तीन पोका खुर्सानीको धूलो बाेकेर तस्कर पछ्याउँदा..



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  अाठाैँ अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

खुर्सानीको धूलो—तीन पोका


२०६० कात्तिक २२ गते बिहानतिरको कुरा हो; सुराकीले ‘पर्सा बजारमा तुरून्त आउनू’ भनेर फोन गर्यो । मुखिया श्रीरङ्ग कँडेल, ड्राइभर डिल्लीजङ्ग तामाङ, गेमस्काउट महेन्द्र थापा र म तत्काल गयौँ । पर्सा बजार पुगेपछि एउटा पसलतिर देखाएर उसले भन्यो– ‘दावा लामा त्यो पसलमा बसेर रक्सी खाँदै छ ।’

उसले हामीलाई दावाको हुलिया, कपडाको रङ्ग, उमेर सबै बतायो । खास चिह्नचाहिँ उसको देब्रे हातको बूढी औँलो बन्दुक पड्केर काटिएको थियो । दावा निकै खतरनाक मान्छे हो भन्ने मलाई थाहा थियो । ड्राइभरबाहेक हामी तीन जना मात्र थियौँ । सिकारी हो, ऊसँग पेस्तोल, खुकुरी हुन सक्छ; गुन्डा दादा हो, फाइटर पनि हुन सक्छ; पक्रन खोज्दा भाग्यो भने के गर्ने भनेर मलाई तनाव भयो। सोच्दै जाँदा पुरानो घटना सम्झेँ ।

२०४६ सालको कुरा हो । फागुन ७ गते, जनआन्दोलन सुरू भएको दिन । म तोकिए बमोजिम एघार बजे पोखराको नालामुख बजार पुगिसकेको थिएँ । पार्टीका मान्छे त्यति धेरै देखिँदैनथे । चोक र गल्लीमा प्रशस्त प्रहरी देखिन्थे ।

यत्तिकैमा अलि तलबाट बीस–पच्चीस नेताहरु नारा लगाउँदै माथितर्फ आइरहेको देखेँ । तर एक हूल प्रहरी पुगेर उनीहरुलाई चिरिप्पै पारे। म यताउता हेर्दै घरी तल, घरी माथि गर्दै थिएँ । एउटा गल्लीमा वन विज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पसका स्ववियु सभापति धीरेन्द्रप्रसाद सिंह भेटिनुभयो । उहाँ मोस्ट वान्टेड हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पूर्ण हुलिया बदल्नुभएको थियो । मुखमा रूमाल बाँध्नुभएको, ठूलो कोट लगाउनुभएको । मलाई आफूतर्फ आउन इसारा गर्नुभयो । कसिलो गरी हात मिलाउनुभयो । अनि आफ्नो कोटको दाहिने खल्तीबाट सिसी निकालेर देखाउनुभयो र भन्नुभयो– ‘यो एसिड हो, पुलिस आयो भने हान्न ।’

अनि कोटको देब्रे खल्तीबाट निकाल्नुभयो रातो खुर्सानीको धूलो एक प्याकेट ।
‘यो पुलिसका आँखामा छर्कने।’
म स्तब्ध भएँ उहाँको तयारी देखेर । त्यति बेला उहाँ साँच्चै लडाइँ लड्न जान लागेको गुरिल्ला जस्तो भान हुन्थ्यो ।
त्यो घटना सम्झेर मैले पनि दावा भाग्न खोज्यो भने खुर्सानीको धूलो आँखामा हालिदिने योजना बनाएँ । अनि किरानापसलमा गएर तीन पोका खुर्सानीको धूलो किनेँ । एक–एक पोका महेन्द्र र कँडेलजीलाई दिएँ । ड्राइभर डिल्लीजङ्गलाई ‘मान्छे पक्रेको देख्नेबित्तिकै गाडी ल्याइहाल्नू’ भनेँ ।
महेन्द्रलाई पसलबाहिर उभ्यायौँ; कँडेलजी र म चुरोट तान्दै भित्र पस्यौँ । एउटा टेबुलमा दुई जना रक्सी र मासु खाँदै थिए । साहुनी चुल्होमा थिइन् । मैले सुराकीले भने बमोजिमको हुलिया हेरेँ र यही हुनुपर्छ भन्ने लागेर एक जनालाई ‘के छ दावा ?’ भनेँ ।

उसले ‘ठीक छ सर, बसौँ’ भनेर अगाडिको रक्सीको गिलास पर सार्न देब्रे हात लम्कायो । मैले देखिहालेँ उसको बूढी औँलो नभएको । अब मलाई दावा यही हो भन्नेमा कुनै द्विविधा थिएन। म चुरोट पिउँदै गएकाले उसले जाँड खान आयो भन्ने सोच्यो होला । म पनि टिपटप थिइनँ; झुत्रे–झाम्रे नै थिएँ । तर कुन्नि किन हो उसले मलाई ‘सर’ भनेर सम्बोधन गर्यो ।
मैले उसलाई ‘हामीसँग हिँड दावा’ भनेँ ।
उसले भन्यो– ‘म दावा होइन ।’
म कड्किएँ– ‘तेरो नाम के हो त ?’
‘मेरो नाम तोरमबहादुर बजु हो ।’
‘पदमपुर घर होइन ?’
उसले ‘मेरो घर त ललितपुरको धुसेल हो’ भनेर नागरिकता देखायो ।

तर पनि मलाई यकिन थियो, यो नै दावा लामा हो भनेर । हामीले उसलाई र ऊसँगै खाजा खाँदै गरेको मान्छेलाई पनि लिएर हिँड्यौँ । गाडीमा चढाएर हिँड्दासम्म थुप्रै मान्छे जम्मा भएर ‘के भयो, के भयो?’ भन्दै थिए । हामीले ‘केही होइन’ भन्यौँ। होटलकी साहुनी हेरेको हेर्यै भइन् ।

बाटामा हामीले सँगै भएको अर्को मान्छे को हो भनेर दावालाई सोध्यौँ तर उनीहरु एकअर्कासँग अपरिचित रहेछन् । त्यसैले उसलाई त्यहीँ छाडिदियौँ । जे होस्, खुर्सानीको धूलो प्रयोग नगरीकनै दावालाई पक्राउ गर्न सकियो । त्यो पनि तीन जनाले मात्र । तर खुर्सानीको धूलो त्यति बेला हिम्मत बढाउने साधन बन्यो । त्यसले हाम्रो मनोबल बढायो, ऊ हाम्रो हातबाट भाग्न पाउँदैन भनेर ।

दावालाई सौराहामा ल्याएर सोधपुछ गर्यौँ तर उसले खास केही कुरा भनेन । दिनभर हामी अरु काममा व्यस्त भयौँ । बेलुका उसलाई लिएर सौराहाबाट टिकौली हुँदै खगेरी नहरको बाटो देवनगरतर्फ लाग्यौँ ।

जङ्गलमा पुगेपछि ‘साँचोसाँचो नभने यही बीसहजारी तालको जङ्गलमा एक्लै छाडिदिन्छौँ’ भनेर उसलाई मानसिक दबाब दिन थाल्यौँ। त्यसपछि उसले हामीलाई सबै कुरा बताइदिने बाचा गर्यो। हामी पुनः सौराहा फर्कियौँ । उसले कुरा खोल्यो— आज गैँडा मार्न जाने सल्लाह भए बमोजिम ऊ वीरेन्द्रनगरको लाहुरे र उसको जेठानलाई पसलमा कुरेर बसेको रहेछ ।

त्यो थाहा भएपछि वीरेन्द्रनगर, वानगु्रपमा अपरेसनमा जाने तयारी गर्यौँ । क्याप्टेन विशालबहादुर शाह र मसहितको संयुक्त टोली राति त्यसतर्फ लाग्यो । भनिएको ठाउँभन्दा निकै वर पीपलको बोटमुनि गाडी रोक्यौँ । त्यहाँ माओवादीको तुल टाँगिएको थियो । ड्राइभर डिल्लीजङ्ग र महेन्द्रलाई गाडीमै छाडेर हिड्यौँ । लाहुरेको ससुराली घरमा पुगेर घेरा हाल्यौँ। उसको जेठान बस्ने अर्को सानो घर पनि घेरामा पार्यौँ ।

लाहुरेको ससुरो बाहिर सुतेको थियो ।
हामीले ‘लाहुरे खोइ?’ भनेर सोध्यौँ ।
उसले ‘थाहा छैन’ भन्यो ।
ढोका खोलेर भित्र हेर्यौँ; लाहुरे थिएन। तलामा चढेर हेर्यौँ; उसकी श्रीमती सुतिरहेकी थिइन् ।
उठाएर सोध्दा उनले ‘इन्डिया गएको छ’ भनिन् ।
मैले हप्काएँ– ‘आज सिमलटाँडीमा भेट भएको मान्छेले ऊ यहीँ छ भनेको छ; तिमी इन्डिया गएको छ भन्ने ?’
उनले भनिन्– ‘उसले गल्ती गर्दै हिँड्छ त मलाई के थाहा ? मेरो के दोष ?’
हामीले घर खानतलासी लियौँ तर उसलाई भेटेनौँ। लाहुरेको जेठानको घरमा हेर्यौँ; कोही लोग्नेमान्छे सुतेको थिएन । उसकी श्रीमती मात्र थिइन्। बिजुली बत्तीको उज्यालोमा बाहिरबाटै भित्रको सबै प्रस्ट देखिन्थ्यो । उनलाई उठाएर सोध्यौँ– ‘श्रीमान् खोइ ?’

रेडिमेड उत्तर आयो– ‘इन्डिया गएको छ ।’
त्यसपछि हामी निराश भयौँ ।
तर हाम्रो अर्को ‘मोस्ट वान्टेड’ वीरमान प्रजाको घर नजिकै थियो । त्यही मौकामा हामी उसको घरतर्फ लाग्यौँ । ऊ पहिले बस्ने घरमा ताला लगाइएको थियो । मान्छे त्यहाँ बस्न छाडेको घर वरपरको वातावरण हेर्दै बुझिन्थ्यो । हामी त्यसपछि उसको ससुराको घरमा गयौँ र अन्यत्र जस्तै घर घेरा हालेर खानतलासी लियौँ । त्यहाँ वीरमानकी श्रीमती र साली मात्र थिए । धन्सारमा खोजतलास गर्दा उसको ससुरो छबिर पुन भेटियो ।

मैले ऊसँग सोधेँ– ‘ज्वाइँ कहाँ छ?’
उसले भन्यो– ‘थाहा छैन ।’
‘बन्दुक कहाँ राखेको छ त ?’
‘त्यस्तो काम मैले गरेको छैन । छोरीलाई यहाँ नबस भनेको छु; वीरमानलाई पनि त्यस्तो काम गर्ने मान्छे यहाँ नआइज भनेको छु ।’

छबिरले नै वीरमानलाई बन्दुक र गोली दिन्थ्यो भन्ने सूचना हामीसँग थियो । त्यसका आधारमा हामीले उसलाई पक्राउ गरेर सँगै लिएर हिँड्यौँ । त्यसपछि सूर्य र कुमार पुन मगरलाई समात्नु थियो। तर उनीहरुको घर हामी कसैलाई थाहा थिएन । छबिरलाई सोध्यौँ । उसले घर देखाउन इन्कार गर्यो । उनीहरु छबिरका दाजुभाइका छोरा थिए ।

‘मैले पक्डाइदिएको भन्ने थाहा पाए भने मलाई गाल पर्छ सा’ब,’ ऊ भन्दै थियो ।
‘तिमीले बताएको भनेर थाहा दिँदैनौँ,’ हामीले फकायौँ ।

उसले उनीहरुको घर टाढैबाट देखाइदियो । रेडिमेड शैली अपनाएर घर घेरा हाली हामीले उनीहरुलाई समात्यौँ । दुवै सुतिरहेका थिए । एउटाको घरमा बीस इन्चीको नयाँ एलजी कलर टीभी थियो । हाम्रो टोलीका एक मित्र भन्दै थिए– ‘टीभी पनि लैजाऊँ; गैँडा मारेर किनेको त हो नि !’ तर मैले ‘अरुको सामान चलाउनु हुँदैन’ भनेर रोकेँ । हुन पनि उसको घर र अन्य सामान सामान्य थिए; तिनको तुलनामा टीभी महँगो थियो । गैँडा मारेर आएको पैसाले महँगो सामान खरिद गरेको हुन सक्थ्यो ।

अर्कोचाहिँ भर्खर विवाह गरेकी श्रीमतीसँग सुतिरहेको थियो । हामीले बाहिरबाट उठाउँदा उसलाई लाजमर्दो भयो र ‘सर एक छिन है’ भन्यो । हामी बाहिरै बस्यौँ; उसले कपडा लगाइसकेपछि मात्र भित्र पस्यौँ र उसलाई पक्रेर लग्यौँ । आजको मुख्य टार्गेट लाहुरेलाई पक्राउ गर्न नसके पनि अरु तीन जनालाई समात्न सफल भएकामा केही सन्तोष मान्दै बाटो लाग्यौँ ।

इनारमा कछुवा


कात्तिक ३१ गते वीरमान प्रजा पदमपुर (पुरानो) बाट डुङ्गा तरेर कठारतर्फ आएको छ भन्ने सूचना प्राप्त भयो। ‘वीरमान मसँगै डुङ्गा तरेको हो र कठारमा आएर धानको कुनिउँमा बसेको छ’ भन्यो सुराकीले ।

क्याप्टेन विशालबहादुर शाहसहित हामी बेलुका नौ बजेतिर हतारहतार पुरानो पर्सा बजार हँुदै कठारतर्फ लाग्यौँ । गाडी रोकेर खेतखेतै पाँच–छ वटा धानको कुनिउँ भए ठाउँ पुग्यौँ । वरिपरिबाट घेरा हाल्यौँ । परालका ससाना छाप्रामा केही मान्छे सुतिरहेका थिए । कति त श्रीमान्–श्रीमती सँगै थिए । हामीले उनीहरुलाई उठायौँ । बन्दुकधारी देख्नेबित्तिकै उनीहरु डराएको प्रस्टै देखिन्थ्यो ।

हामीले सबै कुनिउँमा व्यापक खोजतलास गर्यौँ, तर वीरमानलाई भेटेनौँ । सुराकी पनि सँगै थियो। उसले भन्यो– ‘नजिकै उसको आफन्तको घरमा गएको छ कि, त्यहाँ जाऊँ ।’

मैले भनेँ– ‘हचुवाको भरमा गएर उसलाई भगाउनु मात्रै हो, त्यसैले छाडिदिऊँ ।’ हामी त्यहाँबाट पनि खाली हात फर्कियौँ। वीरमानलाई पक्रने मेरो धोको फेरि अधुरै रह्यो ।

यसपछि हाम्रो टोली फर्केर देवनगरतर्फ लाग्यो । देवनगर पोस्टले सधैँ गुनासो गरिरहन्थ्यो– ‘हामीलाई एउटा मान्छेले धेरै दुःख दिन्छ; हप्कीदप्की गर्छ । कुट्छु पिट्छु भन्छ; रुख काटेर दिनदहाडै लान्छ । बीसहजारी ताल र खगेरी नहरमा विष हालेर माछा मार्छ । कछुवा पक्रेर हामीलाई देखाउँदै लैजान्छ– यी तेरो कछुवा लगेँ, तैँले के गर्छस् भन्छ ।’

त्यो मान्छे राकेश अधिकारी रहेछ । हामीले उसलाई पक्राउ गर्यौँ । ‘तैँले हिजो पक्रेर ल्याएको कछुवा कहाँ छ?’ भनेर सोध्दा ‘इनारमा राखेको छु’ भन्यो । हामीले उसलाई कछुवा निकाल्न इनारमा पठायौँ । ऊ इनारमा पसेर कछुवा खोज्न थाल्यो तर भेटेन । राकेशका साथीहरु पनि नभेटिएपछि हामी त्यहाँबाट फेरि पदमपुरतर्फ लाग्यौँ । सुराकीको सूचना अनुसार हामीले पदमपुरमा चन्द्रबहादुर पौडेललाई समात्यौँ। त्यसपछि पूर्णबहादुर तामाङलाई पक्रन गयौँ, तर ऊ भेटिएन ।

राकेश अधिकारीमाथि काठ काटेको र कछुवा पक्रेको अभियोगमा मुद्दा चल्यो । पछि ऊ धरौटीमा रिहा भयो । हामीले पक्राउ गर्नुभन्दा पहिले ऊ देवनगरमा दादागिरी देखाउने, रक्सी खाएर श्रीमती, बाबु, आमालाई समेत थर्काउने, कुटपिट गर्ने, निकुञ्ज कर्मचारीलाई दुःख दिने, सामुदायिक वनमा काठ चोरेर समितिलाई हैरान पार्ने गर्दो रहेछ ।

क्रमश:


 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics