२२ वर्षे छोरोलाई तस्कर बनाउने बाउ
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २५ औं अंश –
भाग्यो सिकारी
चितवन, दिव्यनगरका भगरा, मदना र कोपुवाले माडीतिरबाट बन्दुक किनेर ल्याई गैँडा मार्ने योजना बनाएका छन् भन्ने सूचना आइरहेको थियो। यसैबीच निकुञ्जको आइल्यान्ड क्षेत्रतिर दुई–तीन वटा गैँडा चोरी सिकारीबाट मारिए। सुराकीले खबर ल्यायो— गैँडा मार्ने तिनीहरु नै हुन्स समाते फरक पर्दैन। गैँडा मारेको बन्दुक कहाँ राखेको छ र कसले के–के गरे भन्नेसम्म उसले जानकारी दियो। त्यसपछि हामीले उनीहरुलाई पक्रने योजना बनायौँ।
गाजापुरको सैनिक पोस्टबाट जमदार हरिप्रसाद काफ्लेको कमान्डरसिपमा सेनाको टोली लिएर हामी २०६१ चैत २३ गते राति नौ बजेतिर दिव्यनगरतर्फ लाग्यौँ। सुरूमा भगरा महतोको घर घेरा हाल्यौँ। ढोका खोल भन्दा नमानेपछि मैले दुई लात्ती हानेर ढोका खुलाएँ। भित्र पसेर धानको भकारीको आडमा लुकेको भगरालाई समात्यौँ।
‘बन्दुक खैरु’ भनेर सोध्दा उसले ‘केको बन्दुकरु कहाँको बन्दुकरु’ भन्न थाल्यो।
‘तँसँग भएको मोटरसाइकल बेचेर माडीबाट गैँडा मार्न ल्याएको बन्दुक।’
उसले अझै आनाकानी गर्न थालेपछि मैले त्यहीँ एक झाप्पु लगाइदिएँ।
तैपनि उसले मुख खोलेन।
सुराकीले बन्दुक धानको भकारीमा लुकाएको छ भनेकाले हामीले त्यहाँ भएका सबै भकारीमा खोजतलास गर्यौँ तर भेटिएन। अनि भगरालाई लिएर कोपुवाको घरमा पुगी उसलाई सुतेकै ठाउँमा पक्राउ गर्यौँ। त्यसपछि हामीले मदनालाई पनि समात्यौँ।
गाजापुर फर्कंदा रातको बार्हजति बजिसकेको थियो। सैनिक साथीहरुलाई त्यहीँ छाडेर हामी कसरातर्फ रमाना भयौँ। शुक्रनगर कटेर जगतपुर गाविसको चिहान डाँडानजिकै आइपुग्दा डेढ बजेतिर टायर पन्चर भयो। हामीसँग जगेडा टायर थिएन। केही उपाय नभएपछि हामीले ल्याएका तीनै जनालाई गाडीबाट ओराल्यौँ र आँखामा पट्टी बाँधेर पैदल हिँडाउन थाल्यौँ। केही बेरपछि भगरा रून थाल्यो। एक छिनमा हामी जगतपुरमा मेरा नातेदार खड्का दाइकहाँ आइपुग्यौँ।
उहाँको घरअगाडि ट्याक्टर राखिएको थियो। मैले ट्याक्टर माग्दा उहाँले दिनुभयो तर त्यसको हेडलाइट बल्दो रहेनछ। हामीले उनीहरुलाई आँखामा पट्टी बाँधेरै ट्याक्टरमा चढायौँ। हाम्रै ड्राइभर मानबहादुरले ट्याक्टर चलाए। वसन्त लामिछाने र म अगाडि बसेर टर्चलाइट देखाउँदै थियौँ। कसरा पुग्न दुई किमि बाँकी छँदा जगतपुरको घैलाघारी भन्ने ठाउँको पानी घोलनेर एक्कासि ‘भाग्यो, भाग्यो’ भन्ने आवाज आयो।
यसो हेरेको, ट्याक्टरबाट एक जना फाल हान्दै गरेको देखेँ। हामी उसको पछिपछि दौड्यौँ। ऊ बेतोडले कुदिरहेको थियो। एकै छिनपछि त्यो मध्यरातको अँध्यारोमा ऊ कता हरायो कता !
भोलिपल्ट बिहान भगरालाई खोज्न एउटा टोली उसको घरमा पुग्यो, तर ऊ किन भेटिन्थ्यो ? त्यसपछि हामीले मदना र कोपुवालाई पनि तारेखमा छाडिदियौँ। यिनीहरुलाई छाडे, अब मलाई पनि केही हुँदैन भनेर भगरा आफ्नो घर फर्कोस् भनेर हामीले त्यो जाल बिछ्याएका थियौँ। नभन्दै एक–दुई महिनापछि नै ऊ गाउँमा देखिन थालेको खबर आउन थाल्यो।
उसलाई रोपाइँका बेला खेतमै गएर समाउने भन्ने सल्लाह भएको थियो, तर त्यो त्यत्तिकै टर्यो।
२०६२ असार १५ गते आइल्यान्ड क्षेत्रमा अर्को गैँडा मर्यो। त्यसको शरीरबाट एसएलआरको गोली भेटियो। बुझ्दै जाँदा गाउँलेहरुबाट थाहा भयो— त्यो दिन दिउँसो केराको थाममा नारायणी तरेर तीन जना निकुञ्जतिर गएका रहेछन्। उनीहरु गएको करिब एक घण्टापछि बन्दुक पड्केछ।
नारायणी तरेर जानेहरु भगरा, लक्ष्मण र मनिराम थिए भन्ने पनि पत्ता लाग्यो।एउटालाई मात्र समाउँदा अरु दुई जना भाग्ने हुँदा सकेसम्म एकै पटक तीन जनालाई समाउने योजना बनाइएको थियो। यसैबीच गाजापुर पोस्टका जमदार हरिप्रसाद काफ्लेले दिव्यनगरतिर गस्तीमा जाँदा भदौ १८ गते भगरालाई भेट्नुभएछ र पक्राउ गर्नुभएछ।
भोलिपल्ट ऊसँग सोधपुछ भयो। ऊ आफूले गैँडा नमारेको बताउँदै थियो। भदौ २३ गते मैले उसलाई सम्झाउँदै भनेँ– ‘तँ त्यो दिन त्यत्तिकै भागिस् : नभागेका कोपुवा र मदनालाई हामीले तारेखमा छाडिदियौँ। तँ पनि छुट्थिस् ; बेकारमा भागेर तैँले बिगारिस्।’ अनि फकाएँ– ‘अहिले पनि राम्रोसँग बताइस् भने तँलाई पनि हामी मदना र कोपुवा जस्तै तारेखमा छाडिदिन्छौँ।’
त्यसपछि ऊ रून थाल्यो।
‘किन रोएकोरु’ मैले सोधेँ।
उसले भन्यो– ‘माडीमा केटी हेरेको थिएँ बिहे गर्नलाई ; अब पक्राउ परेपछि
केटी दिँदैनन् होला।’
मैले भनेँ– ‘हेर्, हामी तँलाई तारेखमा छाडिदिन्छौँस तेरो ससुरालीका मान्छे
आएर बुझे भने हामीले त्यत्तिकै सोधपुछ गर्न ल्याएको हो भनिदिन्छौँ। तर
सबै कुरा सत्यतथ्य बता।’
त्यसपछि उसले कुरा खोल्न थाल्यो। गैँडा मारेर खाग पुष्पे, गुप्तेलाई दिएको; यसपालिको गैँडा लक्ष्मण, मनिराम र आफू भएर मारेको; बन्दुक हान्न लक्ष्मण भुजेलले सिकाएको; बन्दुक माडीको मान्छेको सहयोगमा भारतबाट किनेको;कोपुवा, आफू र लक्ष्मण भुजेलले पैसा उठाएर बन्दुक किनेको; गोली सेनामा भएको कोपुवाको भाइ राजकुमारले दिएको; यस पालिको खाग टौवामा लुकाएर राखेको र बन्दुक गोठमा लुकाएको सबै बतायो।
म चितवन राष्ट्रिय निकुञ्ज आएदेखि नै धेरैले पुष्पे, गुप्ते र इन्द्रे गुरूङ नै गैँडा मार्ने मान्छे हुन् भनिरहेका थिए। मुख्य नाइकेहरुलाई पक्रनु हुन्न अनि कसरी जोगिन्छ त गैँडा भन्थे। यसअघि गैँडा मुद्दामा पक्राउ परेका पुष्पे र गुप्ते देवीदत्त गणका तत्कालीन मेजर प्रीतम राणाले उनीहरुको चरित्र ठीक भएको पत्र निकुञ्जमा पठाएका आधारमा चिफ वार्डेन पुरनभक्त श्रेष्ठले तारेखमा छाडिदिएका थिए र त्यही केसमा इन्द्रे प्रतिवादी थियो। तिनलाई कारबाही गर्न दरो प्रमाण र पुस्ट्याइँ भेट्टाइरहेको थिइनँ मैले। आज भगराले उनीहरुबारे बताएपछि मलाई अरु के नै चाहियो र ?
म त्यसै दिन लामटाङ राष्ट्रिय निकुञ्जतिर जानुपर्ने थियो। त्यसैले चिफ वार्डेन शिवराज भट्ट, विष्णुजी र कर्णेललाई एक ठाउँ राखेर भनेँ– ‘पुष्पे र गुप्तेविरूद्ध प्रमाण भेटिएको छ। उनीहरु दुवैको भदौ २७ गते तारेख छ। त्यो बेलासम्म भगराले गाउँमा कुनै खबर पठाउन नपाओस्। तारेखमा दुवै जना आउँछन् ; त्यही दिन समात्ने र तत्कालै मनिराम र लक्ष्मणलाई पक्राउ गर्न टोली पठाउने।’
.. सिद्राकोव्यापार
लामटाङ जाने क्रममा मैले कान्छालाल वाइबाले बयानका क्रममा पोलेको व्यक्ति रवि पाख्रिनलाई काठमाडौँबाट पक्रने विचार गरेँ। उसलाई चिन्ने सुराकी लिएर लागेँ काठमाडौँतिर, ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भन्दै। अफिसको गाडी
मुगलिन नपुग्दै बिग्रेपछि हामी बस चढेर काठमाडौँ पुग्यौँ। रवि कालीमाटीको सब्जीमन्डीमा भेटिन्छ भनिएको थियो।
त्यहाँ घण्टौँसम्म सयौँ मान्छेलाई हेर्दाहेर्दा र वरपर हिँड्दाहिँड्दा म लखतरान भएँ तर उसको नाकमुख देखिएन। सुराकी र म साँझपख फेरि त्यहाँ गयौँ। बिहानझैँ खोज्यौँ, तर पनि पत्ता लागेन। मैले भोलिपल्ट रसुवा, धुन्चे पुग्नु थियो। सुराकीलाई ‘तिमीले त्यो मान्छेलाई खोजिराख्नू’ भनेर म त्यता लागेँ। नुवाकोट र रसुवा पहिलो चोटि जाँदै थिएँ; मेरा साथ लामटाङ र बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीहरु पनि थिए। बाटो सार्है घुमाउरो र अप्ठ्यारो थियो। विदुर नगरपालिका कटेर
अघि बढेपछि एक ठाउँ त एकदमै कहालीलाग्दो थियो। तल कता हो कता त्रिशूली बगिरहेको देखिन्थ्यो। साँघुरो कच्ची बाटो, त्यो पनि पानी परेर चिप्लो भएको थियो। त्यहीँनेर उकालोमा गाडीले तान्न सकेन। अनि ड्राइभर गिरीले फोर ह्वील लगाएर ब्रेक र एक्सिलेटर एकैचोटि लिँदै गाडी अगाडि बढाए।आङै सिरिङ्ग भयो एक पटक त! हामी साँझपख मात्र लामटाङ राष्ट्रियनिकुञ्ज कार्यालयमा पुग्यौँ।
त्यहाँ ठूलो मात्रामा बाघको छाला तथा हड्डी, चितुवाको छाला र ओतको छाला पक्राउ गरिएको थियो। ती सबै सामान भारतीयहरुले व्यापक खोजी गरिरहेको व्यक्ति छवाङ भन्ने टी छिरिङले पठाएको भनिएकाले विशेष सोधखोज र अनुसन्धान गर्न मलाई विभागले त्यहाँ पठाएको थियो। मुद्दाको प्रक्रिया मिलेको रहेनछ। भोलि पुनरावेदन अदालतले प्रक्रिया नपुगेको भनेर अभियुक्तहरुलाई सफाइ वा छुटकारा नदेओस् भनेर मैले त्यसलाई कानुनसम्मत ढङ्गले मिलाउन मदत गरेँ। केरकार सुरू भयो; अपेक्षा गरिएझैँ केही नयाँ सुराकहरु पत्ता लागे। पेम्बा लामा उर्फ याक्चे र नुटुप लामाको
सम्बन्धबारे जानकारी पाइयो।
छवाङ संसार चन्द्र भन्ने नामुद भारतीय वन्यजन्तु तस्करको मान्छे थियो। भारतका निकुञ्जहरुमा सात सय बाघ मारिसकेको संसार चन्द्र २०६१ साल असारमा उतै पक्राउ परेको थियो। छवाङ काठमाडौँमा काम गर्ने आफ्नो गिरोहको सक्रिय सदस्य हो भनेर उसैले भारतको सीबीआईलाई बताएको रहेछ। अनि त्यसबारे विस्तृत विवरण सीबीआईले इन्टरपोलमार्फत नेपाल सरकारलाई उपलब्ध गराएको रहेछ।छवाङले पठाएका सामान स्याफ्रुबेसीमा सेनाको गस्ती टोलीले पक्राउ गरेको थियो।
छवाङ नेपालगन्ज हुँदै डोल्पातर्फ लागेको जानकारी पक्राउ परेका उसका पीए बलराम श्रेष्ठले दिए। म आफ्नो काम सकेर २८ गते काठमाडौँ फर्किएँ। बीचबाटोमा गाडीको एक्सल भाँच्चिएर टायर अगाडि गुड्न थाल्यो। बाटो अलि सम्म परेको ठाउँमा
भएर मात्र जोगियो, नत्र उतै जीवन अन्त्य हुन्थ्यो। म बस चढेर काठमाडौँ फर्के।
भोलिपल्ट २०६२ भदौ २९ गते पुनः कालीमाटी सब्जीमन्डीको डयुटी सुरू भयो। सुराकीले रविको डेरा पत्ता लगाइसकेको थियो। सब्जीमन्डीबाट करिब तीस मिटरपछाडि रहेको उसको डेराको निगरानी हामीले बिहान चार बजेदेखि नै गरिरहेका थियौँ। ऊ करिब पाँच बजेतिर कोठाबाट निक्ल्यो र पछाडिपट्टिको बारबाट चढेर सरासर सब्जीमन्डीभित्र छिर्यो। उसले थाहा
नपाउने गरी म पछिपछि लागेँ। तर मान्छेको भीड र अँध्यारोले गर्दा उसलाई पछ्याउन सकिनँ। ऊ मेरो नजरबाट अलप भयो। उसले सेतो रङ्गको हाफ ज्याकेट लगाएको थियो। त्यस्तो ज्याकेट लगाउने सम्पूर्णलाई हेरेँ तर ऊ भेटिएन। हामीले खोजिरह्यौँ। निकै बेरपछि ऊ आफैँ देखा पर्यो। तरकारी लिएर फर्कंदै थियो।
मैले कसरामा सम्पर्क गरेर चिफ वार्डेनलाई काठमाडौँस्थित व्यारेकका सेनासँग समन्वय गराइदिन भनेँ। उहाँले एक जना लेफ्टिनेन्ट कर्णेलको फोन नम्बर दिनुभयो। उनलाई फोन गर्दा ‘छिट्टै टोली पठाइदिन्छु’ भने। हामी कुरेर बस्यौँ तर टोली आएन। बिहान अपरेसन नभएपछि बेलुका फेरि फोन गर्यौँ र आठ बजेसम्म उसको डेरानजिकै बसेर कुर्यौँ। तर त्यस बेला पनि टोली आएन। हामी निराश भएर फक्र्यौं।
भोलिपल्ट बिहान मैले शिवपुरी राष्ट्रिय निकुञ्जका चिफ वार्डेनसँग सहयोग मागेँ। हामी रवि डेराबाट हिँड्छ कि भनेर निगरानी गरिरहेका थियौँ। शिवपुरीको टोली आइपुगेपछि म अगाडि लागेँ। रविको कोठामा ढोका घचेटेर हेरेँ; ऊ सिरक ओढेर सुतिरहेको थियो।
मैले सोधेँ– ‘यो घरमा कोठा पाइन्छ कि पाइँदैन होला?’
‘खै थाहा छैन,’ एउटी महिलाले भित्रबाट ढोका घचेटिन्।
त्यसपछि साथीह?लाई नजिकै बोलाएर म ढोका खोलेर भित्र पसेँ र रविलाई उठाएर ‘तिमीसँग काम छ, एक छिन हिँड’ भनेँ। उसको मोबाइल आफ्नो हातमा लिइसकेको थिएँ।
उसकी श्रीमतीले ‘किन हो? के हो?’ भन्न थालेपछि मैले ‘तिमी पनि
हिँड, अनि थाहा हुन्छ’ भनेँ।
छोराछोरी ट्वाँ परेर हेरिरहेका थिए। हामीले दुवैलाई गाडीमा हाल्यौँ र बबरमहलतर्फ लाग्यौँ।
अब हामीले निमालाई खोज्नु थियो। उसको डेरा पनि पत्ता लगाएँ। त्यहाँ बँदेल पालिएको थियो। रवि र कान्छालालले ऊ लाजिम्पाटमा बँदेलको मासु बेच्ने काम गर्छ भनेका थिए। तर ऊ कहीँ फेला परेन।
अर्को दिन माइक्रोबस रिजर्भ गरेर रवि र उसकी श्रीमतीसहित हामी कसरा फर्कियौँ। बेलुका केरकार भयो। रविले धेरै कुरा बतायो। टाँडीको समनबहादुर मिस्त्री (विक) बाट आफूले तीन वटा खाग लिएको, ताम्लिङको
छोरो निमा आएर खाग लग्ने गरेको पनि बयान दियो।
ताम्लिङ आफू खागकै केसमा भारत भागे पनि उसले आफ्नो बाइस–पच्चीस वर्षको छोरालाई दिल्लीबाट काठमाडौँ पठाएर खाग व्यापारमा लगाएको थाहा पाउँदा म अचम्ममा परेँ। पैसाको लोभले छोपेपछि मान्छेले बुद्धि र विवेक गुमाउँदो रहेछ।
नत्र आफ्नो छोरो पनि जेल पर्न सक्छ, मारिन पनि सक्छ भन्ने थाहा हुँदाहुँदै उसले किन त्यही पेसामा लगायो त?
रविले नारायणगढको गोकुल पन्तसँग मिलेर याक्चेलाई खाग बेचेको अर्को हस्योद्घाटन पनि गर्यो। याक्चेविरूङ थप मुद्दा दायर गर्न सकिने भयो र नारायणगढको अर्को गिरोह पनि पत्ता लाग्ने भयो भनेर म दङ्ग परेँ।
प्रतिक्रिया दिनुहोस