२ घण्टा झाडीमा लुकेर तस्कर कुर्दा 



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि। सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको तेस्रो अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

हात लाग्यो शून्य

२०६० वैशाख २ गते सुराकीबाट खबर आयो– ‘गैँडा मार्न जाने सल्लाह गरेर केही मान्छे पूर्वी चितवनको पर्सा बजारमा जम्मा भएका छन् ।’ ब्यारेकसँग सल्लाह गरेर हामीले राति जाने तयारी गयौँ । सुराकीलाई लिन उसको घरमा गयौँ । ऊ ‘मलाई चिन्छ होला, देख्छ होला’ भनेर आउन अप्ठ्यारो मान्दै थियो ।

‘उनीहरुले तपाईंलाई नदेख्ने गरी समात्छौँ; टाढैबाट चिनाइदिनुस्’ भनेपछि मात्र ऊ हामीसँग जान तयार भयो । हामी खैरहनी गाविस, पर्सा बजारको मगनी चोकमा मुढा साइँला भन्ने रामचन्द्र प्रजाको घरमा गयौँ र त्यहाँ भएकामध्ये राजकुमार प्रजा, घरमालिक रामचन्द्र, उसको कान्छो छोरो बुद्धि प्रजा र दाजुलाई पक्रियौँ । घरमा खानतलासी गर्यौँ तर केही भेटिएन ।

सुराकीले पर्सा बजारमै राजमार्गभन्दा दक्षिणपट्टिको घरमा पनि गैँडा मार्ने मान्छे छन् भनेपछि हामी त्यो घरमा पनि प्रवेश गर्यौँ । घरमूलीलाई उसको नाम सोध्यौँ; ‘कर्मा लामा’ भन्यो। हामीलाई लाग्यो— कतै प्रेम विकले भनेको कर्मा लामा यही त होइन ?

हामीले उसको फोन–डायरी तथा फोटो जाँचबुझ गर्यौँ र घरको पनि खानतलासी लियौँ । घरको छतमा छ–सात जना थारु केटाहरु सुतेका रहेछन् । तिनीहरुलाई उठाएर सोधखोज गर्यौँ । उनीहरु मूर्ति बनाउने कालिगढ रहेछन्। हामीले कर्माको फोन–डायरीमा केही शंकास्पद नम्बर त भेट्यौँ, तर प्रेमले बताएको कर्मा लामा यो होइन भन्ने विश्लेषणका आधारमा उसलाई त्यहीँ छाडेर बाटो लाग्यौँ ।

पक्राउ परेकामध्ये मुढा साइँला भन्ने रामचन्द्र प्रजा पहिले पनि गैँडा केसमा जेल परी सजाय भुक्तान गरेर छुटेको रहेछ । उसको कान्छो छोरो बुद्धि लागू औषध दुर्व्यसनी रहेछ । राजकुमार प्रजा ‘मुढा साइँलाको घरमा बसेर पढ्दै छु’ भन्दै थियो। खास तथ्य–प्रमाण हामीसँग केही थिएन । गैँडा मार्ने यिनीहरु पनि हुन् भन्ने सूचना मात्र थियो । त्यत्तिका आधारमा मुद्दा चलाउन नसकिने भएकाले उनीहरुलाई खैरहनी गाविस–४ का पूर्ववडाध्यक्ष मगरा चौधरीको जिम्मा लगाएर छाडियो । छाड्ने बेला हामीले बुद्धि प्रजालाई ‘हाम्रा लागि सूचना दिने काम गर’ भनेका थियौँ ।

मैले चोरी सिकार नियन्त्रण इकाईका लागि अफिसको नाममा मोबाइल फोन लिएको थिएँ । अफिसमा बजेट थिएन, त्यसैले तमोर तालमाथिको चुरे डाँडामा अघिल्लो वर्ष हावाहुरीले भत्काएको रिपिटर टावर मर्मत गर्न डब्लुडब्लुएफले दिएमध्ये काम सकेर बचेको पन्ध्र हजार रूपैयाँले मोबाइल खरिद गरेको थिएँ। वैशाख १० गते त्यसमा खबर आयो— गैँडा तस्करहरु बन्दुक लिएर चितवनको दिव्यनगर, भगेडीतिरबाट निकुञ्जको आइल्यान्ड जङ्गल क्षेत्रमा पस्दै छन् । एउटा बोटे उनीहरुलाई लिएर आउँदै छ ।

हामीलाई आइल्यान्ड होटलको पुरानो मचाननजिक एउटा घोल (पानी भएको ठाउँ) मा अपराह्न चार बजेभन्दा अगाडि सैनिकसहित पुग्नुपर्छ भनिएको थियो । म साथीहरु सहित नवलपरासीको रजहरतिर थिएँ । त्यहाँबाट हामी अमलटारीस्थित नन्दपुर ब्यारेकमा गयौँ । सेनाका क्याप्टेन साब यो अपरेसनमा आफैँ जान तयार हुनुभयो । मैले स्पिडमा गाडी कुदाएँ । हामी लौखानी प्रवेशद्वारमा आयौँ र रेन्जर रुपकसहित गोपाल बोटेलाई लिएर आइल्यान्ड जङ्गलमा डुङ्गाबाट प्रवेश गर्यौँ । हामी ठीक समयमा तोकिएको स्थानमा पुग्यौँ। नजिकै पुरानो मचान र घोल थियो ।

हामी पोजिसन लिएर सिकारी आउने प्रतीक्षामा बस्यौँ । झ्याङमा लुकेर बसेका थियौँ तर कुनै बेला रुखमा चढेर पनि हेर्थ्याैँ । कुनैकुनै बेला डुङ्गा आएको जस्तो आवाज सुनिन्थ्यो र थप सतर्क हुन्थ्यौँ । गर्मी बिछट्टै थियो । बोल्न, चल्न पाइँदैनथ्यो । प्यास लाग्यो; हामीसँग पानी थिएन । घोलमा जाऊँ भने त्यही बेला चोर आइपुगेर देख्ने हो कि भन्ने डरले जान सक्दैनथ्यौँ । हामी करिब दुई घण्टा त्यहाँ बस्यौँ तर कतैबाट कोही आउने सङ्केत नदेखिएपछि फर्कियौँ । गैँडा चोरलाई जङ्गलभित्रै बन्दुकसहित पक्रने ठूलो सपना देखेर गएका थियौँ तर निराश भएर खाली हात फर्कनुपर्याे। हामीलाई लाग्यो— कि त सूचना गलत थियो अथवा तस्करहरुले हामी त्यहाँ आएको खबर पाए ।

नयाँ वर्ष २०६० को सुरूमा निकुञ्जमा नेपाली सेनाको नयाँ गण आएको थियो । त्यसपछि पहिले हटाइएका बाघमारा र डुमरिया पोस्टमा पनि सेनाका अस्थायी पोस्ट राखियो । विगतमा तिनै क्षेत्रमा बढीजसो गैँडा मारिएका थिए ।

कम्मरमा साढेसात लाख

विवाहको कुराकानी चलेको हुँदा म आफ्नो घर हेम्जा (कास्की) गएको  थिएँ ।  कावासोतीबाट सूचना आएछ— खाग खरिद गर्ने तस्कर काठमाडौँबाट आउनेवाला छ । मैले रेन्जर माधवजीलाई आफ्नो मोबाइल फोन र कामको जिम्मा दिएर गएको थिएँ । सूचना त्यसैमा आएको थियो । मैले फोनबाट ‘म आउनुपर्छ’ भनेर सोध्दा माधवजीले भन्नुभयो– ‘पर्दैन, हामी गर्छौं । तपाईं त्यताको कामकुरा सम्पन्न गरेर आउनुस् ।’

वैशाख १९ गते दिउँसो माधवजीबाट खबर पाएँ– ‘दुई जनालाई पक्राउ गरेर भरतपुरको आइल्यान्ड होटलमा राखेका छौँ; अरु काठमाडौँबाट आउँदै छन्; प्रतीक्षामा छौँ ।’निकै बेर कुर्दा पनि कोही नआएपछि उहाँहरु कसरातिर लाग्नुभएछ तर पटिहानी गाविस पुग्न लाग्दा मोबाइलमा खबर आएछ– ‘साहूजीहरु आउनुभयो।’

माधवजीहरु तुरून्तै फर्केर नारायणगढ जानुभएछ र पोखरा बसपार्कको गुल्मेली होटलबाट तान्जिङ निमा भन्ने तिब्बती नागरिक र हुम्लाको छिरिङ भन्ने दोग्लालाई पक्राउ गरी कसरा लग्नुभएछ । खानतलासी गर्दा कम्मरमा बाँधेको साढे सात लाख रूपैयाँ पनि बरामद भएछ । त्यतिखेर यस कुरालाई ठूलो उपलब्धिका रुपमा लिइयो ।

त्यस दिन खाग बेच्ने व्यक्ति रत्ननगर, टाँडीको सुन्दरसिंह ठकुरी र भरतपुर नगरपालिका, शरदपुरको विजय मल्ललाई पक्राउ गरेपछि माधवजीले उनीहरुलाई लोभ देखाउनुभएछ– ‘तिमीहरुले पहिले खाग बेचेको साहूलाई बोलाओ; हामी तिमीहरुलाई छाडिदिन्छौँ ।’ अनि सुन्दरसिंहले दोग्लालाई काठमाडौँमा फोन गरेर ‘माल छ; लिनलाई पैसा लिएर आइज’ भनेछ । दोग्ला त्यही दिन तान्जिङसँग आउने भएछ र नारायणगढ आइपुग्नासाथ माधवजीको पन्जामा परेछ । उनीहरुले पोलेको नवलपरासी, देउराली गाविस बस्ने गजबहादुर फालमगरलाई भोलिपल्ट गस्ती टोलीले पक्राउ गरेका थियो ।

म वैशाख २१ गते कसरा आएँ । ठूलो तस्करसहित एउटा गिरोह समातिएकामा सबै जना उत्साहित देखिन्थे । त्यति बेला प्रमुख सेनानी प्रभुराम शर्मा हुनुहुन्थ्यो; उहाँ स्वयं आएर हेर्नुभएछ र टोलीलाई स्याबासी दिँदै खुसीव्यक्त गर्नुभएछ । अर्कातिर साथीहरुमा कुराकानी भएछ– ‘यो केस अनुसन्धान गर्न कमल सरलाई दिनु हुँदैन; रेन्जरमध्ये नै कसैले गर्नुपर्छ ।’ ‘दुःख गर्ने अरु, भोलि क्रेडिट लिने कमल सर किन ?’ भन्नेसम्मका कुरा भएछन् ।

माधवजीले यो कुरा सुनाएपछि मलाई दुःख लाग्यो । मलाई कुनै क्रेडिट लिनु थिएन । मेरो अभिप्राय त गैँडाको चोरी सिकारमा नियन्त्रण होस् भन्ने मात्र थियो । टिममा काम गर्ने हो, क्रेडिट पाए टोलीले नै पाउनुपर्छ, व्यक्तिले होइन भन्ने मेरो विचार थियो । अरु कुरा जे भए पनि त्यति ठूलो अपरेसनमा आफू उपस्थित हुन नपाएकामा खल्लो र पछुतो भने लागिरहेको थियो ।यो टोलीलाई पक्राउ गर्न सूचना दिने सुराकीसँग पछि मेरो भेट भयो । बरामद रकममध्ये पचास प्रतिशत आफूले पुरस्कारस्वरुप पाउनुपर्छ भन्ने उसको माग रहेछ; ‘चिफ वार्डेन पुरन सरले पाउँछौ भन्नुभएको थियो’ भन्यो ।

मैले भनेँ– ‘त्यो रकम बरामदी मुचुल्कामा उल्लेख गरिएको छ; धरौटीका रुपमा जम्मा हुन्छ । त्यो रकमबाट त निकाल्न मिल्दैन ।’ उसले चिफ वार्डेनले वचन दिएको कुरा झिक्दै मसँग जिकिर गरिरह्यो । पछि मैले इन्टरनेशनल ट्रष्ट फर नेचर कन्जरभेशन (आईटीएनसी) बाट पाएको पुरस्कारको सम्पूर्ण रकम पच्चीस हजार रूपैयाँ उसलाई दिएँ; यद्यपि ऊ अझै गनगन गर्दै थियो ।
आईटीएनसी निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा आउने पर्यटकबाट मिल्ने चन्दा र बेलायतमा गरिने च्यारिटीबाट प्राप्त हुने रकमलाई चोरी सिकार नियन्त्रणमा उपयोग गर्न स्थापना गरिएको हो । यसको स्थापनामा विशेषतः संरक्षणविद् तथा बाघ विशेषज्ञ चक म्याकडुगल र टाइगर टप्स होटल व्यवस्थापनको ठूलो योगदान छ । ट्रस्टले प्रत्येक महिना पच्चीस हजार अर्थात् वर्षमा तीन लाख रूपैयाँ दस जना सुराकी राख्ने गरी निकुञ्जलाई उपलब्ध गराउँछ ।

चोरी सिकार नियन्त्रणका लागि आवश्यक टर्चलाइट, बाइनाकुलर आदि दिने गरेको छ भने पोस्ट निर्माणका लागि पनि सहयोग गरेको छ। आईटीएनसीले मुख्यतः गैँडा, बाघ लगायतका दुर्लभ वन्यजन्तुको चोरी सिकारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सप्रमाण कारबाही गरेमा पक्राउन सहयोग गर्ने सुराकी, पक्रन जाने कर्मचारी लगायतलाई नगद पुरस्कार दिएर मनोबल बढाउने गरेको छ ।

यस पटक दोग्ला लगायतका पाँच सिकारी, दलाल तथा तस्कर पक्राउ गरेकामा पच्चीस हजार रूपैयाँ प्राप्त भएको थियो । त्यो रकम मैले सुराकीलाई मात्र दिएकामा साथीहरु गुनासो गर्दै हुनुहुन्थ्यो ।

सुन्दरसिंहले एक दिन मलाई भन्यो– ‘पर्सा बजारमा एउटा जेरी पसल छ; दोग्लाले त्यहाँबाट पनि बाघको छाला लग्छ । नारायणगढमा बालकुमारी चोकमा एक जना हरि श्रेष्ठ नामको मान्छे छ; त्यो पनि खाग तस्कर हो ।’

दोग्लालाई बोलाएर मैले सोधेँ– ‘पर्सा बजारको जेरी पसलको मान्छेबाट बाघको छाला लगेका छौ?’उसले ‘हैन, त्यहाँ जेरी मीठो हुने भएकाले गएको हुँ; त्यस्तो कारोबार गरेको छैन’ भन्यो ।तान्जिङ निमाले खाग काठमाडौँमा लगेर कसैलाई दिँदो रहेछ । त्यो व्यक्तिले तातोपानी जाने कुनै बसको ड्राइभरलाई प्रयोग गरेर ल्हासामा टासी भन्नेकहाँ पुर्याइदिने गर्दो रहेछ । उनीहरु सबैलाई जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाइयो । फोटो खिचियो ।

चिफ वार्डेनले म चितवन आएको पहिलो दिन टिपाएको चोरी सिकारीको लिस्टमा टाकुले भन्ने ठागु प्रजाको नाम पनि थियो । आफ्नाे बाबु मुढा साइँला भन्ने रामचन्द्र प्रजा पक्राउ परेर थुनिएको हुँदा ऊ बाबुलाई भेट्न वैशाख २७ गते निकुञ्ज आएको रहेछ । चिफ वार्डेन सरले धेरै पटक ‘अगाडिको कपाल रङ्गाएको केटो नै टाकुले हो’ भन्नुभएको थियो । उसको कपाल त्यस्तै थियो ।

नाम सोधेँ; ‘मङ्गल प्रजा’ भन्यो ।फेरि सोधेँ– ‘मुढा साइँलाको छोरो टाकुले भन्ने तिमी नै होइन ?’ उसले‘हो’ भन्यो। मैले स्टाफहरुलाई ‘उसलाई पनि थुन्नू’ भनेँ ।  उसका विरूद्ध कुनै प्रमाण वा खास क्ल्यु थिएन । केरकार भयो; केही कुरा खुलेन । केही दिनभित्र उसको बाबु, भाइ र राजकुमार प्रमाण नभएकाले छुटिसकेका थिए। उसलाई थाहा थियो, ‘केही नभनेपछि उनीहरु जस्तै म पनि छुट्छु’ भनेर । अन्ततः उसलाई पनि जिम्मा जमानीमा छाडियो । तिनीहरु गैँडा मार्ने कार्यमा संलग्न रहेका भए पनि प्रमाण नभेट्दा हामीले कानुन बमोजिम छाडिदियौँ ।

तान्जिङ निमा र दोग्लालाई पक्राएर उत्साहित भएको सुराकीले २०६० जेठ ३ गते अर्को खाग तस्कर आउँदै छ भनेर सूचना दियो । बेलुकाको कुरा हो, हामी कावासोती गयौँ । सुराकीले एउटा होटलमा लग्यो । त्यहाँ एउटा व्यक्ति खाना खाँदै थियो । माधवजी गएर पक्रनुभयो । ऊ धादिङ, बसेली बस्ने रवीन्द्र घले भन्ने रामबहादुर घले रहेछ । उसलाई हामीले कसरा ल्यायौँ ।

सोधपुछ गर्दा ‘काठमाडौँको सोनाम लामा भन्ने तस्करले कावासोतीमा माल छ; ओरिजिनल हो कि डुप्लिकेट हेरेर आइज भनेर चेक गर्न पठाएकाले आएको’ भन्यो । सोनाम डल्लुमा बस्छ भनेपछि हामी काठमाडौँ जाने भयौँ । काठमाडौँ गएर उसको घरमा फोन गर्यौँ; उसकी आमाले फोन उठाइन् । सोनामबारे सोध्दा ‘दिल्ली गएको छ’ भनिन् । हामी त्यो दिन होटलमा बस्यौँ ।

भोलिपल्ट बिहानै सोनामको घरमा छापा मार्यौँ, उसकी आमाले ढाँटेकी हुन सक्छिन् भनेर । उनले सुरूमा अलि फुर्ती गरिन् तर सैनिक साथीले बन्दुक देखाइदिएपछि चुप लागिन् । घरमा सोनामको भाइ र आमा मात्र थिए, सोनाम भेटिएन । हामी खाली हात फर्कियौँ ।

ठोस प्रमाण र दरो क्ल्यु नभई मान्छे पक्राउ मात्र गरेर उपलब्धि हुन सक्दैन भन्ने कुरा पटकपटकको हाम्रो असफलताले देखाइरहेको थियो । यतिन्जेल पनि मसँग गैँडाको चोरी सिकार नियन्त्रण गर्ने ठोस योजना र कार्यक्रम थिएनन् । हामीले सुराकी संयन्त्रलाई प्रभावकारी बनाउन सकिरहेका थिएनौँ । म आउँदा जम्मा तीन–चार जना सुराकी थिए; तिनीहरु पनि त्यति सक्षम र प्रभावकारी देखिएनन् । हामी सिकारी, तस्कर र दलालको वास्तविक सञ्जालमा पस्न सकिरहेका थिएनौँ ।

क्रमश:


 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics