उज्याला सहर, असन्तुलित पर्यावरण

-आशिष अर्याल,
१९औं शताब्दीको प्रारम्भसम्म कृतिम उज्यालो रहस्य नै थियो । सन् १८८० मा थोमस एल्बा एडिसनले बिजुलिको उर्जालाई प्रकाशमा बदल्ने लाइट बल्बको आविस्कार गरेपश्चात मानव सभ्यताले नै कोल्टे फेर्यो ।


अब सुर्य र चन्द्रमाको उज्यालो प्रकाश मात्रै पृथ्वीमा सिमित रहेन । पछिल्लो समय चम्किला बल्बहरूको झिलिमिलीले दिन र रातको बन्धनसमेत फुकाउन सफल भयो । आजभोलि रात पहिले जस्तो अँध्यारो छैन । रातको पर्दामा जहाँ ताराहरू एकपटक आकाशको बिशाल विस्तारमा खुल्ला रूपमा नाच्दै क्षणिक प्रकाश फ्याँकिरहेका हुन्छन् । आजभोलि त्यो चमक हराउँदो छ । कृतिम प्रकाशको विश्वव्यापी फैलावटले गर्दा आकाशीय क्यानभास ढाकिन थालेको छ ।


वर्तमान अवस्थामा चलिरहेको सहरीकरण वातावरणमा बढ्दो मानव प्रभावको ज्वलन्त उदाहरण हो । संयुक्त राष्ट्रसंघले अनुमान गरेअनुसार सहरी भूमि क्षेत्रको बलियो विस्तार गर्दै विश्वको दुइ तिहाई भन्दा बढी जनसंख्या सन् २०५० सम्म सहरी क्षेत्रमा बस्छन् । विभिन्न प्रक्रियाहरूको कारणले गर्दा धेरै प्रजातिहरूका लागि सहरीकरण वातावरणीय ह्रासको प्रमुख स्रोत बनिरहेको छ । तीमध्ये एक प्रकाश प्रदूषण हो ।


रातमा कृतिम प्रकाशको व्यापक प्रयोग मानव जीवनको गुणस्तर, सुरक्षा र आधुनिकतासंग सकारात्मक रूपमा जोडिए पनि यसको द्रुत र विश्वव्यापी प्रयोगले मौलिक रूपमा रातको दृश्यहरू परिवर्तन गरेको छ । देश र क्षेत्रानुसार कृतिम प्रकाशको प्रवृति भिन्न भए पनि बार्षिक ६ प्रतिशतका दरले कृतिम प्रकाशको स्तर बढीरहेको बैज्ञानिक लेखहरूमा उल्लेख छ ।


प्रकाश प्रदूषण भन्नाले मानव गतिविधिद्वारा उत्पादित अत्यधिक वा गलत निर्देशित कृतिम प्रकाशलाई बुझाउँछ । जसले रातमा आकाशको प्राकृतिक अन्धकारलाई बाधा पुर्याउँछ । यसमा सडक बत्ति, बाहिरी प्रकाश, उज्यालो भवनहरू, सुरक्षा बत्तीहरू, सवारी साधनका बत्तीहरू समेतका स्रोतहरू हुन सक्छन् ।



कृतिम प्रकाशमा यस्तो प्रकारको घातक आकर्षणको कारण जर्मनीमा प्रत्येक गर्मियाममा करिब एक सय बिलियन किराहरूको मृत्यु हुने अनुमान गरिएको छ । मृत्युबाट तुरुन्त बचेका किराहरू पनि शारीरिक तन्दुरुस्तीका लागि अतिआवश्यक व्यावहारहरूमा संलग्न हुन असमर्थ हुन्छन् ।

प्रकाश प्रदूषणले रातको आकाशमा ताराहरू र अन्य आकाशीय वस्तुहरू अवलोकन गर्न गाह्रो बनाउनका साथै पारीस्थितिक प्रणालीमा बाधा पुर्याउँछ । वन्यजन्तुको व्यवहारलाई असर गर्छ । र, बोटबिरुवाहरूमा पनि हानिकारक प्रभावहरू उत्पादन गर्छ । प्रकाश प्रदूषण विशेष रूपमा निशाचर र प्रवासी जनावरहरूको लागि हानिकारक छ ।


विस्वब्यापी रूपमा लगभग ३० प्रतिशत ढाड भएका र ६० प्रतिशत ढाड नभएका जनावरहरू निशाचर छन् र यी प्रजातिहरू निसन्देह कृतिम प्रकाशको हानिकारक असरको शिकार बनिरहेका छन् । अन्तर बिषय गोष्ठी ‘द डार्क साइड अफ लाइट’ का सहभागीहरूका अनुसार रातिको धेरै उज्यालोले जनावर र वनस्पतिको व्यवहारमा बाधा पुर्याउने मात्र नभई मानिसको निद्रामा बाधा पुर्याउने, मोटोपना, डीप्रेसन र क्यान्सरसमेत निम्त्याउँछ ।


लन्डनस्थित क्यान्सर अनुसन्धान संस्थानले केही वर्षअघि १ लाख १० हजार महिलाहरूमा गरेको एक अध्ययनअनुसार धेरै उज्याला कोठामा सुत्ने महिलाहरूको तौल सूचक तुलनात्मक रूपमा बढी पाइएको थियो । हामीले सुन्दै आएको ‘आगोमा किराजस्तै तानिएको’ भन्ने भनाइले उड्ने किराहरू र कृतिम प्रकाश बिचको सामान्य अन्तरक्रियालाई प्रेरित गर्छ ।


उज्याला बत्तीहरूमा किराहरूको आकर्षण किटविज्ञानमा रुचिको पुरानो बिषय हो । रातिमा सक्रिय हुने किराहरूको फोटोट्याक्सिसको कारण कृतिम प्रकाशका स्रोतहरू धेरै किराहरूका पासो नै हुन् । किराहरूले रातमा नेभिगेट गर्न चन्द्रमाको उज्यालोलाई कम्पास संकेतको रूपमा प्रयोग गर्छन् र उचित उडान र नियन्त्रण कायम राख्न आफ्नो डोरसमलाई सबैभन्दा उज्यालो तिर झुकाउँछन् ।


आधुनिकताको अतिवादले रातमा आकाश नै नदेखिने गरि बालिएका झिलिमिली बत्तीहरूलाई, गल्तीले चन्द्रमा जस्तै मानि उडान भर्दा रातमा सक्रिय हुने किराहरू आकर्षणको प्रतिरोध गर्न नसकी मृत्युलाई भेट्छन् । धेरै किराहरू बिशेषगरि पतंगहरू(मोथ) बत्तीहरूको परिक्रमा गर्दा गर्दै थकानले अथवा बत्तीहरूको तातो आवरणमा ठोक्किएर मर्ने गर्छन् । किराहरूका रात अनुकुल सम्बेदनशील आँखाहरू कृतिम बत्तीद्वारा अन्धा हुन्छन् जसले गर्दा उडान अनियमित भइ दुर्घटना हुने र अन्त्यमा तिनीहरू बत्ति नजिकै जालमा परी मर्ने गर्छन् ।


बैज्ञानिक लेखहरूका अनुसार कृतिम प्रकाशमा भ्रमित किराहरू माकुरा, चमेरा लगायतका शिकारी जनावरहरूबाट पनि बढ्दो दरले शिकार हुन्छन् । केहि वैज्ञानिक अनुमानका अनुसार स्थिर प्रकाशका स्रोतहरूमा आकर्षित हुने करिब एक तिहाई किराहरू थकान वा शिकारको कारण बिहान हुनुअगाबै मर्छन् र गाडीको हेडलाईटमा आकर्षित हुने किराहरू तुरुन्तै मर्छन् ।


कृतिम प्रकाशमा यस्तो प्रकारको घातक आकर्षणको कारण जर्मनीमा प्रत्येक गर्मियाममा करिब एक सय बिलियन किराहरूको मृत्यु हुने अनुमान गरिएको छ । मृत्युबाट तुरुन्त बचेका किराहरू पनि शारीरिक तन्दुरुस्तीका लागि अतिआवश्यक व्यावहारहरूमा संलग्न हुन असमर्थ हुन्छन् । बेलायत र आयरल्याण्डमा ३० बर्षसम्म म्याक्रोलेपिड़ोप्टेरा भन्ने पतंगको समुहमा गरिएको सर्वेक्षण अनुसार निशाचर प्रजातिहरू, प्रकाशमा आकर्षित नहुने दैनिक प्रजातिहरूको तुलनामा द्रुत रूपमा घटेको लेखहरूमा उल्लेख छ । एउटा प्रजातिमा यसरि पर्ने नकारात्मक असरले सिंगो खाद्य जालोका अरु प्रजातिहरूमा पर्ने हानिकारक असर कल्पना नै गर्न सकिँदैन् ।


निशाचर जीवहरूमा कृतिम प्रकाशको नकारात्मक प्रभाव बुझ्न जुनकिरीहरूको हराउँदो जादुमय रात्रिनाचले पनि राम्रो नमुना प्रदान गर्छ । जुनकिरीहरूको यस्तो प्रकारको रात्रीचमक शिकारी किराहरूलाई आफू शिकारको लागि उपयुक्त नभएको चेतावनी दिन, उही प्रजातिका अरु सदस्यहरूलाई पहिचान गर्न, प्रजनन् साथीको खोजि गर्न लगायतका प्रयोजनका लागि प्रयोग हुन्छ ।

जुनकिरीहरूले पारीस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यिनीहरूका लार्भाहरू प्रायः शिकारी हुन्छन जसले विभिन्न प्रकारका किराहरूलाई आफ्नो खाना बनाउँछन् । केहि प्रजातिहरू त मरेका किराहरूको सिनोलाई पनि आफ्नो आहारा बनाउँछन् भने केहि फूलहरूको परागकणमा निर्भर रहन्छन् ।


जुनकिरीहरू देशीय र बाह्य दुवै प्रकारका हानिकारक किटहरूका जैविक नियन्त्रणका माध्यम पनि हुन् । प्रजनन्को समयमा भाले जुनकिरिहरू उड्दै, आफ्नो जैविक प्रकाश बाल्दै प्रजनन् साथीलाई आकर्षित गर्छन् । पोथी जुनकीरीहरू स्थिर अवस्थामा नै आफ्नो चमकले प्रतिक्रिया दिन्छन र प्रजनन् हुन्छ । कृतिम बत्तीहरूको उज्यालोमा भाले जुनकिरीहरूले आफ्नो चमकले प्रजनन् साथीलाई आकर्षण गर्न नसक्दा उनीहरूको जनसंख्या घटिरहेको बैज्ञानिक अनुसन्धानहरूमा उल्लेख छ ।


प्रजनन्को मौसममा जुनकिरीहरू, प्रकाशको स्तर कम भएपछी, विशेषगरी सूर्यास्तको केहि समयपछि चम्किन्छन् । कृतिम उज्यालोको विरासतले अस्पष्ट आकाशको उज्यालोमा, जुनकिरीहरूको यस्तो प्रकारको सांकेतिक गतिविधि बिथोलिएको छ । कृतिम चमकको पर्दालाई छिचोल्न धेरै चम्किने प्रयासमा जुनकिरीहरू अधिक उर्जा खर्च गर्न बाध्य हुँदा शारीरिक तन्दुरुस्ती खल्बलियर मर्ने पनि गर्छन् ।


ताइवान र चीनका केहि भागहरूमा सामान्य रूपमा पाइने एक्वाटिका फिक्टा भन्ने जुनकिरीमा सन् २०१८ मा गरिएको अध्ययनका अनुसार, कृतिम प्रकाशसँग प्रतिस्पर्धा गर्न बढी चम्किने प्रयासमा, चमकहरू बिचको अन्तराल धेरै बढी भएको कुरा उल्लेख छ । यसले उनीहरूको प्रजनन् साथी भेट्ने सम्भावना कम गरि प्रजनन् दरलाई नकारात्मक रूपमा असर गरेको पाइएको छ । यसरि कृतिम चमकको धुवाँमा निसासियर जुनाकिरिहरूको सुन्दर रात्रिनाच विलिन भइरहँदा सिङ्गो पारिस्थीतिक प्रणाली नै खल्बलिने खतरा नकार्न सकिदैन् ।


दृश्यउन्मुख जनावरहरूमा कृतिम प्रकाशको मुख्य नकारात्मक प्रभाव दैनिक जैविक प्रक्रियामा बाहेक स्थानान्तरण गर्ने निर्णयमा पनि पर्छ । यो पोथी समुद्री कछुवाको गुड बनाउने प्रयासमा पानी बाधक हुन्छ । यसले भर्खर कोरलिएका बच्चाहरूलाई पनि आकर्षित वा भ्रमित गर्दछ, तिनीहरूलाई शिकार, थकान साथै शरीरमा पानीको मात्रा अभावका लागि नाजुक बनाउँछ ।


प्रकृतिमा पाइने करिब ९८६ प्रजातिका चमेराहरू ,केहि साना मांसाहारी जीवहरू, लोखर्के बाहेकका मुसा प्रजातिका जीवहरू, करिब २० प्रतिसत प्राइमेट्सहरू (गोरिल्ला, बाँदर आदि) र करिब ८० प्रतिशत मार्सुपियाल्स (पोथीको पेटमा बच्चा बोक्ने खल्तिजस्तो अंग भएका जीव जस्तैः कंगारु) रातिमा सक्रिय हुने गर्छन् ।

हामीले आकर्षण, विकास र समृद्धिको प्रतिक मान्ने रातको झिलिमिली मानव निर्मित्त उज्यालो धेरै निशाचर जीवहरूका दैनिक जैविक प्रक्रियाका लागि भने अभिशाप नै हो । यसले उनीहरूको आनीबानी, खानपान, प्रजनन प्रकिया, बच्चा कोरल्ने समय, उनीहरूको बसाइ सर्ने ढाँचा आदिमा परिवर्तन ल्याएको पछिल्ला अध्ययनहरूले देखाएका छन् ।


प्रवासी प्रजातीहरूको महासन्धि (सी.एम.एस)का कार्यकारी सचिव यमी फ्रेन्केलका अनुसार प्रकाश प्रदूषण प्रवासी चरा, समुद्री कछुवा, चमेरा लगायतका प्रजातिहरूका लागि ठूलो चुनौती हो । सोहि महासन्धिको सन् २०२३ को एप्रिलमा प्रकाशीत प्रेस बिज्ञप्तिका अनुसार विश्वको जनसंख्याको करिब ८० प्रतिसत अहिले उज्यालो आकाश मुनि बाँचिरहेको छ । जुन संख्या युरोप र उत्तर अमेरिकामा करिब ९९ प्रतिसतको नजिक छ ।


झिलिमिली उज्यालोको सिंहासनमा अल्मलियर रातिमा बसाइँ सर्ने चराहरू पनि गन्तव्य नभेट्दै मर्ने गरेको पाइएको छ । विश्वमा पाइने करिब ११ हजार १ सय प्रजातिका चराहरूमध्ये करिब २२ सय प्रजातिका चराहरू नियमित रूपमा ऋतुअनुसार एक स्थानबाट अर्को स्थानमा बसाँईसराइ गर्ने गर्छन् । जलवायु परिवर्तनको असर, सुरक्षित वासस्थानको खोजि, आहाराको खोजि, अनुकुल प्रजनन् गर्ने ठाउँको खोजि तथा चिसो छल्ने लगायतका प्रयोजनका लागि चराहरू निरन्तर रूपमा मौसमअनुसार बसाँई सर्ने गर्छन् ।


जुन र ताराको उज्यालोमा उडानमार्ग पहिल्याउन सहज हुने, रातिको समयमा तापक्रम कम भई वायुमण्डल स्थिर हुने हुँदा उडानको दिशा पनि स्थिर हुने तथा दिनमा सक्रिय हुने बाज, चिल, गिद्द जस्ता शिकारी चराहरूबाट बच्न धेरै चराहरू रातिमा नै बसाँईसराईका लागि उडान भर्छन् ।



अत्याधिक कृतिम प्रकाशले जैविक बिबिधताका प्रजाती, प्रजाति अन्तरक्रिया, प्रजाती संरचना तथा पारीस्थितिक प्रणाली लगायतका हरेक सांगठनिक तहमा प्रतिकुल प्रभावहरूको जोखिम समावेश गर्छ । मानव संसार कृतिम उज्यालोमा रमाइरहँदा धेरै प्रजातिहरू तिनीहरूको प्राकृतिक व्यवहार र बासस्थानमा बाधा पुर्याउने कृत्रिम चमकमा अनुकूलित हुन संघर्ष गरिरहेका छन् ।

आकाश नै नदेखिने गरि बालिएका चहकिला बत्तीहरूको आकर्षण प्रतिरोध गर्न नसक्दा आफ्नो बाटो बिराउने, ताता बत्तीहरूको आवरणमा ठोक्किने तथा बाटो कुरेर बसेका शिकारी चराहरूको फन्दामा परि कैयौं चराहरू मर्ने गरेको बैज्ञानिक निष्कर्ष छ । ‘अमेरिकन माछा तथा वन्यजन्तु सेवा’ (यु,एस.एफ.डब्लु.एस)ले अनुमान गरेअनुसार अग्ला चहकिला टावरहरूमा ठोक्कियर, बर्सेनि करिब ४० देखि ५० लाख चराहरू मर्ने गरेको पाईएको छ ।


कृतिम उज्यालोको कारण चराहरूको शरीरको दैनिक जैविक चक्र प्रभावित हुने र उनीहरूको व्यवहार मा परिवर्तन आउने गरेको बैज्ञानिक अध्ययनहरूमा देखिन्छ । कृतिम उज्यालोको कारण केहि प्रजातिका चराहरूको प्रजनन समय अगाडी सरेको तथ्य पनि अध्ययनहरूमा उल्लेख छ । रातिको कृतिम उज्यालोले, बसाँईसराइको लागि उडान भर्ने चराहरूले उडान मार्ग पहिचान गर्न प्रयोग गर्ने चुम्बकीय दिशामा हस्तक्षेप गर्दा सामान्यतः प्रयोग गर्ने बाटोको सट्टा उज्याला बत्तीहरू तिर आकर्षित हुने गरेको बैज्ञानिक निष्कर्ष छ ।


निशाचर भएकाले चमेराहरूमा पनि कृतिम प्रकाशको हानिकारक प्रभाव परेको छ । नेभिगेसनका लागि कम्पासीय दिशाको प्रयोग गर्ने भएकाले चराहरू जस्तै चमेराहरू पनि प्रकाश प्रदूषणको हानिकारक असरको शिकार बनिरहेका छन् । किटभक्षि चमेराहरू प्रायः निशाचर हुन्छन् । उज्याला बत्तीहरू वरिपरी किराहरू झुम्मिने भएकाले किरा खाने चमेराहरूको गतिविधि उज्याला बत्तीहरूको नजिक तीव्र हुन्छ । यी चमेराहरूका रात अनुकुल आँखाहरू, चम्किला बत्तीहरूको नजिक अन्धा हुन्छन र रातिमा सक्रिय हुने उल्लु, बिरालो जस्ता शिकारी जनावर हरूको शिकार हुने गर्छन् ।


सडक बत्तिको वरिपरी सवारी साधनहरूको ठक्करबाट ज्यान जाने खतरा पनि उत्तिकै हुन्छ । मायोटिस लुसीफुगस भन्ने अमेरिकन प्रजातिको चमेरामा गरिएको एक अध्ययनअनुसार कृतिम उज्यालो नजिक, ठूला अवरोधहरूबाट बच्नको लागि तिनीहरूको क्षमतामा ठुलो ह्रास आएको उल्लेख छ । यो अध्ययनबाट कृतिम प्रकाशले चमेराहरूको इको लोकेसनलाई पनि हस्तक्षेप गर्ने बैज्ञानिक निष्कर्ष छ ।



स्वास्थ्य, वातावरण र वन्यजन्तुमा नकारात्मक असर कम हुने गरि मधुरो बत्तीहरूको प्रयोग गरौँ । आकाश नै नदेखिने गरि गरिएको कृतिम प्रकाशको जंगली प्रसार रोकौँ ।

चमेराहरूका प्राकृतिक वासस्थान जस्तै अँध्यारा गुफाहरू, त्यागिएका खानिहरू तथा भवनहरूका अँध्यारा कोठाहरू कृतिम प्रकाशले सजिदा तिनीहरूको अस्तित्व नै संकटमा नपर्ला भन्न सकिँदैन् । अँध्यारो र उज्यालोको चक्रबाट निर्धारित फोटोपिरियड अर्थात दैनिक लम्बाईले बिरुवाहरूलाई मौसमी फेनोलोजिकल चरणहरू जस्तै पात पलाउने, फुल फुल्ने आदि प्रारम्भ गर्नको लागि भरपर्दो संकेत प्रदान गर्छ ।


विरुवाहरूको यस्तो प्रकारको फोटोपेरियोडिक संकेत कृतिम प्रकाशको कारण गहिरो रूपमा विचलित भएको बैज्ञानिक अध्ययनहरूले देखायको छ । कृतिम प्रकाशले बिरुवाहरूको दैनिक लम्बाइको धारणा परिवर्तन गरेर र बिरुवाहरूको दैनिक २४ घण्टाको ‘साइकेडिन लय’ वा जैविक घडीलाई बाधा पुर्यायर फिनोलोजिलाई प्रभाव पर्ने वैज्ञानिक निष्कर्ष छ ।


रातिको कृतिम उज्यालोले विरुवाहरूमा परागसेचन गर्ने किराहरूको आनीबानी, जैविक प्रकृया लगायत उनीहरूको अस्तित्वमै नकारात्मक असर पारिरहेको हुनाले बिरुवाहरूको प्रजनन प्रकिया पनि प्रभावित भइरहेको तथ्य पनि केहि लेखहरूमा उल्लेख छ । जर्मनीमा १६ प्रजातिहरूका बिरुवाहरूको एउटा कृतिम समूह स्थापना गरेर कृतिम प्रकाश र प्राकृतिक प्रकाशगरि दुईवटा अवस्थामा घाँस, बुट्यान र लेगुमिनासी परिवारका ३ वटा प्रजातिमा गरेको अध्ययनअनुसार कृतिम प्रकाशको अवस्थामा बायोमास ३० प्रतिसतले घटेको पाइएको थियो । त्यस्तै विविधता सूचक ४३ प्रतिसत र प्रजाति समानता ३४ प्रतिसतले घटेको पाइएको थियो । यस्ता प्रतिक्रियाहरूबाट बोटबिरुवा जगत पनि प्रकाश प्रदूषणसँग अति संबेदनसिल रहेको कुरा पुष्टि गर्न सकिन्छ ।


यसर्थ अत्याधिक कृतिम प्रकाशले जैविक बिबिधताका प्रजाती, प्रजाति अन्तरक्रिया, प्रजाती संरचना तथा पारीस्थितिक प्रणाली लगायतका हरेक सांगठनिक तहमा प्रतिकुल प्रभावहरूको जोखिम समावेश गर्छ । मानव संसार कृतिम उज्यालोमा रमाइरहँदा धेरै प्रजातिहरू तिनीहरूको प्राकृतिक व्यवहार र बासस्थानमा बाधा पुर्याउने कृत्रिम चमकमा अनुकूलित हुन संघर्ष गरिरहेका छन् ।


प्रजातिहरूको व्यवहार तथा वितरण प्रभावित गरि सिंगो खाधजालोलाई नै बिथोल्दा पारीस्थितिक प्रणालीको सन्तुलन बिग्रनका साथै सम्भावित पतन पनि सिर्जना हुन सक्छ । अहिलेका लागि ठूलो चुनौती नभए पनि नेपालमा कृतिम उजालोको क्रम बढिरहेको छ । त्यसैले तारा र जुनको उज्यालोमुनी चिन्तनलाई निमन्त्रणा गरिरहेको कृतिम उज्यालोको कब्जालाई कम गरि आगामी पुस्ताका लागि जैविक विविधताको संरक्षण गरौं ।


आफूलाई के प्रयोजनका लागि, कति बेला, कुन सुरक्षित रङको, कुन दिशामा तथा कति उज्यालो प्रकाश चाहिन्छ भन्ने हेक्का राखौं । स्वास्थ्य, वातावरण र वन्यजन्तुमा नकारात्मक असर कम हुने गरि मधुरो बत्तीहरूको प्रयोग गरौँ । आकाश नै नदेखिने गरि गरिएको कृतिम प्रकाशको जंगली प्रसार रोकौँ । पृथ्वीलाई सम्पुर्ण प्राणीजगतको साझा शरण बनाउन अनुमति दिँदै कृतिम प्रकाशको चमकलाई मधुरो बनाऔं जहाँ आकाशमा जुन र ताराहरूको स्वतन्त्र नाच भावी पुस्ताका लागि विलिन नहोस् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics