उपत्यकाको वायु मापदण्डभन्दा ७ गुणा बढी प्रदूषित



काठमाडौं उपत्यकाका सडक र आसपासका क्षेत्रमा प्रदूषणको मात्रा तीव्र भइरहँदा वायुमण्डलमा समेत प्रदूषण उच्च छ । तोकिएको राष्ट्रिय मापदण्डभन्दा ७ गुणाभन्दा बढी प्रदूषण वायुमण्डलमा पाइएको छ ।

उपत्यकाको वायुमण्डलको प्रदूषण अवस्था पत्ता लगाउन ड्रोनमार्फत अनुगमन गर्दा बिहानको समयमा प्रदूषणको मात्रा उच्च देखिएको हो । ड्रोनले भक्तपुरको सानोठिमीको वायुमण्डल विभिन्न चरणमा अनुगमन गर्दा बिहानको समयमा वायुको गुणस्तर राष्ट्रिय मापदण्डभन्दा ७ गुणा बढी नाघेको पाइएको हो । सरकारले तोकेको वायुको गुणस्तर ४० माइक्रोग्राम प्रति घनमिटर हो ।

मुलुकको वायु गुणस्तर पत्ता लगाउन सतही वायुमापन यन्त्र प्रयोग हुँदै आएकोमा यही प्रयोजनका लागि पहिलोपटक ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई असर नपर्ने गरी सानोठिमीमा ड्रोन उडान अनुमति दिएपछि विश्व विद्यालय अनुदान आयोग परिसर र आसपासको खुला ठाउँमा ड्रोनले प्रदूषण अनुगमन गरेको हो । ड्रोनले मंगलबार बिहानदेखि साँझसम्म विभिन्न चरणमा सानोठिमीको वायुमण्डलको २ सय ५० मिटर आसपासको उचाइसम्म प्रदूषण अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिहान ७ बजे आसपासको समयमा २ सय ९० माइक्रोग्राम रहेको वायुमण्डलको प्रदूषण १० बजे ५० माइक्रोग्राममा झरेको थियो । सोही आसपासको उचाइमा ड्रोन उडाउँदा ३ बजे ५० र साँझ साढे ५ बजे ४० माइक्रोग्राममा प्रदूषण घटेको पाइएको अध्ययन टोलीका संयोजक प्राडा रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । काठमाडौं भित्रिने उत्तर–पश्चिमी र दक्षिण–पश्चिमी वायुले प्रदूषणलाई काभ्रेका साँगा र नाला भञ्याङतर्फ धकेल्ले हुनाले उपत्यकाको वायुमण्डलको प्रदूषण बिहान ११ बजेपछि क्रमशः घट्ने गरेको उहाँले बताउनुभयो ।

‘साँझ परेपछि उपत्यकाको २ सय मिटर आसपासको वायुमण्डलमा प्रदूषणको मात्रा उच्च रहन्छ, यो क्रम हरेक दिन बिहान अबेरसम्म जारी रहन्छ’ –रेग्मीले भन्नुभयो । उपत्यकाको वायुमण्डलको प्रदूषणको अवस्था पत्ता लगाउन पहिलोपटक ड्रोनबाट नमुना तथ्यांक संकलन गरिएको र विस्तृत विवरण आउन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । वातावरण विभागको पहलमा मुलुकमै पहिलोपटक काठमाडौं उपत्यका र भैरहवा क्षेत्रको वायुमण्डलमा प्रदूषणको अवस्था अनुगमन गरिएको हो ।

यही प्रयोजनका लागि जर्मनीदेखि वायु गुणस्तर विज्ञ प्राडा जिन्स बाङ्गे र उहाँका अन्य २ जना प्राविधिक सहयोगी ड्रोन र अन्य आवश्यक उपकरणसहित नेपाल आउनुभएको छ । प्रा जिन्ससहितको टोलीले गत साता भैरहवा विमानस्थल आसपासको वायुमण्डलको अनुगमन गरेको थियो । यस क्रममा वायुमण्डलमा फैलिएको (पार्टिकुलेट म्याटर) सूक्ष्म कण १, २ दशमलव ५, पीएम ४, र पीएम १० को मापन गरेको छ । भक्तपुरमा भन्दा बढी प्रदूषण भैरहवामा पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

भैरहवा र लुम्बनी क्षेत्रको वायुमण्डलको ३ सय मिटरमाथि ड्रोनले अनुगमन गर्दा २ सय मिटर उचाइका हाराहारीको प्रदूषण उपत्यकाको भन्दा झन्डै दोब्बर बढी पाइएको बताइएको छ । सो क्षेत्रमा बिहान र बेलुका वायुको गुणस्तर ६ सय माइक्रोग्राम प्रति घनमिटरका हाराहारीमा रहेको पाइएको वातावरण विभागका अधिकारी बताउँछन् । ‘यो प्रारम्भिक अध्ययन हो, विस्तृत विवरण आउन अझै केही दिन लाग्छ’ –सो विभागका एक अधिकारीले भने ।

भैरहवा र आसपासका क्षेत्रमा सञ्चालनमा रहेका २ दर्जनभन्दा बढी सिमेन्ट उद्योग र सीमावर्ती क्षेत्रमा रहेका भारतीय उद्योगका कारण सो भेगमा प्रदूषणको मात्रा बढ्दो क्रममा रहेको वातावरणविद् बताउँछन् । भक्तपुरमा देखिएको नमुना सर्वेक्षणले काठमाडौं उपत्यकाको वायुमण्डलमा फैलावट हुने प्रदूषणलाई प्रतिनिधित्व गर्ने उनीहरुको तर्क छ ।

नेपाल समाचारपत्र

टीका बन्धन

प्रतिक्रिया दिनुहोस

web
analytics