बिजुली सस्तो बनाइदिन भारतलाई राजदूत उपाध्यायको आग्रह



भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले भारतको विहार राज्यबाट किनिरहेको बिजुलीको मूल्य नबढाउन बरु केही घटाइदिन त्यहाँका मुख्यमन्त्री नितिश कुमारसँग आग्रह गरेका छन् । साथै नेपाललाई थप बिजुली उपलब्ध गराइदिन समेत उपाध्यायले नितिश कुमारलाई आग्रह गरेको छन् ।

कान्तिपुरमा कमलदेव भट्टराई लेख्छन विहारबाट नेपालले किनेको बिजुलीको प्रतियुनिट मूल्य ६ भारुको हाराहारीमा रहेको छ । तर, त्यो मुल्य बढेर अब ७ भारु पुग्न लागेकोले नेपालले विहार सरकारको ध्यानाकर्षण गराएको हो । विहारबाट मात्रै नेपालले १५० मेगावट आयात गरिरहेको छ र त्यसमा थोरै बढ्दा पनि नेपाललाई करोडौं आर्थिक भार पर्दछ । घट्नुपर्ने अवस्थमा झन बढ्न लागेकोले चिन्ता थपिएको नेपाली अधिकारीहरुको भनाइ रहेको छ ।

मुख्यमन्त्री कुमारसँग भएको भेटमा राजदूत उपाध्यायले सो आग्रह गरेका हुन् । विशेषत: १२–१५ वर्षदेखि विहारबाट नेपालले खरिद गरेको बिजुली महँगो भएको नेपालको भनाइ छ । पछिल्लोपटक ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतको केन्द्रीय लाइनबाट किनिएको बिजुलीको मूल्य भने विहारबाट भन्दा आधा सस्तो नै छ । ‘विशेषत: विहारबाट विभिन्न साना प्रसारण लाइनमार्फत हामीले किनिरहेको बिजुली अलि महँगो नै भएकाले त्यसमा पुनर्विचार गर्न राजदूतले आग्रह गर्नु भएको हो,’ भेटवार्तामा सहभागी दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

विगत १०–१५ वर्षमा भारतमा नै बिजुली सस्तो भएको र बिजुलीको उत्पादन समेत बढेको अवस्थामा पुरानो मूल्यमा पुनरावलोकन गर्नुपर्ने नेपाली पक्षको भनाइ रहेको छ । पछिल्लोपटक नेपालले थप १४५ मेगावठ बिजुली खरिदको प्रक्रिया अगाडि बढे पनि मूल्यमा कुरा नमिल्दा अगाडि बढ्न सकेको छैन । त्यसैगरी जलस्रोतमा सहकार्य, कनेक्टीभिटी परियोजनलाई अगाडी बढाउने, पूर्वाधार विकास गर्नेलगायत विषयमा समेत कुराकानी भएको छ ।

   कान्तिपुरबाट 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics