बर्दियाका हात्तीलाई स्याटेलाइट कलर
- नेचर खबर
बर्दियाको राष्ट्रिय निकुञ्जमा हात्तीलाई स्याटेलाइट कलर जडान गरिएको छ । हात्तीले स्थानीयबासीलाई दुःख दिन थालेपछि स्याटेलाइट कलर जडान गरिएको हो ।
२० वर्षका भाले हात्तीलाई डार्ट गरी आइतबार बिहान स्याटेलाइट कलर जडान गरिएको छ । यो हात्तीले स्थानीय समुदायलाई दुःख दिँदै आएको थियो । उक्त हात्ती अहिले जंगल भित्र प्रवेश गरिसकेको छ । निकुञ्जको अनुगमन टोलीले स्याटेलाइट कलर जडान गरिएको हात्तीको अनुगमन गरिरहेको छ ।
स्याटेलाइट कलर जडान गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पशु चिकित्सक चित्रबहादुर खड्का, हात्तीको विषयमा विद्यावारिधी गरिरहेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन अशोक राम, चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषौतम पाण्डे, पशु प्राविधिक किरण रिजाल, वन्यजन्तु प्राविधिक दिप चौधरीलगायतका करिब २५ जनाको टोली खटिएको थियो ।
टोलीले चारवटा हात्तीको सहयोगमा उक्त हत्तिमा स्याटेलाइट कलर जडान गरेको थियो । ९ दिनको प्रयास पश्चात् बिहान ३:४५ मा डार्ट गरी स्याटेलाईट कलर जडान गर्ने टोली सफल भएका थिए ।
पुस २८ र मंसिर १५ गते यसअघि कोशीटप्पु वन्यजन्तु आरक्षको दुईवटा हात्तीलाई पनि कलर जडान गरिएको थियो । भाले हात्तीले वर्षेनी लाखौं मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पुर्याएको हुँदा स्याटेलाईट कलर आवश्यक रहेको छ ।
प्रतिक्रिया दिनुहोस