खप्तडमा हनिमुन मनाउन तीन हजार खर्च दिने घोषणा
- नेचर खबर
साँफेबगर नगरपालिकाले खप्तड घुम्नजाने नवबिवाहित जोडीहरुलाई ३ हजार दिने घोषणा गरेको छ । नगर कार्यपालिकाको तेह्रौँ बैठकले नव बिवाहित तीन जोडीलाई नगरमा खप्तड घुम्न जाने निवेदन दिएमा उनीहरुलाई खप्तड घुमाउन नगरबाट तीन हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले खप्तड पर्यटकीय क्षेत्रमा जान चाहने बिवााहित नवजोडीलाई चाहिने आवश्यक पथ प्रर्दशकको व्यावस्था पनि गर्नेछ । खप्तड जान चाहने जोडीले बिवाह गरेको तीन महिना अर्थात ९० दिन भित्र नगरपालिकामा निवेदन दिनुपर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले जानकारी दिए। उनले आफूले निकट भविष्यमै यूवा बेरोजगारीको समस्या समाधान गर्न र खप्ड लगाएतका पर्यटकीय क्षेत्रको विकासका गर्न पथ प्रर्दशकको तालिम सञ्चालन गर्ने बताए ।
विवाहित जोडी मध्ये एक जना अछामी नागरिक हुनु पर्ने, बिवाह दर्ता प्रमाणपत्र सहित नगरपालिका निवेदन दिनुपर्नेछ । अछाममा कार्यरत कुनै सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्ने नव विबाहित जोडीले खप्तडमा जान चाहेमा सम्बन्धित कार्यरत कार्यालयको सिफारिस पत्र र निवेदन नगरपालिकामा पेश गर्नुपर्ने छ ।
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रुपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो।यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन्।
खप्तड पुग्ने धेरै बाटाहरू भए पनि चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेर जान सकिन्छ ।
प्रतिक्रिया दिनुहोस