वातावरण मन्त्री भन्छिन,’जलवायु परिवर्तनको असर कम गर्न वातावरण संरक्षण गरौं ‘



जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि वातावरण संरक्षणमा जोड दिनुपर्ने औल्याएकी छिन् । पोखरामा हालै सम्पन्न नेपाल सौर्य विद्युत उत्पादक संघको १७ औं वार्षिक साधारण सभालाई उदघाट्न गर्दै मन्त्री चौधरीले यस्तो जानकारी दिएकी हुन् ।

‘जलवायु परिवर्तनका कारण अहिले त्यसको प्रत्यक्ष असर सबै क्षेत्रमा देखिन थालेको छ,’ मन्त्री चौधरीले भनिन,‘बालीनाली, फलफूल, पशुपन्छी, मौसमका साथै महिलामा समेत यसको असर देखिन थालेको छ । असर कम गर्नका लागि वातावरणको संरक्षण गर्नु नै प्रमुख उपाय हो ।’ उनकाअनुसार सबारी साधनबाट उत्सर्जन हुने उच्च कार्वनको परिमाणले वातावरण नै धुम्ल्याएको छ । खास गरी उपत्यकामा उच्च कार्वन उत्सर्जन, धुलो धुवा प्रदुषण र आवाज प्रदुषणका कारण वातावरणको संरक्षण गर्न निक्कै कठिन भएको उनको भनाई थियो । वातावरण संरक्षणका लागि ठूलो परिमाणमा रुख विरुवा रोप्नुपर्ने उनको सुझाव थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा।डा। जिवराज पोखरेल, पूर्वमन्त्री गणेश शाह, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल वैकल्पिक उर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का संयोजक सञ्जीव कोईराला, संघका अध्यक्ष उत्तम सिटौला, निवर्तमान अध्यक्ष दीपक बहादुर शाही र सल्लाहकार संयोजक हिराबहादुर केसीलगायतकाले अहिलेको अवस्थामा विश्वभरमै नविकरणीय उर्जा अपरिहार्य भइसकेको जानकारी दिएका थिए । उनीहरुले परिवर्तित समयअनुसार सौर्य उर्जाको उच्चतम प्रयोग गर्नेपर्ने सुझाव दिएका थिए । यसका लागि सरकार र निजी क्षेत्र हातेमालो गर्नुपर्ने वक्ताहरुको ठम्याई थियो ।

नेपाल सौर्य विद्युत उत्पादक संघकाअनुसार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, विभिन्न निकाय र निजी क्षेत्रको सहकार्यमा संघका सदस्य कम्पनीहरुबाट ५५ मेगावाट बराबरको उर्जा उत्पादन भइरहेको छ । उक्त उर्जाको योगदानले मुलुकका अधिकांश उपभोक्तालाई उज्यालोको पहुँचमा पुरयाउन सफल भएको संघको दाबी छ ।

विशेष गरी दुर्गम जिल्लाका ग्रामिण बस्तीका जनताहरुलाई स्वच्छ उर्जामा पहुँच पुर्‍याउन, स्वास्थ्य, शिक्षा, सञ्चार, खानेपानीे र सिँचाई सुविधा उपलब्ध गराउनका लागि सौर्य विद्युत प्रणालीले उल्लेखनीय योगदान पुरयाउदै आएको छ । संघसंग आवद्ध कम्पनीहरुले ठुला सोलारका आयोजनाहरू निर्माण गरी विद्युत उत्पादन बढाउन सके विभिन्न प्रकारका ठूला कार्यालयसहित सर्वसाधारणको माग पुरा गरी बाँकी रहेको उर्जा नेपाल विद्युत प्राधिकरणलाई पनि उपलब्ध गराउन सकिने सुझाव दिइएको छ ।

‘सौर्य विद्युत प्रणालीबाट उत्पादित बिजुली पनि नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारणमा जोड्न सकिने गरी सरकारले नेट मिटरिंगको कार्यविधि तयार पारी कार्यान्वयनमा ल्याउनुपर्छ,’ नवनिर्बाचित अध्यक्ष किरण गौतमले बताए । गौतमकाअनुसार नयाँ संविधानको प्रावधानअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारको व्यवस्थाअनुरुप नविकरणीय उर्जाका स्रोतहरु परिचालन गर्न, नियमन गर्न, प्राविधिक र वित्तीय व्यवस्थापन गर्न, नीति तथा विधि निर्माण गर्नका लागि सरोकारवाला निकायबाट आवश्यक पहल हुनुपर्ने बताए ।

विश्वभरिका मुलुकहरुले ईनर्जी सेक्युरिटीका लागि ईनर्जी मिक्सको अवधारणालाई कार्यान्वयन गर्न विभिन्न प्रकारका नविकरणीय उर्जाका प्रविधिहरु उपयोगमा ल्याउने प्रचलन बढेको छ । छिमेकी मुलुकहरु चीन र भारतले पनि सौर्य विद्युत प्रविधि र वायु उर्जा प्रविधिबाट उल्लेखनीय प्रगति हासिल गरेका छन् । नेपालमा समेत उपयुक्त हुने त्यस प्रकारका प्रविधिहरू कार्यान्वयनका लागि सरकारबाट तदारुकताका साथ अग्रसर हुनुपर्ने संघको धारणा छ ।
नेपाल सौर्य विद्युत उत्पादक संघ १७ वर्ष अघि सौर्य विद्युत उत्पादन गरिने प्रविधि आपूर्ति जडानका साथै त्यस सम्बन्धी अन्य सेवा उपलब्ध गर्दै आएका निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन हो ।

संघको वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि किरण गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यकारी समितिमा उत्तम सिटौला निवर्तमान अध्यक्ष रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाश विक्रम बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यकारी सदस्यहरुमा केशव प्रसाद दाहाल, दिपक जोशी, विश्व विक्रम जोशी, ओम केसी, रुद्र बहादुर पुन, नबिन शाही, भरत मल्ल, श्री राम अधिकारी, पदम भट्टराई, दिपक गौतम र जितेन्द्र भट्टराई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics