आफैले पक्रेको तस्करसँग जेल बस्नुपर्दा
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४१ औं अंश –
उदेकलाग्दो निर्णय
२७ गते बिदा थियो, गुरूपूर्णिमा भएर। २८ गते अदालतमा दुवै पक्षका वकिलले बहस गरे। सुरूमा वादी पक्षका तर्फबाटओमप्रकाश अर्यालले करिब डेढ घण्टा बहस गरे। त्यस क्रममा बयानका क्रममा मैले मेरो फोटो समेत भएको भारतीय पत्रिका नै अदालतमा पेश गरेपछि उनले अदालतमा पेश गरेको फिराद पत्रमा मेरो भारत भ्रमण आदेशलाई नक्कली उल्लेख गरेको कुरालाई सच्याएका थिए।
हाम्रा तर्फबाटबाट पनि कृष्णभक्त पोखरेल लगायतका विद्वान अधिवक्ताहरुले बहस गर्नुभयो। चितवनका जिल्ला न्यायाधीश बिदामा भएकाले अदालतका श्रेस्तेदार नारायणप्रसाद रेग्मी निमित्त न्यायाधीश थिए। बाहिर सडकमा सामुदायिक विकास सङ्गठनका सोमत घिमिरेको नेतृत्वमा गैँडा तस्कर, काठ तस्कर र तिनका मतियारको जुलुस निकालिएको थियो। रेग्मी त्यो जुलुस देखेर तर्सिरहे जस्तो लाग्थ्यो। बहस समाप्त भएपछि उनी आफ्नो गोप्य च्याम्बरमा पसे। हामीले व्यग्रतापूर्वक प्रतीक्षा गरिरह्यौँ। एक छिनपछि एउटा कर्मचारीले फाइल लिएर आयो र निर्णय सुनायो। न्यायाधीश बनेका श्रेस्तेदारको निर्णय उदेकलाग्दो थियो। एउटै दफाको मुद्दा लागेका चिफ वार्डेन टीकाराम र ममध्ये उहाँलाई धरौटीमा छाड्ने र मलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेका रहेछन्। सुन्नेहरु सबै आश्चर्यचकित भए। मुलुकी ऐनमा तीन वर्षभन्दा कम सजाय हुने अभियोगमा धरौटी वा सादा तारेखमा राखी पुर्पक्ष गर्नू भन्ने प्रस्ट व्यवस्था छ। ममाथि त्यही व्यवस्था लागू हुनुपथ्र्यो। तर मुलुकी ऐनलाई समेत मिचेर निर्णय गरियो। रितेशजीलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरिएको थियो। निर्णय सुनाइँदा मेरो सामुन्ने मेरी सासू हुनुहुन्थ्यो। उहाँ निर्णय सुन्नेबित्तिकै रून थाल्नुभयो, मेरो टाउकामा हात राखेर। मैले भनेँ– ‘नरूनोस् तपार्इं, तपाईं रोएको हेर्न चाहनेहरु खुसी हुन्छन्।’ छेउमै उभिएको हाकिमचोकमा काठ मिल हुने समीर शेरचनचाहिँ, जो हाम्राविरूद्ध निकालिएको जुलुसमा अगाडिगाडि खुब उफ्रँदै नारा लगाइरहेको देखिन्थ्यो, रमिता हेरिरहेको थियो।
त्यसपछि रितेशजी र मलाई थुनामा पठाउने सुरसार सुरू भयो। भरतपुर कारागार लैजाने षड्यन्त्र भइरहेको हामीले थाहा पायौँ। त्यहाँ हामीले समातेका थुप्रै गैँडा र काठ तस्कर थुनिएका थिए। हामी जेल पर्ने कुरा सुनेर उनीहरु हर्षित थिए। उनीहरुको जोडदार माग रहेछ, हामीलाई त्यहीँ लगियोस् भन्ने। त्यहाँ लगेर राखिदिए हाम्रो हड्डी–हड्डी टुक्र्याउने र चोक्टा–चोक्टा बनाउने उनीहरुको योजना रहेछ। अरु धेरैको चाहना पनि हामीलाई त्यहीँ राख्ने थियो। तर हामीले सुरक्षाको कारण देखाउँदै भरतपुर कारागारमा नबस्ने भन्यौँ। कारागार प्रशासनका कर्मचारीहरु तथा त्यहाँ कार्यरत अन्य प्रहरीहरुले पनि सुरक्षा दिन नसक्ने जनाए। त्यसपछि बाध्य भएर हामीलाई अन्यत्र लगिने भयो। सुरूमा भीमफेदी लग्ने कुरा भयो, अनि दाङ। तर हामीले नवलपरासी लैजान भन्यौँ। त्यहाँका जिल्ला वन अधिकृत (डीएफओ) विजयराज पौडेललाई भनेपछि कम्तीमा कारागारमा बस्नु नपर्ला, जिल्ला प्रहरी कार्यालयमै बस्न पाइएला भन्ने आशा थियो।
असार २९ गते बिहान हामीलाई नवलपरासी कारागार लैजाने तयारी सुरू भयो। किनकिन, मलाई बिहानैदेखि डर लागिरहेको थियो, केही अनिष्ट होला कि जस्तो। यस्तो डर त अघिल्लो दिन पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुन्न लाग्दा पनि लागेको थिएन। जे होस्, कागजी प्रक्रिया पूरा गरेर प्रहरीको टोली र कारागारका खरिदारसहित साढे दस बजेतिर हामी नवलपरासीतर्फ लाग्यौँ। मनमा कुरा
खेली नै रहेको थियो। बर्दघाट पुगेर खाना खायौँ। साढे दुई बजे परासी बजार पुग्यौँ। म २०४७ साल माघमा पहिलोपल्ट यहाँ आएको थिएँ। त्यति बेला भर्खर बीस–एक्काइस वर्षको थिएँ। पोखरामा बसिरहेको मान्छे, परासी बजार आइपुग्दा जाडो महिना भए पनि गर्मी लागेको थियो। त्यति बेला जागिर खान भनेर आएको थिएँ। रेन्जरका लागि अस्थायी विज्ञापन गरिएको थियो। म पनि छानिएको थिएँ; त्यो दिन खुसीको थियो। तर आजको कुरा बेग्लै थियो। निकै नरमाइलो लागिरहेको थियो। डीएफओ पौडेललाई फोन गरेको, ‘जिल्ला प्रहरी कार्यालय गएर बस्दै गर्नुस्; हामी मिटिङमा छौँ; सकिएपछि त्यहीँ आउँछौँ’ भन्नुभयो। हामीलाई छाड्न आएका असइ र खरिदार भने ‘अहिले तपाईंलाई कारागारमै बुझाइदिन्छौँ; पछि मिलाउनुहोला’ भन्दै थिए।
मैले डीएफओ सा’बले भन्नुभएको भनेर जिल्ला प्रहरी कार्यालय लैजान अनुरोध गरेँ। त्यहाँ पुगेर गाडीबाट झर्ने बित्तिकै चिनजानका इन्स्पेक्टर सोभितबहादुर गुरूङलाई देखेर एकदमै खुसी भएँ। उहाँले हाम्रो घटना पत्रिका पढेर थाहा पाइसक्नुभएको रहेछ। हामीसँगै टीकाराम अधिकारी पनि जानुभएको थियो। उहाँ पनि दौडधूप गरेर सबैसँग अनुरोध गरिरहनुभएको थियो। त्यहाँ दुई घण्टा कुर्दा पनि डीएफओ मिटिङबाट फर्कनुभएन। तर उहाँहरुको पहलमा सीडीओ र एसपीले हामीलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलको एउटा कोठामा बस्ने व्यवस्था मिलाइदिनुभएछ। त्यसले हामीलाई ठूलो राहत मिल्यो। केही बेरपछि एसपी रमेशकुमार पाण्डेले हामीलाई भेट्नुभयो र ‘कर्मचारीको नाताले तपाईंहरुलाई सहुलियत दिएको’ भन्नुभयो। मैले कृतज्ञता व्यक्त गरेँ। केही दिनअगाडि कारागारबाट एक जना कैदी भागेछ; त्यसैले जेलर, प्रहरी, प्रशासन सबै डराएका रहेछन्, कतै हामी पनि भागी नजाऊँ भनेर। हामीले उहाँहरुलाई आश्वस्त पार्यौँ। जीवनमा मलाई यो सहुलियत पाएको क्षण सा¥है धन्य लाग्यो। बिहानदेखि लागेको डर पनि हराएर गयो।
प्रतिक्रिया दिनुहोस