बाघ गणनाको नतिजा बैशाखमा आउने
- सुजाता कार्की
मंसिर ४ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको बाघ गणनाको नतिजा बैशाखमा मात्र आउने भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा फिल्डको काम सकिए पनि बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १० प्रतिशत काम बाँकी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने माघ २१ गतेबाट मात्र क्यामरा जडान कार्य सुरु हुने छ ।फागुन १० गते सम्म फिल्डको सबै काम सक्ने योजना रहेको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले बताए ।
तथ्याक संकलनको कामपछि करिब एक महिना समय तथ्यांक विश्लेषणमा लाग्नेछ । त्यसपछि मात्र बाघको यकिन संख्या थाहा हुनेछ । अहिलेको मौसमी अवस्था समेत बाघ गणनामा चुनौती बनेको गणनामा सहभागी कर्मचारीहरू बताउँछन् । पौडेलका अनुसार कुहिरोले गर्दा तराईमा बाघले शिकार गर्ने मृग लगायतका वन्यजन्तु समेत देख्न सकिएको छैन ।
बाघ गणनाको अर्को चुनौती हो– गणनामा खटिएका कर्मचारी, विज्ञ र प्राविधिकमाथि कुनै पनि समय बन्यजन्तुले आक्रमण गर्न सक्ने खतरा । यसपालि अहिलेसम्म त्यस्तो घटना भने भएको छैन ।
बाघ गणनाका लागि धेरै चुनौती छन् । त्यो मध्ये क्यामेरा हराउने र क्षती हुनु पनि एउटा हो । पर्सादेखि बाँकेसम्म करिब ३० वटा क्यामेराको क्षती भएको छ । क्यामेरा हराउने र अन्य वन्यन्तुले फुटाईदिएका छन् ।
बाघको बसोबास रहेका क्षेत्रलाई तीनवटा (चितवन–पर्सा कम्प्लेस, बाँके क्म्प्लेस र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेस) मा विभाजन गरी जम्मा एकहजार ८८७ वटा ग्रिड बनाएर एकहजार २०० वटा क्यामरा ‘ट्रयापिङ’ गरिएको छ ।
क्यामरा ट्रयापमा बाघसँगै मानिस र विभिन्न बन्यजन्तुका दृष्य समेत कैद हुन्छन् । त्यसबाट बाघलाई छुट्याउने र भिन्न भिन्न बाघलाई छुट्टयाएर तथ्यांक विश्लेषणको काम गरिन्छ ।
वन मन्त्रालयको जैविक विविधता तथा वातावरण माहाशाखाका प्रमुख डा.महेश्वर ढकालले नेपालमा बाघको वासस्थान र वन्जन्तु तथा मानिसबीचको द्धन्द्ध मुख्य चुनौति रहेको बताए । हुनपनि बाघ संरक्षणका लागि बाघको वासस्थान सबैभन्दा महत्वपूर्ण हुन्छ । स्थानियसँगको हातेमेलोबिन बाघ संरक्षण गर्ने कार्य सहज हुँदैन । बाघ पाइने देशहरुबीचको अन्तरसीमा साझेदारी पनि यसमा उत्तिकै महत्वपूर्ण हुन्छ । ढकाल भन्छन् , “वासस्थानको गुणस्तरमा ध्यान नदिने हो भने बाघ संरक्षणमा झन धेरै चुनौति थपिन्छ । गुणस्तयुक्त वासस्थानमा विशेष ध्यान नदिने हो भने बाघको सख्या दोब्बर बनाएर मात्र हुदैन । झन् समस्या आउन सक्छ ।”
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निुकञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बसोबास रहेको छ ।
हरेक पाँच वर्षमा गरिँदै आएको बाघको गणना यसअघि सन् २०१३ मा गरिएको थियो । त्यसक्रममा नेपालमा बयस्क बाघको संख्या १९८ देखिएको थियो । यो पटक बाघको संख्या बढ्ने संकेत देखिएको जानकारहरू बताउँछन् ।
बाघ गणनामा डब्लूडब्लूएफ नेपाल, जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस