एक दिनमा चार सिकारी पक्रदा
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २३औं अंश –
दुवैहातमा लड्डु
२०६२ असारमा तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम (बाइसेप–एसटी) ले भारत, मेघालयको अध्ययन भ्रमण राखेको रहेछ। मैले निकुञ्जमा रहेर त्यसको कोअर्डिनेटरको काम गरेकाले होला, वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज विभागबाट मलाई मनोनयन गर्यो। म जान्नँ, अरु अधिकृतलाई नै पठाए हुन्छ’ भनेर तत्कालीन महानिर्देशक तीर्थमान मास्के सरलाई भनेँ। तर हरिहर सिग्देल र रामानन्द साह सरले।जसको मनोनयन भयो त्यही जानुपर्छ; अरुलाई हामी लग्दैनौँ’ भन्नुभएछ। म जान्नँ भन्ने अड्डीमै थिएँ; अन्तिम समयमा म्यासेज आयो— मन्त्रालयले मनोनयनगर्दा नजानेलाई विभागीय कारबाही हुन्छ भनेर। अनि म जान बाध्य भएँ।
भोलिपल्टै भद्रपुर पुगिसक्नुपर्ने थियो। तर त्यस दिन सर्लाही र महोत्तरीमा चक्काजाम भएकाले प्लेनबाट काठमाडौँ हुँदै भद्रपुर पुगेँ। मन नलागी–नलागी गएको भए पनि भद्रपुर पुगेपछि बेलुका पैँतालीस हजार रूपैयाँ भ्रमणभत्ता पाउँदा भने मक्ख परेँ। त्यस बेला मलाई ऋण लागेको थियो र त्यो रकमबाट बचाएर ऋण तिर्न ठूलो सहयोग पुग्थ्यो। हामी बाघडोगराबाट प्लेनमा गुवाहाटी, असम पुग्यौँ र त्यहाँबाट बसमा मेघालय गयौँ। त्यहाँको भू–बनोट नेपालको मध्यपहाडी भागसँग ठ्याक्कै मिल्दोजुल्दो रहेछ। वनस्पति, हावापानी, रहनसहन सबै नेपालकै जस्तो लाग्थ्यो। बसमा गुडिरहेका बेला मैले २०४३ सालतिरको मेघालयका नेपालीहरुको अवस्था सम्झन पुगेँ। ती दिनमा खासी जातिका मान्छेले नेपालीहरुलाई मेघालयबाट बडो अमानवीय किसिमले लखेटेका थिए।
पुस्तौँदेखि त्यहाँ बस्दै आएका हजारौँहजार नेपालीहरुले आ–आफ्नो श्रीसम्पत्ति, जग्गाजमिन, घर, जागिर, गाईवस्तु सबै छाडेर भाग्नुपरेको थियो। कतिको सिन्दूर पुछियो, कति बलात्कृत भए त कतिको अङ्गभङ्ग गरियो। नेपालीमाथि भएको यस्तो अत्याचारविरूद्ध त्यस बेलाको पञ्चायती सरकारले भारत सरकारलाई कुनै दबाब दिएको थिएन। उसलाई नेपाली आप्रवासीहरुले दुःख पाएकामा कुनै चासो थिएन। तर राजनीतिक पार्टीहरु प्रतिबन्धित रहेको त्यो समयमा पनि तिनले भने उनीहरुका पक्षमा देशभित्र आवाज उठाइरहेका थिए। यसै सिलसिलामा तल्लो हेम्जाको लामो चौताराबाट निकालिएको छड्के जुलुसमा म पनि सहभागी थिएँ। त्यस बेला म सोर्ह–सत्र वर्षको थिएँ। बीस–पच्चीस जनाको हाम्रो जुलुस अहिलेको मिलनचोक आइपुग्नै लाग्दा पछाडिबाट केही मण्डलेहरुले लाठी, ढुङ्गा, बोतल, छुरा र तरबारले आक्रमण गरेका थिए।
हामी मुस्किलले जोगिएका थियौँ। मेघालय भ्रमणका सिलसिलामा एक दिन हामी नाङख्यालम वाइल्डलाइफ स्याङच्युरी गयौँ। त्यो स्याङच्युरी गिब्बनका लागि प्रख्यात थियो। केही समयपहिलेसम्म मासुका लागि गिब्बनको निकै चोरी सिकार हुँदो रहेछ। चोरी सिकार नियन्त्रण गर्न धेरै प्रयास गर्दा पनि सफल नभएपछि त्यहाँका रेन्जर र वाइल्डलाइफ अफिसरहरुले ‘पोचर युज एज एन्टी–पोचर’ (चोरी सिकारीविरूद्ध चोरी सिकारीको प्रयोग) भन्ने कार्यक्रम ल्याएछन्। त्यो कार्यक्रम थियो— चोरी सिकारमा लागेको कुनै व्यक्ति वा समूहलाई पक्राउ गरेपछि उसलाई अदालतमा पेस नगरीकन र दण्ड–सजाय नदिईकन कागज गराएर छाडिदिने, त्यसबापत उसले गाउँमा गएर अरु सिकारीलाई सुराक लगाएर पक्राइदिनुपर्ने साथै गाउँलेहरुलाई गिब्बन मार्न हँुदैन भनेर सम्झाउनुपर्ने। यो कार्यक्रम ल्याइएपछि पाँच–सात वर्षभित्र गिब्बनको चोरी सिकार पूरै रोकिएछ। त्यो कार्यक्रमले मेरो मन छोयो। भ्रमणभत्ताका रुपमा पाएको पैँतालीस हजारभन्दा पनि वन्यजन्तु संरक्षणका लागि मैले सिकेको यो नयाँ उपाय लाखौँ रूपैयाँको थियो। यसका लागि नेदरल्यान्ड्स सरकारको सहयोगमा सञ्चालित बाइसेप–एसटी कार्यक्रमलाई र मलाई भ्रमणमा लैजान जोड गर्ने अफिसरहरु हरिहर र रामानन्द सरलाई मनमनै धेरै धन्यवाद दिएँ र अठोट गरेँ— म पनि यो तरिका प्रयोग गर्छु।
सिकारीविरद्ध सिकारी
म मेघालयको भ्रमणबाट फर्केपछि पूर्वी चितवनको एउटा सुराकी भेट्न आयो। उसले केही समयपहिले त्यस्तो मान्छेबारे कुरा गरेको थियो जसको नाम कसरामा चोरी सिकारीको लिस्टमा थियो तर ऊ ‘म निर्दोष छु; मलाई केही नगरे मैले चिनेका अरु सिकारीलाई पक्डाइदिन सक्छु’ भनिरहेको थियो। त्यस बेला मैले त्यसो गर्नु कानुन विपरीत हुन्छ, फेरि कसैले थाहा पाए भने अख्तियारमा उजुरी हालेर झन्झट गर्लान् भनेर उसको कुरा स्वीकार गरेको थिइनँ। यस पटक पनि उसले त्यही मान्छेबारे कुरा उठाएपछि मैले उसलाई भेटाउन भनेँ। त्यो मान्छे डराई–डराई मसँग सम्पर्कमा आयो र आफू निर्दोष भएको बेलीविस्तार लगाउँदै आफ्नो प्रस्ताव दोहोर्यायो। मैले पनि उसलाई अरु सकारीहरु पक्राएर देखाउन भनेँ। उसले एक हप्ताको समय माग्यो। मैले ठीक छ भनेर उसलाई बिदा गरेँ र सुराकीलाई उसको निगरानी गर्न अर्हाएँ। नभन्दै उसले एक हप्ताभित्रै चोरी सिकारीहरुबारे सूचना दियो। म त्यो दिन (२०६२ साउन २४ गते) कसरामा थिएँ। जानुपर्ने नयाँ पदमपुरमा अपरेसन गर्न।
बेलुकाको आठ बजिसकेको थियो। मैले तत्काल सौराहामा फोन गरेँ। रेन्जर माधवजीसँग सम्पर्क भयो। पाँच–सात दिनअगाडि पुरानो पदमपुरको भवानीपुरनजिकै गैँडा मारिएको थियो। तिनै सिकारीहरुलाई पक्रन जाने भनेपछि उहाँ कस्सिनुभयो। सेनासँग समन्वय गरेर उहाँहरु तत्काल नयाँ पदमपुर जानुभएछ र लालबहादुर कुमाल, सोमलाल चौधरी र राजकुमार कुमाललाई पक्रनुभएछ। एक–दुई जना अरुलाई पनि समात्नुपर्ने थियो; थाहा नभएर छाड्नुभएछ।
भोलिपल्ट सोधपुछ गर्दा उनीहरुले बन्दुक निकुञ्जभित्र चुरेमा लुकाएको र खाग लगेर चैनपुरको मनलाल र नरबहादुर गुरूङलाई दिएको बताए। सोमलाललाई लिएर गई लुकाएको ठाउँबाट दुइटा बन्दुक बरामद गरियो। खाग दिएका मान्छेलाई समात्न लप्टनसहितको टोली चैनपुरको सिङिपुर गयो। मनलाल भाग्न सफल भएछ; नरबहादुर भने पक्राउ परेछ। राजकुमार अनपढ थियो र ज्यादै सोझो पनि। ऊ आफ्नो बाबुका कारण गैँडा मार्ने काममा लागेको रहेछ। बाबु रणबहादुर गैँडा मारेबापत जेल परेका बेला उसलाई भेट्न जाँदा छोरासँग ‘तिमीहरुले मलाई निकाल्न सकेनौ’ भनेर रूँदो रहेछ। अनि उसको गैँडा मार्ने साथी रामबिहारीले ‘हेर्, तेरो बाबुलाई निकाल्ने भए पैसा खुवाउनुपर्छ; त्यो पैसा तैँले कमाउन सक्दैनस्, त्यसका लागि गैँडा मार्नुपर्छ’ भनेर फकाउँदो रहेछ। त्यसपछि बिस्तारै राजकुमार गैँडा सिकारी भएछ र पैसा कमाउन थालेछ। अनि एक दिन आफ्नो फुपाजु पर्ने चर्चको पादरी सानुबाबु रोक्का (केबी रोक्का) लाई लिएर गई सुब्बा उत्तमप्रसाद खरेललाई अफिसमै साठी हजार रूपैयाँ घूस दिएछ।
त्यो पैसा लिएर सुब्बाले उसको बाबुलाई सात वर्ष जेल हालिदिएछ र सोझो राजकुमारलाई के भ्रम परेको रहेछ भने पैसा ख्वाएकाले नै उसको बाबुलाई सात वर्ष मात्र जेल सजाय तोकिएको हो। राजकुमार कतिसम्म लाटो थियो भने खाग बेच्न जाँदा आफ्नी श्रीमतीलाई पनि सँगै लग्दो रहेछ। ऊ पक्राउ परेपछि पनि सगर्व भन्दै थियो– ‘मैले कमाइदिएको छु के रे; त्यही खान्छन्, बस्छन्। नरबहादुर भने चलाख थियो। गाउँमा उसको कमाइ, खर्च र घर देखेर सबै छक्क पर्थे। कसरी कमाइरहेको छ यत्रो पैसा भनेर गाउँलेहरु चकित हुन्थे। उसका चार वटी श्रीमती रहेछन्; कहिलेकाहीँ झगडा पर्दा लोग्नेलाई धम्क्याउँदा रहेछन्– ‘तँलाई पक्डाइदिऊँ म?’
यसरी ‘पोचर युज एज एन्टी–पोचर’ विधि प्रयोग गरेर एकै दिन चार सिकारीलाई पक्रन सक्दा मलाई निकै खुसी लाग्यो। यो तरिका साँच्चै प्रभावकारी रहेछ। जुम्ले कान्छाले खाग हर्कबहादुर खुलाललाई बुझाएको बयान दिएको थियो। साउन २७ गते एउटा सुराकीले खबर गर्यो फरार भएको हर्कबहादुर आजकल लोथर बजारमा देखा पर्दै छ। हामी गाडी लिएर तुरून्तै लोथर पुग्यौँ र एउटा होटलमा पसेर मासु–चिउरा बनाउन अर्डर गर्यौँ। त्यसै बेला सुराकीले हर्कबहादुर लोथरपारिको ममपसलमा भर्खर पसेको खबर ल्यायो। मैले त्यहाँ पुगेर अरु साथीलाई होटलबाहिर दुवैतर्फ उभिन लगाएँ र एक जना साथी लिएर भित्र पसेँ, ‘मम पाइन्छ भन्दै।ऊ होचोहोचो, कपाल फुलेको, ठिक्क जीउडालको थियो— टिसर्ट र कट्टु लगाएको। उसको ममको सुप टेबुलमा भर्खर आइपुगेको थियो। उनीहरु दुई जना थिए। मैले ‘के छ खुलालजी?’ भनेँ। उसले मतर्फ फर्केर' ठीकै छ’
भन्यो। अनि मैले 'बाहिर हिँड्नुस्’ भनेर हातमा समाएँ र बाहिर निकालेर साथीहरुको मदतले गाडीमा पुर्याएँ। उसको अर्को साथी, होटल साहू र होटलमा भएका अन्य मान्छे यो सबै हेरिरहेका थिए तर कोही बोलेनन्। त्रिवेणीबाट खागसहित पक्राउ परेको राजवंशी काजीको बयान अनुसार गैँडा मार्ने व्यक्तिहरुमध्ये नवलपरासी, माकर बस्ने नरसिंह चौधरी पनि थियो। ऊ भारतको केदार मुसहरसँग मिलेर त्रिवेणीबाट निकुञ्जमा पसेर गैँडा मार्ने गथ्र्यो। सुराकीले भदौ १० गते ऊ बर्दघाट बजार आउँदै छ भनेर खबर गरेपछि हामी त्यहाँ पुग्यौँ। सुराकीले फोनमा भन्यो–तीन जना मिलेर बाटोमा हिँड्दै छन्; तीमध्ये अग्लो, मोटो र अरुभन्दा कालो व्यक्ति नै नरसिंह चौधरी हो।’हामीले उसलाई बाटाबाटै समातेर गाडीमा हाल्यौँ।
हामी चितवनतर्फ आउँदै थियौँ; गाडी दाउन्नेको उकालो चढ्दै थियो। नरसिंहले झ्यालबाट फाल हाल्न खोज्यो। दुवै झ्यालतर्फ हाम्रा साथीहरु थिए, तर पनि ऊ बल गरिरहेको थियो। झ्यालबाट टाउको निकाल्न भ्याइसकेको थियो। ऊ यति बलियो थियो कि चार जनाले धकेल्ने र तान्ने गर्दा पनि
बल्लतल्ल ठाउँमा ल्याउन सकियो। अनि हामीले डोरीले हात बाँधिदियौँ। त्यस बेला थाहा भयो, उसले सुरूमै बल गरेको भए हामीले समातेर ल्याउन नसक्ने रहेछौँ। तर मैले उसलाई अलिकति पनि सोच्ने मौका नदिई समात्नेबित्तिकै लिएर हिँडेको थिएँ र गाडी चढ्ने बेला आनाकानी गर्दा मोबाइलको खोलको चुच्चो पछाडिबाट उसको कम्मरमा अड्याएर भनेको थिएँ–भाग्न खोजिस् भने गोली मारिदिन्छु।’ ऊ त्यति बेला त डराएर चुप लाग्यो तर गाडीमा हिँड्दै गर्दा यिनीहरुसँग सेना र प्रहरीसँग जस्तो बन्दुक छैन भन्ने बुझेछ कि क्या हो, भाग्ने प्रयास गर्यो। कसरामा ल्याएर सोधपुछ गर्दा उसले भारतीयहरुसँग मिलेर गैँडा खासार टेम्पल टाइगर क्षेत्रमा पाँच–छ गैँडा मारेको स्वीकार गर्यो।
एक दिन बेलुका थुनुवाकोठाको ढोका खोलेर उसलाई खाना खुवाइँदै रहेछ। त्यही बेला बिजुली गयो। त्यसको दस–बार्ह सेकेन्डपछि नै 'भाग्यो,
भाग्यो’ भन्ने आवाज आयो। हल्ला सुनेपछि म आफ्नो क्वार्टरबाट हत्तपत्त इमरजेन्सी लाइट बोकेर बाहिर कुदेँ। उता, ऊ भाग्दै गर्दा मैनबत्ती र
सलाई लिएर आउँदै गरेको भान्छे सोमे दराईसँग उसको जम्काभेट भएछ। सोमेले जम्प गरेर उसको घाँटीमा समात्न खोजेछ। दुवै जना दुईतिर पछारिएछन्। अनि अरु साथीले समातेर उसलाई कोठामा ल्याए। भागेको रिसमा साथीहरुले गोद्न थाले तर मैले रोकेँ। दस–बार्ह जनाले कुट्दा
उसको प्राणपखेरू उड्न पनि सक्थ्यो।
प्रतिक्रिया दिनुहोस