जन्मदिनमा जेल …

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४७औं अंश –

आइतबार, कात्तिक ५

आज ‘वीर जारा’ फिल्म हेरेँ। सत्य र न्यायको मूल्य–मान्यताबारे राम्रो चित्रण  गरिएको रहेछ। सच्चाइ र जित दुवै यति फरक छन्, मानौँ ती नदीका दुई किनारा हुन्। फिल्ममा अदालतले माफी माग्यो, आफ्नो गलत निर्णयकालागि। त्यो स्तरमा हाम्रा अदालत र न्यायाधीशहरु कहिले पुग्लान्?

बुधबार, कात्तिक ८
बिहान जगतपुर गाविसको आशा अनाथालयनजिकै तस्करहरुले एउटा गैँडालाई करेन्ट लगाई मारेर खाग लगेछन्। तस्करहरुले करेन्ट लगाएर गैँडा मारेको यो पहिलो घटना हो। यसभन्दा अघि स्थानीय बासिन्दाले बालीनाली जोगाउन मात्र करेन्ट लगाउँथे; खाग बेच्ने उद्देश्यले होइन। एक हप्ताअगाडि दिव्यनगर, कोइलाहातिर करेन्ट लगाएर गैँडा मारे; खाग भने लगेनन्। त्यो
खबर एफएमले रातदिन फुके। फलस्वरुप करेन्टले पनि गैँडा मार्न सकिँदो रहेछ भन्ने तस्करहरुलाई जानकारी भयो। त्यही ‘नयाँ तरिका’ जगतपुरमा प्रयोग गरेछन्।

बुधबार, कात्तिक १५

आज मेरो जन्मदिन। सैँतीस वर्षअगाडि आजकै बार र गते यस धरतीमा मेरो आगमन भएको थियो। बिहानै उठेँ र मुख धोएर निकै बेर टीभीमा प्रवचन सुनेँ। आज ठूलो एकादशी पनि रहेछ। वैदिक साहित्यमा भनिएको छ— हरेक जीवात्मालाई प्रतिकूल र अनुकूल दुवै अवस्था आउँछन्। अनुकूल स्थिति आउँदा उसको फैलावट व्यापक हुन्छ भने प्रतिकूल अवस्थामा ऊ खुम्चिन्छ र विनाश पनि
हुन सक्छ। मानिसले अनुकूल र प्रतिकूल दुबै अवस्थालाई समान रुपले ग्रहण गर्नुपर्छ। प्रतिकूल अवस्था आउँदा धैर्य गुमाउनु हुँदैन र सहनशील हुनुपर्दछ। भीष्म आफ्नो सत्यनिष्ठाको सङ्कल्पले गर्दा महापुरूष बने।

त्यस्तै ब्रह्मचर्य, सत्यनिष्ठा, दया र परोपकारले मोहनदास करमचन्द गान्धी महात्मा गान्धी कहलिएका छन्। चिसो लागिरहेको हुनाले नौ बजेतिर नुवाइधुवाइ गरेर शुद्ध   कपडा लगाएँ। आफ्नो मोबाइल चल्दैनथ्यो; रितेशजीसँग मागेर घरमा आमालाई फोन गरेँ, सैँतीस वर्षअगाडिको प्रसवपीडापछाडिको खुसी पुनर्ताजगी गराऊँ भनेर। तर मोबाइल अफ थियो। धेरै पटक प्रयत्न गरेँ; लागेन। अनि प्रमिलालाई चितवनमा फोन गरेँ। उनले ‘ह्याप्पी बर्थ डे’ भन्दै ‘मोबाइलमा म्यासेज पठाएकी छु’ भनिन्। खुसीयालीको दिन आओस् भनेर शुभकामना आदान–प्रदान गर्‍यौँ। त्यसपछि आज मेरो जन्मदिन हो भन्ने जानकारी साथीहरुलाई दिएर मिठाई लिन पठाएँ।

आजका अखबारहरुले गैँडा मार्ने अभियोगमा पहिलो पटक महिला पक्राउ परिन् भनेर खबर छापेछन्। तर त्यो सत्य होइन। आठ वर्षअगाडि पुरानो पदमपुरबाट गैँडा मारेको अभियोगमा एउटी महिला पक्राउ परेकी थिइन्। उनलाई जेल सजायसमेत भइसकेको छ। यो कुरा पत्रपत्रिकालाई थाहा रहेनछ। गैँडाको खाग तस्करीमा संलग्न महिला कति छन् कति! याक्चेकी श्रीमती फिन्जो शेर्पाविरूद्ध पनि प्रमाण भेटिएका छन्।  अरु महिलाविरूद्ध  समेत मुद्दा दायर भएका छन्।

आजै सर्वपक्षीय बैठक बसेछ गैँडा संरक्षण गर्नेबारे। सन् २००० मा चितवनमा पाँच सय चवालीस गैँडा रहेकामा २००५ सम्ममा घटेर तीन सय बहत्तर मात्र बाँकी थिए। यीमध्ये पनि सुरूका दुई वर्ष सन् २००१–०२ मा अत्यधिक गैँडा चोरी सिकारीबाट मारिए। त्यसपछि गैँडा मार्ने क्रममा पचहत्तरदेखि असी प्रतिशतले कमी आयो। यसलाई रोक्न सकिएन तर  घटाउन सफलता मिलेको थियो। गैँडा घट्नुको प्रमुख कारण माओवादी आतङ्कवाद  र सरकारको गलत नीति नै हो। फोस्रा बैठक जति बसे पनि के गर्ने? आजै पनि एकातिर बैठक बसिरहेको थियो, ठूल्ठूला गफ चलिरहेका थिए, त्यही बेला जलदेवी सामुदायिक वनको काली खोलामा एउटा अर्को गैँडा मारिइसकेको थियो।

महाभारत पढिसकेँ। म तीन कक्षामा पढ्दा गुरू खगेन्द्र थापाले हामीलाई महाभारतका थुप्रै कथा सुनाउनुभएको थियो। मेरो बुबाले पनि म सानो हुँदा बेलुका बेलुका महाभारतका कथा सुनाउनुहुन्थ्यो। बिहान जब मेरो निन्द्रा खुल्थ्यो बुबाले राम राम... राम राम... भन्ने महामन्त्र जपेको सुन्थे। आमाले मलाई सानोमा हरि भन्नुहुन्थ्यो। घरमा एउटा पुरानो र सुरूका पन्नाहरु नभएको महाभारतको किताब थियो। पाँच–छ कक्षामा पुगेपछि त्यो पढेको थिएँ। त्यही महाभारत यसपालि पढ्दा पुनर्ताजगी भए जस्तो लाग्यो। यसै गरी भगवद्गीतामा रहेको ज्ञानरुपी महासागरमा तैरिँदा मन हलुङ्गो हुन थालेको छ।

आइतबार, कात्तिक २६

आज गृहमन्त्रीले हाम्रो फाइल सदर गरिदिने भनिएको थियो तर उनी मन्त्रालय नै गएनछन्। जिल्ला प्रशासन कार्यालय, चितवनबाट एक महिनाअगाडि नै फाइल गृहमा पुगिसकेको हो तर अहिलेसम्म त्यहीँ अड्किरहेको छ। तस्करहरुको प्रभावमा परेर गृहमन्त्रीले फाइल रोकिराखेका छन्। नत्र प्रधानमन्त्रीले मुद्दा फिर्ता गर भन्दा पनि नगरेर फाइल रोक्ने आँट गर्ने थिएनन्।
म आफू सन्तुष्ट छु, विगत साढे तीन वर्षमा जे गरेँ त्यसबाट। त्यो वन्यजन्तु संरक्षणको चुनौतीपूर्ण कालखण्ड थियो। आफूले गरेको काममा मलाई गर्व छ। मान्छेहरु विभिन्न कारणबाट जेल पर्छन्— अपराधबाट, राजनीतिक वा सामाजिक कारणबाट। वन्यजन्तु संरक्षणका लागि जेल पर्ने नेपालमा सायद हामी मात्र हौँला। विश्वमै विरलै मान्छे जेल परेका छन् होला, संरक्षणका खातिर।

गैँडाको चोरी सिकार बढ्ने एउटा कारण सम्बद्ध पक्षहरु बीच आपसी तालमेल र समन्वय नहुनु पनि हो। जिल्ला वन कार्यालयबाट पक्राउ परेका अभियुक्तबारे खासै अनुसन्धान  हुँदैन र उनीहरुबारे राष्ट्रिय निकुञ्जलाई जानकारी पनि हुँदैन । फलस्वरुप थुप्रै केसमा पक्राउ पर्ने मध्यस्थकर्ता मात्रले सजाय पाउँछन् र सिकारीहरु  ढुक्कसँग गैँडा मारिरहेका हुन्छन्।

जस्तै, चितवन वन कार्यालयले बमबहादुर  सत्र वटा गैँडा मारेको अभियोगमा पक्राउ गर्‍यो। यसैबीच पाँच खाग आँपटारीमा बरामद गरियो तर ती कहाँ, कसले मारेका गैँडाका हुन्, अनुसन्धान भएन। खाग पक्रनु आफैँमा ठूलो कुरा होइन; मुख्य कुरा त सिकारीलाई गैँडा मार्न नदिनु नै चोरी सिकार नियन्त्रण गर्नु हो।

चोरी सिकार नियन्त्रण गर्न तत्काल प्रभावकारी हुने कडा उपाय अवलम्बन गर्नैपर्छ। गैँडाको चोरी सिकार नियन्त्रण गर्न हामीसँग दुइटा उपाय मात्र छन्— गस्ती पेट्रोलिङ र सुराकी व्यवस्था। चेतना अभिवृद्धि  सिद्धान्तमा राम्रो तर व्यवहारमा एकदमै ढिलो प्रक्रिया हो। सिकारी, दलाल र तस्करहरुको  विष कडा कानुन र तत्कालको एक्सनबाट मात्र झार्न सकिन्छ। नत्र तचेतना अभिवृद्धि   हुँदासम्म तिनले गैँडा सखाप पारिसकेका हुनेछन्।  गैँडा लोप भइसकेको हुनेछ।

जबजब देशमा संकट आउँछ तबतब गैँडा तस्कर बढी सक्रिय हुन्छन् र मौकाको फाइदा उठाउँछन्। संकट आउँदा नेपाली सेना आफ्नो संकट टार्ने ध्याउन्नमा हुन्छ र आफ्नो बचाउतर्फ लाग्छ। गैँडा संरक्षणका लागि राखिएका पोस्ट खाली गरिन्छ र खुला छाडिन्छ। त्यही मौका छोपेर सिकारीले ढुक्कसँग गैँडा मार्न थाल्छन्।संकटका बेला गैँडा जोगाउने संयन्त्र तयार नगरी हचुवाका भरमा छाडिदिँदा दशकौँसम्म अर्बौं रूपैयाँ लगानी गरेर जोगाएको अमूल्य सम्पदा दुई–तीन वर्षमा नै स्वाहा हुँदाे रहेछ। संकटका बेला जोगाउनु पो जोगाउनु; सजिलो बेला त जसले पनि जोगाइहाल्छ नि!

काजीरङ्गा मोडलमा निकुञ्ज व्यवस्थापक नै सुरक्षाको व्यवस्थापक पनि हुन्छ। त्यस्तो हुँदा उसले सुरक्षा संयन्त्रलाई दिगो र प्रभावकारी बनाएर सम्पदा जोगाउन सक्दो रहेछ। हाम्रा निकुञ्जहरुमा भने हतियारधारी सुरक्षा संयन्त्रलाई व्यवस्थापन गर्ने कार्यमा निकुञ्ज व्यवस्थापकको कुनै भूमिकै हुँदैन। उसले चाहेर न सैनिक पोस्ट थपिन्छन् न घट्छन्। न गस्ती हुन्छ न हतियारधारीको परिचालन नै हुन्छ। अनि कसरी हुन्छ त संकटका बेला गैँडा संरक्षण? त्यसैले सुरक्षा पनि निकुञ्ज व्यवस्थापनको जिम्मेवारी अन्तर्गत आउनुपर्छ।

सेनालाई निकुञ्जमा परिचालन गर्नु भनेको निकुञ्जमा सैनिक शासन हुनु हो। सेनालाई जनतासँग प्रत्यक्ष सम्पर्क हुने ठाउँमा राख्नु उसको प्रकृतिसँग पनि मिल्ने कुरा होइन। यसो गर्दा उसकै प्रतिष्ठामा आँच आउन सक्छ जुन कदापि राम्रो होइन। त्यसमाथि सामान्य भरूवा बन्दुक बोकेका सिकारीलाई अत्याधुनिक हतियार र तालिम पाएका सैनिकहरुले निस्तेज पार्न नसक्नुलेसेनाको ठूलो अक्षमता प्रदर्शित गर्छ। यसले उनीहरुमा रणनीतिक कौशल, क्षमता, चुस्त योजना तथा व्यावसायिकता छैन भन्ने पनि प्रमाणित गर्छ।

राष्ट्रिय सेनालाई यसरी ‘एक्सपोज’ गरिरहन हुँदैन। राज्यले दशकौँदेखि सात हजार सैनिकलाई भरणपोषण गर्दै आएको छ, संरक्षणका नाममा। सेनालाई निकुञ्जमा २०३२ सालदेखि राख्न थालिएको हो। त्यो त्यति बेलाको परिस्थितिमा प्रभावकारी थियो, तर अहिले परिस्थिति फेरिएको छ। नयाँ परिस्थितिमा नयाँ रणनीति लिनु, नयाँ मोडलमा जानु जरूरी छ। व्यवस्थित र प्रभावकारी रुपमा कसरी संरक्षण हुन्छ भन्नेबारे राज्यले ठोस निर्णय लिनुपर्छ। त्यस्तो निर्णय लिन सकियो भने अहिले भइरहेको भन्दा आधा खर्चमा धेरै प्रभावकारी संरक्षण र व्यवस्थापन हुन सक्छ।

यसैबीच ‘इन्डियन’ फिल्म हेरेँ। त्यसमा सनी देवलले बोलेको यो संवादले मलाई भित्रैसम्म छोयो– ‘देशभक्तहरुको रगतमा जुन इमानदारी हुन्छ त्यसका अगाडि कुनै तङ्खवको केही लाग्दैन। सच्चा देशभक्त कसैका अगाडि झुक्दैन।उसमाथि आउने कुनै समस्याले उसलाई कर्तव्यबाट डगाउन सक्दैन। ऊमृत्युसँग पनि कत्ति नडराई आफ्नो काम गर्न सदैव अग्रसर रहन्छ।’ वास्तवमैहो, देशभक्तहरु कसैसँग झुक्दैनन् र उनीहरुलाई कसैले टुटाउन पनिसक्दैन।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics