पाँच वर्ष सेनामा काम गरेका व्यक्ति गैंडा तस्कर

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३० औं अंश –

गैँडाको लास

२०६२ माघको पहिलो हप्ता टाइगर टप्सको टेन्टेड क्याम्पभन्दा एक किलोमिटरपूर्व करिब पन्ध्र–बीस दिनअगाडि चोरी सिकारीले मारेर खाग लगिसकेको गैँडाको लास भेटियो। यो खतरनाक संकेत थियो। अहिलेसम्म चोरी सिकारीले भेउ नपाएको र पछिल्लो (सन् २००५ को) गैँडा गणनामा सबैभन्दा बेसी गैँडा भेटिएको क्षेत्रमा गैँडा मर्नु निश्चय नै चिन्ताको विषय थियो। त्यसैले मैले पदमपुरबाट सुराकी ल्याई माडी र भारतको सीमा क्षेत्रमा परिचालन गरेँ।

यसैबीच मेघौलीबाट ‘पटके कृष्णे र वीरबहादुर घरमै छन्’ भन्ने खबर आयो। मैले भिम्ले पोस्टमा रेन्जर शिवनारायण साहलाई सेनासँग समन्वय गरेर अपरेसन गर्न भनेँ। सोही बमोजिम उहाँहरुले पटके कृष्णे भन्ने सूर्यबहादुर कुमाललाई माघ ३० गते पक्रेर ल्याउनुभयो। वीरबहादुरकहाँ भने उहाँहरु जानु नै भएनछ।

पटके कृष्णे पाँच वर्षसम्म नेपाली सेनामा काम गरेर छाडेको व्यक्ति रहेछ। उसले टाइगर टप्समा पनि काम गरेको रहेछ। आफूसहित पाँच जना भएर टेन्टेड क्याम्पनजिक गैँडा मारेको कुरा उसले स्वीकार गर्‍यो। गैँडालाई गोली हान्ने सिकारी थियो हरिबहादुर विक। मलाई अचम्म लाग्यो, कसरी
बाराको मान्छे मेघौलीमा गैँडा मार्न आइपुग्दो रहेछ भनेर। तर ऊ त गैँडा तस्करीको सञ्जालको एउटा पुर्जा मात्र थियो। उसलाई गैँडा मार्न लगाउने
रमेश पाइलट, झलेन्द्र गुरूङ, अनिल घिसिङ, ग्याम्जो, कर्मा लामा, याक्चे, ताम्लिङ, गोकुल पन्त र इन्द्रबहादुर गुरूङदेखि समन बहादुरसम्म एउटै सञ्जालमा थिए। नारायणगढको राइनो लजमा बसेर बनाइने योजनादेखि वीरमान प्रजालाई ग्याम्जोले हेटौँडामा लक्ष्मण केसीको घरमा लैजाने र उसले अटोमेटिक बन्दुक दिएर पठाउनेसम्मका काम यही सञ्जाल अन्तर्गत भएका थिए।

सिकारीसँग घम्साघम्सी

‘जुटपानीमा सानु तामाङ भन्ने मान्छे छ; त्यो पनि गैँडा मार्ने व्यक्ति हो’ भनेर मलाई सुराकीले दुई वर्षअघि नाम टिपाएको थियो। पटके कृष्णेले पनि आफ्नो बयानमा ‘सिकारी ल्याउने मुख्य मान्छे नै जुटपानीको सानु हो’ भन्यो। म उसलाई चिन्न सक्ने त्यो क्षेत्रको सुराकी खोज्न थालेँ। एउटा नयाँ व्यक्ति भर्खरै हाम्रो सम्पर्कमा आएको थियो; उसले राम्रोसँग चिन्दो रहेछ। पटके कृष्णे समातिएपछि सानु अलि बचेर हिँड्न थालेको रहेछ। २०६२ फागुनको एक दिन ऊ घरमै छ भन्ने खबर आएपछि म र दुई जना स्टाफ लाग्यौँ
त्यतातिर। जुटपानी बजारबाट पूर्वपट्टि गाडी अड्याएर म एक्लै हिँड्दै उसको घरतर्फ गएँ। सँगै रहेको गाविस भवनअगाडिको पसलमा चिया र बिस्कुट मगाएर खाएँ। त्यो पसल उसको भाइको रहेछ।

