हर्न बजाउने २७ हजारलाई कारबाही

काठमाडौँमा ‘नो हर्न ’ अभियान लागु भएको १७ महिनामा प्रहरीले अनावश्यक रूपमा हर्न बजाउने २७ हजारलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरी महाशाखा अनुसार हाल सम्म २७ हजार ७ सय ७ जनालाई कारबाही गरिएको हो ।

आर्थिक वर्ष २०७३/७४मा ९ हजार ६ सय ६३ जना हर्न बजाउने कारबाहीमा परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७४/७५मा १५ हजार ४ सय ५ जना कारबाहीमा परेका थिए । चालु आर्थिक वर्ष २०७५/७६ कार्तिक २४ गते सम्ममा २ हजार ६ सय ३९ कारबाहीमा परिसकेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तको अनुसार एफएफ ,सूचना मूलक बोर्ड र सामाजिक सञ्जालबाट ‘नो हर्न ’ अभियान सफल बनाउन जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिए ।उनले भने, ‘ काठमाडौंमा ‘नो हर्न ’ अभियान जारी छ । हामीले यो अभियान सफल पार्न धेरै जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ । अनावश्यक रूपमा हर्न बजाउने सवारी चालकको बानीमा परिवर्तन नहुँदा पनि धेरैजना कारबाहीमा पर्ने गरेका छन् ।

जथाभावी हर्न बजाएर ध्वानी प्रदूषणको कारबाहीमा परेकाहरूले पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

सवारीचालकले जथाभावी हर्न बजाउँदा राजधानीमा ध्वनी प्रदूषण बढेको कारण हर्न बजाउन रोक गरिएको थियो ।

२०७४ बैशाख १ गते देखी काठमाडौँ उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरेपछि ट्राफिक प्रहरीको सर्वत्र प्रशंसा भएको थियो ।काठमाडौँ महानगरपालिका , ललितपुर महानगरपालिका , भतपुर उपमहानगरपालिका ,यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी महाशाखा लगायत सरोकारवाला संघ–संस्थाको पहलमा हर्न निषेध अभियान चलाइएको थियो ।

ध्वानीको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वानी प्रदूषण गर्ने सवारी साधनहरूलाई आयातमा नै रोक लगाउन सिफारिस गर्ने निर्णय गरिएको थियो । एम्बुलेन्स,शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुनेछैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ अर्ब २ करोड युवा ध्वनि प्रदूषणको जोखिममा छन् । ध्वनी प्रदूषणका कारण मानिसहरूमा मानसिक समस्या बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

श्रवण शक्ति कम हुने तथा मानसिक रूपमा मानिस अस्थिर रहने समस्या बढी देखिएका छन् । एउटा अध्ययन अनुसार, २० प्रतिशत मानिस ध्वनी प्रदूषणकै कारण बहीरोपनाको शिकार हुने गरेका छन् ।ध्वनी प्रदूषणका कारण हृदयघातको समस्यासमेत बढिहरेको चिकित्सकहरुले जनाएका छन् ।

मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबल हुन्छ र ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ । ७० डेसिबल भन्दा बढी ध्वनीले मानव स्वस्थ्यको लागि हानिकारक हुन्छ । सामान्य सवारी साधनको हर्नले १०० डेसिबल भन्दा बढीका आवाज निकाल्छन् । प्रेसर हर्नले सबैभन्दा धेरै मानिसलाई समस्या उत्पन्न गराइरहेको अध्ययनहरूको निष्कर्ष छ ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics