जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा केबलकारको शिलान्यास (फोटो फिचर)

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्री जान सहजताका लागि केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा विहान पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

विकास प्रेमी जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

‘आज विहान जिल्लाका विकास प्रेमी नागरिक, माननिय ज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थितीमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने ।

यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर भएमा अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि ताप्लेजुङमा केबलकार लाभदायक बन्नेछ ।
































नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics