सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति


काठमाडौं - अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।

सरकारले विकास निर्माणको कामबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने र नेपाली नागरिकको विकास प्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाधबाहेकका अधिकांश ठूला आयोजना समयमा निर्माण सम्पन्न भएका छैनन् । केही आयोजना निर्माण सम्पन्न भएर पनि अपेक्षितरुपमा सञ्चालन हुन सकेका छैनन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले अपेक्षित लाभ प्रदान गरेपनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन ।

यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलब तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा हालसम्म ६० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन । भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन् ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन् । वर्षाका कारण काम सुरु हुन सकेको छैन । नदीमा पानीको सतह घटन थालेपछि बाँधस्थल निर्माण सुरु गर्ने तयारीमा आयोजना छ ।

यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । यस्तै, प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न हुने चरणमा छ । यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको करिब ११ महिनामा नै आठ किमी बराबरको सुरुङ निर्माण हुन आफैँमा महत्वपूर्ण उपलब्धि हो । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो । टिबिएमको प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।

गत जेठमा मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए । विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उहाँले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए ।

सो आयोजनाबाट तराई-मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गरे ।

चारवटै कामका लागि समानान्तररुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उनले तोकिएको समयभन्दाअगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुनेछ । चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सो आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, सो आयोजनामा स्रोतको व्यवस्थापन हुन कठिनाइ भइरहेको छ । ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन यसअघि नै प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री, ऊर्जामन्त्रीको प्रतिबद्धता छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण दुईपटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एकपटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि निर्माण भइरहेकाले हाल कुनै पनि जटिलता उत्पन्न भएको छैन ।

सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ । सुनकोशीको करीब ६७ क्युमेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा पानी खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बराबरको बिजुलीसमेत उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माणको काम चीनको चाइना ओभरसिज इञ्जिनियरिङ गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग एक विदेशी ठेकेदार कम्पनीको संयुक्त उपक्रमले जिम्मा पाएको छ । -रमेश लम्साल/रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics