झाडु लगाउँदै मुख्यमन्त्री राउत



प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्दै वीरगञ्जको सडकमा झाडु लगाएका छन् ।

प्रदेश २ को सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ वीरगञ्जबाट गरेको हो।

मुख्यमन्त्रीसहितको टोलीले घण्टाघर, माइस्थान, आदर्शनगर विर्ता, नारायणी अस्पताल क्षेत्र हुँदै छपकैयासम्म सरसफाइ गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

‘वीरगञ्ज महानगर प्रथम सरसफाइ महाजागरण अभियान’ नाम दिइएको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले मानिसको पहिलो आवश्यकता स्वास्थ्य र सरसफाइनै भएको उल्लेख गरे।

उनले वीरगञ्ज नगरबासीलाई घरआँगन सफा राख्न आग्रह गरे । ‘मानिस स्वस्थ भएमात्रै गुणस्तरीय शिक्षा दिन सकिने र दक्ष जनशक्ति उत्पादन हुन्छ । प्रत्येक व्यक्ति र परिवारले स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।

मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन स्वच्छ ‘अभियानमार्फत नागरिकलाई पूर्ण सरसफाइ तर्फ अग्रसर गराउने, खुल्ला दिसामुक्त अभियानमा सहयोग पु¥याउने, साबुन पानीले हात धुन सिकाउनुको साथै पोखरी, सिमसार क्षेत्रको सफाइ र संरक्षणको काम पनि अभियान मार्फत हुन्छ,’ उनले भने, ‘सरसफाइमार्फत स्वस्थ नागरिक उत्पादन गर्नु नै अभियानको मुख्य उद्देश्य हो ।’

प्रदेशका छोरीचेलीहरुको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ ‘छोरी जीवन वीमा’ लगायतका अभियान पनि ल्याएको बताउँदै मुख्यमन्त्री राउतले फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै ती अभियानको औपचारिक शुरुवात गर्ने बताए ।

वीरगञ्ज महानगरपालिकाको सरसफाइका लागि वीरगञ्जमा एक महिनाभित्रै एउटा कार्यशालाको आयोजना गरेर रणनीति तयार गर्ने मुख्यमन्त्री राउतले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics