प्रधानमन्त्रीको भारत भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय उठ्नु पर्छ -ओली



काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले भारतले मिचेका नेपाली भूमि फिर्ता गराउनेबारे सरकारको धारणा माग गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा भारतले मिचेका भूमिबारे नबोलेको ओलीको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय राख्नुपर्ने पनि ओलीको सुझाव थियो । 'यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ ।

नेपाली भूमिमा भारतले संरचना बनाइरहेको कुराबारे पनि ओलीले सरकारलाई प्रश्न गरेका छन् । 'लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ ? त्यहाँ सीमा सुरक्षितै छ ?,' उनले भने, 'नीति कार्यक्रममा सरकारले केही बोल्दैन । कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेका समाचार सञ्चारमाध्यममा आएका छन् । हो कि होइन यथार्थ के हो ? संसद्मार्फत सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्त्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउनुपर्छ कि पर्दैन ? हाम्रो भूमिका संरचना बनिराख्या छ कि छैन ?'भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपालको धारणा स्पष्टसँग राख्नुपर्ने बताए ।

भारतसँग नेपालका विषय तथ्यका आधारमा राखेमा समस्या समाधान गर्न सहज हुने उनको सुझाव थियो । 'सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यस हिसाबले अलिक गम्भीर समस्या यसमा देख्छु । एउटा कुरा हामीले के बुझ्नुपर्‍यो परराष्ट्रको प्रश्नमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । भारत छिमेकी हो र मित्रराष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरू खुलस्त गर्न किन नसक्ने ?

ओलीले वर्तमान सरकारले छिमेकी मुलुक र विश्व समुदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको आरोप पनि लगाएका छन् । उनले नीति तथा कार्यक्रम फिर्ता लिन पनि माग गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics