विद्युतीय सवारी साधनको संख्या बढाउन सुझाव



वैकल्पिक ऊर्जा प्रवर्द्धनमा जोड दिँदै काठमाडौंकाे प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधनको संख्या बढाउन जनसंख्या तथा वातावरण मन्त्रालयलाई सुझाव दिइएको छ । मन्त्रालयले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पूर्वमन्त्री तथा सचिवहरूसँग गरेको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

उनीहरूले मन्त्रालयका कतिपय कार्यक्रम सेमिनार गोष्ठीमा सीमित बनेकोतर्फ ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्न आग्रह समेत गरे ।

वातावरण मन्त्री मिथिला चौधरीको पहलमा भएको छलफल कार्यक्रममा पूर्वमन्त्री तथा सचिवहरूले मन्त्रालयले कार्ययोजना मात्र बनाउने नभई काम गर्नुपर्यो कुरामा जोड दिएका थिए । विगतका कार्ययोजना कागजमा मात्रै सीमित भएकाले आगामी दिनमा पनि यस्ता योजना नबनाउन आग्रह समेत गरे ।

छलफल कार्यक्रममा पूर्वमन्त्री ठाकुर शर्मा, भक्तबहादुर बलायर, सुनिल मानन्धर, जयदेव जोशी, पूर्व सचिव डा केशव भट्टराई, डा कृष्णचन्द्र पौडेल, विजय मल्लिक, कृष्ण ज्ञवाली, स्वयम्भूमान अमात्यले मन्त्रालयको कार्यक्रम जनतासमक्ष नपुग्ने गरेकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीलाई आग्रह गरेका थिए ।

छलफलमा सहभागी मन्त्री तथा सचिवहरुले गत वर्षको बजेट मन्त्रालयको कुनै विभागमा ७५ प्रतिशतसम्म ‘फ्रिज’ हुनु दुःखद भएको भन्दै यसतर्फ मन्त्रालयको ध्यान जान जरुरी रहेको बताए ।

छलफलमा वातावरण संरक्षण कार्यक्रममा वैदेशिक ऋण लिन नहुने विज्ञहरुले बताए । उनीहरूले वन मन्त्रालयसँग कतिपय कार्यक्रम मिल्ने भएकाले वन मन्त्रालयसँग समन्वय गरी काम गर्न जरुरी रहेको बताए ।

मन्त्री चौधरीले सुझाव राम्रो भएको भन्दै कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताइन् । उनले आगामी दिनमा पनि मन्त्रालयले यस प्रकारकाे छलफल कार्यक्रम राखिने जानकारी दिइन् । मन्त्रालयका तर्फबाट सहसचिव रामप्रसाद लम्सालले मन्त्रालयको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics