यसकारण विनाश भइरहेका छन् वन्यजन्तु

पछिल्लो समय वन्यजन्तुको विनाश तीव्र गतिमा भइरहेको छ । पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण प्राकृतिक रूपमै वन्यजन्तुको विनाश र उत्पति निरन्तर भैरहन्छ । वन्यजन्तु विनाशको प्राकृतिक प्रवृत्तिलाई मानवीय क्रियाकलापले तीव्रता ल्याउने गर्दछ यसलाई वन्यजन्तुको कृत्रिम कारण भन्न सकिन्छ । अहिले नेपालमा यी विविध कारणले वन्यजन्तु विनाश हुँदै गई रहेका छन् ।

वन्यजन्तु विनाशका प्रमुख कारणहरू


१. वासस्थानको विनाश :

मानव समुदायले विभिन्न क्रियाकलाप र व्यवस्थापनको कमजोरीको कारण वन्यजन्तुको वासस्थान विनास गराइरहेका छन् । यिनै अविवेकी मानवीय क्रियाकलापले गर्दा वाढी, पहिरो, भुक्षय, खडेरी लगाएतका अन्य प्राकृतिक प्रक्रियालाई पनि प्रकोपजन्य अवस्थामा परिवर्तन गरेको छ । तसर्थ यस्ता किसिमका प्राकृतिक प्रकोपले वन्यजन्तुको वासस्थान नै विनाश भइरहेको हुन्छ ।

यस वाहेकपनि जलवायु परिवर्तन अम्ल वर्षा, हरितगृह प्रभाव लगाएतका प्रकोले वन्यजन्तुको वासस्थान दिनानुदिन विनाश गरी पारिस्थितिक प्रणाली नै परिवर्तन गरिदिन्छ । यी सबै मानवीय क्रियालकलापबाट उत्पन्न फोहोर मैला र प्रदूषणको कारण हो यसरी प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा वन्यजन्तुको वासस्थान विनाश भइरहेको छ ।

२. बासस्थान विखण्डिकरण :

तीव्र गतिमा वढिरहेको जनसङ्ख्या वृद्धिका कारण मानिसहरूले वन्यजन्तुको वासस्थान तहसनहस पारेका छन् । वन क्षेत्र नै वन्यजन्तुको प्रमुख वासस्थान हो । जनसङ्ख्या वृद्धिको कारण मनवीय बस्ती, सडक निर्माण, कलकारखाना निर्माण जस्ता मनवीय क्रियाकलापले वन क्षेत्रमाथि निकै चाप परेको छ । जसका कारण वनजन्तुको प्राकृतिक वासस्थान विखण्डिकरण भइरहेको छन् । यसबाट वन्यजन्तुको हिडडुल, खानाको खोजी आरामस्थल लगायत अन्य विभिन्न क्रियाकलापमा वाधा पुगेको छ । जसका कारण मानव र वन्यजन्तुवीच दन्द्ध बढ्दै गएको देखिन्छ । यसरी पछिल्लो समयमा वन्यजन्तुको वसस्थान विखण्डीकरणले वन्यजन्तुलाई लोप हुने अवस्थामा पुर्याएको छ ।

३. वातावरण प्रदुषणः

वातावरण प्रदूषण पनि वन्यजन्तु विनाशका मुख्य कारण हो । आधुनिकिकरणसँगै मानवीय क्रियाकलापले वायुमण्डल जताततै प्रदुषित बनाएको छ । यसरी वायुुमण्डलीय अथवा जलीय प्रदूषणले वन्यजन्तुलाई शुद्ध अक्सिजनको अभावको साथै शुद्ध पिउने पानीको समेत अभाव सृजना गर्दछ । मानिसहरूले माछा मार्दा प्रयोग गर्न रसायन तथा विधुतिय उपकरणको प्रयोगले गर्दा समग्र जलिय पारिस्थितीक प्रणाली नै तहसनहस पारी जलीय प्राणीहरु नष्ट भइरहेका छन् । तसर्थ जल स्थल र वायुमण्डलिय प्रदूषण तीव्र गतिमा भन्दा खाध्यशृङखलामा समेत नराम्रो प्रभाव परेको छ । जसले गर्दा पारिस्थीतीक प्रणालीका महत्त्वपूर्ण उपभोक्ताको सङ्ख्या विनास भई समग्र वन्यजन्तुलाई नराम्रो असर परेको छ ।

४. हावापानी परवर्तन :

वायुमण्डलमा हरितगृह प्रभावको कारण भुमण्डलमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ । यसरी तापक्रम वृद्धि हुँदा पारिस्थितिक प्रणालीभित्र रहेका सजीवहरुमा नराम्रो असर परेको छ । जलासय सुक्ने समयमा पानीको मूल नफुट्ने देखी जल चक्रमा समेत परिवर्तन भई समयमा वर्षा नहुने जस्ता प्रवृति देखा परिरहेको छन् । वनस्पतिहरु नियमित समयमा नफुल्ने, चराहरुले पनि चाँडै गुंंड लगाउने जस्ता क्रियाकलाप तापक्रमको कारण हो ।

५. अत्याधिक प्राकृतिक स्रोतहरूको सङ्कलन :

मानव विकासक्रम सँगै आधुनिक समाजमा प्राकृतिक स्रोतहरूको संंकलन गर्ने प्रचलनमा कमी आएको छैन । यसरी वन्यजन्तु तथा प्राकृतिक स्रोतहरू व्यापारिक प्रयोजनको लागी सङ्कलन भैरहेका छन् जसका कारण वनजन्तुको वंशनास हुने सम्भावना बन्दै गएको छ । तसर्थ सजिवहरुको जीवन संञ्चालनमा समेत नराम्रो असर पुर्याएको छ ।

६. आयातित प्रजाती :

आयातित प्रजाती भन्नाले पारिस्थितीक प्रणाली भित्र नयाँ सजीवलाई भित्र्याउने बुझिन्छ । जसले गर्दा रैथाने प्रजातीमा नराम्रो असर पर्दछ । आयातित प्रजातीले गर्दा वन्यजन्तुको सन्तुलित वासस्थान समेत प्रभावित हुन्छ । आयातीत प्रजातिले गर्दा स्थापित प्रजातिका जीवजन्तु लोप हुने अवस्थामा समेत पुग्न सक्छन् ।

७. अन्तर्राष्ट्रिय व्यापार :

आधुनिक प्रविधि तथा सिपले गर्दा वन्यजन्तुहरुको व्यापार सहज बनाउन सहयोग पुर्याएको छ । बाघको छाला, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरी, मयूरको प्वाख विभिन्न जनावरहरुका रौं तथा बनस्पतिहरु अन्तर्राष्ट्रिय बजारमा बेचिने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा बन्यजन्तु तथा बनस्पतिको मूल्य महङगो भएकोले वन्यजन्तुको अङ्ग बेच्ने प्रचलन बढ्दै गइरहेको छ । बन्यजन्तुका अङगहरु घरमा सजाउने, तथा औषधी बनाउने आदी कार्यमा प्रयोग हुँदै आएका छन् ।

८. रोग :

मानवीय क्रियाकलापले गर्दा विभिन्न किसिमका भाइरस, ब्याक्टेरियाले बन्यजन्तुमा रोग फैलाउन सहयोग पुर्याएको छ । यसरी रोगले पनि वन्यजन्तु विनास हुँदै आइरहेका छन् ।

वन्यजन्तुको विनाश रोक्नका लागी जनचेतना अभिवृद्धि, कानुनी व्यवस्था विभिन्न ठाउँमा संरक्षित क्षेत्रको विकास र प्रजाती संरक्षणसम्बन्धी अध्ययन गर्दा वन्यजन्तुलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैले वन्यजन्तुको अस्तित्व जोगाउनु सबै संरक्षणकर्मीहरुले हातेमालो गर्न जरुरी देखिन्छ ।

यी सबै लेखकका नीजि विचार हुन् । लेखक चन्द जीववज्ञान प्राध्यापक हुन् ।

धिरेन्द्र बहादुर चन्द

प्रतिक्रिया दिनुहोस

web
analytics