कार्बन उत्सर्जन रोक्न ‘नवीकरणीय ऊर्जालाई प्राथमिकता’


काठमाडौं – नेपालले शून्य कार्बन उत्सर्जनमा पुग्न स्वच्छ र नवीकरणीय ऊर्जामा केन्द्रित रहने नीति लिएको छ । जसका लागि प्रमुख स्रोतका रूपमा विद्युतलाई प्रवर्धन गर्ने नेपालको तयारी छ ।

जलवायु परिवर्तन प्रतिकार्यका लागि पहल स्वरूप तयार परिएको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मा स्वच्छ र नवीकरणीय ऊर्जा विकासका साथै वैकल्पिक नवीकरणीय ऊर्जाको रूपमा प्रमुख स्रोत विद्युतलाई लिइने उल्लेख छ । ‘प्रतिस्पर्धात्मक ऊर्जा बजारका लागि उपयुक्त ऐन, नीति र मार्गदर्शनहरू, प्रसारण र वितरण प्रणालीको विस्तार र स्तरोन्नति तथा प्रमुख क्षेत्रमा विद्युत उपयोग प्रवर्धन समावेश छन्,’ एनडीसीमा भनिएको छ ।

ऊर्जा क्षेत्रको कार्ययोजना विशेषगरी खाना पकाउने र यातायात क्षेत्रको ऊर्जा प्रणालीलाई जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जामा रूपान्तरण गर्न स्वच्छ र नवीकरणीय ऊर्जामा केन्द्रित छ । यो क्षेत्रमा पूर्वसूचना प्रणालीको सुदृढीकरण, नवीकरणीय ऊर्जा विकासमा स्थानीय सरकार, महिला, युवा, सीमान्तकृत समूह, आदिवासी जनजाति र स्थानीय समुदायको सहभागिता, ऊर्जाको माग र आपूर्तिको अवस्था, निजी क्षेत्रको संलग्नता र ऊर्जा परीक्षणलगायतका विषयहरू समावेश गरिएका छन् ।

घरायसी चुलो र बायोग्यास उपक्षेत्रको कार्ययोजनामा खाना पकाउनको लागि विद्युतीय चुलो र बायोग्यासजस्ता थप स्वच्छ इन्धन र उपकरणहरूको प्रयोग गरेर घरायसी रूपमा हुने उत्सर्जनलाई घटाउने नेपालको योजना छ । यसमा विद्युतीय र खाना पकाउने सफा उपकरणको प्रवर्धन, अनुदान संयन्त्र, समयअनुसारको विद्युत खपत शुल्क, बिक्रीपश्चातका सेवाहरू, मर्मत सम्भारसम्बन्धी व्यवसायिक तालिम, वित्तमा पहुँच, उपकरण उन्नतिकरण मापदण्ड र गार्हस्थ विद्युतीय क्षमता तथा वायरिङको स्तरोन्नति समावेश छन् ।

ठुला बायोग्यास प्लान्टको विकास र प्रवर्धनका लागि व्यावसायिक पशुपालन, फोहोर संकलन तथा पृथकीकरण र चेतना अभिवृद्धिसमेत यो उपक्षेत्रमा समावेश गरिएका छन् । यातायात उपक्षेत्रको कार्ययोजना सार्वजनिक र निजी क्षेत्रका यातायातको शून्य उत्सर्जनमा रूपान्तरित हुनेमा केन्द्रित छ । विद्युतीय सवारीसाधनको प्रवर्धन र सञ्चालन, विद्युतीय बस द्रुत ट्रान्जिट प्रणाली (इबिआरटि) लागु गर्ने र द्रुत चार्जिङलगायतका चार्जिङ पूर्वाधार र स्टेसनहरू विस्तार गर्नेजस्ता विशेष कार्यक्रमहरू यहाँ समावेश गरिएका छन् ।

विभिन्न नीति, मापदण्ड र परीक्षण आलेख विकास गर्ने, क्षमता अभिवृद्धि गर्ने, अनुसन्धान र बजारीकरण अभियान सञ्चालन गर्ने, तथा तथ्यांक र सूचना व्यवस्थापनलाई सुदृढ गर्ने विषयहरू कार्ययोजनामा समावेश रहेको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) का नेपाल सम्पर्क व्यक्ति तथा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा बताउँछन् ।

उनका अनुसार विद्युतीय रेलमार्गको गुरुयोजना, काठमाडौं विद्युतीय मेट्रो, काठमाडौं — रक्सौल विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन, काठमाडौं – केरुङ विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई तीव्रता दिने तथा महानगरहरूमा साइकल लेन र पैदलमार्ग निर्माण गर्ने विषयहरू पनि कार्ययोजनामा समावेश छन् । यसका लागि आवश्यक मापदण्डको विकास, डिजाइनको तयारी र स्रोत परिचालनसमेत योजनामा उल्लेख छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics