सानिमा मिडिल तमोरको आइपिओ निष्कासन



सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरले आज (फागुन २६ गते)देखि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन  गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics