वनको काफल वनकै चरीलाई सुन्दै गैँडा अपरेसन

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २२औं अंश – 


(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्नथालेको हो ।)


 

केटी पो रहिछ
बीस–पच्चीस मिनेट हिँडेपछि काली खोला पुगियो। हामी खोल्सामा थियौँ; तल खेत थियो र माथि गाउँ। त्यसै बेला हामीले लक्ष्य गरेको कटेराबाट टर्च बालेर एउटा मान्छे तलतिर झर्दै थियो। हामी त्यहीँ रोकियौँ। ऊ सायद पिसाब फेर्न निस्केको थियो; एक छिनपछि पुनः टर्च बाल्दै माथितिरै उक्लियो।


मैले भनेँ– ‘हामीले यहाँ समात्नुपर्ने मुख्य मान्छे राजकुमार त्यही हो।’सुराकी पहिले लीलालाई समाउने अनि राजकुमारलाई भन्दै थियो।

म चाहिँ लीलाभन्दा राजकुमार खतरनाक छ, त्यसैले पहिले राजकुमारलाई समात्नुपर्छ भन्नेमा थिएँ। तर उसले जिद्दी नछाडेपछि ठीकै छ भनेर मैले दुई जनालाई तल खेतमा जान भनेँ र हामी माथिबाट आउँछौँ भनेर उकालो लाग्यौँ। बीचमा पुग्दा नपुग्दै गाउँका कुकुर जोडजोडले भुक्न थाले। जून टहटह लागिरहेको थियो; हामी हिँडेको सायद माथिबाट देख्न सकिन्थ्यो। लीलाको घर गाउँको सुरूमै रहेछ। बाहिरपट्टि दुई भन्ट्याङभुन्टुङ सुतिरहेका थिए। एक साथी घरमाथि चढ्नुभयो र भन्नुभयो– ‘ए उठ्!’ त्यसको प्रत्युत्तरमा ‘किन उठ्ने?’ भनेर आइमाईको आवाज आयो। मैले त्यति बेलासम्म लीला भन्ने केटो होला भन्ठानेको थिएँ तर त्यो त केटी पो रहिछ। ऊ ‘के? किन?’ भन्दै झर्केर हप्काएको स्वरले बोल्दै थिई। साथी पनि ‘तल हिँड्’ भनेर हप्काउँदै हुनुहुन्थ्यो। यत्तिकैमा तल खेतमा गोली पड्केको आवाजआयो। मैले सोचेँ— लौ मार्‍यो, अब आपत् पर्ने भयो।

गोलीको आवाज सुनेपछि लीला डराएर छिटछिटो तल आई। साथीले उसको एल्बम र पर्स पनि ल्याउनुभयो। निदाएका भन्ट्याङभुन्टुङ पनि गोलीको आवाजले जर्‍याकजुरूक उठे। कुकुरहरु गोलीको आवाजले डराएर कुइँकुइँ गर्दै कुना पसे र कराउन छाडे। हामी लीलालाई लिएर हिँड्न थाल्दा केटाकेटी रून–कराउन थाले। मैले ‘तिमीहरु नआत्तिईकन सुत; हामी तिम्रो ममीलाई तल पुर्‍याएर फर्काइदिन्छौँ’ भनेर फकाएँ।

तल पुगेर बुझ्दा थाहा भयो, साथीहरु कटेरामा पुग्नुभन्दा अगाडि नै राजकुमार त्यहाँबाट निक्लेर तलतिर भागेछ। तल ढुकेर बसेका साथीले  समात्न खोज्दा ऊ भागेपछि फायरिङ गर्नुभएछ। त्यसपछि ऊ फनक्क फर्केर अर्कातिर भागेछ। अर्को साथीले नजिकैबाट समात्न खोज्नुभएको, ऊ त्यहाँबाट पनि भाग्न सफल भएछ।

यसरी ऊ यस पटकसमेत गरी दुई चोटि भाग्न सफल भयो र दुवै पटक गोली छलेर उम्क्यो। हामी त्यहाँबाट निराश हुँदै फर्कियौँ र अलि वर आएपछि भिरालो पाखामा भएको एउटा घरबाट घटवारे काइँलो भन्ने जितबहादुर लामालाई पक्रियौँ। त्यसपछि वीरबल प्रजालाई समात्न उसको घर गयौँ।उसलाई ल्याउँदा श्रीमती रूँदै ‘म पनि जान्छु’ भन्दै निकै तलसम्म आइन्। हामीले वीरबललाई केही हुँदैन भनेर सम्झाई–बुझाई गरी उनलाई फर्काइदियौँ।

हाम्रो अपरेसन अझै बाँकी थियो। फर्कंदा चन्द्रबहादुर प्रजालाई पक्रनु थियो। यसभन्दा अगाडि २०६० सालमा रामकुमार प्रजालाई पक्रेको दिन ऊ परालको थुप्रोबीच सुतेको रहेछ। हामीले उसलाई घर खोज्यौँ। त्यति बेलासम्म ऊ उठेर केराघारीमा लुकेछ। यस पटक पनि चन्द्रेको भनेर गएको, भाइ काजीमानको घर पुगिएछ। उसैले चन्द्रेको घर देखाइदियो र त्यहाँ चन्द्रे फेला पर्‍यो। तर काजीमानको अपराधबारे कुनै जानकारी र सबुत नभएकाले हामीले अघिल्लो पटक जस्तै यो पटक पनि उसलाई छाडिदियौँ। पछि गोपाल प्रजालाई समातेपछि पो थाहा भयो, काजीमान पनि गैँडा मार्ने काममा संलग्न रहेछ।

लोकगीत सुन्दै अपरेसन

चन्द्रबहादुरले दिएको बयान अनुसार उसलाई मनकामना केबुलकार भएको ठाउँ कुरिनटारमा लाङ्गाली होटल खोलेर बसेको व्यक्तिले गैँडा मार्न बन्दुक दिएको थियो। पदमबहादुर प्रजासहितले दिएका खाग त्यो व्यक्तिले काठमाडौँबाट मान्छे बोलाएर त्यहीँ बेचिदिन्थ्यो। त्यो सुराकका आधारमा हामी एउटा टिम बनाएर २०६२ साउन १७ गते कुरिनटारतर्फ लाग्यौँ।भनिएको ठाउँमा हामीले लाङ्गाली होटल देखेनौँ। मैले छेउको एक जनालाई सोधेँ– ‘यहाँको होटल कता सर्‍यो? पहिले त हामीले यहीँ नास्ता खाएका थियौँ।’

त्यो मान्छेले ‘उः तल बाटोकिनारमा सरेको छ’ भन्यो। हामी त्यहीँ गयौँ।होटलमा अधबैँसे साहुनी थिइन्। हामीले चिसो मगायौँ अनि भटमास भुट्न भन्यौँ। चिसो खाँदै गर्दा तेर्‍ह–चौध वर्षका दुई गन्धर्व सारङ्गी रेट्दै आइपुगे र लोकगीत गाउन थाले— वनको काफल वनकै चरीलाई...। हामीले खानेकुरा खाइसकेपछि पैसा हिसाब गर्न साहुनीले आफ्नो श्रीमान्लाई   बोलाइन्। होचो–होचो, मङ्गोलियन अनुहारको, पचास वर्षजतिको, तालु खुइलिएको, भूपू लाहुरे जस्तो मान्छे आयो। चन्द्रबहादुरले बताएको हुलियासँग मेल खायो। अनि हामीले पैसा तिरेर उसलाई ‘एक छिन तपाईंसँग काम छ’ भनेर बोलायौँ।

गाडीछेउ पुगेपछि भन्यौँ– ‘हामी भरतपुरबाट आएका हौँ। यताका माओवादीहरसम्बन्धी कुराकानी गर्न तपाईंलाई मेजर सा’बले बोलाउनुभएको छ; हामीसँग हिँड्नुस्।’

ऊ ‘हुन्छ’ भन्दै लुगा फेरेर श्रीमतीसँग ‘नारायणगढ पुगेर आउँछु’ भनेर गाडीमा चढ्यो। बाटामा हामीले सोधपुछका लागि कसरा लैजान लागेको हो भनेपछि चाहिँ झसङ्ग भयो। तर प्रमाण जुटाउन नसकेको र केरकारमा पनि कुनै कुरा फुत्काउन नसकेकाले हामी उसलाई तारेखमा छाड्न बाध्य भयौँ।

टीकाराम मर्दनियालाई २०५७–५८ सालतिर नक्कली खागको केसमा पक्राउ गरेर तारेखमा छाडिएको रहेछ। उसको नाम हाम्रो फरार प्रतिवादीहरुको लिस्टमा थियो। पश्चिम सेक्टरका एक रेन्जरले त्यो लिस्ट हेरेछन् र ‘त्यो मान्छेलाई म राम्ररी चिन्छु; ऊसँगै एउटै पसलमा चिया खान्छु; कार्यालयले मलाई जानकारी नै दिएन’ भनेछन्। त्यसपछि मैले ‘सेनासँग समन्वय गरी पक्रनू’ भनेँ। उनले कोल्हुवाको सेनासँग मिलेर उसलाई साउन १८ गते समातेछन्। त्यसपछि केरकार गर्दा ‘म नक्कली खागको केसमा तारेखमा थिएँ; पछि मुद्दा फाँटको सुब्बा उत्तमप्रसाद खरेललाई दुई हजार दिएर तारेखमा जान छाडेको हुँ’ भनेछ।

टीकारामलाई कसरा ल्याएपछि मैले पनि सोधपुछ गरेँ।

उसले भन्यो– ‘म सधैँ तारेखमा आउने गर्थें। राप्ती पुलको गेटमा तारेख पर्चा देखाउँदा थप्पड लगाउँथे, गैँडा मारिस् भनेर। तारेखमा आउँदा पैसापनि थुप्रै खर्च हुन्थ्यो। म जस्तै तारेखमा रहेको दर्शनराज घिमिरे तारेखमा आउन छाडेको थियो। मैले ऊसँग ‘के गर्दा तारेख छुट्छ?’ भनेर सोधेँ। उसले ‘मैले दस हजार रूपैयाँ सुब्बा उत्तमप्रसादलाई दिएर तारेख छुटाएको हुँ; तिमीलाई पनि ऊसँग कुराकानी गराइदिन्छु’ भन्यो।

उसले भन्यो– ‘हामीले अफिसमा गएर कुरा गर्दा सुब्बाले सुरूमा त दस हजारै ल्याऊ भन्यो तर मैले ‘म गरिब मान्छे, त्यत्रो छैन; दुई हजार मात्र दिन सक्छु’ भनेँ। उसले ‘खोइ,लेऊ’ भन्यो। मैले पाइन्टको खल्तीबाट निकालेर उसैको टेबुलमा उसलाई दुई हजार दिएँ। उसले हत्त न पत्त पैसा मेरो हातबाट तान्यो र खल्तीमा हाल्यो। त्यसपछि उसले नाम कटाइदियो र म तारेखमा आउन छाडेको हुँ।फेरि अहिले दुःख पाएँ।’

उसलाई जिल्ला वन कार्यालय नवलपरासीले खागसहित पक्राउ परी जेल हालेको रहेछ। पछि उसले निकुञ्जको सुराकीको पनि काम गरेको रहेछ। त्यही क्रममा निकुञ्जले नक्कली खागमा पक्राउ गरेका व्यक्तिहरुले उसलाई रिसले पोलिदिएका रहेछन्। ऊ भन्दै थियो– ‘म निर्दोष छु। अर्काको जग्गामा तरकारी लगाउँछु; दुइटी श्रीमती छन् र दस जना छोराछोरी छन्।आफ्नो जमिन कत्ति पनि छैन। त्यही तरकारी खेती नै मेरो हातमुख जोड्ने माध्यम हो।’

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics