नेपालमा किन जानथाल्यो बारम्बार भूकम्प ?

काठमाडौं – १९९० सालको भूकम्प पछि लामो समय ठूलो भूकम्प गएन । त्यसपछि मानविय र भौतिक क्षतिका हिसाबमा २०७२ सालको भूकम्पलाई ठूलो भूकम्प भनिन्छ । महाभूकम्प नै भनियो । यो भूकम्पपछि भने नेपाल काँपिरहेको छ, अर्थात् भूकम्पले थर्किरहेको छ ।

२०७२ सालको भूकम्पपछि संकलित तथ्यांक र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन् ।

तर, पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन् ।

पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ । ‘भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो,’ खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक तथा भूकम्पविद् डा. सुधीर रजौरेले भने ।

उनका भनाइमा ती चट्टानहरू त्यत्तिकै चल्न सक्दैनन् । अड्किएरै बस्दा समयक्रममा तनाव उत्पन्न हुन्छ र त्यसक्रममा उब्जिएको ऊर्जा भूकम्पका रूपमा निस्कन्छ । नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो ।

फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ ।

ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन् । तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ । यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics