‘तस्करलाई पक्रने बित्तिकै ब्रेन ह्यामरेज’

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३८ औं अंश –
दुर्भाग्यको फन्दा
जेठ २९ गते बिहान सात बजेतिर रेन्जर सुजन महर्जन आएर ब्युँझाउनुभयो र भन्नुभयो– ‘हिजो बेलुका शिखाराम चौधरी बिरामी भएर हस्पिटल लगेको छ; पैसा छैन भन्ने खबर आएको छ; पैसा पठाइदिनुपर्यो।’
म झसङ्ग भएँ, लौ बित्यास पर्यो भनेर। अनि सोधेँ– ‘के भएको छ उसलाई?’
‘डाक्टरले ब्रेन ह्यामरेज हो, निको हुन्छ भनेको छ।’
म अलि आश्वस्त भएँ। अनि भनेँ– ‘त्यसो भए पैसाका लागि चिफ वार्डेनसँग भन्नुस्; मसँग अहिले छैन।’
बिहान साढे तीन बजे सुतेको, निद्रा पुगेको थिएन। त्यसैले फेरि केही बेर सुतेँ। म उठ्दा रितेशजी अस्पतालबाट आइसक्नुभएको थियो। मैले उहाँसँग रिपोर्टिङ लिएँ।
उहाँले भन्नुभयो– ‘ब्रेन ह्यामरेज हो; डाक्टरले सन्चो हुन्छ भनेको छ।’
‘कुटपिट त भएको छैन?’
‘छैन।’
‘नीलडाम वा घाउचोट केही छ कि?’
‘छैन केही पनि। मैले सबै हेरेको छु; पछाडि सानो दाग छ र खुट्टामा सानो चोट मात्र छ।’ म ढुक्क भएँ। चिफ वार्डेनलाई भेटेर कुराकानी गरेँ। अनि चोरी सिकार
प्रतिरोध इकाइको प्रमुखको हैसियतले आफैँ बिरामीको अवस्था बुझूँ भनेर अपराह्न हस्पिटल पुगेँ। शिखारामलाई अचेत अवस्थामा बेडमा राखिएको थियो। त्यति बेला ड्युटीमा डा. कमल दवाडी थिए। उनीसँग बुझ्दा अवस्था चिन्ताजनक छ भने।
मैले भनेँ– ‘हामीले हिरासतमा लिएको मान्छेलाई केही भयो भने त्यसको दोष हामीमाथि आइलाग्छ। वास्तविक समस्या के हो?’
‘नेचुरल कारणले ब्रेन ह्यामरेज भएको हो। तपाईंरुले नपक्रेको भए पनि ऊ बिरामी पथ्र्यो।’
‘उसका आफन्तलाई बोलाएपछि तपाईं उनीहरुलाई यो कुरा सम्झाइदिनुस् है त।’
डाक्टरले ‘हुन्छ’ भने। म ढुक्क भएँ।
मैले कसरा फोन गरेर चिफ वार्डेनलाई बिरामीको अवस्थाबारे बताइदिएँ। उसका आफन्तलाई बोलाइदिनेबारे सल्लाह भयो। उहाँले बिरामीको घर ‘कालाबन्जार मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गत पर्ने भएकाले त्यो समितिको अध्यक्ष अम्बरबहादुर तामाङलाई खबर गर्नू र उसका परिवारलाई बोलाउन लगाउनू’ भन्नुभयो। मोबाइलमा सम्पर्क गर्दा उसले आफू काठमाडौँमा भएको बतायो र ‘जीवन चौधरीलाई खोजेर उसलाई भन्नुस्’ भन्यो। एक मनले सोचेँ— गाडी लिएर शिखारामका आफन्तलाई लिन पठाऊँ र उसलाई उनीहरुको जिम्मामा दिऊँ।
फेरि लाग्यो— त्यहीँबाट खबर भयो भने गाडी पुगुन्जेल त मान्छे नै आइपुग्छन्। मसँग त्यस ठाउँका रेबीजङ्ग गुरूङको फोन थियो। उनीसँग सम्पर्क गरेर ‘जीवनलाई खोजी तुरून्तै फोन गर्न लगाउनू’ भनेँ। तर धेरै बेरसम्म कुर्दा पनि फोन आएन। मलाई निकै छटपटी भयो। फोनको चक्करमा नपरी आफैँले गाडी पठाएर उनीहरुलाई ल्याउन लगाउनुपथ्र्यो, डाक्टरले राम्रोसँग सम्झाइबुझाइ गरिदिन्थे भन्ने लागिरह्यो। बेलुकासम्म पनि फोन आएन र उनीहरु आइपुग्ने छाँटकाँट पनि देखिएन। उकुसमुकुस बढ्दै गयो; कसरा फर्कन मनले मानेन। रात परेपछि अस्पतालनजिकै शेरबहादुर अङ्ककलको घर गएँ।खाना खाएपछि अङ्कल र मैले कुराकानी गर्यौँ। मैले आफ्नो काम, कर्तव्य र जिम्मेवारीको कुरा उठाएँ; काम गर्दा परेका अप्ठ्यारा र असजिला अवस्थाबारे बताएँ। अङ्कलले भन्नुभयो– ‘छोरो भएपछि जे पनि सामना गर्नुपर्छ; साहस गर्नुपर्छ।
मैले सोचेँ— कुरा साँचो हो। वन्यजन्तु चोरी सिकार नियन्त्रणको काम सार्है जोखिमपूर्ण हो। कामको प्रकृति नै यस्तो छ कि बिनाहतियार खतरनाक तस्कर र सिकारीहरुलाई पक्रनुपर्छ। अङ्गभङ्ग हुने, ज्यान जान सक्नेदेखि यावत् समस्यासँग जुध्नुपर्ने हुन्छ। अनि आफैँलाई उत्साहित बनाउन आफूले गरेको काम दुर्लभ वन्यजन्तु संरक्षणका लागि हो, प्रकृति संरक्षणका लागि हो भनेर ढाडस दिएँ।
३० गते बिहान पाँचै बजे उठेर चिया पनि नखाई अस्पतालतर्फ लागेँ। बिरामीलाई हेरेँ; अवस्था चिन्ताजनक नै थियो। छ बजेतिर जीवन चौधरीले फोन गरे। मैले ‘शिखाराम निकै बिरामी परेकाले उसको परिवारलाई तुरून्तै माइक्रोबसमा ल्याउनू’ भनेँ। उनीहरु साढे सात बजेतिर आइपुगे। त्यतिन्जेल उसको मृत्यु भइसकेको थियो। पछि रेकर्ड हेर्दा साढे छ बजे मृत्यु भएको रहेछ। म उनीहरुलाई लिएर शिखाराम भए ठाउँ गएँ। मैले जीवनलाई डाक्टरले भनेको कुरा बताइदिएँ अनि मान्छेहरु मप्रति आक्रोशित होलान् भनेर चैनपुरतर्फ लागेँ। त्यहाँबाट परिवार लिएर कसरा पुगेँ र एक छिन आराम गरेँ।
बिहान सात बजेतिरै मैले सहायक सीडीओ नरेन्द्रराज शर्मा र एसपी केदारप्रकाश साउदलाई भेटेर घटनाबारे बताएको थिएँ। अस्पतालबाट हिँड्नुअघि चिफ वार्डेनलाई फोनबाट जानकारी गराएँ। अनि भरतपुर आएर स्थानीय बासिन्दा, मृतकका परिवार र मध्यवर्ती क्षेत्रका अध्यक्षसँग कुराकानी गर्न भनेँ। उहाँले पनि ‘आउँछु’ भन्नुभयो। तर दुई–तीन घण्टापछि सहायक सीडीओले मलाई फोन गरेर ‘चिफ वार्डेनलाई नआउनु भन्नू; यहाँ हामी मिलाउँछौँ’ भने। उनको सन्देश मैले तत्काल चिफ वार्डेनलाई सुनाइदिएँ।
यसैबीच पत्रकार वसन्त पराजुलीले फोन गरेका थिए। उनले भने– ‘के त्यति सार्हो पिटाइ गरेको, मान्छे नै मर्ने गरी?’ मैले भनेँ– ‘म त थिइनँ यार। पोस्टमार्टम हुँदै छ; थाहा भैहाल्छ नि, पिटेर मारेको हो कि ब्रेन ह्यामरेजले मरेको भनेर।’
त्यसलगत्तै पत्रकार प्रभाकर घिमिरेले फोन गरेर वास्तविकता बुझ्न खोजेका थिए। उनलाई पनि मैले वसन्तलाई दिएकै जबाफ दिएँ। म कसरा पुगेर केही बेर सुतेपछि करिब साढे चार बजेतिर चिफ वार्डेनले बोलाएर भन्नुभयो– ‘भरतपुर जानुपर्ने भयो। कपडा लगाएर आउनुस्।’ म तयार भएँ। छोरो रून थाल्यो। जब म हिँड्न लागेको थाहा पाउँथ्यो, सँगै जानलाई रूँदै पछ्याउँथ्यो।
श्रीमतीलाई ‘बजारबाट केही ल्याउनुपर्ने छ कि?’ भनेर सोधेँ।
‘तरकारी छैन’ भनिन्।
मैले भनेँ– ‘म लिएर आउँछु।’
प्रतिक्रिया दिनुहोस