उपत्यकाको हावा २४ घन्टै सास फेर्न अयोग्य



सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् । विहिवारको अन्नपुर्णपोष्टमा छेटु शेर्पा लेख्छन् सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो।

दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको छ । चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ । यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो । १० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो ।

स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगी बताउँछन् । काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उनले बताए ।

पर्टिकुलेट म्याटर २.५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन् । आँखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठनले समेत उल्लेख गरेको छ ।

डब्लुएचओको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ । तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा योभन्दा धेरै बढी हुन्छ ।

वातावरण विभागले एसियाली विकास बैंक र इसिमोडको सहयोगमा उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गर्दै आएको छ । दृष्टि काठमाडौंले बल्खु, बौद्ध, बूढानीलकण्ठ, एकान्तकुना, गल्कोपाखा, हात्तीसार, कलंकी, कालिमाटी, कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक, सानेपा, सातदोबाटो र थापाथलीमा प्रदूषण मापन गर्दै आएको छ ।

विभागले रत्नपार्कमा राखेको प्यारोमिटरले पिएम २.५ को मात्रा एक सय ९२ माइक्रोग्राम घनमिटरसम्म नापेको छ । डब्लुएचओले सामान्यतः पिएम २.५ का धुलो १० माइक्रोग्राम घनमिटरसम्म हुनु स्वास्थ्यका लागि योग्य मानेको छ । ११ देखि २५ सम्म उसले दैनिक मापदण्डभित्र राखेको छ । डब्लुएचओले २६ देखि ४० हल्का, ४१ देखि ७५ सम्म प्रदूषित, ७६ देखि १५० अतिप्रदूषित र त्यसभन्दा माथि खतराजनक भनेको छ । बिहान, दिउँसो, साँझ र रातिको पिएम २.५ को तथ्यांकअनुसार उपत्यकाको हावा २४ सै घन्टा सास फेर्न अयोग्य देखिएको हो ।

पानी परेपछि प्रदूषण केही कम हुने र समयअनुसार फेरबदल भइरहने रिपोर्टले देखाएको छ । स्वास्थ्यकर्मीले प्रदूषण र यसको संक्रमणबाट बच्न मास्क, चस्मा र छाला ढाक्ने कपडा अनिवार्य लगाउन सुझाव दिएका छन् । धुलो र धुवाँले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला डब्लुएचओको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भाइरोमेन्टु विभागका संयोजक डाक्टर कार्लोस डोराले काठमाडौं उपत्यकामा चुरोट सेवनले वार्षिक १६ हजारको मृत्यु हुने गरेको तथा प्रदूषित हावाका कारण ३० हजारको ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन् ।

सवारीसाधनको बढ्दो चाप, मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन खनिएका सडक तथा सडक विस्तार र मर्मतका लागि भत्काइँदा काठमाडौं धुलो र धुवाँमय बनेको हो । वातावरणविद् भूषण तुलाधरले प्रदूषण नियन्त्रणका लागि बनाइएका कार्ययोजना सम्बन्धित निकायमा पेस भए पनि कार्यान्वयनमा ढिलाइ भएको बताए। उनका अनुसार निर्माण र मर्मत गर्ने निकायबीच समन्वय नहुँदा उपत्यकाको प्रदूषण नियन्त्रणबाहिर आएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकाको प्रदूषण नियन्त्रणबाहिर पुगेको सार्वजनिक भएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकमा इन्धनबाट चल्ने सवारीसाधनलाई साप्ताहिक रूपमा हरेक शुक्रबार रोक लगाउन प्रस्ताव राखेका छन् । मन्त्री थापाले उपत्यकाको प्रदूषण भयावह भएको भन्दै शुक्रबार फ्री भेइकल डे बनाउनुपर्ने प्रस्ताव राखेका छन्।

मंगलबार नै व्यवस्थापिका–संसद्को सुशासन समितिले उपत्यकाको सडक र वायु प्रदूषणको अवस्था नाजुक भएको भन्दै यसमा गम्भीर हुन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको थियो । समितिको ध्यानाकर्षणलगत्तै प्रधानमन्त्री दाहालले थानकोटसम्म सडकको धुलो निरीक्षण गरेका थिए । उपत्यकाका सडकमा धुवाँ–धुलोको अवस्था निरीक्षणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले धुलो नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics