तस्करसँग फिल्मी स्टाइलकोभिडन्त
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३६ औं अंश –
फिल्मी स्टाइलकोभिडन्त
मैले उसको पाखुरामा समातेर ‘बस्’ भनेर बलजफ्ती गाडीमा राख्न खोजेँ।ऊ मेरो हात झट्कारेर फुत्काई पछाडि हट्यो। मैले पनि ‘बस्’ भनेर फेरि जोडले समातेँ। त्यही बेला गम्बरसिंहले पनि अर्कातर्फ समातिसकेको थियो। तर त्यो मान्छेले गाडीभित्र पस्नुको सट्टा एक्कासि दुई खुट्टाले गाडीको ढोकामा टेकेर पछाडि रोलिङ गर्यो। मैले पनि हातमा आइसकेको मान्छेलाई छाड्ने कुरै भएन, भुइँमा खुट्टा टेक्नुअगावै उसको गर्धनमा झ्याप्पै अँगालो मारेँ। त्यसपछि हामी दुवै जना भीरतर्फ खस्न थाल्यौँ। मैले उसको गर्धन बेस्सरी अँचेटिरहेको थिएँ। घरी ऊ माथि घरी म माथि भएर करिब पन्ध्र–बीस मिटरतल पुग्यौँ। बीचमा एउटा ठूलो ढुङ्गा आयो। ठूला बुवाको मृत्यु भएकाले मैले कपाल खौरेको थिएँ, कस्सो मेरो टाउको त्यो ढुङ्गामा बजारिएन। खस्दै जाँदा हामी दुवै जनालाई एउटा रुखको फेदले रोक्यो। उसले बल प्रयोग गर्यो र हामी अझै तल एउटा झ्याङमा खस्यौँ। पछाडि–पछाडि गम्बरसिंह पनि आइरहेको रहेछ। त्यो मान्छेलाई हामी दुवैले मुक्का पनि हान्न थाल्यौँ तर ऊ निकै बलिष्ठ र गठिलो शरीरको थियो, करिब अठ्ठाइस–उनन्तीस वर्षको। त्यही बेला महेन्द्र पनि त्यहाँ आइपुगेकाले हामी तीन जना भएर उसलाई बेस्सरी अँठ्यायौँ। मैले आफ्नो बेल्ट खोलेर उसको कम्मरमा बाँध्न लगाएँ।
अनि महेन्द्र र गम्बरसिंहलाई भनेँ– ‘तिमीहरु यसलाई समातिराख; म माथि गएर अरु साथीहरुलाई लिएर आउँछु।’ हामी तीनै जना उसको पछि लागेको मौका पारेर पशुपति भाग्छ कि भनेरम सतर्क थिएँ। तर ऊ भागेन। चुपचाप माथि बसेर हेरिरहेको थियो हाम्रो गतिविधि। म हतारहतार माथि उक्लेँ। पशुपतिलाई गाडीमा बस्न भनेँ र गाडी चलाएर साथीहरु भएतर्फ लागेँ। अलि अगाडि पुग्दा रितेशजी अर्कातिरबाट हामीतर्फ पैदलै आइरहेको देखेँ। अघि बोरा बोकेर ल्याउने मान्छे मेरो अगाडि–अगाडि हिँडिरहेको थियो। मैले सोचेँ— यसलाई गाडी रोकेर समात्छु; भाग्यो भने उता रितेशजी हुनुहुन्छ, समातिहाल्नुहुन्छ।
नभन्दै मैले छेउमा गाडी रोक्नेबित्तिकै ऊ भागिहाल्यो।मैले रितेशजीलाई ‘समात्नुस्, समात्नुस्’ भनेर कराएँ। ऊ आफ्नो अगाडि उहाँलाई देखेर तत्काल भीरतर्फ दौडियो। भीर यति ठाडो थियो कि सामान्य मान्छे त हिँड्न पनि सक्दैनथ्यो। तर ऊ त्यो भीरमा सोझै तलतिर दौडिँदै थियो। अलिक तल पुगेपछि ऊ बल्ड्याङ खेल्न थाल्यो र गएर एउटा ढुङ्गामा बजारियो। मैले सोचेँ— लौ बर्बाद भयो, अब टाउको फुटेर यो ठहरै हुने भयो; लास बोकेर लग्नुपर्ने भयो। तर मेरो सोचाइ विपरीत त्यो मान्छे जुरूक्कै उठ्यो। यसैबीच रितेशजीले पनि भीरमा फाल हानिसक्नुभएको रहेछ। ऊ ढुङ्गामा बजारिएर उठ्नु र रितेशजी त्यहाँ पुग्नु एकै चोटि भयो। त्यो मान्छे उहाँ आइरहेको देखेर यसरी राप्तीतर्फ कुद्यो मानौँ उसलाई छिस्स पनि भएको छैन; ढुङ्गामा बजारिनु उसका लागि कुनै अनौठो कुरा होइन।ऊ खोलातर्फ दौडेपछि रितेशजी पनि दौडँदै त्यतै लाग्नुभयो। राप्ती बढेर धमिलो भएको थियो।
ऊ झ्वामझ्वामती राप्तीको भँगालोमा पस्यो। रितेशजी पनि पस्नुभयो। राप्तीले त्यो मान्छेलाई बगायो। मैले पुनः सोचेँ— लौ यो मान्छे राप्तीमा बगेर मर्ने भयो। रितेशजी पनि त्यो भँगालोमा पसेपछि डुब्नुभयो। मलाई झन् डर लाग्न थाल्यो। म उहाँलाई ‘छोडिदिनुस्, छोडिदिनुस्’ भनेर कराउन थालेँ। तर उहाँले सुन्दै सुन्नुभएन र राप्तीमा हेलिनुभयो। त्यो मान्छे त्यहाँबाट उत्रेर भाग्यो र अर्को भँगालोमा पस्यो। रितेशजीले त्यति बेला उसलाई झन्डैझन्डै भेट्टाउनुभएको थियो तर त्यहाँ पनि उहाँलाई बगायो। उसलाई पनि बगाएको हो, तर ऊ अगाडि भएकाले उत्रेर भाग्यो।
त्यति बेला रितेशजीले मतर्फ फर्केर हेर्नुभयो; मैले हातले बोलाएँ। उहाँले हाँस्दै ढुङ्गा टिपेर त्यो मान्छेतर्फ हिर्काउनुभयो र फर्कनुभयो। वारिपारिबाट थुप्रै मान्छेले त्यो दृश्य हेरिरहेका थिए। फिल्मी स्टाइलको थियो त्यो दृश्य। चोरी सिकार प्रतिरोधका क्रममा थुप्रै मुठभेड हुन्थे, तर यो घटना अविस्मरणीय थियो। म ढुक्क भएँ, अब रितेशजीलाई केही नहुने भयो भनेर। किनभने उहाँ अझै उता जानुभएको भए त्यहाँ उसको गाउँका मान्छे जम्मा भएर के–कसो भनेर उहाँलाई घेर्न र आक्रमण गर्न पनि सक्थे। त्यति भैसकेपछि बल्ल वसन्त लामिछाने र पहुवारी यादव आइपुगे।
मैले उनीहरुलाई छिटछिटो मोटरसाइकलवालालाई राखेको ठाउँमा जान भनेँ। उनीहरु दौडँदै त्यता गए र म पनि गाडी ब्याक गरेर त्यहाँ पुगेँ।चार–पाँच जना भएर त्यो मान्छेलाई माथि ल्यायौँ। अनि उसलाई पनि गाडीमा राखेर पश्चिमतर्फ लाग्यौँ। त्यति बेलासम्म रितेशजी भीरबाट माथि बाटामा आइसक्नुभएको थियो। उहाँ पनि गाडीमा चढ्नुभयो।त्यही बेला मैले हाम्रो अगाडि अघिको त्यो चस्मा लगाउनेलाई हिँडिरहेको देखेँ। अनि गाडी रोकेर उसलाई पक्रन भनेँ। त्यो मान्छे ‘किन, किन?’ भन्दै थियो; साथीहरुले जबर्जस्ती चढाउनुभयो। हामी रजैया चोकमा पुगेपछि हाम्रो अर्को गाडी भेटियो र त्यसलाई पनि अघि बढ्न इसारा गर्यौँ।
चस्मेले फुर्ती दिएर भन्न थाल्यो– ‘यो के गरेको? किन हो?’
मैले भनेँ– ‘नेता स्टाइलले धेरै नबोलौँ; हामीलाई के सोध्ने, आफूले के गरियो त्यही सम्झौँ न।’
‘मैले के गरेको छु र?’ ऊ कड्किन थाल्यो।
पछाडिको मान्छे (मोटरसाइकलवाला) ले भन्यो– ‘सबै गर्ने तपाईं नै त हो।’ अनि ऊ चुप लाग्यो।चार–पाँच किलोमिटर पर पुगेपछि हामीले दुवै गाडीमा मान्छे मिलाएर हाल्यौँ। त्यही बेला उनीहरुको नाम पनि सोध्यौँ। चस्मा लगाउने मान्छे माधवप्रसाद उप्रेती रहेछ। मोटरसाइकलवाला थियो चन्द्रबहादुर राई। उसले भन्यो– ‘त्यो चेपाङले हामीले भनेर बोरा ल्याइदिने काम मात्र गरेको हो; खास ऊ मान्छे कोही होइन।’ त्यो सुनेर मलाई ढुक्क भयो, त्यो मान्छे भागे पनि केही फरक परेन भनेर। चन्द्रबहादुरको मोटरसाइकल भने त्यो नाटकीय घटनाको हडबडीमा हामीले ल्याउन छुटायौँ। पछि कसरामा ल्याएर सोधपुछ गर्दा थाहा भयो— त्यो चेपाङ र यो राईले मिलेर पर्सा वन्यजन्तु आरक्षछेउ बाघले मारेको गोरूको सिनोमा थायोडिन नामक विष हालेका रहेछन्। गोरूको सिकार गर्ने भाले बाघ त्योखाएर मरेपछि उनीहरुले मिलेर छाला काढेछन् र माधवलाई बेच्ने व्यवस्था मिलाइदिन भनेछन्। माधव कुखुरा पाल्ने टहरा बनाउन रजैयामा बसेको रहेछ र राईले निर्माण कार्यमा सघाउँदो रहेछ। माधवले पशुपतिलाई पहिलेदेखि नै चिनेकाले फोन गरेर बोलाएको रहेछ। बाघको छाला र हड्डी हामीलाई एक लाख बीस हजारमा बेचेर पशुपतिले उनीहरुलाई साठी हजार रूपैयाँ दिने भन्ने मोलतोल भएको रहेछ। अघिल्लो दिन पशुपति त्यही गाउँमा आएर माल हेरी बिहान हेटौँडा फर्केको रहेछ।
कसरा पुगेर बोरा खोली हेर्दा त्यसभित्र राम्ररी प्याक गरिएको एउटा कार्टुन थियो। कार्टुनभित्र सबैभन्दा माथि आँप र स्याउ मिलाएर राखिएको थियो र तलपट्टि बडो मेहनतपूर्वक बाघको छाला र हड्डी राखेको भेटियो। झ्वाट्ट हेर्दा कसैले थाहा पाउँदैनथ्यो। बाघको छाला र हड्डी सहित रङ्गेहात पक्राउ परेका उनीहरुलाई चिफ वार्डेन मेघबहादुर पाण्डेले पाँच वर्ष जेल सजाय तोकेछन्। जबकि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा बाघ मार्ने र बाघको छाला तथा हड्डी बेचबिखन र ओसारपसार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ। सोही ऐनको दफा २७ मा त बाघ, गैँडासँग सम्बन्धित मुद्दामा मतियारलाई समेत बराबर सजाय गर्नुपर्ने प्रावधान रहेको छ। उनी पछि अर्का बहादुर निक्ले पुनरावेदन अदालत हेटौडाका न्यायधीश गौरीबहादुर कार्कीले त अझ जम्मा एक लाख जरिवाना तोकेर पशुपति श्रेष्ठ जस्ता खुँखार तस्करलाई उन्मुक्ति दिए।
गैँडाको चोरी सिकार र पक्राउ परेका तस्करहरुको तथ्याङक हेर्दा अघिल्ला वर्षहरुको तुलनामा २०६२ सालमा कम मान्छे पक्राउ परेको देखिन्थ्यो। २०६० र २०६१ सालमै धेरै मान्छे समातिएकाले अब त्यति धेरै तस्कर बाँकी नहोलान् भन्ने मानसिकताले हामी यो वर्ष शिथिल भयौँ। यही वर्ष मुखिया श्रीरङ्ग कँडेलको असामयिक निधन भयो। डुमरिया र बाघमारा पोस्टमा राखिएका सेनाका अस्थायी पोस्टहरु पनि हटाइयो। मान्छेहरुले विभिन्न लाञ्छना लगाउन र कुरा काट्न थालेपछि म पनि केही निराश भएको थिएँ। यो सबको परिणामस्वरुप २०६२ सालमा गैँडा मर्ने क्रम निकै तीव्र हुन पुग्यो।
यसैबीच धेरैतिरबाट आएको अनाहकको दबाब र प्रताडनाले गर्दा म दिक्क थिएँ। मविरूद्ध यति धेरै मान्छे लागेका थिए कि लेखाजोखा नै थिएन। सबै गर्ने यही हो भन्ने परेको थियो, तस्करहरुलाई। म उनीहरुको आँखाको कसिङ्गर बनेको थिएँ। सुब्बा उत्तमप्रसाद खरेलले तस्करहरुसँग उसले घूस खाएको कुरा खुल्न गएकाले मेरो चरित्र हत्या गर्न अत्यन्तै कपोलकल्पित कुराहरु राखेर एक दर्जन निकायमा पाँच किसिमका उजुरी दिएको थियो। गैँडा मर्ने क्रम पनि नियन्त्रणमा आइसकेको थिएन। पक्राउ गर्न बाँकी तस्कर र सिकारीहरुको नामावली पनि लामै थियो। आफ्नो पारिवारिक समस्या ज्यूँका त्यूँ थियो। बडो कठिन थियो मेरो जीवन। तर गैँडा संरक्षणको कामको जिम्माले मलाई यी सबै कुरा बिर्साएको थियो।
म कहिलेकाहीँ फिड ब्याक लिन हाकिम र कर्मचारी साथीहरुलाई सोध्थेँ– ‘मेरो स्वभाव वा व्यवहार मिलेन कि? मेरो कारणले चोरी सिकार नियन्त्रणको काममा र अन्य निकायसँग समन्वयमा बाधा पुग्यो कि?’ सबै जना ‘हैन, ठीकै छ’ भन्नुहुन्थ्यो। मभित्र एउटा चाहना भने अत्यन्तै तीव्र थियो— कम्तीमा एउटा आर्थिक वर्षभरि एउटा पनि गैँडा चोरी सिकारीले नमारून्। तर यो लक्ष्य प्राप्त गर्नु असम्भव जस्तै थियो, त्यो परिस्थितिमा।
प्रतिक्रिया दिनुहोस