मैले चिया खाँदाखाँदै सानुको घरबाट उसकी श्रीमती र बच्चा पसलतर्फ आए। मैले बच्चा मायालाग्दो देखेर बिस्कुट दिएँ। अनि उसको नाम सोधेँ। बिस्कुट खान पाएको खुसीमा उसले आफ्नो नाम तोते बोलीमा बतायो। त्यही मौका छोपेर सानुकी श्रीमतीसँग सोधेँ– ‘तपाईंको बच्चा हो?’
उसले असजिलो मान्दै ‘मेरो त हैन’ भनी।

मलाई उसले शंका गरी कि जस्तो लाग्यो। पटके कृष्णेले बताएको हुलिया बमोजिम ऊ सानुकी श्रीमती हो भन्नेमा शंका थिएन। पातली–पातली, गोरी,चस्मा लगाएकी र कानमा मुन्द्री पहिरिएकी।

सानु भने देखा परेन। अलिक पछि सुराकीले पनि अहिले ऊ त्यहाँ छैन भन्ने खबर दियो। अर्को दिन खबर आयो— साँझपख आउँछ; बिहान चार बजे नै हिँड्दो रहेछ। त्यसो भए बेलुका पसलबाट समात्ने भन्ने सल्लाह भयो। म र नागेश्वर मात्र थियौँ तर पनि दुई जनाले आँट्ने विचार गर्‍यौँ। तर त्यो दिन पनि ऊ घर आएन।

फेरि फागुन २१ गते खबर आयो— सानु तामाङ घरमै छ। त्यसको रेकी गर्न म मोटरसाइकलमा गएँ। म जुटपानी पुगेर उसको घरभन्दा तल स्कुलछेउको पसलमा चुरोट खाने निहुँले बसेको थिएँ। मोटरसाइकल चढेर आयो भन्ने खबर पाएँ। अनि गाडीलाई खबर गरेँ– ‘हामी पहिलेपहिले बस्ने गरेको ठाउँमा आएर बस्नू।’

एक छिनपछि सानु साइकलमा श्रीमती पछाडि राखेर पश्चिमतर्फ लाग्यो भन्ने खबर आयो। मैले उसलाई देखेको थिइनँ। साइकलमा गएको भनेपछि नजिकै होला, मान्छे चिनिराख्नुपर्‍यो भनेर पछिपछि गएँ। म उसलाई उछिनेर अगाडि गएको देखेपछि साथीले गाडीलाई पनि त्यही बाटो पठाइदिएछ।

सानुले शंका गरेर हो कि के हो, बीचका घरहरुमा कहाँ पस्यो कहाँ, पत्तै भएन। हामी फर्केर पुनः जुटपानी बजारमा आई बस्यौँ। माओवादीको बिगबिगी थियो। गाडीसहितका पाँच–सात जनालाई देखेर मान्छेहरु आँखा ठूल्ठूला पारेर हेर्थे। हामी चिया खाँदै थियौँ, सुराकीले सानु साइकल चढेर बजारतर्फ आएको बतायो। हामी सतर्क नै थियौँ। एक छिनमा सुराकीले आएर भन्यो– ‘मैले अर्को
साथीलाई देखाइसकेको थिएँ; खै पक्रेको तपाईंहरुले?’ म हतारहतार उसले देखाएको दिशातर्फ गएँ। उसले भनेको थियो– ‘सानु साइकल बनाइरहेछ र गेमस्काउट पहुवारी यादव पनि नजिकै छ।’ तर मैले कसैलाई देखिनँ। अनि हडबडाउँदै यता–उता कुद्न थालेँ। त्यही बेला पश्चिमपट्टि मान्छेहरुको भीड लागिरहेको देखेँ। दौडँदै त्यहाँ गएको त पहुवारी र सानुको घम्साघम्सी परिरहेको रहेछ। एउटा समात्न खोज्ने, अर्को भाग्न खोज्ने। घरी भाग्छ, घरी समातिन्छ। बिरालाले मुसालाई समात्दा फुत्केर भाग्ने र फेरि पक्रने खेल
जस्तै थियो त्यो दृश्य।

