१७ गैँडाको सिकारी समाउँदा…
‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको छैठाैँ अंश –
(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)
सत्र गैँडाको सिकारी
गैँडा सिकारी बमबहादुर प्रजा अन्ततः २०६० साउन १८ गते पक्राउ पर्यो । उसलाई पर्सा वन्यजन्तु आरक्ष कार्यालय, आधाभार र त्यहाँस्थित गुल्मको सहयोगमा जिल्ला वन कार्यालय चितवनको विशेष टोलीले आधाभारबाट पक्राउ गरेको थियो । जिल्ला वनको टिमलाई बमबहादुरको घरनजिक दुइटा घरमा बाघको हड्डी लुकाएर राखिएको छ भन्ने सूचना प्राप्त भएछ । त्यस आधारमा त्यहाँका मान्छेहरुलाई पक्राउ गरी सोधपुछ गर्दा संयोगवश बमबहादुरबारे थाहा भएछ । ऊ त्यही दिन रौतहट, चन्द्रनिगाहपुरको घरमा जाँदै छ भन्ने सूचना पाएपछि आधाभार पुगेर उसलाई समातिएको रहेछ । बमबहादुरले सत्र वटा गैँडा मारेको स्वीकार गरेछ । १६ वटा निकुञ्ज क्षेत्रमा र एउटा जिल्ला वन कार्यालयको कार्यक्षेत्र, राष्ट्रिय वन क्षेत्रमा ।
जिल्ला वनले उसलाई निकुञ्जमा बुझाइदिएको भए अझै राम्रो हुन्थ्यो । निकुञ्जमा ऊ विरूद्ध यसभन्दा अगाडि नै मुद्दा दायर भइसकेका थिए तथा नरबहादुर विक, रामशरण विक र प्रेमबहादुर विक जस्ता उसका साथीहरु पहिल्यै पक्राउ परिसकेका थिए । उनीहरुको बयानका आधारमा हामी उसबाट थुप्रै थप सूचना प्राप्त गर्न सक्थ्यौँ । तर वन कार्यालयले आफूले पक्राउ गरेकाले आफैँले मुद्दा चलाउने निधो गरेछ ।
जब आफ्नाे साथी नरबहादुर २०५९ साल माघमा पक्राउ पर्यो, त्यसपछि नै बमबहादुर हामीबाट भाग्दै हिँडेको रहेछ। तर मौका मिलाएर गैँडा मारी नै रहँदो रहेछ । हामीले राजन प्रजालाई पक्रेर विजय लामालाई समात्न खोजेपछि विजयले पनि उसलाई भाग्न सल्लाह दिएको रहेछ। बमबहादुरले गैँडा मारेर कमाएको रकमबाट करिब साढे आठ लाख रूपैयाँको जमिन र घर खरिद गरेको रहेछ, चन्द्रनिगाहपुरमा। सत्र गैँडा मार्दा उसले करिब अठतीस लाख रूपैयाँ पाएकामा अरु साथीलाई दिएर बचेको पैसाले आफ्नो बन्दोबस्त गरेको रहेछ ।
गैँडाको खागको बजारमूल्य हामीले पक्राउ गरेका मान्छेका बयानका आधारमा आकलन गर्न सक्छौँ । त्यस अनुसार चितवन आसपासका क्षेत्र हेटौँडा, नारायणगढ, कावासोती, भण्डारा, त्रिवेणी लगायतमा सय ग्राम खागको साठी हजारदेखि सत्तरी हजार रूपैयाँ अर्थात् एक किलो खागको मूल्य छ–सात लाख रूपैयाँ छ। गैँडा मार्न जाने समूहमा तीनदेखि दस जनासम्म हुन्छन् । तिनले एउटा गैँडा मार्दा आ–आफ्नो भूमिका बमोजिम पाँच हजारदेखि डेढ लाख रूपैयाँसम्म पाउने गर्छन्। बमबहादुरले एउटा खागमा असी हजार रूपैयाँसम्म पाएको रहेछ । ऊ सार्प सुटर (अचुक निसानेबाज) भएकाले समूहमा उसको भूमिका बन्दुक हान्ने थियो । बमबहादुरका अनुसार पहिले ऊ गाउँमा बाँदर मार्ने गथ्र्यो । त्यसरी विकसित भएको उसको क्षमता गैँडा तस्करका लागि अत्यन्त उपयोगी बन्न पुग्यो ।
बमबहादुरलाई आफैँ पक्रने मेरो योजना असफल भएपछि के शिक्षा मिल्यो भने चोरी सिकार नियन्त्रणमा सूचना कत्तिको भरपर्दो छ भन्ने कुरा परीक्षण गर्नु अत्यन्त जरूरी हुन्छ । हावादारी सूचनाका भरमा कुद्यो भने स्रोतसाधन, समय र मेहनत मात्र खेर जाने होइन, काम पनि उल्टो हुन पुग्छ । तपाईं एकातिर बेकारको योजनामा व्यस्त बन्नुहुन्छ, उता अर्को ठाउँमा नोक्सानी भइरहेको हुन्छ । तपाईंलाई एक ठाउँमा भुल्याएर अर्कै ठाउँमा काम फत्ते गर्ने तस्करको दाउ पनि हुन सक्छ ।
जासुस, सुराकी वा गुप्तचरलाई आँखा चिम्लेर अति धेरै विश्वास गर्नु पनि अनुत्पादक र कहिलेकाहीँ प्रत्युत्पादकसमेत हुन सक्छ। जिल्ला वन कार्यालयले बमबहादुरलाई समयमै नपक्रेको भए सुराकीबाट म अझै कति बुद्धू बनाइन्थेँ; आफैँलाई थाहा छैन ।
प्रेमबहादुर विकले धादिङ, क्षत्रे–देउराली घर भई काठमाडौँको कालीमाटीमा तरकारी पसल गरी बस्ने चन्द्रकान्त पाण्डेलाई पनि एउटा खाग दिएको छु भन्ने बयान दिएको थियो । चन्द्रकान्त तरकारी खरिद गर्न कावासोती आउने गर्दो रहेछ । त्यो कुरा मैले सुराकीलाई बताएँ । उसले कावासोतीका तरकारी व्यापारीबाट चन्द्रकान्तको ठेगाना लिएछ र एक जना साथीसँग काठमाडौँ गएछ । त्यहाँ विभिन्न बहाना गरेर चन्द्रकान्तलाई भेटेछ र पक्राउ गरी आफैँ माइक्रो बस रिजर्भ गरेर रामनगर ल्याइपुर्याएछ । मैले खबर पाएपछि रेन्जर पठाएर उसलाई कसरा ल्याएर राखेँ । यसरी आफ्नै तत्परतामा काम सम्पन्न गर्ने सुराकीलाई स्याबासी दिनैपर्छ । त्यति हदसम्म अग्रसरता लिन छुट दिने कि नदिने, त्यो भने आफैँले निर्णय गर्ने कुरा हो ।
प्रहरी बोकेर कैदी
मुखिया श्रीरङ्ग कँडेल र म नवलपरासी, तमासपुर जान भनेर २०६० साउन ३१ गते दिउँसो अरूण खोला बजार पुगेका थियौँ। हाट लाग्ने दिन भएर होला, तमासपुर पोस्टका हाम्रा स्टाफह? पनि त्यहीँ आएका रहेछन् ।
उनीहरुसँग कुराकानी गर्दा फरार रहेको एउटा सिकारी घरमा आएको छ भन्ने सूचना प्राप्त भयो । हामीले एक जना साथीलाई मोटरसाइकल दिएर त्यहाँका सबै कुरा बुझ्ने हाम्रो स्टाफ जङ्गे श्रेष्ठलाई लिन पठायौँ । उसले आएर सूचनाको थप पुस्ट्याइँ गर्यो। हामीसँग त्यो क्षेत्रको सुराकी पनि थियो । तर उसले त्यो सिकारी गाउँमा आएको बताएन । स्टाफहरुले भने सिकारी ऊसँगै घरमा बस्ने–खाने र हिँड्ने गरेको सूचना दिएका थिए । उसले सिकारीलाई हामी पक्राउ गर्न आउँदै छौँ भन्ने खबर दिन्छ कि भन्ने डरले हामीले उसलाई घर जान दिएनौँ ।
त्यहाँबाट फर्केर लौखानी पोस्टमा आई हामीले खाना खायौँ र सौराहाबाट सेनालाई बोलायौँ । दुइटा गाडीमा टन्नै सैनिक र स्टाफहरु आए । राति करिब नौ–दस बजेको हुँदो हो, हामी फेरि तमासपुर जान अरूण खोलातर्फ लाग्यौँ । चोरमारा पुग्दा नपुग्दै भीषण वर्षा हुन थाल्यो; बाटोमै बाढी आए जस्तो भयो । दर्कंदो पानीले बाटो देखिँदैनथ्यो; अन्दाजको भरमा हिँड्नुपर्ने भयो । राजमार्गदक्षिण तमासपुर जाने कच्ची बाटोमा रुख ढलेको रहेछ । मेरो गाडी सबभन्दा अगाडि थियो । रुख पन्छाउन नसकिने भएपछि झाडी पन्छाएर अगाडि बढाउन खोज्दा गाडी पुरानो ठुटामा फसेछ । न अगाडि जान्छ न पछाडि; त्यहीँ अड्कियो । पानी परेको पर्यै थियो । म सार्है चिन्तित भएँ, गाडी फँसेर मान्छे पक्रन जान नसकिने भयो भनेर । तर साथीहरुले जुरूक्कै उचालेर पछाडि धकेलेपछि गाडी बिस्तारै अगाडि बढ्यो ।
तमासपुर पुगेपछि हामी एउटा घरमा गयौँ र सुतेकाहरुलाई उठायौँ । खोजेको मान्छे बाढीपीडित भन्ने ठाउँ नारायणी तीरमा गएको थाहा पाएपछि हामी अर्को मान्छे खोज्नतर्फ लाग्यौँ । गाडी उसको घरभन्दा वरै रोक्यौँ । म सुराकीसँग गाडीमै बसेँ । सैनिक, रेन्जर माधव, रुपक र श्रीरङ्ग कँडेल गए र दस–पन्ध्र मिनेटमा एक जनालाई पक्रेर ल्याए । कँडेलले ‘यही हो ठूलोकान्छो भुजेल’ भनेर धेरै लामो समयसम्म नभेटेको रिस पोख्नुभयो, एकदुई मुक्का हानेर । ऊ त्यो क्षेत्रको पुरानो नामुद सिकारी थियो । उसका साथीहरु नवलपरासीमा सक्रिय थिए । उसकै ग्याङको छक्का कुमालसहित त्यो क्षेत्रका सिकारी, दलाल र तस्करको सम्पूर्ण सञ्जालको जानकारी उसबाट प्राप्त हुन सक्थ्यो। ठूलोकान्छोपछि हामीले हस्तबहादुर कुमाललाई पनि पक्राउ गर्यौँ । ऊ पनि ठूलोकान्छोकै ग्याङको सदस्य थियो। त्यही रात पञ्चबहादुर गुरूङलाई पनि समात्यौँ ।
हामी तीनै जनालाई लिएर फक्र्यौं। वर्षा उस्तै थियो र बाटोमा पानी खोलोझैँ बगिरहेको थियो । सौभाग्यवश गाडी कतै पनि फसेन र हामी राम्रोसँग अरूण खोला आइपुग्यौँ । एकातिर दिनभरिको थकान थियो भने अर्कातर्फ हामी राति पनि नभनी कुदिरहेका थियौँ । टाँडी आएपछि हामी चैनपुर गाविसको सिद्धिगाउँतिर लाग्यौँ, नरबहादुर गुरूङलाई पक्रन ।
नाताले पञ्चबहादुरको भाइ पर्ने नरबहादुर गैँडा मार्न लगाउने र खाग बेचबिखन गरिदिने काममा संलग्न छ भन्ने सूचना सुराकीले दिएको थियो । तर त्यो दिनको झरीले आएको भेलले लदरी खोलाको पुल लगेको रहेछ । हामी सिद्धि जान सकेनौँ र सौराहा फर्कियौँ ।
म गाडी ड्राइभ गरिरहेको थिएँ । थकाइ र निद्राले झुमल्दा गाडी घरीघरी बाटाको छेउमा पुग्दो रहेछ । सौराहा आइपुग्दा बिहानको करिब चार बजेको थियो । बिहान एक छिन सुत्यौँ ।
संयोग भन्नुपर्छ, ठूलोकान्छो जुन महिना र गते पक्राउ परेको थियो, तीन वर्षपछि त्यही महिना र गते पुनरावेदन अदालतले सफाइ दिएर छुट्ट्यो । उसलाई सफाइ दिने न्यायाधीशमध्ये एक जना गोविन्दप्रसाद पराजुली पनि थिए। यिनै न्यायाधीशले अदालतसमक्ष उपस्थितै नभई फरार नवलपरासीको नामुद गैँडा तस्कर लेखबहादुर रायमाझीलाई समेत सफाइ दिएका थिए । भरतपुर कारागारबाट फरार अर्को गैँडा सिकारी दिननाथ महतोलाई सफाइ दिने पनि उनै थिए ।
कसरी भागेको थियो त दिननाथ ? ‘बिरामी छु’ भनेपछि उसलाई कारागारबाट एउटा मोटरसाइकल दिएर अस्पताल पठाइएछ । उसले हाँकेको त्यो मोटरसाइकलमा पछाडि एउटा प्रहरीलाई बसालिएको रहेछ । दिननाथको रेखदेख गर्न भनेर पठाइएको त्यो प्रहरी उसकै आफन्त रहेछ । भरतपुर कारागारबाट भरतपुर अस्पताल करिब पाँच सय मिटर दूरीमा भए पनि दिननाथ त्यता नगएर प्रहरी जवानसँगै अर्को जिल्ला नवलपरासीतिर लागेछ ।
राजमार्गदेखि दक्षिण कोल्वा गाउँनजिकै पुगेपछि दिननाथले त्यो प्रहरीलाई ‘मोटरसाइकल बिग्रियो, बनाएर आउँछु’ भनेछ। ‘हवस् त’ भनेर प्रहरी त्यहीँ ओर्लिएर एक्लै बसेछ र दिननाथ मोटरसाइकल लिएर कतै लागेछ । त्यसपछि प्रहरी मात्रै कारागारमा फर्किएछ । ठूलोकान्छो भुजेल, छक्का कुमाल र लेखबहादुर लगायतका सिकारीहरु २०५३–५४ सालतिर नन्दपुर पोस्ट र सेरी पोस्टका जमदार डिलबहादुर कार्की र दिलबहादुर खत्रीसँग मिलेर गैँडा मार्न जान्थे ।
बेडिङभित्र भरूवा बन्दुक राखेर बसबाट ओसारपसार गर्थे । त्यतिबेला आर्मीको बेडिङ चेकजाँच हुने सम्भावना थिएन । जति पोस्ट थपेर सुरक्षा प्रबन्ध मजबुत पारिन्थ्यो, उतिउति तिनले गैँडा मार्ने नयाँ उपाय निकाल्थे। २०५३–५४ सालतिर उनीहरुले सेनाका जमदारहरुलाई प्रयोग गरे भने २०५५–५६ मा निकुञ्जकै हात्तीसारका कर्मचारीहरु मण्डल महतो र भदै महतोलाई उपयोग गरे । हात्तीको राशन ठेकेदार भरत कलवारले विरगञ्जबाट भाला ल्याएर यिनीहरुलाई दियो ।
यिनीहरु हात्ती लिएर निकुञ्जको जङ्गलमा जाने र हात्तीमाथि बसेर भालाले रोपेर गैँडा मार्ने गर्दथे । यसमा त्यत्तिवेलाका हात्तीसारका ग्यासु रामेश्वर चौधरीको पनि मिलेमतो थियो । उनी गैँडा मुद्दाका प्रतिवादी थिए तर पछि खाग तस्करहरुको शक्तिका आधारमा चिफ वार्डेनले उनलाई सफाई दिए । भदै महतोलाई सजाय भयो । मण्डल महतो थुनाबाट भागेर भारततिर लुकीछिपी बसेको छ भन्ने सूचना प्राप्त भएको थियो । त्यतिवेलाका सहायक वार्डेन टीकाराम अधिकारीले महतोहरुलाई पक्रेर केरकार गरेपछि धेरै कुरा थाहा हुन्छ भनेर देवनगर पोष्टमा राख्नुभएको थियो । तर त्यहाँ विना हतियारका गेमस्काउटको जिम्मामा सुरक्षा प्रबन्ध मजबुत र व्यवस्थित नगरीकन राखिएकोले झ्यालको रडबाट छिरेर मण्डल भाग्न सफल भएको थियो ।
भदौ ८ गते सूचना प्राप्त भयो— खाग तस्करहरु दोग्ला र तान्जिङ निमालाई गैँडाको खाग उपलब्ध गराउने नवलपरासीको फरार अभियुक्त ओमबहादुर राना मगर नारायणगढ बजार आउँदै छ। क्याप्टेन विशालबहादुर शाह र मेरो नेतृत्वमा बिहान नौ बजेतिर हामी नारायणगढ बजारमा उसलाई कुरेर बस्यौँ ।
ऊ अरु तीन–चार जनासँग आयो। हामी तिनको पछि लाग्यौँ । म र क्याप्टेन अगाडि दुई साइडमा थियौँ; अरु साथी पछिपछि थिए ।
मैले नजिकै पुगेर उसलाई अर्कै नामले बोलाएँ– ‘ए हरिकुमारजी?’
उसले भन्यो– ‘म हरिकुमार होइन ।’
‘तपाईंको नाम के हो त?’
‘मेरो नाम ओमबहादुर हो।’
उसले ह्याट लगाएको थियो । पचास–एकाउन्न वर्षको, हेर्दा भलादमी, भूपू लाहुरे जस्तो । हामीले उसलाई गिरफ्तार गर्यौँ र गाडीमा हाल्यौँ । उसका साथी हेरेका हेर्यै भए ।
क्रमश:
प्रतिक्रिया दिनुहोस