जब तस्करले सोधे- ‘गैंडा कसरी मर्छ’ ?

‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको बार्हाैँ अंश –
(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)
गैँडा मार्न अरबबाट
पूर्वी चितवनबाट २०६० चैत १२ गते खबर आयो— वीरमान प्रजासहितका चोरी सिकारी गैँडा मार्न जान कठार गाविस, सुन्डीको एउटा घरमा बसिरहेका छन् । तुरून्तै सौराहाबाट क्याप्टेन विशालबहादुर शाह, म, मुखिया कँडेल, रेन्जर विष्णुसमेतको टोली त्यता लाग्यो । ड्याकमा गाडी अड्याई काजीमान तामाङको घर घेरा हाल्यौँ । तर ऊ सुत्ने गरेको ओछ्यान खाली थियो । माथिल्लो तलामा एउटा मान्छे सुतिरहेको थियो तर त्यो काजीमानको उमेर र अनुहारसँग मिल्दो थिएन ।
बाहिर टाँडमा तेर्ह–चौध वर्षकी केटी एक्लै सुतिरहेकी थिई । अरु सबैलाई बाहिर पठाई मुखिया साब र म केटी सुतिरहे ठाउँ गयौँ । ऊ मस्त निद्रामा थिई ।
हामीले उसलाई उठायौँ र भन्यौँ– ‘हामी तिम्रो बाका साथी हौँ; तिम्रो बा कहाँ जानुभयो ?’
उसले पल्याकपुलुक यताउता हेरी र भनी– ‘पानी लगाउन खेतमा जानुभएको छ ।’
त्यसपछि हामीले उसलाई सुत्न भन्यौँ र साथीहरुलाई लिएर खेततर्फ लाग्यौँ । दिउँसो काजीमान धान रोप्ने खेतमा काम गरिरहेको हाम्रो सुराकीले देखेको रहेछ, उसले त्यहीँ लग्यो । हामी पानीपानी भएको खेतका गरामा गाडिँदै बिरालाको चालमा गयौँ । तर ऊ त्यहाँ थिएन। कतिकति बेला टाढा टर्च लाइट बालेको देखिन्थ्यो। लाइट हामीतर्फ नै आउँदै गरेको जस्तो लागेर हामी खेतछेउको ढिस्कोमा एम्बुस थापेर बस्यौँ । त्यहीँनेर दुई जना मस्तसँग सुतिरहेका रहेछन् । फ्वाँ–फ्वाँ आवाज आइरहेको थियो । उनीहरुलाई उठाए हल्ला हुन्छ भनेर हामी अलि टाढै लुकेर बस्यौँ ।
एक छिनपछि को रहेछन्, हेर्नुपर्यो भनेर मुखिया र म गयौँ । आइमाई र लोग्नेमान्छे थिए । करिब एक घण्टा पर्खेर बस्ता पनि लाइट हामी भएतिर आएन । मुखिया र म फेरि सुतेका मान्छेलाई हेर्न गयौँ। त्यस बेला मुखियाले ओढ्ने उचालेर मुख हेर्नुभयो अनि मलाई भन्नुभयो– ‘काजीमान त यही हो!’ ऊ पहिले पनि गैँडा मारेको अभियोगमा जेल परिसकेकाले उहाँले चिन्नुहुँदो रहेछ । हामीले उसलाई निद्रामै पक्रियौँ । सँगै सुतेकी उसकी श्रीमती रहिछन्; रून–कराउन थालिन् ।
त्यसपछि हामी हठना दराईको घरमा गयौँ र घर घेरा हालेर उसलाई खोज्यौँ तर ऊ त्यहाँ थिएन । पानी लगाउन गएको छ भन्ने खबर पाइयो । त्यति बेलासम्म हल्लाखल्ला भइसकेको थियो । हामीले पानी लगाउने कुलोसम्म गएर हेर्यौँ तर भेटेनौँ । त्यो दिन नभेटिएको हठना अहिलेसम्म पक्राउ परेको छैन ।
त्यसपछि अघि हामीले काजीमानको घरमा सुतेको देखेको मान्छेलाई पनि उठाएर बाहिर ल्यायौँ । ऊ नुवाकोटको वर्तुनचेत गाविस बस्ने शेरबहादुर तामाङ रहेछ। ‘म भारतबाट आएको’ भन्दै थियो। ‘काजीमानसँग कहाँबाट चिनजान भयो ?’ भनेर सोध्दा ‘जेलमा सँगै बसेकाले चिनजान भएको’ भन्यो ।
‘के केसमा जेल परेको?’ भनेर सोध्दा ‘गैँडा केसमा’ भन्यो । त्यसपछि पक्का यो पनि गैँडा मार्न आएर बसेको हो भनेर हामीले उसलाई पनि पक्रियौँ । जनकपुर पोस्टमा पुगेर काजीमानसँग सोधपुछ गर्यौँ । केही बताएन ।
भर्खर काठमाडौँबाट सिकेको केरकार विधि अपनाएको, तत्कालै कुरा खोल्न थाल्यो । ‘अमृतेको जङ्गलमा दुइटा बन्दुक लुकाएर राखेका छौँ, देखाइदिन्छु’ भन्यो । त्यसपछि हामी सौराहा आयौँ ।
हामी भोलिपल्ट बिहानै बन्दुक खोज्न हिँड्यौँ । राप्ती नदी तरेर बगरैबगर अमृते पोस्टबाट पूर्वतर्फ लाग्यौँ । एक घण्टा हिँडेपछि जङ्गलमा उसले एउटा ढलेको रुखछेउ पुर्याएर ‘यहीँनेर कतै हो’ भन्यो। यताउता खोज्न थाल्यौँ तर भेटिएन ।
हामीले उसलाई हप्कायौँ– ‘बन्दुक देखाइनस् भने तँलाई मारिदिन्छौँ ।’ त्यसपछि उसले एउटा सानो रुखको फेदनेर पात पन्छाउन थाल्यो । अलिकति बालुवा हटाउनेबित्तिकै प्लास्टिकको पोको भेटियो ।
त्यो खोलेर हेर्दा भरूवा बन्दुक, बारूद, रडको गोली, सलाई आदि भेटियो । प्लास्टिकले राम्ररी बेरेको हुनाले सलाई पनि ओसिएको थिएन । मैले बन्दुक बरामद गरेको यो दोस्रो पटक थियो । पहिलो पटक मकालु वरूण राष्ट्रिय निकुञ्ज, सङखुवासभामा कार्यरत हुँदा बरामद गरेको थिएँ, २०५६ सालको चैतमा ।
गेमस्काउट हर्कबहादुर विक र म खाँदबारीबाट ताम्कु जाँदै थियौँ । ताम्कु आइपुग्ने बेला जङ्गलमा हामी हिँडिरहेको बाटोभन्दा माथिपट्टि ड्याङ्ग बन्दुक पड्क्यो । हामी झोला बाटोमा राखेर बिरालाको चालमा बन्दुक पड्केको दिशामा गयौँ, दुई जना दुईतिरबाट । अलि माथि उक्लेपछि देख्यौँ— एउटा मान्छे बन्दुकको नालमा लामो वस्तु छिराएर बारूद भर्दै थियो । हामी ऊभन्दा माथि, पछाडिबाट गयौँ ।
ऊ एकसुरले बन्दुकमा बारूद भरेर बसिरहेको थियो । हामी दुवै जना झ्याप्पै ऊ भएको ठाउँमा पुग्यौँ र पहिले बन्दुक पक्रियौँ । ऊ झसङ्ग भयो । उसलाई पक्रेर ताम्कु लैजाँदै गर्दा बाटोमा उसको घर पर्दो रहेछ । गाउँले सबै भेला भए । उसका छोरीहरु पनि आए । म त्यहाँको सगरमाथा माविमा स्वयंसेवी शिक्षकका रुपमा पनि पढाउने गर्थें; एउटी छोरी त मैले पढाउने विद्यार्थी नै रहिछन् । ती नानी बेस्सरी रोइन् । तर हामीले उसलाई छाड्ने कुरा थिएन ।
कसरामा सोधपुछ भयो । शेरबहादुर यसभन्दा अगाडि अनौठो तरिकाले जेल परेको रहेछ । ऊ साउदी अरेबियामा काम गर्न गएको रहेछ । त्यहाँ साथीहरुसँग कुराकानी हँुदा चितवनमा गैँडा मार्यो भने धेरै पैसा कमाइन्छ भन्ने सुनेछ । अनि त्यहाँबाट फर्केर काठमाडौँ आएछ र घर पनि नगईकन चितवन झरेछ ।
नारायणगढ आएर ‘गैँडा कहाँ पाइन्छ ?’ भनेर सोध्दा त्यहाँका मान्छेले ‘टाइगर टप्सतिर पाइन्छ’ भनेछन् र ऊ मेघौली आएछ, बस चढेर ।
अनि मेघौलीका मान्छेसँग सोधेछ– ‘गैँडा कहाँ पाइन्छ?’
उनीहरुले बताइदिएछन्– ‘राप्तीको तीर र निकुञ्जमा पाइन्छ ।’
ऊ राप्तीको बगरैबगर गैँडा खोज्न निक्लेछ ।
भैँसी, बाख्रा–गोठालाहरुलाई सोधेछ– ‘गैँडा कहाँ पाइन्छ ?’
तिनीहरुले देखाइदिएछन्– ‘उः, त्यहीँ आउँछ ।’
अनि सोधेछ– ‘गैँडा कसरी मर्छ ?’
गोठालाले भनेछन्– ‘खाल्डो खन्ने र खाल्डोमा परेपछि भालाले हानेर मार्ने ।’
त्यसपछि उसले राप्तीको तीरमा गैँची र सावेलले खाल्डो खनेछ अनि गैँडा कहिले पर्छ भनेर हेर्न थालेछ । यो गतिविधि थाहा पाएका कुनै सज्जनले भिम्लेस्थित निकुञ्ज पोस्टमा खबर गरेछन् । त्यहाँबाट खबर पुगेछ निकुञ्ज हेडक्वार्टर, कसरामा ।
कसराबाट गएको टोलीले गैँडा ढुकिरहेको शेरबहादुरलाई गैँची र सावेलसहित पक्राउ गरी मुद्दा चलाएको रहेछ । तीन वर्ष जेल बसेर छुटेपछि ‘अब घरतिर के जानु !’ भनेर ऊ भारततर्फ लागेछ । अरब गएको छोरो चितवनमा गैँडा मार्न खोज्दा जेलमा परेको छ भनेर घरपरिवारलाई थाहा पनि रहेनछ । भारतमा पनि खासै कमाइ नभएपछि घर फर्कन लागेको, छ–सात दिनको नेपाल बन्दले सुनौलीमा अलपत्र परेछ । त्यसपछि रेल चढेर पर्सा, ठोरी हुँदै पैदल यात्रा गरेर चितवन, कठार आइपुगेको रहेछ ।
कठारको बासिन्दा काजीमान र ऊ गैँडा केसमा भरतपुरको जेलमा सँगै बसेका थिए। त्यही चिनजानले पहिले जेलबाट छुट्नेबित्तिकै पनि ऊ काजीमानको घरमा आएको रहेछ । यस पटक पनि ऊ काजीमानकै घरमा आएको थियो । उसलाई पक्राउ गर्दाको दिनसम्म पनि नेपाल बन्द नै थियो ।
दुई–चार दिन भइसकेको थियो ऊ त्यहाँ बसेको । त्यसै अवधिमा पुनः गैँडा मार्न जाने सल्लाह भएको रहेछ। रोपाइँ सकेपछि जाने कुरा रहेछ । गोली हान्न जान्ने वीरमान ठोरीबाट आउने भन्ने खबर पनि आएको थियो भन्थे ।
शेरबहादुरसँग बयान लिन लाग्दा ऊ तामाङ लवजमा त्यही आफ्नो पुरानो कहानी बताउँथ्यो । उसले यी सबै घटना बताउँदा फिल्मको कहानीझैँ लाग्थ्यो र सुनिरहूँ जस्तो हुन्थ्यो । स्टाफहरु पटक–पटक उसलाई बाहिर ल्याएर त्यो कहानी भन्न लगाउँदा रहेछन् । गैँडा मार्न जाने सल्लाह गरेको भए पनि गैँडा मारिनसकेकाले शेरबहादुरविरूद्ध कुनै प्रमाण भेटिएन । वारदात नभएको अवस्थामा ऊविरूद्ध अभियोग लगाउन नमिल्ने हुँदा उसलाई हामीले जिम्माजमानीमा छाडिदियौँ ।
जाने बेला हाम्रा स्टाफहरु उसलाई जिस्क्याउँदै थिए– ‘अब चितवन आइस् भने बसबाट झर्दा पनि नझर्नू । झ्यालबाट निकुञ्जतर्फ चियाएको देखियो भने तँलाई पक्रन्छौँ । अब सपना पनि गैँडा मारेको नदेख्नू ।’
बरामद भएको बन्दुकबाट गैँडा मारिसकेकाले काजीमानलाई भने पुर्पक्षका लागि थुनामा पठाइयो ।
इकोसिस्टम
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नारायणी, राप्ती र रिउ लगायतका नदीमा ढलेपडेका रुख र तिनले पर्यावरणीय प्रणाली तथा जैविक विविधता संरक्षणमा पु¥याउने योगदानको निकै ठूलो महत्व छ । म निमित्त चिफ वार्डेन भएका बेला निकुञ्जछेउका विद्यालयबाट शिक्षकहरु प्रायः स्कुलका लागि काठ माग्न आउनुहुन्थ्यो । एक पटक निकुञ्जनजिकैको, शुक्रनगर गाविसस्थित प्रभात माविका प्रधानाध्यापकसहितको टोली आएको थियो ।
उहाँहरुले भन्नुभयो– ‘झ्यालढोकामा खापा नहुँदा हाम्रा नानीहरु पानीले रूझे । त्यसैले सके निकुञ्जभित्रबाट नभए नदीमा लडेका रुख हामीलाई निःशुल्क उपलब्ध गराउनुपर्यो ।’
उहाँहरुको माग जायज थियो तर म नदीमा लडेका रुख दिन सक्दिनथेँ । दिने अधिकार नभएर होइन, ती रुखहरुले निर्वाह गर्ने इकोसिस्टमका कारण । किनकी नदीमा लडेका रुखको जरा पानीमा हुने भएकाले त्यसबाट पानीको बहावको तीव्रता कम हुन्छ । अनि त्यहाँ भुमरी परी नदीको गहिराइ बढ्छ । नदीको गहिराइ बढ्दा माछालाई फुल काढ्न र बच्चा हुर्काउन सजिलो हुन्छ । जब माछाको सङ्ख्या बढ्छ, तब गोहीका लागि त्यो आहारा पाउने उत्तम ठाउँ बन्छ । त्यसै गरी माछामा आश्रित किङफिसर, कर्मोरेन्ट, बकुल्ला लगायतका चराहरुको सं्ख्या पनि त्यहाँ बढ्छ । ढलेका रुखका हाँगामा बसेर किङफिसरले पानीमा डाइभ हानी माछा निकाल्ने गर्छ ।
नदीछेउको अग्लो र खडा सालको रुखमा बसेर त्यसरी डाइभ हान्न उसलाई सम्भव हुँदैन । ढलेका रुखमा लागेका धमिरा खान भालु आउँछ । ओत त्यही रुखमा बसेर माछा टिप्ने जोखाना हेरिरहेको हुन्छ । अनि आफ्नो आहाराका रुपमा रहेको ओतको खोजीमा बाघ पनि त्यहीँ आइपुग्न सक्छ । जङ्गलमा ढलेका रुखमा पनि लगभग यही प्रक्रिया लागू हुन्छ ।
यसरी ढलेर कुहिन लागेका रुख वा मुढामा अडिएको सिङ्गो प्रकृति जानकारी गराउँदा उहाँहरु सहमतिसूचक पाराले मुन्टो त हल्लाउनुहुन्थ्यो, तर स्कुलमा ढोकाको खापा हाल्न ढलेका रुखका लागि जिद्दी गर्न छाड्नुहुन्नथ्यो । कहिलेकाहीँ निकुञ्जको व्यवस्थापन सामुदायिक वनका रुपमा गर्नुपर्ने कुरा उठ्ने गरेको छ । यसो गर्दा राम्रै होला भन्ने पनि कतिपयलाई लागेको हुन सक्छ । तर कुनै पनि देशको समग्र वन क्षेत्र व्यवस्थापन गर्ने एउटै तरिका, प्रणाली र अवधारणा हुन सक्दैन। भौगोलिक अवस्थिति, महत्व, उद्देश्य र राष्ट्र तथा स्थानीय बासिन्दाको चाहना र आवश्यकता अनुसार फरक नीति, कार्यक्रम, प्रणाली, अवधारणा वा व्यवस्थापनका तरिका अवलम्बन गर्नुपर्ने हुन्छ ।
२०६१ सालको खरखडाइ खुलेको बेलाको घटना हो, एउटी बघिनी तीन वटा डमरूसहित बसिरहेको झाडीमा दिव्यनगर गाविसवासीको एउटा समूह पुग्यो । आत्तिएर बघिनीले आक्रमण गर्दा एक महिलाको मृत्यु भयो। मान्छेको रगतको स्वाद चाखेकी बघिनीले त्यसपछि पटक–पटक मान्छेलाई आक्रमण गर्न थाली र ‘म्यानइटर’ बनी । अब बघिनीको आवश्यक अनुगमन गर्न डार्टिङ (बन्दुकमार्फत औषधिले बेहोस बनाउने काम) गर्नुपर्ने भयो । अमेरिकी वैज्ञानिक डेभ स्मिथ लगायतको टोलीले धेरै दिनको प्रयत्नपछि बघिनीलाई डार्ट गर्यो । डार्ट गरेको भोलिपल्ट बघिनी मरी ।
बघिनी मरेको आठ–दस दिनपछि दिव्यनगरमा उसैको एउटा डमरू मारेर चौतारीको रुखमा झुन्ड्याइएको छ भन्ने खबर आयो। निकुञ्जको टोलीले त्यसलाई कसरा ल्यायो ।
त्यसको केही दिनपछि म भरतपुरमा थिएँ; मोबाइलमा कसराबाट फोन आयो– ‘गुञ्जनगर, गाजापुर ब्यारेकमा मरेको डमरू छ, लिएर आउनुहोला ।’
म एक्लै गाडी हाँकेर गाजापुर पोस्ट पुगेँ। डमरू खाना नपाएर लखतरान परेको रहेछ, तैपनि गाउँलेहरुले त्यसलाई पिटेर मारेका रहेछन् । डमरूको जीउमा आलो घाउ, नाक र मुखबाट रगत बगेको प्रस्टै देखिन्थ्यो । म त्यो मरेको डमरू गाडीमा राखी एक्लै कसरा फर्कें । त्यो फुच्चे बाघ किनकिन आफ्नै छोरा जस्तो लाग्यो । अहिले पनि त्यो डमरूको मृत शरीर मेरा आँखामा घुमिरहन्छ । आफ्नो कलिलो छोरो कसैले मारिदिँदा कुनै पिताको मनमा जस्तो हुन्छ, मलाई त्यो बेला त्यस्तै भइरहेको थियो । त्यो बच्चा बाघ मार्नेहरुप्रति निकै रिस उठ्यो । रिसको आवेगमा आफू कसरा पुगेको मैले पत्तो पनि पाइनँ ।
कसरा पुगेर पत्रकार प्रभाकर घिमिरेलाई फोन गरेँ । त्यसको दुईतीन दिनपछि पत्रिकाको अघिल्लो पृष्ठमा ‘युएस ट्रेस पासर किल टाइगर इन चितवन पार्क’ शीर्षकमा समाचार प्रकाशित भयो । शीर्षकको अर्थ हुन्थ्यो— सुटुक्क पसेका अमेरिकीहरुले चितवन पार्कमा बाघ मारे । समाचारको स्रोतका रुपमा मेरो नाम उल्लेख गरिएको थियो । किन यस्तो भनेको भनेर मलाई फोन आउन थाल्यो। राष्ट्रिय निकुञ्ज विभागबाट स्पष्टीकरण सोधियो, किन त्यो कुरा पत्रिकामा भनेको भनेर। मलाई चिन्ने कतिपयले चाहिँ ‘तपाईंले ठीक गर्नुभयो’ पनि भने ।
भएको के थियो भने, धेरै दिनको खोजीपछि एक दिन दिउँसो बार्ह बजे बघिनी भेटिई । त्यसपछि त्यो टोलीले बघिनीलाई डार्ट गरेछ । नाप, जाँच र ब्लड नमुना लिएपछि एन्टी–डोट दिएर त्यसलाई छाडिएछ । तर बघिनीलाई त्यसपछि होस आएन; बेहोस अवस्थामै भोलिपल्ट ऊ मरी । उसका करिब नौ–दस महिनाका तीन वटा डमरूलाई कसरी सिकार गर्ने भन्ने जानकारी थिएन । भोकाएका ती डमरू खाना खोज्दै गाउँ छिरे । तिनले गाउँका कुकुर र बाख्राका पाठा पक्रन्थे । तर मार्न सक्दैनथे । बच्चा भए पनि बाघ न थिए, त्यसैले केही नगरे पनि गाउँलेहरुले तीमध्ये दुई वटालाई मारेका थिए ।
अर्की पोथी डमरूचाहिँ मेघौलीतिर गएकाले बचेकी रहिछ । गाउँमा भोकभोकै भौँतारिँदै डुलिरहेका बेला उसलाई गाउँलेहरुले देखेछन् । तर गुञ्जनगरतिरकाले जसरी उनीहरुले त्यसलाई मारेनन् । बरू बोराले छोपेर पक्री निकुञ्ज कार्यालयमा खबर गरे । निकुञ्जको टोलीले त्यसको उद्धार ग¥यो । बाघकी त्यो बच्चीको पालनपोषण सौराहामा भयो । पुनर्जीवन पाएकी त्यो बघिनीलाई ‘नारायणी’ नाम दिएर कसरामा ल्याएर राखियो । पछि त्यसलाई सदर चिडियाखाना, काठमाडौँमा पठाइयो । करिव दश वर्षको उमेरमा उसको चिडियाखानामै असामयिक निधन भयो । ऊ त्यहाँ आउने सबै पर्यटकहरुको आकर्षणको केन्द्र बनेकी थिई । तर त्यसको वातावरणीय सन्तुलन कायम गर्ने महत्व (इकोलोजिकल भ्यालु) समाप्त भएको थियो । त्यो एउटी बघिनीका रुपमा मात्र बाँचेकी थिई ।
बाघ विशेषज्ञ कहलिएका डेभ स्मिथले वैशाखको गर्मीमा दिउँसो बार्ह बजेको चर्को घाममा डार्ट गर्नु नै ती निर्दाेष बच्चाकी आमाको मृत्युको कारण थियो । किनकी डार्ट गर्दा शरीरको तापक्रम अत्यधिक बढ्छ । तापक्रम घटाउन चिसो पानी शरीरमा खन्याउनुपर्ने हुन्छ । तर उनीहरुले एक बाल्टिन पानी पनि आफूसँग लगेका रहेनछन् । कतिसम्म भने, शरीरको तापक्रम मापन गर्ने थर्मोमिटरसमेत रहेनछ । उनीहरुले हतारमा आफूलाई चाहिने रगतको नमुना र आवश्यक नापजाँच लिए, अनि एन्टी–डोट दिई त्यसलाई त्यसै छाडिदिए । बघिनी होसमा आउँछे वा आउन्न कुनै वास्ता गरेनन् । फलतः बघिनी मात्र होइन, उसका बच्चाहरुले समेत अकालमा ज्यान गुमाए ।
निकुञ्जभित्र पस्न नेपालीले पनि निकुञ्ज प्रशासनबाट अनुमति लिनुपर्छ । अझ बाघलाई डार्ट गर्न त मन्त्रालयबाटै अनुमति लिनुपर्छ । तर तिनले त्यस्तो अनुमति लिएका रहेनछन् । उनीहरुसँगै निकुञ्जको भेटनरी प्राविधिक पनि थिए । तर विदेशीहरुले तिनलाई हात्तीबाट समेत ओर्लन नदिई आफैँले सम्पूर्ण काम गरेका रहेछन् । यसरी औपचारिक अनुमतिबिना निकुञ्जमा पसेर लापरबाहीपूर्वक काम गरी बघिनीको अकाल मृत्यु गराएको र उसका तीन डमरूलाई बेहाल बनाएको घटना वन्यजन्तु रेखदेख गर्ने हेरालुको हैसियतले मेरा लागि असहनीय थियो । त्यसैले पत्रपत्रिकालाई त्यससम्बन्धी वस्तुतथ्य जानकारी नदिई मनले मानेन । यही कारण मसँग स्पष्टीकरण सोधियो ।
चार वटा बाघको नाश हुनु भनेको संरक्षणका दृष्टिकोणले निकै गम्भीर घटना हो । सानो र कमजोर देशमा ठूलो र शक्तिशाली देशका मान्छेहरुले जे गर्दा पनि हुन्छ भन्ने हेपाहा प्रवृत्ति र निकुञ्जभित्र मान्छेको हूल पसेका कारण त्यो घटना हुन पुगेको थियो ।
निकुञ्जलाई पनि सामुदायिक वनको अवधारणा अनुसार संरक्षण गर्ने हो भने स्थानीय बासिन्दाहरु दैनिक हजारौँको संख्यामा वन पैदावार संकलन गर्न जङ्गल पस्नेछन्। त्यस बेला निकुञ्जका वन्यजन्तुको अवस्था कस्तो होला भन्ने यो एउटै उदाहरणबाट बुझ्न सकिन्छ । बाघ, गैँडा जस्ता वन्यजन्तुको संरक्षण जहाँ चाह्यो त्यहीँ गर्न सकिन्न । तिनका लागि छुट्ट्याइएको क्षेत्रमा तिनको स्वतन्त्रता र जीवन शैलीमा दखल पुर्याउनु हुँदैन ।
नारायणीमा माछा पाइने ठाउँ भनेकै निकुञ्ज क्षेत्र मात्र हो । यहाँ पनि धेरै मान्छे पसेर उनीहरुको जीवन शैलीमा खलल पुर्याउन थाल्ने हो भने तिनको संरक्षण हुन सक्दैन। र, अन्ततः माछा विनाश हुन पुग्छन् । बच्चासहितका मृगहरुको बगालबीच सयौँको सङख्यामा मान्छेहरु घाँस काट्न गए भने मृगको बथानमा ज्यान जोगाउन भागदौड मच्चिन्छ । भागदौड हुँदा गर्भिणी मृगको गर्भ तुहिने हुन्छ भने ससाना मृगहरु खुट्टा भाँचिएर अपाङ्ग हुन पुग्छन् ।
कतिपय जनावरको समागम नितान्त शान्त वातावरणमा हुने गर्छ । हूलका हूल मान्छे डोका बोकेर घाँसका लागि निकुञ्ज प्रवेश गर्न थाले भने उनीहरुको समागम सम्भव हुँदैन । समागम नभएपछि गर्भ रहने कुरा भएन । जब गर्भ नै रहन्न, प्रजनन पनि हुँदैन । यसरी त्यस प्रजातिको अस्तित्व नै समाप्त हुने सम्भावना रहन्छ । त्यसैले घाँस काट्ने ठाउँ र जनावर संरक्षण क्षेत्र एउटै हुनै सक्दैनन् ।
बच्चा कोरल्न र हुर्काउन श्रीलङ्कादेखि चैत–वैशाखमा नेपाल आउने स्वर्गचरीले सानो रुखको सानो हाँगामा सानो गुँड बनाउँछन् । गुँड बनाउने रुख नै घाँस काटेर नाङ्गो पारिदिएपछि ती कहाँ बस्लान् ? अनि ती स्वर्गचरी श्रीलङ्कादेखि नेपाल कुन उद्देश्यले आउलान् ? अरु थुप्रै प्रजातिका चरा पनि छन्, जुन भुइँ घाँसमा गुँड लगाउँछन् । घाँस काट्दा उनीहरुको गुँड पनि नष्ट हुन्छ । सामुदायिक वनका सुक्खा र ढलापडा रुख निकालेर मान्छेले मात्र भागबन्डा लगाउँदा कहाँ गुँड बनाउँछन् चरा, सर्प लगायतका सुन्दर प्राणीहरुले ? त्यो बेला धमिराको गोलो कहाँ रहला र के खालान् चरा र भालुहरुले ? त्यो बेला कहाँ हेर्न पाइएला एउटा सिङ्गो मुढामा इकोसिस्टम ? र, के हेर्न, कसरी हाम्रो देशमा भित्रेलान् पर्यटकहरु ?
भनिन्छ, नारायणी नदी भएकै कारण माछा मार्ने बोटे, माझी र मुसहरहरुको जीविकोपार्जन हुन्छ । त्यसो भए उनीहरु निकुञ्जको उत्तरी सिमाना नवलपरासीको सिख्रौली घाटभन्दा उत्तर नारायणी किनारमा पनि बस्नुपर्ने हो। तर बसेका छैनन्, किनकि त्यहाँ नारायणी नदी भए पनि निकुञ्ज छैन र संरक्षण कार्य नभएकाले माछा पनि छैनन्। उनीहरु अहिले सिख्रौली घाटदेखि त्रिवेणीसम्म निकुञ्ज क्षेत्रमा मात्र थुप्रिएका छन् । तर तिनलाई नारायणी नदी र छेउछाउका साना नदीमा विष प्रयोग गर्नु हुँदैन भन्नेसम्म पनि ज्ञान छैन । वैशाखदेखि भदौसम्म माछाले फुल पार्ने र बच्चा हुर्काउने भएकाले त्यो बेला माछा मार्नु हुँदैन भन्ने हेक्का पनि छैन । सानादेखि ठूला सबै आकारका माछा मर्ने जाल प्रयोग नगरी हाते जाल मात्र प्रयोग गर्नुपर्छ भन्ने सुझाव पनि उनीहरु सुन्दैनन् ।
इकोसिस्टमलाई बेवास्ता गरेर जथाभावी गर्दै जाने हो भने न उनीहरुको जीविकोपार्जनको अवसर सुरक्षित हुन्छ, न त जैविक विविधताको संरक्षण नै ।
निकुञ्जलाई जलचरहरुको राम्रो वासस्थान बनाउन उनीहरुको जीवनशैलीमा अवरोध पुर्याउने मानवीय गतिविधिमा रोक लगाउनैपर्छ । निर्बाध बच्चा हुर्काउने र बालुवामा लम्पसार परेर घाम ताप्न पाउने गोहीको नैसर्गिक अधिकार हनन गर्न कसैले पनि पाउँदैन । देशका सबै क्षेत्र निकुञ्ज हुन सक्दैनन् । जुन क्षेत्रलाई वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षणका लागि छुट्ट्याइएको छ, त्यो क्षेत्रमा मानव क्रियाकलापलाई निषेध गर्नु अति जरूरी छ ।
क्रमश:
प्रतिक्रिया दिनुहोस