कस्तो हुन्छ भोट हाल्ने दिन मौसम ?
- नेचर खबर

स्थानीय चुनाव हुने दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । गत सोमबारदेखि नै मौसमी प्रणाली सक्रिय भइरहेको छ । यो प्रक्रिया अझै केही दिनसम्म निरन्तर भइरहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘मौसमी प्रणाली सक्रिय रहेको छ, बेलाबेलामा मौसम खुलेपनी साँझ बिहान पानी पर्ने सम्भावना देखिन्छ ।’ मौसमविद् पौडेलका अनुसार स्थानीय तह निर्वाचनको दिनसम्म पानी पर्छ कि पर्दैन भनेर अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन । उनले भने ‘अहिलेसम्मको मौसमी प्रणालीलाई हेर्दा चुनावका दिन पनि सामान्य बदली हुने सम्भावना देखिन्छ ।’
प्री-मनसुनको बेलामा स्थानीय प्रणाली सक्रिय भई बदली हुने गर्दछ । अहिले भारतको विहार नजिकैबाट विकसित भएको न्युनचापीय क्षेत्र र स्थानीय प्रणाली सक्रिय भएकाले सोमबार साँझदेखि देशैभर मौसम बदली भइरहेको छ । बंगालको खाडिवाट जलवाष्पयुक्त वायु पूर्वी नेपालबाट प्रवेश गर्दा नेपालको पूर्वी र मध्य भागमा बढी वर्षा भएको महाशाखाले जनाएको छ ।
अहिले प्री-मनसुनको समय हो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार प्री-मनसुनको समयमा क्षणिक वर्षा हुन्छ । एकैछिनमा बादल लागेर पानी परेपनि लामो समयसम्म भने यो प्रणाली सक्रिय रहँदैन । यो अवधिमा पानी पर्दा हावाहुरीको जोखिम समेत बढी हुने गर्छ । छिनमै पानी पर्ने, मेघगर्जने चट्याङ पर्ने जस्ता प्रक्रिया प्रि–मनसुनको गतिविधि हो ।
अहिले नेपालमा प्री-मनसुन सक्रिय छ । सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन सुरु हुन्छ । चैत दोस्रो सातादेखि जेठसम्म प्री–मनसुनको अवधि रहन्छ ।
प्रतिक्रिया दिनुहोस