पहिलो पटक खागसहित गैंडा तस्कर पक्राउ गर्दा..



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  चाैधाैँ अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

बल्छीमा बिहारी

कावासोतीको सुराकीले ‘नवलपरासीको त्रिवेणीमा बाघको छाला र गैँडाको खाग किनबेच हुँदै छ; मैले सबै सुराक पाएको छु ; हामी खरिदकर्ताका रुपमा जानुपर्यो’ भन्यो । म उसलाई लिएर २०६१ साउन २७ गते दिउँसो त्रिवेणी पुगेँ । हामीले सर्वप्रथम ब्यारेकमा गएर सैनिकहरुसँग चिनजान गर्यौँ र आवश्यक पर्दा सहयोगका लागि अनुरोध गर्यौँ । त्यसपछि त्रिवेणी बजारमा गएर त्रिवेणी सङ्गम होटलमा कोठा बुक गर्यौँ र त्यही दिन भारतको वाल्मीकिनगर, टङ्की बजार पुग्यौँ । त्यहाँ चोकबाट दायाँतर्फ एउटा नेपाली मूलको मान्छेको घरमा पुग्यौँ ।

घर फुसको छाना भएको, कच्ची थियो । अठार–उन्नाइस वर्षको अग्लो, कालो–कालो केटो साइकलमा केही सामान हालेको बोरा बोकेर आइपुग्यो र भित्र पस्यो । अनि हामीलाई पनि ऊ पसेको कोठामा लगियो । उसले बोरा खोलेर देखायो— दुइटा दुई–तीन वर्ष उमेरका बाघका छाला थिए। राम्ररी पट्ट्याएर, कपूर हालेर राखिएका, नरम । मैले जीवनमा व्यापारी बनेर बाघको छाला हेरेको त्यो पहिलो पटक थियो । त्यो केटाले भन्यो– ‘तपाईंले यी छाला किनेपछि अरु आठ–दस वटा ल्याइदिन्छु ।’
मलाई लाग्यो, सारा बाघ यिनीहरुले सक्ने भए। अनि सोधेँ– ‘कहाँबाट ल्याउँछौ?’
‘उता बरेली बजारनजिकको गाउँबाट।’

एउटा सामान्य तस्करले यति धेरै बाघको छालाको काम गर्छ भने बाघको सिकारको मात्रा कति भयानक रहेछ, सहजै अनुमान गर्न सकिन्थ्यो । त्यो केटाले एउटा दलाललाई देखाउँदै सुनायो– ‘धेरै दिनदेखि यसले भनेर ल्याएको हो यो माल । माल अर्काको हो; मेरो पैसा फसेको छ; पैसा अहिल्यै दिनुस् ।’

उसलाई पैसा आजै दिन्छ÷दिँदैन भन्ने एकदमै चिन्ता थियो । मैले पनि उनीहरुलाई विश्वासमा लिनु थियो; त्यसैले तुरून्तै दस हजार भारू बराबर १६ हजार रूपैयाँ गनेर दिएँ ।

उसले भन्यो– ‘म अरु माल पनि ल्याइदिन्छु ।’ मैले भनेँ– ‘यो पैसा राख्नू र माल पनि यहीँ राख्नू; पछि एकै चोटि लैजाउँला ।’

उसले खाग पनि छ भनेकाले त्यो माल पनि ल्याइराख्न भनेँ मैले । हामी दुई दिनपछि आउने गरी त्यहाँबाट साँझपख कसरा फक्र्यौं । दुई दिनपछि हामी फेरि त्रिवेणीतर्फ लाग्यौँ । मैले उनीहरुलाई पैसा देखाउनुपर्ने थियो । त्यसैले नारायणगढ बजारको सङ्गम सर्टिङ सुटिङका साहूजीसँग साठी हजार रूपैयाँ सापटी लिएको थिएँ । यस पटक हामीसँग एक जना गेमस्काउट पनि थिए । हामीले पहिलेझैँ ब्यारेकमा सम्पर्क गर्यौँ ।

त्यसपछि भारतको टङ्की बजारतर्फ लाग्यौँ । त्यहाँ भारतीय दलालहरुले खाग लिन नब्बे किलोमिटर भित्र गाउँमा जानुपर्छ भने । खाग हो÷होइन र छ÷छैन हेर्नका लागि हाम्रो सुराकी तीमध्ये एक जनासँग मोटरसाइकलमा त्यता लाग्यो। म दिनभर चार–पाँच भुसतिघ्रे बिहारी र दुई–तीन नेपालीसँग टङ्की बजारकै एउटा चियापसलमा बसेँ । खाना खान भने हामी वारि नेपालै आएका थियौँ ।

अपराह्नको चार बज्यो र पानी पनि पर्न थाल्यो तर बिहान आठ बजे गएको मान्छे अझै फर्केन । सुराकीलाई मैले पैसा पनि दिएर पठाएको थिएँ । कतै पैसा लुटेर उसलाई उतै फालिदिए कि भन्ने डर पनि लाग्यो । साँझ पर्न लागेपछि म पानीमा भिज्दै रिक्सामा नेपालतर्फ लागेँ; मेरो पछिपछि नै सुराकी पनि आइपुग्यो । दिउँसो सँगै बस्ने नेपाली र बिहारी दलाल पनि आए ।

मैले वारिपट्टि सैनिकलाई सिभिल डे«समा रेडी अवस्थामा बस्न भनेको थिएँ । सोही बमोजिम उनीहरु तयार थिए । मलाई देख्नेबित्तिकै चिनेर चहलपहल गर्न थाले । मैले इसारा नै गरेको थिइनँ; उनीहरु मसँग कुरा गरौँलाझैँ गरेर नजिकनजिक आउन थाले । कुरा नखुलोस् भनेर मैले ती दलालसँग भनेँ– ‘यहाँ सिभिल डे«समा आर्मी छन्; हामी लाग्छौँ ।’ तिनीहरुले पनि ‘हुन्छ’ भने र खर्च मागे । मैले एक हजार निकालेर दिएँ । त्यस बेला सुराकी अर्को एक जनासँग छुट्टै कुरा गरिरहेको थियो; मैले भनेँ– ‘जाऊँ छिटो।’ उसले त्यो मान्छेलाई भोलि त्रिवेणी सङ्गम होटलमा आउन भन्यो ।

भोलिपल्ट तीन दिनअगाडि हामीले हेरेर बैना दिएको बाघको छाला पनि वारि ल्याइदिने सल्लाह भएको थियो । करिब एघार बजेतिर दुइटै छाला झोलामा लिएर त्यो बिहारी केटो आइपुग्यो । मैले उसलाई पेस्की दिइसकेको दस हजार भारू कटाएर बाँकी रकम दिनु थियो । उसलाई होटलमा धेरै समय राखिराख्नु उपयुक्त थिएन, किनकि खागवाला पनि आउँदै थियो । त्यसैले मैले सुराकीलाई रकम दिएर भनेँ– ‘तपाईं यो केटालाई लिएर जानुस्, पैसा बाटामा दिएर पठाइदिनुस् र ऊ बाटो लागेपछि फोनमार्फत आर्मीलाई चिनाइदिनुस् ।’

ऊ केटालाई लिएर गयो । म होटलमा खागवालालाई पर्खिरहेको थिएँ । त्यत्तिकैमा असिनपसिन हुँदै सुराकी आइपुग्यो । भन्यो– ‘त्यो केटो त फुत्केर भाग्यो नि । आर्मीलाई पक्ड भन्दा मान्दै मानेनन् ।’

भएछ के भने उसले पैसा दिन्छु भनेर फकाई–फकाई लगेछ र ब्यारेकअगाडि पुगेपछि सेन्ट्रीलाई पक्रन भनेछ । सेन्ट्रीले वास्ता नगरेपछि उसले केटालाई पाखुरामा समातेको रहेछ तर ऊ फुत्काएर बेपत्तासँग भागेछ । सेन्ट्रीले वास्ता नगरेको नाजायज थिएन किनकि एउटा सिभिलियनले भनेको भरमा उसले आफूभन्दा माथिको कमान्डरको आदेश नपाई पक्रने कुरै थिएन । त्यो पनि माओवादी कालमा । मैले भने बमोजिम पैसा त्यो केटालाई दिएर पठाएपछि सैनिकलाई फोन गरेको भए ऊ त्यही गेटको बाटो जान्थ्यो अनि त्यहीँ पक्राउ परिहाल्थ्यो । तर सुराकीले पैसा उसको हातमा हालिदिन नचाहेकाले ऊ भाग्न सफल भयो ।

मैले सुराकीलाई सान्त्वना दिएँ– ‘जे भयो–भयो; अब छाड्नुस् । त्यो खागवालासँग कुरा मिलाउनुस्; त्यसलाई पक्रनुपर्छ ।’

केही बेरपछि खागवाला आइपुग्यो । सुराकीले कुरा मिलाएपछि ऊ मोटरसाइकल लिएर हिँड्यो; हामीलाई गाडीमा आउन भन्यो। हामी उसको पछि लाग्यौँ ।
मैले सुराकीसँग सोधेँ– ‘के सल्लाह भएको छ ?’ उसले भन्यो– ‘हामी गएर माल हेर्ने। खागको सात लाख भनेको छ; पैसा दिएर त्यतैबाट लाग्छौँ भनेको छु ।’ हामीसँग न पैसा थियो न त बन्दुकै ।

त्यस्तो अवस्थामा उनीहरुलाई पक्रन सकिँदैनथ्यो । त्यसैले मैले सुराकीलाई बेग्लै योजना सिकाएँ । खागवालाले हामी दुई जनालाई मात्र देखेको थियो । तर हामीसँग गाडीमा अर्को स्टाफ पनि थियो। मैले उसलाई खागवालाले नदेख्ने गरी सिसौ घारीमा ओरालिदिएँ र ‘तिमी ब्यारेकमा गएर सिभिल डे«समा आर्मी ल्याई होटलमा आएर बस, हामी आएर इसारा गरेपछि पक्रनू’ भनेँ । हामी त्रिवेणी बजारबाट रुपौलियातर्फ लाग्यौँ । रुपौलियाको स्कुलनजिक पुगेपछि खागवालाले मोटरसाइकल रोक्यो । मैले पनि गाडी रोकेँ । उसले भन्यो– ‘आप लोग यहीँ ठहरिए ।’

मैले सिकाए बमोजिम सुराकीले भन्यो– ‘पहिले हामी खाग सक्कली हो कि होइन हेर्छौं; सक्कली रहेछ भने केही एड्भान्स दिन्छौँ । त्यो पैसा र खाग यहीँ राख्नुस्; हामी होटल गएर बाँकी पैसा लिएर आउँछौँ र खाग लिएर जान्छौँ ।”

उसले ‘ठीक है’ भन्यो र मोटरसाइकलमा गयो । करिब दस मिनेटपछि ऊ स्कुलको बाटो हातमा झोला लिएर आयो र हामीलाई वनमाराको झ्याङमा आउन इसारा ग¥यो। हामी पनि लुरूलुरू ऊतर्फ लाग्यौँ । उसले प्लास्टिकको झोलाबाट कार्बन पेपरले बेरेको वस्तु निकाल्यो ।

त्यो मैले हातमा लिएँ र ओल्टाईपल्टाई हेरेँ । खासमा खाग सक्कली हो÷होइन पत्ता लगाउन खागको फेदमा भएको जाली हेर्नुपर्छ । सक्कली र नक्कली त्यसैबाट छुट्टिन्छ । अरु भाग नक्कली बनाए पनि जाली नक्कली बनाउन सक्दैनन् । मैले जाली हेरेर ठम्याइहालेँ कि यो सक्कली हो ।

उसले ‘एड्भान्स दो, जल्दी’ भन्यो । मैले वरपर चियाएँ; स्कुलछेउ पर्खालबाट लुकेर दुई जनाले हेरिरहेका थिए । तिनीहरु उसकै मान्छे हुनुपर्छ भन्ने लाग्यो । अनि मैले पकेटबाट निकालेर पचास हजार रूपैयाँ उसलाई दिएँ । ऊ खाग र पैसा लिएर फक्र्यो। हामी त्यतै हेरिरहेका थियौँ । अलि पर पुगेपछि उसले हामीलाई भन्यो– ‘जाओ जाओ, तुम लोग जाओ ।’ मैले सोचेँ— लौ, यो बिहारीले पैसा पनि लग्यो; खाग पनि लग्यो । बरबाद पार्ने भो कि क्या हो !

मैले पहिलो पटक गैँडा तस्करह?सँग खाग हेरेको थिएँ। त्यो पनि अझै पक्राउ परिसकेको थिएन । यत्रो नाटक गरिसकियो, कतै फेल हुने पो हो कि भन्ने मनमा त्रास थियो र तनावले ढुकढुकी बढिरहेको थियो ।
हामी बाटामा पर्खन थाल्यौँ । मैले गाडी फर्काएर राखेको थिएँ। ऊ निकै बेरपछि मोटरसाइकलमा आयो र भन्यो– ‘चलो ।’

ऊ अगाडि–अगाडि हिरो होन्डा मोटरसाइकलमा तुफान कुदिरहेको थियो भने हामी पछिपछि थोत्रो मित्सुबिसी पजेरो गाडीमा थियौँ । बाटो कच्ची र खाल्डाखुल्डी परेको थियो। तैपनि म बेतोडले गाडी कुदाइरहेको थिएँ । मलाई डर थियो— कतै ऊ हामीभन्दा निकै अगाडि होटल पुगेर त्यहाँ सैनिक देखेर नभागोस् ।

त्रिवेणी बजार पुग्ने बेला एउटा सानो बाटो थियो; ऊ त्यहीँबाट फुत्त छिरिहाल्यो । गाडी त्यो बाटो जाँदैनथ्यो । लौ बित्यास पर्यो भनेर मलाई झन् तनाव भयो । मैले गाडी होटलतिर घुमाएँ । त्यहाँ शव बोकेको ट्याक्टर आइरहेको थियो । अलि बेर यसले पनि बाटो रोक्यो । मेरो धडकन बढिरहेको थियो, कतै ऊ भाग्यो कि भनेर । तर भाग्यवश हामी होटलमा पुग्ने र ऊ मोटरसाइकल रोकेर हेल्मेट हातमा लिएर होटलभित्र पस्ने एकैचोटि भयो । शवयात्रा देखे साइत पर्छ भन्छन्, त्यस्तै भयो ।

हामी ऊसँगै होटलभित्र पस्यौँ र कोठाको ढोका बन्द गरेर एक छिन गफ गरेझैँ गर्यौँ। त्यही बेला हाम्रो स्टाफ र त्यहाँ आएका सैनिक साथीहरुलाई इसारा गर्यौँ । योजना मुताबिक उनीहरुले हामी सबैलाई गिरफ्तार गरे ।

माओवादीको शङ्कामा पक्रेको बहाना गरिएको थियो । खाग तस्करीमा मान्छे पक्रेको हल्ला उता खाग राखिएको ठाउँसम्म नपुगोस् भनेर त्यसो गरिएको थियो ।
उनीहरुसहित हामी ब्यारेकमा पुग्दा त्यहाँ क्याप्टेन लगायत थुप्रै सैनिक बाहिर निस्केका रहेछन् । भएछ के भने अघि बाघको छालावाला भाग्यो भन्ने थाहा पाएर क्याप्टेनले बोर्डर सिल गर्न लगाउनुभएछ र रानीबारी लगायतका सबै ठाउँमा व्यापक खोज्नुभएछ । उहाँ हामीहरुसँग रिसाउँदै हुनुहुन्थ्यो– ‘तपाईंहरु पनि खबरसबर केही गर्नु छैन; हचुवामा काम गर्नुहुन्छ !’ मैले त्यहाँ भएका घटनाको सम्पूर्ण विवरण भनेँ र अर्को मान्छे पक्राउ गरिसकेको बताएँ; उहाँ दङ्ग पर्नुभयो ।

हामीले अब त्यो खाग भएको मान्छेसम्म पुग्नु थियो । हामीले पक्रेको मान्छे भारतको दरूवाबारी बस्ने राजवंशी काजी रहेछ । उसले त्यो खाग र रुपौलियाको एक जनालाई राख्न दिएको बतायो । हामी तुरून्तै त्यता लाग्नुपथ्र्यो किनभने ढिलो हुँदा राजवंशी पक्राउ परेको खबर उता पुग्न सक्थ्यो ।

धेरै जना जाँदा पनि उताका मान्छे टाढैबाट भाग्ने डर थियो। अघि हामी खाग हेर्न दुई जना मात्र गएका थियौँ । त्यसैले हामीले योजना बनायौँ— मोटरसाइकलमा तीन जना जाने । पेस्तोलसहित एक जना पछाडि बस्ने र राजवंशीलाई बीचमा राखेर लैजाने । उसले मान्छे देखाइदिएपछि पक्रने, कथम्कदाचित् भाग्न खोजे सुट गरिदिने । ब्याक फोर्सका लागि अरु थप बल लिएर गाडीमा पछाडि–पछाडि जाने सल्लाह भयो ।

तीन जनाको टोली मोटरसाइकलमा अगाडि गयो, राजवंशीलाई बीचमा राखेर । एक जना सैनिक साथीले मोटरसाइकल हाँक्नुभएको थियो भने जमदार पछाडिपट्टि बस्नुभएको थियो । सैनिक टोलीसहित हाम्रो गाडी पछाडि थियो । हामी रूपौलियाको बजार पुग्दा उहाँहरुले एउटा मान्छेलाई समातिसक्नुभएको थियो । उसको नाम जयनारायण कुमाल थियो, जसको त्यहीँ एउटा मेडिकल हल पनि थियो ।
हामीले उसलाई सोध्यौँ– ‘खाग कहाँ छ?’ उसले खाग अरुकै घरमा राख्न दिएको रहेछ । त्यो घरमा पुर्याएर उसले एउटी महिलालाई भन्यो– ‘त्यो सामान खै ?’ तिनले हामीलाई भित्र लगेर ताला नलगाएको काठको दराज खोलिन् र प्लास्टिकबाट निकालेर अघि हामीले हेरेको खाग हाम्रो हातमा दिइन् । त्यो खाग राखेबापत उनलाई पनि पक्राउ गर्नुपर्थ्याे तर महिला भएकाले हामीले छाडिदियौँ । त्यसपछि ‘अघि दिएको पैसा खै ?’ भनेर सोध्दा जयनारायणले ‘अर्को मान्छेले लिएर गयो’ भन्यो ।

‘को हो त्यो मान्छे?’
‘गङ्गाराम चौधरी हो ।’
‘कहाँ छ ?’
‘घर गयो होला ।’
हामी गङ्गारामको घरमा गयौँ तर ऊ त्यहाँ थिएन । अघिसम्म रक्सी खाँदै थियो भन्नेसम्म थाहा भयो तर अहिले कता भाग्यो, थाहा पाउन सकिएन । त्यो ठाउँमा अबेरसम्म बस्नु सुरक्षाका दृष्टिले ठीक थिएन । साँझ पर्न आँटेको र सैनिक साथीहरु पनि आत्तिएकाले हामी फक्र्यौं। मलाई पचास हजार रूपैयाँ फुत्केकामा थकथकी लागिरहेको थियो । यद्यपि त्यो बराबरको मोटरसाइकल (लु२प १०१५) हामीले बरामद गरेका थियौँ ।

हामी भोलिपल्ट खाना खाईवरी कसरातर्फ लाग्यौँ । बिहारको नजिक भएकाले हामी मात्र जाँदा खतरा हुन सक्छ भनेर बस रिजर्भ गरेर सैनिकसहित बर्दघाटसम्म पुग्यौँ । त्यहाँबाट भरतपुरसम्म सेनाको एमबीपी (माइन ब्लास्ट पु्रफ) गाडीले स्कर्टिङ गरेर लगिदियो । भरतपुरबाट सुराकी र म उनीहरुलाई एउटा गाडीमा राखेर साँझतिर कसरा पुग्यौँ । अर्का स्टाफचाहिँ मोटरसाइकलमा आए । मैले जीवनमा खागसहित अभियुक्त पक्राउ गरेको यो नै पहिलो घटना थियो । अत्यन्तै जोखिम मोलेर भए पनि हामी सफल भएका थियौँ ।

त्यो खाग चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी भाग ‘गैँडा खासा’ भन्ने ठाउँमा मारिएको गैँडाको रहेछ। राजवंशीको टोलीले भारतबाट नेपालीसहित मिलेर निकुञ्जको जङ्गलभित्रभित्रै टेम्पल टाइगर क्षेत्रमा आई गैँडा मार्ने गरेको रहेछ । राजवंशीलाई पक्राउ गरेपछि त्यो क्षेत्रमा गैँडा मार्ने क्रम रोकियो ।

उसको टोलीमा गैँडा मार्न जाने बर्दघाट बन्डा खोलाको नरसिंह चौधरी पछि पक्राउ पर्यो भने भारतको केदार मुसहरलाई अझै पक्राउ गर्न सकिएको छैन । यसरी एउटा खाग, दुइटा बाघका छाला र एक थान मोटरसाइकलसहित दुई जना मान्छे (राजवंशी काजी र जयनारायण कुमाल) त्रिवेणीस्थित दुर्गाभञ्जन गुल्मको सहयोगमा पक्राउ गरेका थियौँ ।

स्टुडियोको फोटो हेरेर

शङ्कर प्रजा भन्ने सिकारीलाई पक्राउ गर्न थुप्रै पटक प्रयत्न भयो तर सफल भइएन । ऊ धेरै चलाख थियो र मै हुँ भन्ने खालको थियो । पदमपुरमा घर भएर पनि भागेर मकवानपुरको राक्सीराङमा कान्छी बूढी बिहे गरेर बसेको थियो । ऊ कहिले निकुञ्जमा तामा कुरिलो खोज्न आउँथ्यो त कहिले मनहरी खोलामा माछा मार्न जान्थ्यो ।

सुराकीले खबर ल्यायो— शङ्कर गाउँमै छ । म एक्लै थिएँ तैपनि सेनासँग कुरा गरेँ र भण्डारा बेस क्याम्पका बाइस सैनिक तथा प्रहरी र दुई जना सुराकी लिएर २०६१ कात्तिक १४ गते बेलुका नौ बजेतिर मनहरी बजारबाट उत्तरतर्फ लागेँ । मनहरीमा तिहारको भैलो खेल्नेहरु थिए । हामी उनीहरुले नदेख्ने गरी अर्को बाटो लाग्यौँ। बाटो एकदमै अप्ठ्यारो थियो । हामी पहिलो पटक त्यो बाटो हिँडिरहेका थियौँ ।

माओवादीको अखडा भएकाले टर्च लाइट बाल्न पनि नहुने । करिब एक घण्टा उकालो–ओरालो गरेपछि पारिपट्टि लहरै टर्च लाइट बालेको देखियो । हामी अडियौँ । हामीसँग सेनाका लप्टन बलदेव गिरी थिए । उनी ‘अब अगाडि नजाऔँ; यहीँबाट फर्कौं’ भन्न थाले । तर मैले ‘जुन बाटो आयौँ त्यहीँबाट फक्र्यौं भने हामीलाई झन् खतरा हुन सक्छ; त्यसैले हामी अगाडि नै जानुपर्छ’ भनेर सम्झाएँ ।

करिब दुई घण्टा हिँडेपछि हामी बल्ल राक्सीराङ पुग्यौँ । गाउँनजिक पुग्न लाग्दा कुकुर भुक्ने क्रम बढ्दो थियो; सतर्क भएर अगाडि बढिरहेका थियौँ । मकैबारीले गर्दा नजिकैका साथी पनि देखिँदैनथे । शङ्करको ससुरालीनजिक पुगेपछि हामीले दुई–तीन घर घेरा हाल्यौँ र खानतलासी लियौँ । जुन घरमा शङ्कर छ भनेर सुराकीले भनेको थियो त्यसमा ऊ भेटिएन । अर्को घरमा एउटा केटो थियो; त्यसलाई शङ्करबारे सोधेको, ‘थाहा छैन’ भन्यो । लौ बित्यास पर्यो भनेर म अतालिन थालेँ। केही साथीहरु अर्को घरको भुइँतलामा एक जनालाई सोधपुछ गर्दै थिए । मैले त्यहाँ गएर हेरेँ। एउटा कुनामा एउटी महिला सानो बच्चा लिएर बसिरहेकी थिइन् भने अर्को कुनामा एउटा ठिटो आफू निर्दोष भएको सफाइ दिँदै थियो ।

मैले टर्च बालेर उसको अनुहारमा हेरेँ अनि ‘तेरो नाम के हो ?’ भनेर सोधेँ । उसले अर्कै नाम बतायो ।
मैले भनेँ– ‘शङ्कर प्रजा तैँ होइनस् ?’
उसले भन्यो– ‘म त शङकर थापा हुँ, प्रजा होइन ।’
मैले हप्काएँ– ‘अझै ढाँट्छस् ?’
ऊ ‘म शङ्कर होइन सर’ भन्दै थियो, तर मैले उसलाई चिनिसकेको थिएँ ।

मनहरी बजारको एउटा स्टुडियोमा टाँसेको उसको फोटो मलाई सुराकीले देखाएको थियो । ऊ आफ्नो फोटो स्टुडियोमा ‘म मरे पनि चिनो रहोस् भनेर राखेको’ भन्थ्यो रे । गलत धन्दामा लागेको आफू कुनै दिन मारिन पनि सक्छु भन्ने उसलाई परेको रहेछ ।

यही नै शङ्कर प्रजा हो भन्ने निश्चित भएकाले मैले उसलाई पक्रेँ । अरु दुई–तीन जना उसका सहयोगीलाई पनि हामीले पक्रियौँ । उनीहरुलाई लिएर फर्कंदा राति करिब साढे १२ बजिसकेको थियो ।

बाटामा माओवादीसँग मुठभेड हुन्छ कि भन्ने त्रास थियो, तर त्यस्तो केही भएन । राजमार्गमा निक्लेपछि निकै ढुक्क भइयो। त्यसपछि हामी सुनाचुरी आएर सूर्यबहादुर तामाङको घर गयौँ र घेरा हालेर ढोका खोल्न भन्यौँ ।

उनीहरुले नमानेपछि जबर्जस्ती ढोका खोली भित्र गएर उसलाई पक्रियौँ । यसभन्दा अगाडि हामीले तिलबहादुर गुरूङलाई पक्रेका बेला भने सूर्यबहादुर भाग्न सफल भएको थियो । सूर्यबहादुरले आफ्नो ससुरो खुँखार सिकारी गोरे घलानले गैँडा मारेर ल्याएको खाग बेचेको थियो। हामी पानीमा रूझ्दै–रूझ्दै जङ्गलको बाटो उसको घरछेउ पुगेका थियौँ, ऊ तास खेलिरहेको छ भनेर । तर त्यस बेला ऊ नजिकैको अर्को घरमा रहेछ । हामीलाई आफ्नो घर गएको देखेर त्यहीँ लुकेछ । हामीले उसकी श्रीमतीलाई पक्रेका थियौँ तर जङ्गलछेउमा अर्को मान्छे देखेर त्यता दौडियौँ, त्यही बेला भागी । पछि सूर्यबहादुरले आफ्ना मान्छेलाई बोलाएर खाग बेचेको रकम बाँडेको कुरा सुनाउँदै थिए सुराकीहरु ।

सूर्यबहादुरलाई पक्रेपछि हामी अन्य दुई जनालाई पक्रन अर्कातर्फ लाग्यौँ । तिनीहरुले एक हप्ताअगाडि विष प्रयोग गरी जरायो मारेको खबर सुराकीले दिएका थिए । हामीले ती दुवै जनालाई पनि पक्राउ गर्यौँ । त्यति बेलासम्म हाम्रो गाडीमा पाँच जना थपिएर करिब तीस जना भएका थियौँ । पिक अप गाडीमा पछाडि खुट्टा राख्ने ठाउँ पनि थिएन । म अत्यन्तै थकित थिएँ । गाडी चलाउँदा निद्राले घरीघरी झुमल्थ्यो । भण्डारा आइपुग्दा बिहानको करिब साढे चार बजिसकेको थियो । मैले कसरा जाने विचार गरेँ र चार–पाँच सैनिक भाइहरुलाई पठाइदिन भनेँ । त्यसपछि तिनीहरुलाई लिएर कसरा आयौँ ।

क्रमश:


 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics