टाटमुनि बाघको छाला



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २७ औं अंश –

टाटमुनि बाघको छाला

सुराकीले सौराहा जाने बाटाको चित्रसारी पुलछेउ बाघको छाला किनबेच हुँदै छ भन्ने खबर दिएपछि हामी असोज १४ गते बिहान आठ बजेतिर त्यहाँ पुग्यौँ। सौराहाबाट पनि रेन्जर अशोक भण्डारीसहितको टोली पुगिसकेको रहेछ। हामी पुलको पश्चिमपट्टि थियौँ। दुई जना मङ्गोलियन अनुहारका मान्छे पुलको पूर्वपट्टि देखा परे। त्यहाँ कति बेला अर्को मान्छे आएर छाला दिन्छ भनेर निगरानी गर्न हामीले सुराकीलाई अर्‍हायौँ। धेरै जना त्यहाँ पुग्दा शङ्का गरेर छाला किनबेच गर्नेहरु भाग्न सक्छन् भनेर हामीले त्यसो गरेका थियौँ।

एकै छिनमा पुलको पूर्वतिर छाला बेच्ने मान्छे देखा परेछ र ती दुई केटाहरुलाई बोरा जस्तो केही दिएर पूर्वतर्फ नै लागेछ। केटाहरुचाहिँ रिक्साचढेर हामी भएतिरै आएको देखेछ सुराकीले। उसले खबर गरेपछि हामी समात्न तयार भएर बस्यौँ। तर निकै समय बितिसक्दा पनि रिक्सा आएन।

मैले आफैँ अघि बढेर हेरेँ, रिक्साको अत्तोपत्तो थिएन। त्यसपछि दगुर्दै मोटरसाइकल स्टार्ट गरेर गेमस्काउट यमबहादुर खनाललाई पछाडि राखी उनीहरु भाग्न सक्ने बाटो देवौलीतर्फ लागेँ। अरु साथीलाई गाडीमा आउन भनेको थिएँ। मोटरसाइकल एकदमै स्पिडमा थियो। मैले बाटामा मान्छेहरुलाई रिक्सा गए–नगएको सोध्दा उनीहरुले देखिएन भने। टाँडीनजिकै आइपुग्दा अगाडि एउटा रिक्सा देखियो। लौ भेटियो भनेर नजिक पुगेको त मान्छे
नै नभएको खाली रिक्सा रहेछ। बेचैन हुँदै अगाडि बढ्यौँ। फेरि दुइटा रिक्सा देखा परे जसमध्ये एउटामा अघिका दुई जना केटा जाँदै थिए। मैले नजिकै पुगेर मोटरसाइकल चल्दाचल्दै यमबहादुरलाई झर्न भनेँ र आफू पनि मोटरसाइकल त्यत्तिकै लडाएर रिक्सातर्फ दौडेँ।

यमबहादुरले म पुग्नुभन्दा अगावै दुवैलाई समाइसकेको थियो। उनीहरु जिल्ल परेर उसको मुखमा हेर्दै थिए। मैले ‘खै त्यो सामान?’ भनेँ; उनीहरुलेबताएनन्। अनि रिक्सावालालाई सोधेँ– ‘यिनीहरुले बोरा कहाँ राखेका छन्?’ उसले ‘उः त्यो टाटमुन्तिर छ’ भन्यो। मैले रिक्साको भुइँ (खुट्टा राख्ने ठाउँ)मा राखिएको टाट उल्टाएर हेर्दा बोरा र त्यसभित्र एक थान बाघको छाला फेला पर्‍यो। हामीले उनीहलाई झम्टेको देखेर वरपरका मान्छे ‘के भयो?

के भयो?’ भन्दै आउन थाले।

हामीले वास्तविकता बताइदियौँ र एउटा घरबाट डोरी मागेर दुवैका हात बाँधिदियौँ। यसरी धेरै समयदेखि छालाको व्यापारमा संलग्न गोरखाको सिर्दी बस्ने सुरेन्द्र गुरूङ र सिम्जुङ बस्ने वीरबहादुर गुरूङ कानुनको पन्जामा परे। उनीहरुबाट एकचालीस हजार रूपैयाँ बरामद भयो। छाला ल्याउने व्यक्तिलाई भने हामीले पक्रन सकेनौँ। कान्छालाल वाइवा, रवि पाख्रिन र सुरेन्द्र गुरूङले मकवानपुर, बसामाडी गाविसको बस्तीपुर बस्ने भीमबहादुर स्याङतान गैँडाको खाग र बाघको छालाको दलाली गर्छ भन्ने बयान दिएका थिए।

कान्छालाललाई पक्रेको केही समय त ऊ गाउँमा देखिएनछ तर समय बित्दै जाँदा त्यहीँ देखिन थालेको खबर ल्यायो पूर्वी चितवनको सुराकीले। उसलाई पक्रन हामी कात्तिक ७ गते बिहानै बस्तीपुर पुग्यौँ। सुराकी ऊ घरमा छ/छैन हेर्न अर्को मान्छे लिएर गयो। त्यतिन्जेल मैले एक जना साथीलाई भेटेँ। उनीहरुले फर्केर ऊ बजारतर्फ नै आएको र नजिकैको पसलमा बसेको बताए। तर ऊ त्यहाँ भेटिएन।

एक छिनपछि अर्को मान्छेले खबर ल्यायो— भीमबहादुर राप्ती पुलमा कसैसँग गफ गरेर बसेको छ। हामी त्यतै लाग्यौँ र राप्ती नदीतर्फ हेरे जस्तो गर्दै नजिकै पुग्यौँ। जब ऊसँग कुरा गरिरहेको मान्छे छुट्टिएर पुल पारि जान लाग्यो त्यसै बेला मैले उसलाई पछाडिबाट कमिजको कलरमा समातेर ‘तिमी भीमबहादुर होइनौ?’ भनेँ। उसले ‘हो’ भन्यो।

मैले ‘हामी तिमीलाई लिन आएको, भाग्यौ भने वा हल्ला गर्‍यौ भने तिम्रै बेइज्जती हुन्छ; त्यसैले चुपचाप हिँड’ भनेँ। ऊ लुरूलुरू हिँड्न थाल्यो। अलि वर आएपछि एउटा तामाङ केटासँग तामाङ भाषामा कुरा गर्न लाग्दा मैले बोल्न दिइनँ। मलाई शङ्का लाग्यो, त्यहाँका केटाहरु उठाएर हूलहुज्जत गर्ने हो कि भनेर। तर केही भएन। हामी सजिलै उसलाई गाडीमा राखेर हिँड्यौँ।

पदमपुर बस्ने राजन प्रजाको दाइ गोपाल प्रजा २०६२ मंसिर ३ गते टाँडी बजार आउँदै छ भन्ने खबर आयो। उसलाई चिन्ने मान्छे लिएर म टाँडी, बकुलरमा बिहानैदेखि ढुकेर बसेँ। एघार बजेतिर ऊ एउटा ट्याम्पोबाट झर्‍यो। उसले भाडा तिरिसकेपछि मैले ‘के छ तिम्रो हाल खबर?’ भनेर पत्रेँ।
ऊ ‘म त निर्दोष छु, नपत्याए श्रीमतीलाई फोन गर्न दिनुस्; आमालाई फोन गर्न दिनुस्’ भन्न थाल्यो। मैले ‘दूधको साक्षी बिरालो!’ भन्दै उसलाई कसरा ल्याएँ। ऊसहित पदमपुर, सिङि, कोराक र शक्तिखोरका चेपाङ सिकारीहरुले धेरै गैँडा मारिसकेका थिए।

कर्णेलसँग गलफत्ती

आइल्यान्डतिर गैँडा मार्ने गिरोहको एउटा नाइके इन्द्रबहादुर गुरूङ गैँडासम्बन्धी मुद्दामा फरार अभियुक्त थियो। विडम्बना के भने ऊ कालाबन्जार मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको उपाध्यक्ष पनि थियो। उसले गोप्य रुपमा सुब्बा उत्तमप्रसादसँग भेटेर त्यो मुद्दाबारे कुरा मिलाइरहेको रहेछ। तर भगीरथ चौधरीको बयानका आधारमा इन्द्रबहादुरसमेत भै नारायणगढको गोकुल पन्तको घरमा याक्चेलाई खाग बेचेको र सोबापत जनही एक्काइस हजार रूपैयाँका दरले बाँडेको खुल्न आयो र ऊ अर्को मुद्दामा पनि अभियुक्त हुन पुग्यो।

उसलाई कहाँबाट पक्रनु उचित होला भनेर मैले निकै सोचविचार गरेँ। एक त उसकै घर वा गाउँमा गई समातेर ल्याउन सकिन्थ्यो, अर्को भृकुटी कागज कारखानामा काँस (खर) बेच्न जाने बेला समात्न सकिन्थ्यो अथवा नारायणगढतिर गएको बेला पक्रन सकिन्थ्यो। तर उपभोक्ता समितिको उपाध्यक्षको नाताले सेनाको गाजापुर पोस्टमा जाने–आउने भएकाले त्यहीँ आएका बेला पक्राउ गर्नु सबैभन्दा सजिलो हुन्थ्यो। त्यसैले मैले रेन्जर विष्णु थपलियासँग सल्लाह गरेर ब्यारेकलाई ‘इन्द्रबहादुर गुरूद्ध गैँडा केसमा प्रतिवादी रहेकाले गाजापुर पोस्टलाई पक्राउ गर्न लगाई यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन’ भन्ने ब्यहोराको पत्र लेख्न लगाएँ। आफू त्यति बेला निमित्त चिफ वार्डेन भएको हँुदा पत्रमा मैले नै सही गरेको थिएँ।

त्यो पत्र देखेपछि कर्णेल अजित थापाले ‘मलाई आदेश दिने त्यो को हो?’ भनेर हङ्गामा मच्चाउन थालेछन्। हुन त मैले पनि पत्र लेख्नुभन्दा अगाडि ऊनीसँग यसबारे एक पटक कुरा गरेको भए पनि हुन्थ्यो तर मैले सोझो मनले राम्रै सोचेर पत्र लेखेको थिएँ। फेरि त्यो पत्र व्यक्तिले व्यक्तिलाई नभएर एउटा कार्यालयले अर्को कार्यालयलाई लेखेको थियो। तर उनले ‘शाही नेपाली सेनालाई आदेश दिने त्यो को?’ भनेर चिफ वार्डेन शिवराजलाई पनि फोन गरेछन्। चिफ वार्डेनले काठमाडौँबाट फोन गर्दा म त अक्क न बक्क परेँ। अनि ‘पत्रको अफिस कपी यहीँ छ; तपाईं आएपछि छलफल गरौँला’ भनेँ।

कर्णेलले बेमतलबको बखेडा झिकेपछि मैले निकुञ्जका कर्मचारी मात्र लिएर गई इन्द्रबहादुरलाई पक्रेर देखाउँछु भन्ने अठोट गरेँ। यसैबीच निकुञ्जको व्यवस्थापन कार्ययोजना पुनरावलोकन गरी नयाँ बनाउने कार्यमा आउनुभएका डा. तीर्थबहादुर श्रेष्ठ फिल्ड भिजिटमा हुनुहुन्थ्यो। त्यसै क्रममा कालाबन्जार उपभोक्ता समितिसँग २०६२ मद्ध्सिर १५ गते अन्तरक्रिया राखिएको मैले थाहा पाएँ। समितिको अध्यक्ष अध्ययन भ्रमणमा भारत गएकाले उपाध्यक्ष अवश्य नै उपस्थित हुन्छ भन्ने लागेर म त्यही अन्तरक्रिया कार्यक्रममा गएर उसलाई समात्ने सोचमा पुगेँ।

तर त्यही दिन म भरतपुर नपुगी नहुने विशेष काम आइपर्‍यो। काम सकेर हतारहतार कार्यक्रम स्थलतर्फ जाँदा डा. तीर्थबहादुर फर्किरहनुभएको थियो।
तैपनि हामी गाडी कुदाएर उपभोक्ता समितिको कार्यालय पुग्यौँ। त्यहाँ सोध्दा एउटा मान्छेले इन्द्रबहादुर अरु साथीसँग चियापसलतिर गएको जानकारीदियो। हामी त्यतै लाग्यौँ। सबै जना त्यहाँ चिया खाँदै थिए। इन्द्रेले हामीलाई पनि चिया खान भन्यो। चिया खाइसकेपछि मैले उसलाई छेउतिर लगेर ‘हामी तपाईंलाई लिन आएका हौँ; चिफ वार्डेनले तपाईंसँग केही बुझ्न खोज्नुभएको छ’ भनेँ। उसले ‘मैले बुझे; म पछि आउँछु’ भन्यो।

मैले भनेँ– ‘तपाईं अहिले नै हिँड्नुस्। भाग्न खोज्नुभयो वा आनाकानी गर्नुभयो भने तपाईंकै बेइज्जती हुन्छ। हामी जसरी पनि लग्छौँ।’

अनि उसलाई गाडीमा चढाउन स्टाफलाई इसारा गरेँ। ऊ आनाकानी गर्दै चढ्यो। ‘घर जान्छु’ भन्दै थियो; मैले ‘हुन्छ, गाडीमा सँगै घर जाऊँ
अनि फर्कौंला’ भनेँ। अनि हामी गाडी लिएर उसको घरतर्फ गए जस्तो गरेर बीचको बाटाबाट कसरातर्फ लाग्यौँ। इन्द्रबहादुरले पुष्पे, गुप्ते र रवि पाख्रिनले भनेझैँ खाग लगेर गोकुललाई दिएको र उसले याक्चेलाई दिएको बतायो। एक्काइस हजार रूपैयाँ लिएको भन्ने पनि उसले सकार्‍यो। हामीले धेरै करकाप नगरी सामान्य रुपमा सोधेका थियौँ; त्यसैले उसले अझै धेरै कुरा लुकाइरहेको थियो।

उसलाई निकुञ्ज कर्मचारीहरुको टोली मात्रले पक्राउ गरेर ल्याएको भए पनि पहिले–पहिलेझैँ पुरानो गोरख गण र चोरी सिकार प्रतिरोध इकाइको संयुक्त गस्तीले पक्राउ गरेको भनेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रिपोर्टिङ गर्‍यौँ। त्यस बेला पनि कर्णेलले ‘अपरेसनमा हाम्रो टोली गएकै थिएन; किन संयुक्त गस्तीले पक्रेको भन्ने रिपोर्ट पठाएको?’ भनेर अर्को बखेडा झिक्न थाले। भएको के रहेछ भने इन्द्रबहादुर पक्राउ परेको कुरा उसका परिवारजनले आफन्त सेनाका जर्नेल छत्रमानसिंह गुरूङ कहाँ पुर्‍याएछन्। जर्नेल गुरूङले त्यसबारे कर्णेल अजितलाई हकारेर सोधेपछि उनी त्यसलाई ‘प्रेस्टिज इस्यु’ बनाएर इन्द्रबहादुरलाई जसरी पनि छुटाउने एकसूत्रीय अभियानमा लागेका रहेछन्।

उनले इन्द्रबहादुरलाई छाड्न भन्नका लागि मलाई खोजेका रहेछन्। तर त्यस बेला म जैविक विविधता संरक्षण–तराई तथा शिवालिक (बाइसेप–एसटी) को दुईदिने गोष्ठीमा चितवन जिल्ला वन कार्यालय, भरतपुरमा थिएँ। म गोष्ठीबाट फर्कंदा चिफ वार्डेन काठमाडौँबाट आइसक्नुभएको थिएन। रेन्जर विष्णुजीले भन्नुभयो– ‘चिफ वार्डेनसँग फोनमा कुरा भएको थियो; कर्णेलकहाँ आफैँ गएर कुरा मिलाउनुस् भन्नुभएको छ।’

म विष्णुजीलाई लिएर गएँ; निकै रबाफ देखाउँदै उसले मलाई भन्यो–
‘आर्मीसँग च्यालेन्ज गर्ने तैँले?’

मैले नम्र भएरै आफ्ना कुरा राखेँ। ऊ झन् झोक्किँदै भन्न थाल्यो– ‘इन्द्रेलाई किन पक्रेको?’ मैले भनेँ– ‘तपाईंकै पोस्टको टोलीले पक्राउ गरेर मुद्दा चलेको केसमा प्रतिवादी भएकाले हो।’ भगीरथलाई गाजापुर पोस्टले पक्रेको थियो। म त्यो केसको फाइलै बोकेर गएको थिएँ। मेजर गङ्गा खड्काले हेरे फाइल।

कर्णेल भन्न थाल्यो– ‘तैँले इन्द्रेलाई छाडिदिनू, अनि म मेजरलाई आदेश दिन्छु— उहाँले पक्रेर ल्याउनुहुन्छ।’

मैले भनेँ– ‘प्रतिवादी भएको मान्छेलाई पक्रेर ल्याएर छाड्ने अनि फेरि पक्रने गर्न मिल्दैन। यो कुनै केटाकेटी खेल होइन। गाउँलेहरुले हामीलाई मिलोमतो गरेर वा घूस खाएर छाड्यो भन्छन्। सञ्चार माध्यमले हाम्राविरूद्धमा लेख्न थाल्छन्। हाम्रा विरोधीले भन्ने मौका पाउँछन्; त्यसैले त्यस्तो गर्न मिल्दैन।’

त्यसपछि उसले चिफ वार्डेनलाई मोबाइलमा फोन गरेर भन्यो– ‘यसलाई सरले सम्झाइदिनुपर्‍यो।’

मैले चिफ वार्डेनलाई माथिकै कारण देखाएर छाड्न नमिल्ने बताएँ। अनि भनेँ– ‘म त छाड्न सक्दिनँ, तर हाकिम तपाईं हो; छाड्ने नै हो भने मबिदामा बस्छु; तपाईंले अ?लाई निमित्त दिनुस्, अनि छाडे भैहाल्यो।’चिफ वार्डेन सानो स्वरमा ‘त्यसो भए अप्ठ्यारो पर्‍यो’ भनेर चुप लाग्नुभयो। कर्णेलले ‘खै ले’ भनेर मैले समातेको रिसिभर खोस्यो र चिफ वार्डेनसँग फोनमा कुरा गर्न थाल्यो। अनि हामीलाई ‘अब तिमीहरुसँग कुनै कुरा हुँदैन’ भन्यो। त्यसपछि हामीले हिँड्नलाई ‘नमस्कार सर’ भन्दा ‘गेट आउट’ भनेर हप्कायो। मेजर गङ्गाले अफिसबाहिर आएर हामीलाई थामथुम
पार्न खोजेका थिए।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics