गाेलि चल्दाचल्दै तस्कर भाग्दा…



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  साताैँ अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

जेरी, खाग र बाघकोछाला


त्यही दिन हामीलाई खबर आयो— पर्सा बजारको होलील्यान्ड स्कुल जाने बाटोको जेरीपसले ठागु गुरूङले बेच्नका लागि दराजमा खाग राखेको छ भनेर । त्यो सुनेर मैले झल्याँस्स सम्झेँ, सुन्दरसिंह ठकुरीले चार महिनाअगाडि भनेको कुरा । उसले दोग्ला भन्ने छिरिङ लामाले ठागुकहाँबाट खाग र छाला लग्थ्यो भनेको थियो । मैले तुरून्त गणपति प्रभुराम शर्मासँग कुरा गरेँ । उहाँ गैँडा सिकारी समाउने भन्नेबित्तिकै तत्काल आदेश दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘राम्रोसँग जानुहोला ।’ अत्यन्तै सहयोगी, मिलनसार, नेतृत्वमा हुनुपर्ने दक्षता, दूरदर्शिता र तुरून्त निर्णय दिन सक्ने क्षमता थियो उहाँमा ।

उहाँको आदेशबाट क्याप्टेन विशालबहादुर शाहसहितको टोली लिएर रेन्जर माधव र मुखिया श्रीरङ्गसमेत हामी दिउँसो करिब तीन बजेतिर पर्सा बजार पुग्यौँ । म पहिले चिया खाने निहुँले पसलमा गएँ। सबै जनालाई हेरेँ । दुइटी आइमाई र केही केटाहरु काम गरिरहेका । ग्राहकहरु मिठाई, नास्ता, कोक खाँदै गरेका । मैले चिया मागेँ। पिसाब फेर्ने निहुँ पारेर पसलको पछाडि गएँ । सुराकीले दिएको हुलिया बमोजिमको लुरे, होचोहोचो, पातलो, कपाल माथि फर्काएको, पचपन्न–साठी वर्षको, भेस्ट र पाइन्ट लगाएको रोगी जस्तै देखिने व्यक्ति खटियामा बसेर तरकारी केलाउँदै थियो। मैले ठम्याइहालेँ हामीले खोजेको मान्छे यही हो भनेर। ऊ मलाई देखेर चुरोट तान्दै एक पटक फुसफुसायो ।

म पिसाब फेरे जस्तो गरेर पसलतर्फ फर्कें। अनि साथीहरुलाई इसारा दिएँ, पसलमा आउनलाई। साथीहरु आउनुभयो । मैले थप चिया मगाएँ र साथीहरुलाई पछाडि लगेँ ।
मैले उसलाई भनेँ– ‘के छ ठागुजी ?’
उसले भन्यो– ‘हजुर।’
हामीले उसलाई बतायौँ, हामी निकुञ्जबाट उसैलाई खोज्न आएको भनेर । अनि उसलाई चुपचाप कोठामा हिँड्न भन्यौँ । पछाडि एउटा कोठा रहेछ । हामीले दराज लगायत कोठाभित्रका सबै ठाउँमा खानतलासी लियौँ । केही भेटिएन । त्यसपछि उसलाई राजमार्गदेखि दक्षिणतर्फको उसको भाडाको कोठामा हिँड्न भन्यौँ । ऊ जिल्ल पर्यो । मलाई सुराकीले उसले भाडामा कोठा लिएको छ र दराजमा खाग लुकाएको छ भन्ने सूचना दिएको थियो ।

मैले ठागुलाई परिवारका अरु सदस्यलाई केही नबताउन भनेँ। ‘हल्ला गर्यौ भने तिम्रै बदनामी हुन्छ; चुपचाप हामीले जे भन्छौँ त्यही मान’ भनेँ ।
ऊ हामीले भनेझैँ खुरूखुरू हिँड्न थाल्यो । हामीलाई राजमार्गभन्दा तलको,सिनेमा हल जाने बाटाछेउको घरमा लग्यो। हामी कोठाभित्र खानतलासी लिन थाल्यौँ । सुराकीले भने बमोजिम त्यहाँ दराज थियो । दराजमा चाबी लगाइएको थियो । हामीले चाबी माग्यौँ; उसले ‘छैन’ भन्यो । ‘कोसँग छ त ?’
भनेर सोध्दा पनि ‘थाहा छैन’ भन्यो। हामीलाई लाग्यो, सुराकीले भनेको सत्य रहेछ । खाग दराजभित्र नै हुनुपर्छ भन्ने लागेर उसलाई चाबी ल्याउन दबाब दियौँ । ऊ अनभिज्ञता व्यक्त गर्दै थियो। एउटी आइमाई ‘के भयो ?’ भन्दै माथिल्लो तलाबाट आइन्। थुप्रै मान्छे कोठाभित्र देखेर ‘यो के चाला हो ?
अर्काको कोठाभित्र के छ कसो छ नसोधी पस्ने?’ भनेर जङ्घिन थालिन् । उनी ठागुकी जेठी बुहारी रहिछन्। सार्है मुखाले। हामीले उनीसँग दराजको चाबी माग्यौँ । उनले ‘दिन्नँ’ भनिन्। ‘नत्र फोरिदिन्छौँ’ भन्ने धम्की दिएपछि मात्र चाबी दिइन् ।
हतारहतार चाबी खोलेर खानतलासी गर्यौँ; केही हात परेन । ठागु टुलुटुलु हेरिरहेको थियो । केही नभेटेपछि हामी बाहिर निस्कन थाल्यौँ ।

त्यति बेला पनि बुहारी कराइरहेकी थिइन्– ‘के प्रमाण छ अर्काको कोठामा खानतलासी गर्ने ?’
ठागुलाई लिएर हामी सौराहा आयौँ। उसलाई सोधपुछ गर्यौँ । उसलाई पन्ध्र–सोर्ह दिनअगाडि मुढा साइँलो, उसको सालो राजकुमार प्रजा, कालु भन्ने अर्को राजकुमार प्रजा र पायमराङ काइँलाले खाग ल्याएर दिएका रहेछन् । उसले त्यो लगेर ललितपुर, कुसुन्तीका कर्णबहादुर रानामगरलाई बेचेर पैसा उनीहरुलाई दिइसकेको रहेछ। उसले बाघको छाला दोग्लालाई दिएको पनि साँचो रहेछ । दोग्लाले भनेझैँ ऊ मीठो जेरी खान मात्र हैन, खाग र छाला खोज्न पनि ठागुकहाँ जाँदो रहेछ। ठागुले आफूले खाग बेचेको कर्णबहादुरको फोन नम्बर पनि बतायो। मैले पुनः रेन्जर माधव र रुपकलाई त्यो मान्छे पत्ता लगाउन भनेर काठमाडौँ पठाएँ। तर कर्माको केसमा झैँ यस पटक पनि कुनै नतिजा आएन ।

तान्जिङ निमा र दोग्लाले पुनरावेदन गरेका थिए, बेरीतपूर्वक थुनामा राखिएको भन्ने दाबी लिएर। भदौ १० गते पुनरावेदन अदालत, हेटौँडाले धरौटीमा छाड्नू भन्ने आदेश दियो। नेपालमा एक वर्ष भन्दा बढी जेल सजाय हुने फौजदारी मुद्दामा प्रतिवादी रहेका विदेशी नागरिकलाई धरौटीमा छाड्न नपाइने कानुनी व्यवस्था रहेको छ। तर पुनरावेदन अदालत, हेटौडाका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले धरौटीमा छाड्ने आदेश दिए ।

हामीले सौभाग्यवश तिलबहादुर गुरूङलाई पक्रेका थियौँ । उसले बाघको छाला दोग्लालाई दिएको भन्यो। हामीले पुनरावेदनको आदेश बमोजिम दोग्ला र तान्जिङलाई छाड्यौँ र कसरा पुल तरेपछि पुनः पक्राउ गर्यौँ ।

छाडिदिएपछि निकै खुसी हँुदै बाहिर निस्केका थिए तर पुनः पक्राउ परेपछि उनीहरु अक्क न बक्क भए । हामीले पुनः अनुसन्धान सुरू गर्यौँ, बाघको छालाको केसमा । यस पटकको अनुसन्धानमा दोग्लाले तिलबहादुरसँग लिएको बाघको छाला तान्जिङलाई दिएको भनेन । पहिलो पटक त जे लगे पनि उसैलाई दिएको भन्थ्यो तर यसपालि उसले कुरा बदल्यो। हामीले दोग्लालाई पुनः मुद्दा चलायौँ तर तान्जिङ विरूद्द कुनै प्रमाण नभएकाले उसलाई हाजिर जमानीमा छाड्न बाध्य भयौँ ।

हामीले दरो प्रमाण जुटाउन सकेनछौँ। किनबेच हुन लागेको खाग होइन, खाग खरिद गर्न ल्याइएको रकम मात्र बरामद गरेका थियौँ। साथै हाम्रो अनुसन्धानको सिलसिलामा र निकुञ्जको इजलासमा पनि एकै जनाले बयान लिएको थियो र त्यो हुबहु एउटै थियो । यो पनि त्रुटिपूर्ण थियो । हामीले खाग दिने मान्छे माडीको सीतारामलाई पक्राउ गर्न पनि सकेनौँ। प्रमाण दरो बनाएर मुद्दा दायर गर्नुपर्नेमा ‘यसले तस्करी गरेकै हो’ भनेर हामी त्यसको पछि लागेछौँ । तान्जिङको केसले हामीलाई ठूलै पाठ सिकायो ।

पछि इन्डियाको एउटा प्राइभेट क्लिनिकमा तान्जिङको मृत्यु भएको भन्ने डाक्टरी रिपोर्ट पेस गरियो । त्यसमा न उसको मृत शरीरको फोटो थियो, न पोस्टमार्टम रिपोर्ट, न त कुन रोगले कुन अवस्थामा कसरी मृत्यु भएको हो भन्ने स्पष्ट उल्लेख नै थियो। ऊ मरेकै पनि हुन सक्थ्यो तर मरेको भनेर रिपोर्ट मात्र बनाइएको पनि हुन सक्थ्यो । उसकी श्रीमतीले निवेदन पेश गर्दा म निमित्त चिफ वार्डेन थिएँ, मैले ‘यथेष्ट प्रमाण नभएकाले थप प्रमाण पेस गर्न लगाउनू’ भन्ने तोक लगाएको भए पनि सुब्बा उत्तम खरेलले पेश गरेको फैसलाको मसौदामा ‘मान्छेको मृत्युसँगै अपराधको अन्त्य हुन्छ’ भन्ने लेखेछन् र चिफ वार्डेन शिवराज भट्टले मुद्दा फैसला गर्दा सोही बमोजिम गरिदिनुभएछ । उसले मुद्दाबाट उन्मुक्ति पायो र उसबाट बरामद भएको साढे सात लाख रकम समेत सबै फिर्ता दिनुपर्ने भयो ।

मेरो अनुमान सही निस्क्यो । पुरावेदन अदालतका न्यायाधीशले पुर्पक्षका लागि धरौटीमा छोडेका र चिफ वार्डेन शिवराज भट्टले मरिसकेको भन्ने बहानामा वास्तविकता बुझ्दै नबुझी, सुब्बाको इशारामा र गैँडा संरक्षणको भावना विपरीत मुद्दाबाट छुटकारा दिइएका तान्जिङ फेरि गैँडाको खाग तस्करी गरेको अपराधमा पक्राउ परे। स्मरणीय कुरा के छ भने चिफ वार्डेन भट्टले ऐनको प्रावधान बमोजिम गैँडाको सिकार र खाग तस्करीमा संलग्न अपराधीलाई १५ वर्ष सजाय तोक्नुपर्ने रामशरण विक जस्ता खुँखार सिकारीलाई पाँच वर्ष जेल सजाय तोकेका थिए । लोकतान्त्रिक सरकारले उनलाई असल चालचलन भनेर साढे तीन वर्षमा नै जेल मुक्त गर्यो ।

रामशरण र तान्जिङ निमा एकै पटक पक्राउ परे। उनीहरुले २०६६–६७ को अवधिमा बाह्र वटा भन्दा बढी गैँडाको खाग बेचिसकेका रहेछन् । नेपालमा सङ्कटकालमा जस्तै २०६६–६७ मा पनि अत्यधिक गैँडा मारिएका थिए । यसरी अदालत, लोकतान्त्रिक सरकार र चिफ वार्डेन भट्टले गैँडा संरक्षणमा गम्भीर त्रुटि गरेका कारण गैँडा चोरी सिकार बढेको थियो ।

चिफ वार्डेन भट्टलाई साह्रै ठूलो आत्मग्लानी वा हीनताबोध भएछ क्यारे, तान्जिङ र रामशरण पक्राउ परेको खबर सञ्चार माध्यममा आएको दिन मलाई भेट्न वन तथा भू–संरक्षण मन्त्रालय, वातावरण महाशाखाको भुईं तलाको अध्यारो कुनामा मेरो कोठमा आइपुग्नुभयो। मैले त्यो कुनामा चार वर्ष बिताएँ । संयोगवश उहाँ चिफ वार्डेन हुँदा मैले मरीमरी गैँडा संरक्षण गर्दा पनि कार्यसम्पादन मूल्याद्ध्कनमा नम्बर काटेका कारण त्यस वर्ष (वि.सं. २०६६) मेरो राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवा भएको थिएन, जुन वर्ष (वि.सं.२०६१) मलाई २१ औँ वार्डेन सेमिनारमा चोरी सिकार नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले प्रशंसा पत्र प्रदान गरेको थियो ।

त्यही वर्ष उहाँले अर्को सहायक वार्डेनलाई पूर्णाङ्क दिएर मलाई कम अङ्क दिनुभयो । आफूलाई उत्कृष्ट वन प्राविधिक ठान्ने मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शेषहरि भट्टराईले पनि मलाई पूर्णाङ्क नदिन चिफ वार्डेन भट्टलाई निर्देशन दिए र आफूले पनि त्यसै गरे । पुनरावलोकन समितिमा वन मन्त्रालयका सचिव चण्डीप्रसाद श्रेष्ठ पनि के कम, उनले पनि त्यस्तै बहादुरी देखाए । मेरो अङ्क कसाईले मासु काटे झैँ काट्दा काट्दा जम्मा उनन्चालिस प्वाइन्ट दुई पाँच भएछ । अर्को वर्ष म पुर्पक्षका लागि थुनामा परे, कार्यसम्पादन मूल्याद्ध्कन फारम भर्नै पाईन । वढुवामा त्यही अङ्क दुई वर्ष गणना हुँदा मेरो हालत झन् खराब भयो ।

मलाई बढुवा हुन नदिन वन सचिव युवराज भुसालले २०६६ सालमा हिसाब गरेरै जिरो प्वाइन्ट पाँच काटिदिएछन् । भट्टजीलाई यो कुराले पनि पिरल्यो होला । उहाँले त्यो दिन यिनै कारणले मलाई भेट्न आएको थाहा पाए तापनि मैले तान्जिङ निमा पक्राउ परेको कुरा उप्काइनँ र अरु बेला जस्तै स्वाभाविक बातचीत गरेर पठाए । उहाँ त्यतिवेला सरकारी जागिर छाडेर डब्लुडब्लुएफ नेपालको ठूलै पदमा गैँडा बाघ संरक्षण गर्ने महान अभियानमा गइसक्नुभएको थियो ।

राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. तीर्थमान मास्के र मसहितको टोली चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका पदाधिकारीसँग भेटघाट गर्न अमलटारी गयो, २०६० असोज ९ गते । त्यहाँ संस्थाका अध्यक्षले युवा जागरण अभियानको उद्देश्य र काम–कर्तव्यमाथि प्रकाश पारे ।

नवलपरासीका आठ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतका युवाहरुको पहलमा नवलपरासीलाई चोरी सिकाररहित जिल्ला बनाउने अभिप्रायले असारमा पच्चीस सदस्यीय समिति गठन गरिएको र पन्ध्र दिन लामो जागरण अभियान दिव्यपुरीदेखि त्रिवेणीसम्म सञ्चालन गरिएको जानकारी उनले दिए ।

समितिमा पच्चीस हजार साधारण सदस्य बनाउने लक्ष्य लिइएको रहेछ । पिछडिएका र निकुञ्जमा आश्रित समुदायलाई नै परिचालन गरी चोरी सिकार नियन्त्रण अभियान सञ्चालन गर्ने कार्यक्रम रहेछ। चोरी सिकारविरूद्ध समुदायमा आधारित युवाहरुको यस्तो स्वतःस्फूर्त अभियान गैँडा संरक्षणमा कोसेढुङ्गा साबित हुन सक्थ्यो ।

गोलीका बीचमा फरार


कात्तिक ५ गते सिकारीहरु गैँडा मारेर खाग तयार पारी बसेका छन् भन्ने खबर आयो, सुराकीबाट । मैले गणपति कर्णेल प्रभुराम शर्मासँग कुराकानी गरेँ। सेनाका बाइस जनाको टोली अपरेसनमा जाने भयो । हाम्रा तर्फबाट रेन्जर विष्णु थपलिया र प्रमोद यादव, अनि गेमस्काउट लप्टन थारु लगायत थियौँ । एक जना सुराकीसमेत करिब तीस जना भयौँ । जान त जाने तर जानुपर्ने ठाउँ अत्यन्तै अप्ठ्यारो, विकट र माओवादीका कार्यकर्ता पनि हुन सक्ने सम्भावना भएको थियो ।

मैले सुराकीलाई भनेँ– ‘माओवादीहरु त्यहाँ छन् र भेटिन्छन् भने हामी जाँदैनौँ । उनीहरुसँग भेट भयो र भिडन्त भयो भने हामीलाई नराम्रो हुन्छ ।
सेनालाई पनि यिनीहरुले लगेर भिडन्तमा पारे भन्ने हुन्छ; माओवादीलाई पनि सुराकी गरेर सेना ल्याए भन्ने पर्छ। त्यस्तो भयो भने गैँडा संरक्षणको काममा र हामीलाई व्यक्तिगत रुपमा समेत अप्ठ्यारो पर्छ; हामी चेपुवामा पर्छौं ।’ उसले भन्यो– ‘त्यसका लागि म ग्यारेन्टी भएँ; केही हुँदैन ।’

हामी रातको करिब एघार बजेतिर वीरेन्द्रनगरको पम्पा खोला पुलनजिकै पूर्वपश्चिम राजमार्गमा गाडी रोकेर पैदल उत्तरतर्फ लाग्यौँ, किनकि बाटो कच्ची भएकाले एम्बुसमा पर्ने खतरा बढी थियो । हामी सबै जना सुराकीको भरोसामा हिँडेका थियौँ । त्यहाँको बाटो, पुग्ने ठाउँ, लाग्ने समय, वस्तुस्थितिबारे हामीमध्ये कसैलाई पनि केही थाहा थिएन । हामी टर्च पनि नबाली घरी खेतैखेत त घरी खोलैखोला हिँड्थ्यौँ । करिब एक–डेढ घण्टाको हिँडाइपछि कोराक गाविसको काली खोला भन्ने ठाउँमा पुगेछौँ ।

सुराकीले टाढैबाट देखायो– ‘उः त्यो ठाउँमा हो तिनीहरुको घर।’ तीन–चार घर भएको, दक्षिण फर्केको पाखामा पुग्नुपर्ने रहेछ । हामी पहिले तल झर्यौँ अनि सानो खोल्सो तरेर उकालो लाग्यौँ। सुराकी भने उकालो लाग्ने ठाउँको परालको टौवामा बस्यो । उसका लागि हाम्रा एक–दुई साथी त्यहीँ छाड्यौँ । हामी घरनजिक पुग्दा कुकुर भुक्न थाले। हामीले घर घेर्यौँ ।

बूढाबूढीहरु आँगनमै सुतेका रहेछन् । घरभित्र भएका कुमार भन्ने रामकुमार र उसको भाइ राजकुमार प्रजालाई बाहिर निकालेर आँगनमा उभ्यायौँ । रेन्जर विष्णु थपलियाको टोलीले अलि पर पुगेर एउटा गोठबाट मङ्गले प्रजालाई पक्राउ गरेर ल्यायो। सुराकीले पहिल्यै मङ्गले गोठमा सुत्छ भनेर सूचना दिइसकेको थियो ।

मङ्गले र रामकुमारले गैँडा मारेर खाग लुकाएर राखेका छन् भन्ने सूचनाका आधारमा हामी त्यहाँ गएका थियौँ। राजकुमारलाई चाहिँ त्यो घरको केटो मान्छे भएकाले मात्र आँगनमा राखिरहेका थियौँ । सुराकीले ‘राजकुमार होइन; उसलाई नसमात्नू’ भनेको थियो। हामीले रामकुमार र मङ्गले दुवैलाई खाग कहाँ छ भनेर सोध्न थाल्यौँ । सबै जना आँगनको डिलमा थियौँ । एक्कासि राजकुमार तलतिर भाग्यो। भाग्नेबित्तिकै सैनिकहरुले ‘फायर’ भनेर फायर खोले ।
मैले आत्तिँदै भनेँ– ‘नहान्नुस्, नहान्नुस्।’
क्याप्टेनले भन्नुभयो– ‘त्यही थियो होला प्रमुख, भाग्यो।’
मैले उहाँलाई सम्झाएँ– ‘ऊ हाम्रो पक्राउ लिस्टमा थिएन।’

राजकुमार भाग्नुका दुइटा कारण हुन सक्थे । एक त ऊ वैशाखमा पक्राउ परेर पच्चीस दिन थुनामा बसिसकेकाले फेरि थुनामा बस्नुपर्ने भयो भनेर आत्तिएको हुन सक्थ्यो, अथवा हामीले ‘खाग खोइ?’ भनेर सोधेकाले अब जेल परिने भइयो, भागेपछि भागिहालिन्छ भन्ने सोचेको हुन सक्थ्यो । पक्रेर घरबाहिर ल्याउँदा पनि ऊ पानी खाने निहुँले पछाडिपट्टि जान खोजिरहेको थियो। त्यो बेला भाग्ला भनेर तानेर ल्यायौँ। पछि भाग्दा साथीहरुले एक्कासि फायरिङ त गरे, तर उसको स्पिड र अँध्यारोले गर्दा गोली लागेन । सैनिकहरु टर्च बालेर फायर गर्थे तर ऊ त्यतिन्जेलमा अरु पर दौडिसक्थ्यो । पाँच–सात जना लहरै उभिएका सैनिकले एम–१६ मेसिन गनले करिब पच्चीस–तीस राउन्ड फायर गरे। ‘फायर बन्द’ भएपछि केही नराम्रो भयो कि भनेर कतिपय साथी तलतिर खोज्न गए, तर त्यस्तो केही भएनछ । मेरो मन ढुक्क भयो ।

हामी मङ्गले र रामकुमार प्रजालाई लिएर सौराहा आयौँ । यसभन्दा अगाडि दसैँको अष्टमीको दिन पनि तिनीहरु पर्सा बजार आउँदै छन् भनेर दिनभर गेमस्काउट लप्टन थारु र म खैरहनी र पर्सा बजारबीच कुरेर बसेका थियौँ । त्यो बेला तिनीहरुलाई पक्रन सकेको भए आज काली खोलासम्म पुग्नुपर्ने थिएन ।

खेतमा करेन्ट


गत भदौमा पूर्वी चितवनको कुमरोज गाविसस्थित केदारबहादुर बस्नेतको खेतमा एउटा वयस्क गैँडा मृत अवस्थामा फेला परेको थियो । पोस्टमार्टम गर्दा विद्युत् करेन्ट लगाई मारिएको थाहा भयो। केदारले खेत कमाउन दिएका कुजुवा चौधरी र पलट चौधरी गैँडा मरेपछि भागेछन्; त्यसका आधारमा उनीहरुले नै करेन्ट गाएको हुनुपर्छ भन्ने चर्चा चल्यो । सुराकी लगाउँदा उनीहरुलाई केदारले नै पैसा दिएर भगाएको र दुवै जना दिव्यनगरमा ज्याला मजदुरी गरेर बसिरहेको थाहा पाइयो ।
कात्तिक ७ गते उनीहरुलाई पक्राउ गरेर सोधपुछ गर्दा केदारले नै बिजुलीको तार किनेर दिएको र करेन्ट लगाउन लगाएको बयान दिए ।

त्यसपछि केदारलाई पनि पक्राउ गरियो। उनले ‘कुजुवा र पलटले जनावर धपाउन करेन्ट लगाएका होलान्; मैले केही भनेको छैन; उनीहरुले नै गरेका हुन्’ भने। बयान र अनुसन्धानपछि गैँडा मारेर खाग व्यापार गर्नेभन्दा पनि आफ्नो बालीनाली जोगाउने र अन्य जनावर परे मारेर खाने उद्देश्यले करेन्ट लगाएको देखियो र उनीहरुमाथि कारबाही अगाडि बढाइयो । यसबाट गैँडालाई करेन्ट लगाउने प्रवृत्तिमा केही समय भए पनि कमी आयो ।

कात्तिक १८ गते म टाँडी बजारमा थिएँ। सुराकीले ‘गैँडा चोरी सिकारमा संलग्न चितवन, कठार गाविसको एउटा मान्छे जग्गा बेचबिखन गर्ने क्रममा टाँडी आएको छ’ भन्यो। उसलाई सिनियर गेमस्काउटले चिनेको रहेछ ।
हामी बकुलहर चोकमा पुगेपछि मैले गाडी रोकेँ। उसले चौतारीमा श्रीमतीसँग बसिरहेको विक्रम चौधरीलाई पाखुरामा समातेर ल्यायो ।
श्रीमतीले ‘किन हो?’ भनेर मसँग आएर सोधिन् ।
‘भरतपुरमा काम छ, जग्गासम्बन्धी,’ मैले ढाँटेँ ।

कसरामा ऊसँग सोधपुछ गरियो, तर केही खुलेन । पूर्वी चितवनमा खुबै गैँडा मर्थे । कठारस्थित देवीस्थान सामुदायिक वनमा पनि । उसको घर त्यहीँनजिक थियो । सुराकीले ऊसँग बन्दुक पनि छ भनेको थियो तर अनुसन्धानबाट केही खुलेन । हामीले निर्दोष मान्छेलाई पक्रे जस्तो लाग्यो र जिम्माजमानीमा छाडिदियौँ ।

ठोसप्रमाण वा विशेष क्ल्यु नभई गैँडा मारेको कसैले पनि स्वीकार गर्दैन र अनुसन्धान गर्न पनि कठिन हुन्छ। सुराकीको अनुमानका भरमा भनौँ वा उनीहरुको लहैलहैमा लाग्दा कहिलेकाहीँ निर्दोषहरु पनि पर्न सक्ने अवस्था आउँछ ।

क्रमश:

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics