मानव–वन्यजन्तुको रिपोर्टिङ यसरी गर्दा कसो होला ?
सहअस्तित्व बुझौं, समाधान खोतलौं

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई महिना अघि राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनेपछि देश नै तरङ्गित भएको थियो । सबैलाई लाग्यो, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले के भनेको होला, यस्तो ?’
मानव जीवन भन्दा ठुलो वन्यजन्तुको जीवन हुन सक्दैन भन्ने स्पष्ट सन्देश दिँदै उनले आफ्नै नेतृत्वको सरकार, प्रशासनलाई व्यङ्ग्य त गरे नै, वन्यजन्तु संरक्षणमामा सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकाय तथा सङ्घ संस्थालाई समेत चेतावनीपूर्ण भाषामा थर्काए ।
प्रधानमन्त्री ओलीले किन यस्तो भाषण गरे ? पक्कै पनि दिनहुँ जसो आम सञ्चार माध्यमहरू (पत्रपत्रिका, अनलाइन, टेलिभिजनलगायत)मा आउने मानव र वन्यजन्तुसम्बन्धी समाचारहरूको प्रभाव उनमा पनि परेको हुनुपर्छ । त्यसो त प्रधानमन्त्रीले मात्र होइन, आम नागरिकले कुनै पनि विषयवस्तु वा मुद्दामा आम धारणा बनाउने भनेको नै सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित सामग्रीहरूबाट नै हो ।
त्यसैले हामीले पस्किएका सामग्रीहरू सधैँ तथ्यपरक, सन्तुलित, स्पष्ट र सरल हुनुपर्छ भन्नेमा सन्देह छैन । विश्वमा अब समस्या उजागर गर्ने मात्र होइन समाधानमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने समाचारको खोजी हुन थालेको छ । र, यस्ता सामग्रीले मात्र नीति निर्माता, आम पाठक, प्रभावित समुदाय, सर्वसाधारणलगायतमा सकारात्मक प्रभाव पार्छ ।
गलत तरिकाले पस्किएका अतिरञ्जित गरिएका वा सनसनीपूर्ण बनाइएका सञ्चार सामग्रीहरूले समस्या समाधान गर्ने भन्दा पनि बल्झाउने काम बढी गर्छन् । अझ बोल्न सक्ने (मानव) र मानवले बुझने गरी भन्न नसक्ने (वन्यजन्तु)सम्बन्धी सञ्चार सामग्रीहरूको सङ्कलन, लेखन र प्रकाशन वा प्रसारण गर्दा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ ।
त्यसैले मानव र वन्यजन्तुबिचका असमझदारीलाई तथ्यपरक र प्रभावकारी रूपमा पस्किने काम आम सञ्चारकर्मीहरूका लागि कम चुनौतीपूर्ण छैन । ‘जे देखे त्यही लेखे’ भन्दा पनि लेखिएका सामग्रीले सरोकारवाला समुदाय वा पीडितहरूलाई कस्तो प्रभाव पार्न सक्छ वा पारिरहेको छ भन्ने कुरा ख्याल गर्नुपर्ने अवस्था छ ।
कसरी पस्किने त मानव र वन्यजन्तुबिच बढ्दो असमझदारीका घटनाहरू ? सुरुमा मानव–वन्यजन्तु द्धन्द भनियो । र, अहिले पनि अधिकांश सञ्चार माध्यमले यही शब्द प्रयोग गरिरहेका छन् । तर पछिल्लो समय यसलाई ‘द्धन्द’ भन्दा पनि ‘असमझदारी’ भन्न रुचाउनेहरूको जमात बढेको छ । त्यसले ‘द्धन्द’ ठाउँमा ‘असमझदारी’ लेख्दा अझ बढी उत्तम हुने देखिन्छ ।
अझ पछिल्ला दिनहरूमा त द्धन्द र असमझदारी भन्दा पनि यो मानव र वन्यजन्तुबिचको सह–अस्तित्व रूपमा यसलाई व्याख्या गर्न थालिएको छ । मानव र वन्यजन्तु दुवैको अस्तित्वका जगेर्ना गरेर अघि बढ्नुपर्छ भन्ने अवधारणा अघि आएकाले यसलाई सार्थक बनाउने दायित्व र जिम्मेवारी सञ्चारकर्मीहरूको पनि हो । सह–अस्तित्वमा जोड दिन सुझाउँछन्, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाई । यो जोड सह–अस्तित्वको प्रवद्र्धनमा छ ।
त्यसैले हामी सञ्चारकर्मीले यस्ता घटना, विषय र मुद्दामा रिपोर्टिङ गर्दा सुरुमा के बुझन जरुरी भइसकेको छ भने यो पृथ्वी मानव जातीका लागि मात्र होइन, यो पृथ्वी त्यति बेला मात्र पूर्ण हुन्छ जति बेला प्रकृतिले दिएका यी जीवजन्तुको अस्तित्व पनि सुरक्षित रहन्छ । दुवै पक्षको अस्तित्व सुरक्षित राख्ने हो भने दुवै पक्षमा परेका प्रभावलाई तथ्यपरक ढङ्गले केलाउने प्रयास गर्नुपर्छ ।
यसरी केलाउँदा मानवीय क्षति वा मान्छेलाई परेको प्रभाव मात्र लेख्नु पूर्व वन्यजन्तुलाई परेको प्रभावको पनि त्यत्तिकै विवेचना गर्नुपर्छ । मानव त यो पृथ्वीको सबैभन्दा उच्च स्थानमा रहेको चेतनशील प्राणी हो, यो आफ्ना समस्या भन्न, लेख्न, बोल्न र देखाउन सक्छ । तर जीवजन्तु वा वन्यजन्तुमा यो सम्भव छैन ।
त्यसैले उनीहरूको तर्फबाट बुझिदिने, सम्झिने र बोलिदिने पनि मानव जाती हो । अझ यो काम आम सञ्चारमाध्यम र तीनमा कार्यरत सञ्चारकर्मी, पत्रकारहरूको हो । यति मात्र पनि होइन, अनुसन्धानकर्ता, संरक्षणकर्मी र सरोकारवाला निकाय र तीनका प्रतिनिधिले पनि निष्पक्ष भएर जीवजन्तु र वन्यजन्तुका तर्फबाट बोलिदिनुपर्ने र लेखिदिनुपर्ने अवस्था छ ।
तर यहाँ आम सञ्चारकर्मीले मानव र वन्यजन्तुबिच भइरहेका घटनालाई कसरी पस्किन सक्छन् वा के गर्दा दुवै पक्षलाई न्याय हुन्छ । र, दुवैको अस्तित्वको जगेर्ना हुन्छ भन्ने कुराको चर्चा गर्न खोजिएको छ । ‘संरक्षणको काम चुनौतीपूर्ण र जटिल छ नै, त्यसैमा भाइरल भएर आउने सूचनाले झनै तनाव दिन्छ । त्यसैले मिडियाले आफ्नो विश्वसनीयताका लागि पनि आफूले दिएका सूचना सही छन्, की छैनन् भनेर विवेचना गर्नुपर्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले केही दिन पहिले सौराहामा आयोजित एक अन्तक्र्रियामा सञ्चार कर्मीहरूलाई सम्बोधन गर्दै भने ।
उनी यत्तिकैमा रोकिएनन्, यसमा थपे, ‘त्यस्ता सूचनाले समग्रमा वन्यजन्तुप्रति मान्छेलाई नकारात्मक बनाउँदै गएको हो की ! वास्तविक सन्देश दिने गरी सूचना आइदिए हुने । समस्या जे हो त्यही तहको रिपोर्टिङ गरिदिए हुने ।’ उनका यी भनाई सबै सञ्चार सामग्रीहरूको हकमा लागु नभए पनि हाम्रो रिपोर्टिङ शैलीमा कहीँ न कहीँ समस्या र कमजोरी पक्कै छ त्यो हामीले स्वीकार गर्नै पर्छ ।
अधिकृत पन्त मात्र यस्तो भन्दैनन्, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाको प्रतिक्रिया पनि झन्डै झन्डै त्यस्तै छ । सञ्चार कर्मीहरूलाई उनी यसरी सुझाव दिन्छन्, ‘वन्यजन्तु र मानवबिचको असमझदारीका बिचमा पनि सम्भावनाहरू र गर्न सकिने विषयहरू धेरै छन् । ती विषय बाहिर आएनन् । दर्शक र पाठक बढाउने सञ्चार सामग्रीहरू मात्र होइन, सकारात्मक प्रभावका लागि पनि कलम चलाइदिनुहोस् । मानवीय चासोका कथा र असमझदारी व्यवस्थापनका लागि गरिएका प्रयासहरू पनि बाहिर ल्याइदिनुहोस् ।’
दुवैको गुनासो र सुझाव लगभग उस्तै उस्तै छ । त्यसैले यस्ता घटनाहरूको रिपोर्टिङ गर्दा सञ्चारकर्मीहरू आगामी दिनेमा निकै संवेदनशील हुनुपर्ने देखिन्छ । आफ्ना सामग्रीलाई तथ्यपरक र सन्तुलित बनाउन अझ मेहनत गर्नुपर्ने देखिन्छ । त्यति मात्र होइन, समस्या मात्र कोट्याउने, अतिरञ्जित र सनसनीपूर्ण मात्र बनाउने होइन, समाधानयुक्त पत्रकारिता वा समाधानहरूको बेलिबिस्तार लगाउन पनि चुक्न हुन्न भन्ने सन्देश माथिका भनाइबाट पुष्टि हुन्छ । अहिलेको युग सुहाउँदो पत्रकारिता पनि त्यही हो ।
असमझदारीको बारेमा सञ्चारकर्मीले अधिकांश सामग्रीमा राष्ट्रिय निकुञ्जका अधिकारीहरूलाई मात्र उद्धृत गर्छन्, तर यस्ता समस्या समाधान गर्न वैकल्पिक दृष्टिकोण, राय र सुझावहरू त्यत्तिकै आवश्यक र महत्त्वपूर्ण हुन्छन् । तर हामीले यसतर्फ त्यति ध्यान दिँदैनौँ । स्वतन्त्र विज्ञ, यस क्षेत्रमा क्रियाशील गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि वा सामुदायिक वन उपभोक्तालगायतलाई त्यत्तिकै महत्त्व दिनुपर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत पहिलो सम्पदा हो । यो विश्वकै दुर्लभ पाटे बाघ र एकसिंगे गैँडाको प्रमुख वासस्थान पनि हो । यस निकुञ्जका दुर्लभदेखि सामान्य वन्यजन्तु र मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएको मानवबिच असमझदारीका घटना पछिल्ला दिनहरूमा बढ्ने क्रममा छन् । त्यसैले यहाँका मानव र वन्यजन्तुको स्वरहरू तथ्यपरक र निष्पक्ष भएर बाहिर ल्याउनुपर्ने तथा सुन्नुपर्ने भएको छ । यी स्वरका अर्थ निकै गहिरा छन् । तीनले नेपाल भित्र मात्र होइन, बाहिर पनि त्यत्तिकै अर्थ राख्छन् ।
सायद त्यसैले होला, गत ८ र ९ गते चितवनको सौराहामा सञ्चारकर्मीहरूका लागि नै भनेर अन्तक्र्रिया र स्थलगत भ्रमण गरियो । नेपाल सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष, चेष्टर जु, असर डर्विनले संयुक्त रूपमा आयोजना गरेको यस कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्ने सबै सहभागीको एउटै गुनासो थियो, ‘अधिकांश सामग्रीहरू अतिरञ्जित र सनसनीपूर्ण बनाइए, तीनले वन्यजन्तुप्रति आम नागरिकको धारणा नकारात्मक बनायो ।’ उनीहरूले भने जस्तो सबै सञ्चार सामग्री त्यस्ता हुँदैनन् । तर सुर्धानुपर्ने अवस्था भने छ ।
त्यसैले मानव र वन्यजन्तुका घटनाका मुख्य कारणहरू उजागर गर्न कन्जुस्याइँ गर्नु हुदैन् । घटनाको उद्गम विन्दु, उत्कर्ष र अन्तिम विन्दु केलाउने प्रयास गर्नै पर्छ यसले समस्या कुन पक्षबाट कसरी सुरु भयो भन्ने कुरा तथ्यपरक रूपमा बाहिर ल्याउन मद्दत गर्छ । तथ्याङ्क र विवरण नराख्दा समाचार कमजोर भएका छन् । प्रभावकारिता र विश्वसनीयतामा समेत प्रश्न उठेका छन् । त्यसैले कथाले मागेका यस्ता तथ्याङ्क र विवरण जसरी पनि जुटाउनुपर्छ । वास्तविक कुरा खोतल्न नसकेर वन्यजन्तु मात्र हिंस्रक हो भन्ने सन्देश जाने किसिमले समाचार पस्किने काम बिस्तारै कम गर्नै पर्छ । यसले आम नागरिकमा वन्यजन्तुप्रति गर्ने व्यवहारलाई सकारात्मक बनाउँछ ।
‘हामीले आफ्ना सामग्रीहरूमा दर्शक बढाउन अनेक गर्छौ । त्यो गलत हो । मान्छेले हात्तीको बाटोमा अवरोध गरेको वा उसलाई लखेटेको भिडियो हाल्दैनौँ तर दर्शक बढ्छन् भनेर हात्तीले मान्छेलाई लखेटेको एक्सनपूर्ण भिडियो हाल्छौँ’, चितवन अन्तक्र्रियामा विज्ञका रूपमा आइयुसिएनबाट आएका प्रस्तोता विराट सिंहले हात्तीले मान्छेलाई आक्रमण गरेको भिडियो क्लिपबाट तानेको दुई वटा तस्बिर तुलना गर्दै भने ।
घटनालाई अतिरञ्जित र सनसनीपूर्ण बनाउँदा समस्या झनै बढ्ने र वन्यजन्तुलाई हेर्ने मानवीय दृष्टिकोण पनि नकारात्मक हुने उनको टिप्पणी थियो । यति मात्र होइन, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्द पोखरेलले अनलाइनहरूमा प्रकाशित केही समाचारहरूका क्लिपहरू देखाउँदै गहकिला भन्दा पनि सतही र घटनामा मात्र केन्द्रित समग्रीहरु बढी प्रकाशित भइरहेको टिप्पणी गरे ।
माथिका भनाई र टिप्पणीहरू सुन्दा र पढ्दा पनि हामीले हाम्रा सञ्चार सामग्रीहरूको स्तर बढाउनै पर्ने देखिन्छ । त्यसैले घटनाको चुरो समात्ने तर्फ सञ्चारकर्मीहरूको ध्यान जान जरुरी छ । अधिकांश समाचार वा स्टोरी केवल विशेषज्ञको भनाइमा मात्र केन्द्रित हुन्छन् । तर दैनिक रूपमा मानव र वन्यजन्तुबिचको द्धन्द सामना गरिरहेका स्थानीय समुदायहरूको दृष्टिकोणलाई बेवास्ता गरिन्छ । त्यसैले स्थानीयवासीको अन्तर्वार्ताहरू, साथै उनीहरूले कसरी यस्ता घटनाको सामना गरिरहेका छन् । ती रणनीतिहरू के के हुन ? र, सफल भएका छन् की छैनन् भन्ने विषयहरूलाई जति सक्यो धेरै समाचारमा समावेश गर्नै पर्ने देखिएको छ ।
असमझदारी समाधानका लागि स्थानीय तहमा सक्रिय व्यक्ति वा समुदायले गरिरहेका प्रयासहरूको सविस्तार पस्किने कोसिस गर्नुपर्ने समय आइसकेको छ । सफलताका कथाहरूलाई रोचक र प्रभावकारी रूपमा पस्किनुपर्ने चुनौतीहरू पनि हामी सामु छन् ।
हामी सञ्चारकर्मीले वन्यजन्तुले बालीनाली क्षति पुर्यानएको वर्णन गर्छौ तर त्यसलाई तस्बिर वा दृश्यमा देखाउन कन्जुस्याइँ गर्छौ । हात्ती वा अन्य वन्यजन्तुहरूले गरेको क्षति देखाउन र प्रभावित परिदृश्यहरू देखाउन ड्रोन फुटेज प्रयोग गर्न सकिन्छ । यसले समाचारको प्रभाव र विश्वसनीयता बढाउँछ ।
असमझदारीको बारेमा सञ्चारकर्मीले अधिकांश सामग्रीमा राष्ट्रिय निकुञ्जका अधिकारीहरूलाई मात्र उद्धृत गर्छन्, तर यस्ता समस्या समाधान गर्न वैकल्पिक दृष्टिकोण, राय र सुझावहरू त्यत्तिकै आवश्यक र महत्त्वपूर्ण हुन्छन् । तर हामीले यसतर्फ त्यति ध्यान दिँदैनौँ । स्वतन्त्र विज्ञ, यस क्षेत्रमा क्रियाशील गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि वा सामुदायिक वन उपभोक्तालगायतलाई त्यत्तिकै महत्त्व दिनुपर्छ । बहु–सरोकार दृष्टिकोणका लागि संरक्षणवादीहरू र स्थानीय राजनीतिक नेतृत्वहरूको भनाई पनि राख्नुपर्छ । वन्यजन्तु विशेषज्ञहरू, स्थानीय समुदायका सदस्यहरू र नीति निर्माताहरूसँग छलफल गर्नुपर्छ । यसले सरोकारवालालाई जिम्मेवार बोध गराउँछ नै यसको प्रभावकारिता पनि बढ्छ ।
अनि मात्र सही र तथ्यपरक सामग्री तयार हुनसक्छ । यसले असमझदारी बढाउने भन्दा पनि कम गर्दै लैजान सक्छ । यस्ता सामग्री प्रभावकारी र विश्वसनीय पनि हुन्छन् । यी सामग्री संरक्षणकर्ता, अनुसन्धानकर्ता र सरोकारवाला निकायका लागि पनि उपयोगी हुन सक्छन् । यति मात्र होइन, प्रधानमन्त्री समेतले यस्ता सामग्रीबाट सही र तथ्यपरक सूचना ग्रहण गर्न सक्छन् र त्यही अनुसार मानव र वन्यजन्तुको सहअस्तित्व कायम हुने गरी नीति नियम बनाउन अग्रसर हुन सक्छन् ।
प्रतिक्रिया दिनुहोस