भारतको प्रदुषणले काठमाडौं आक्रान्त

फाइल फोटो


केहि दिनयता छिमेकि मुलुक भारतले प्रदुषणको निकै भार खेपिरहेको छ । यसको असर नेपालमा पनि परेको छ । प्रदुषणका कारण वायुमण्डलमा धुवाँ र धुलोको चाप बढिरहेको छ ।

दिल्लीमा अहिले प्रदुषण स्तर खतरनाक रहेको छ । अत्याधिक प्रदुषणबाट जनजीवन प्रभावित भएको छ । प्रदुषण कम गर्न भारत सरकारले विभिन्न प्रयास गरेको छ । विद्युत नभएका ठाउँमा डिजेल जेनेरेटर चलाइँदा यसबाट वायु प्रदूषण बढेको भन्दै जेनेरेटर चलाउन रोक लगाइएको छ ।

यसैगरी पातपतिङ्गर जलाउन पनि प्रतिबन्ध लगाइएको छ । आगामी ३ दिनसम्म विद्यालय बन्द गरिने, ६ दिनसम्म सबै खाले निर्माण रोकिने, जेनेरेटर र बदरपुर थर्मल प्लान्ट १० दिनसम्म बन्द गरिने, दिल्लीका सडकमा पानी छर्कने, फोहोर नजलाउने, गाडी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरी प्रदुषण न्युनिकरण गर्ने निर्णय गरेको छ ।

यस्तै नेपालमा जाडो बढ्दै जाँदा प्रदुषणको मात्रा पनि बढ्दै जान्छ । उपत्यकामा प्रदुषणको मात्रा राष्ट्रिय मापदण्ड भन्दा बढी नै छ । कचौरा आकारको भौगोलिक बनावट र गुम्म परेको मौसमका कारण उपत्यकाको आकाशमा जम्मा भएको धुलोका कणहरु सजिलै बाहिर निस्कदैनन् । त्यसकारण पनि जाडोमा घामको प्रकाश मधुरो हुने र बढी जाडो हुने गर्छ ।

वायुप्रदुषणले उपत्यकाको आकासमा जम्मा भएको धुलो र धुवाँले घामको प्रकाश छेकेपछि जाडोमा अझ बढी जाडो हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन् ‘वायुमण्डलमा भएको धुवाँ र धुलोको चापले सुर्यको प्रकाश मधुरो हुन्छ । प्रदुषणले घामको पारदर्शिता कम गर्ने भएकाले चिसो समेत बढ्न जान्छ ।’

उपत्यकामा नोभेम्बर (कात्तिक /मंसिर) महिनाको औसत न्युनतम तापक्रम ७.५ डिग्री सेल्सियस मानिन्छ । वायुप्रदुषणका कारण वायुमण्डलमा धुलो र धुँवा जम्दा घाम मधुरो हुने र तराइमा बढी समय शीतलहर पर्ने हुन्छ । उनले भनिन् ‘अहिले औसत न्युनतम तापक्रमभन्दा घटेको छैन ।’

उपत्यकामा वायु प्रदूषणका मुख्य स्रोत गाडी तथा उद्योग, कलकारखानाबाट निस्किने धुवाँ र इँटाभट्टा हुन् । चाडपर्वको अन्त्य र जाडो यामको सुरुसँगै उपत्यकामा बढी इट्टा भट्टा सञ्चालनमा आउने गरेका छन् । जसले गर्दा जाडोमा उपत्यकाको प्रदुषण बढ्ने गरेको वातावरणविद् भुषण तुलाधर बताउछन् ।

तुलाधरका अनुसार दिल्ली, पञ्जाब, हरियाणा क्षेत्रका किसानले अन्नबाली उत्पादन गरेपछि लगाएको आगोको धुवाँ नेपालसम्म आइपुग्ने गरेको छ । जसले नेपालमा प्रदुषणको मात्रा बढ्न जान्छ । उनले भने ‘उपत्यकामा प्रदुषणको मुख्य कारण यातायात नै हो । पछिल्लो समय भइरहेको सडक विस्तारको कार्यले धुलो बढी भइरहेको र अझ बढ्ने भएकाले यसमा सतर्कता अपनाउन नसके दिल्लीको जस्तै अवस्था काठमाडौंमा नआउला भन्न सकिदैन ।’

छिमेकी मुलुकमा वायु प्रदुषणको भयानक असर देखा परीरहँदा पनि नेपाल सरकारले समस्या समाधान गर्न खासै चासो देखाएको पाइदैन । वातावरण विभागले एसियन विकाश बैंकको सहकार्यमा वायु प्रदुषण नियन्त्रण रणनिति तयार गर्दैछ । विभागका प्रवक्ता मोहनदेव जोशीले भने ‘बढी वायु प्रदुषण गर्ने उद्योग तथा इट्टा भट्टालाई सरकारले उपत्यका बाहिर स्थानान्तरण गर्ने तयारी गरिरहेको छ ।’ विभागले उपत्यकामा वायु प्रदुषण नाप्ने यन्त्र जडान गरी प्रदुषण नाप्दै आइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)का अनुसार, पीएम १० प्रदुषण को मात्रा ५० तथा नेपालको मापदण्ड अनुसार प्रदुषणको मात्रा एकसय २० पीएम १० हुनुपर्छ । तर अघिल्ला वर्षहरुको तथ्यांक अनुसार, काठमाडौंमा वायु प्रदुषण को मात्रा ५ सयभन्दा माथी छ । प्रदुषणका कारण दम, मुटु तथा फोक्सोसम्बन्धी दीर्घकालिन रोग लाग्छ । नाकबाट हानिकारक धुलोका रसायनिक पदार्थ मिसिएका कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गरेपनि क्यान्सरजस्ता रोग लाग्छ ।

उपत्यकामा अहिले अत्यन्तै साना अर्थात २.५ माइक्रोमिटर पिएम २.५० भन्दा कम आकारका धुलोका कण रहेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले धुलोमा रहने २.५ पिएम कणले स्वास्थ्यमा असर पार्ने देखाएको छ । परिषद्का अनुसार यी कण सास फेर्दा सोझै फोक्सोमा पुग्छन जसका कारण उपत्यकावासीमा स्वास्थ्य जोखिम बढिरहेको छ । यस्ता कणले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग बढ्ने अनुसन्धानले निष्कर्ष निकालेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics