाई काठमाडौँबाट पक्राउ गरियो ।
मैले गैँडाको खाग तस्करी गर्ने टी छिरिङ अर्थात् ताम्लिङसम्बन्धी धेरै पछिसम्म मनोज मिश्रसँग इमेलमा सम्पर्क गरेँ। उनले सुरूमा त सीबीआईको एक जना अधिकृत नै त्यसमा लागिरहेको र आफूले पनि छुट्टै मान्छे खटाएको बताउँदै थिए तर पछि खासै केही खबर गरेनन् ।
फागुन १९ गते पूर्वी चितवनबाट गैँडा सिकारीहरु साइकलमा देवघाटतर्फ जाँदै छन् भन्ने सूचना पाइयो । म, मुखिया श्रीरङ्ग कँडेल, गेमस्काउटहरु लप्टन थारु, महेन्द्र थापा र नागेश्वर चौधरी बिहान नौ बजेतिर काठमाडौँ जाने बाटोमा पर्ने आँपटारी चेकपोस्टमा बस्यौँ। सैनिक चेकपोस्टको ड्युटी ठड अफिसरसँग पनि कुरा गर्यौँ, आवश्यक पर्यो भने हामीलाई सहयोग गर्नुहोला भनेर । सिकारीहरु देवघाटतिरबाट साइकलमा आए । हामीले कावासोती बस्ने लिखाराम महतो र दिव्यनगर बस्ने शिवनारायण चौधरीलाई पक्राउ गर्यौँ ।
उनीहरु अनिल घिसिङ झलेन्द्र गुरूङको ग्याङका सदस्य थिए । झलेन्द्र र अनिल मारिएपछि गाउँबाट भागेका रहेछन् र लुक्दै हिँड्दा रहेछन् ।
क्रमश:
प्रतिक्रिया दिनुहोस