मैले ‘समात् समात्, नछोड् नछोड्’ भनेपछि पहुवारीले पुलुक्क मतिर हेरेर साहसका साथ उसलाई बेस्सरी अँठ्यायो।

सानु लड्यो।

अरु मान्छे ‘किन, किन? के भयो?’ भन्दै थिए।
मैले ‘केही होइन, तपाईंहरु जानुस्’ भनेँ।
अनि पहुवारी र मैले बलजफ्ती समातेर उसलाई गाडीतिर ल्यायौँ। अरु साथी पनि आइपुगे। हामीले उसको साइकल पनि गाडीको छतमा राख्यौँ।

‘यो के गरेको?’ भनेर कराउँदै गाडीतिर आउँदै थिई उसकी श्रीमती। हामी गाडी हुइँक्याएर भरतपुरतर्फ लाग्यौँ।
मैले सोचेको थिएँ— सानुलाई सुटुक्क समात्ने र फोन गर्न लगाएर हरिबहादुर विकलाई बोलाउने। तर भैदियो उल्टो। खासमा पहुवारीले
एक्लै पक्रन खोजेकाले हल्ला भयो। काम गर्दा कहिलेकाहीँ यस्तै भैदिन्छ।


हरिबहादुरकी कान्छी श्रीमतीको माइती जुटपानीमै भएकाले उनीहरु सानु पक्राउ परेको कुरा हरिबहादुरलाई फोन गरिदिए होलान् भन्ने लाग्यो।
कम्तीमा सानुकी श्रीमतीले त खबर नगरोस् भनेर हामीले नारायणगढ पुगेपछि उसलाई आफ्नी श्रीमतीलाई त्यही बेहोराको फोन गर्न लगायौँ।

कसरामा ल्याएर सोधपुछ गर्दा सानुले हरिबहादुरसमेत भएर गैँडा मारेको र काठमाडौँको ग्याल्वो गुरूद्धलाई लगेर खाग दिएको स्वीकार गर्‍यो। उसले
‘हरिबहादुर बस्ने ठाउँ र ग्याल्वोको डेरा चिनाइदिन्छु’ भन्यो। लप्टन सागर कार्कीसहित हामी सानुलाई लिएर फागुन २६ गते काठमाडौँ गयौँ।
काठमाडौँ, गोँगबुमा हरिबहादुरको ग्रील पसल छ भनेर हामी त्यहाँ पुग्यौँ तर त्यो बन्द रहेछ। त्यसपछि हात्तीगौँडास्थित ग्याल्वोको डेरामा गयौँ। त्यहाँ पनि
कोही थिएन। उसको मोटरसाइकल मात्र थियो। एक छिन बूढानीलकण्ठ पुगेर चिया पिई फर्केर आउँदा मोटरसाइकल पनि थिएन। सायद हामी
कसराबाट हिँडेको कसैले बताइदिएको थियो।

भोलिपल्ट पनि खोज्यौँ तर कसैको पत्ता लागेन। गोँगबुमा एक जनालाई हरिबहादुर भनेर हामीले झन्डै पक्रेको! कोही नभेटिएपछि हामी त्यही दिन
अबेलातिर चितवन फर्कियौँ। धादिद्धको जलवीरे, खैरेनी बजारनजिकै बस एक्सिडेन्ट भएको रहेछ। त्यहाँ हाम्रो गाडीको ब्याट्री सकिएर गाडी तानेर
लैजानुपर्ने भयो। धेरै ट्रकलाई अनुरोध गरेपछि बल्ल एउटाले तानिदियो। हामी बल्लबल्ल राति दस बजे नारायणगढ आइपुग्यौँ। त्यहाँ अर्को गाडी चढेर
कसरा पुग्दा एघार बजेको थियो। यस पटकको काठमाडौँ यात्रा पनि सार्थक रहेन। लप्टन सागर र मेरो संयुक्त टोलीलाई सधैँ ‘ब्याड लक’ नै हुन्छ।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics