‘ गैंडा तस्कर समात्न दरबारसम्म ‘
                                                        गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४८ औं अंश –
बिहीबार, मंसिर ७ संकट
आज प्रमिला मात्र भेट्न आइन्। छोराको धेरै याद आयो। बेलुका प्रमिला घर पुग्न ढिलो भएछ। ममीले फोन गर्नुभएको थियो, बाबू ममीलाई यताउता खोज्दै छ भनेर। अनि उसले मसँग फोनमा कुरा गर्यो। उसले कारूणिक स्वरमा ‘बाबा’ भन्दा मेरो मुटु छियाछिया भयो। मैले ‘बाबू, ममी टिटिटमा आउँदै हुनुहुन्छ पापा लिएर, बस है’ भनेर उसलाई सान्त्वना दिएँ। अस्ति फेरि अर्को गैँडा मारे रे दिउँसै, मेघौलीको स्यालबासतिर। माओवादीहरुले गैँडा चोर पक्रने भनेको पनि महिनौँ बितिसक्यो तर अहिलेसम्म एउटै पक्रन सकेका छैनन्। त्यति सजिलो कहाँ छ र गैँडाचोर पत्ता लगाउन र पक्रन! गफका भरमा हुने भए त यो देश स्वर्ग भैजान्थ्यो नि!
शनिबार, मंसिर ९
बेलुका छोरालाई लिएर प्रमिला र भाइ नारायणसिंह आए। छोरो राति मसँगै बस्न चाहन्थ्यो; त्यसैले ऊ फर्कन मानेन मलाई छाडेर। बेस्सरी रोयो। मलाई धेरै नरमाइलो लाग्यो। ऊ जिल्ला वन कार्यालयसम्म पुग्दा रिक्सामा परासी बजारै हल्लाउने गरी रूँदै गएछ। उनीहरु दुई दिन डीएफओ विजय सरको आतिथ्यमा यतै बसे। छोरो दिन–दिनभरि मसँगै हुन्थ्यो। बाबाको नियास्रो मेटेर तेस्रो दिन गर्हौँ मन गर्दै फर्केर गयो।
सोमबार, मंसिर ११
एसपी रमेश त्रिवेणी जानुभएको रहेछ। फर्केर उहाँले कमलनयनाचार्यबारे कुरा गर्नुभयो। मलाई त्रिवेणी–दुम्कीबास सडक निर्माण रोक्ने अभियानमा एक पटक हाम्रो टोली त्यहाँ गएको सम्झना भयो। त्यो बाटो बन्यो भने गोही लगायतका वन्यजन्तु र चुरे संरक्षणमा नकारात्मक प्रभाव पर्ने स्पष्ट छ। गजमोक्ष स्थलमा मुख्यतः गोही संरक्षणको काम हुनु जरूरी छ। तर कमलनयनाचार्य सडक
बनाउने भनेर विकासको नाममा वन र वातावरण बिगार्ने काममा लागेका छन्। आफूलाई योगी, स्वामी भन्नेले कुरा नबुझी यस्तो अभियानमा लाग्न नहुने हो। अझ भगवद्गीताको दसौँ अध्याय विभूतियोगमा भगवान् श्रीकृष्णले स्पष्ट शब्दमा ‘जलजन्तुहरुमा म गोही हुँ’ भन्नुभएको छ। त्यही गोहीको विनाश हुने काममा लाग्ने कमलनयनाचार्यलाई कस्ता स्वामी भन्ने? गृहमन्त्री सिटौलाले हाम्रो फाइल अझै अघि बढाएनन्। प्रधानमन्त्री लगायत शीर्षस्थ नेताको ताकेतालाई उनले टेरपुच्छर लगाएनन्। यसबाट स्पष्ट हुन्छ, तस्करहरुको पहुँच र प्रभाव कति व्यापक, कति गहिरो हुँदो
रहेछ। तर तिनको पिछलग्गू भएर गृहमन्त्रीले के नै पाउलान् र हामीलाई के नै गर्न सक्लान्? उनले गर्न सक्ने अधिकतम काम भनेको मृत्युदान न हो? तर कसलाई चिन्ता छ मृत्युको?
जो मृत्युदेखि डराउँछ, उसले केही प्राप्त गर्न सक्दैन। कारावास, गुप्तवास वा वनवासले व्यक्तिलाई परिष्कृत र परिमार्जित गर्छ। जसले  संघर्षपूर्ण जीवन बिताउने आँट गर्दैन उसले कुनै प्राप्तिको आशा नगर्दा हुन्छ। केही पाउन केही गुमाउनैपर्छ। असत्य र अधर्मको विरोध गर्ने आँट गर्नुहुन्न भने तपाईंको जीवन सामान्य त होला तर त्यो उपलब्धिहीन र नीरस जीवनको कुनै मूल्य छैन। कर्तव्यपथमा अघि बढेर जति  संघर्ष गर्नुहुन्छ त्यति नै उतार–चढाव, जस–अपजस, सफलता–असफलताले तपाईंलाई पछ्याउँछन्। त्यसै बेला तपाईंले जीवनको सार्थकता महसुस गर्न सक्नुहुन्छ। त्यो नै जीवनको निचोड हो।
जीवनको यो रहस्य अन्तरात्मादेखि आत्मसात् गर्न, म जेल नपरेको भए सम्भव थिएन। जेल–जीवनका कारण नै मैले जीवनलाई बुझ्ने मौका पाएँ। जेल नपरेको भए मैले सायद गीता पनि पढ्ने थिइनँ। गहन एकाग्रता र  अनुभूतिसाथ गीता पढेरै मैले जीवनको महत्व  र यसको अर्थ जान्ने–बुझ्ने मौका पाएँ। यसको उत्पत्ति, निरन्तरता र अन्तबारे अपूर्व ज्ञान प्राप्त गरेँ। जीवन, समाज र व्यक्तिको वास्तविक स्वरुप ज्ञानका आँखाले साक्षात्कार गर्न सकेँ। यो मेरा निम्ति अहोभाग्य हो। कुनै पनि नागरिकलाई विद्रोही बन्नबाट जोगाउनु राज्यको मूलभूत कर्तव्य हो।
राज्यले नागरिकलाई उचित सम्मान दिएन र उसको भावनामा ठेस पुर्यायो भने त्यसको प्रतिक्रिया कति भयानक हुन सक्छ, त्यो बुझ्नु जरूरी छ। त्यस्तो अवस्थामा प्रत्येक सचेत मुटुले विद्रोह गर्छ र भन्छ— देशद्रोही र जनद्रोहीको अन्त्य गर्न तँलाई भगवान्को आदेश छ। तँ जाग्, उठ्; कति चुपचाप अन्याय सहेर बस्छस्? किन हिचकिचाइरहेछस्? तँलाई मृत्युदेखि भय छ भने त्यो निरर्थक हो। मर्छु कि भन्ने भ्रमबाट मुक्त हो। आत्मालाई कसैले मार्न सक्दैन। आत्मा त अजर छ; अमर छ। तँ शरीर होइन, आत्मा होस्। कसले मार्न सक्छ तँलाई? भगवान् श्रीकृष्ण भगवद्गीता (२.२३) मा भन्नुहुन्छ—
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारूतः।। २३।।
यो आत्मालाई न त कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ न आगाले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न त हावाद्वारा नै सुकाउन सकिन्छ। मेरा पिता चित्रबहादुर कुँवर वन विनाश र अतिक्रमण भएको देख्न सक्नुहुन्नथ्यो। जङ्गल संरक्षणमा अविच्छिन्न रुपमा लागिरहनुहुन्थ्यो। वन क्षेत्रको जग्गा अतिक्रमण गर्नेहरु विरूद्ध  मुद्दा लड्दै सर्वोच्च अदालतसम्म पुग्नुभएको थियो। कतिपय मुद्दा अहिले पनि चलिरहेका छन्। वन हेरालु बनेर र वन संरक्षण समितिमा बसेर जीवनभरि तन–मन–धनले वन र वन्यजन्तुको संरक्षण गर्नुभयो। रात–दिन, भोक–निद्रा केही भन्नुहुन्नथ्यो। उहाँ छउन्जेल हाम्रो सामुदायिक वनमा कसैले आँखा लगाउन सकेन। सबैलाई वन जोगाउन प्रेरित गर्नुहुन्थ्यो र एकजुट गराउनुहुन्थ्यो। वन संरक्षणका लागि मुद्दा लड्दा व्यक्तिगत रकम निकै खर्च हुन्थ्यो। त्यसबापत कहिलेकाहीँ आमासँग झगडा  पनि हुन्थ्यो।
तर बुवा भन्नुहुन्थ्यो– ‘वन भनेको ठूलो कुरा हो। काठ, दाउरा,घाँस, पात, स्याउलासोत्तर, जडिबुटी सबै जङ्गलबाटै पाइन्छ। वन भए मान्छेलाई केही दुःख हँुदैन।’ उहाँकै प्रभाव ममा पनि परेको हो, वन र वन्यजन्तु संरक्षणमा। म पनि अहिले पिता जस्तै वन र वन्यजन्तु हेरालु बनेरकाम गरिरहेको छु।
बुधबार, मंसिर २०
अखबारमा ‘माओवादीले गैँडा संरक्षण गर्ने’ भन्ने समाचार थियो र उनीहरु तस्करको नजिकै पुगेको भनिएको थियो। माओवादीहरु आफूले भन्ने गरे जस्तै गैँडा तस्कर समात्न साँच्चै दरबारमा पुग्छन् कि तिनै गरिब थारु , तामाङ, चेपाङलाई समात्छन्, हेर्नु छ। नदीमा पुल बाँध्न इन्जिनियर र रोगीको अपरेसन गर्न डाक्टर चाहिएझैँ वन्यजन्तु संरक्षण गर्न पनि वन प्राविधिकको आवश्यकता पर्छ। बन्दुककै भरमा सबै कुरा हुने भए त चितवन राष्ट्रिय निकुञ्जमा खटिएका आठ सय पचास सैनिकले सबै चोर सिध्याइसक्नुपर्ने होइन र?

                                                            
                                                                कमलजङ्ग कुँवर                                                            
                                                        
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस