तस्करलाई जोगाउन आत्महत्या
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २६ औं अंश –
तस्करलाई जोगाउन आत्महत्या
असोज १ गते हामी समनबहादुरलाई पक्रने सुरमा टाँडीतर्फ लाग्यौँ। राजकुमार कुमाललाई पक्रने बेला नै सुराकीले राजकुमारको बन्दुक बनाइदिने मान्छे समनबहादुर हो भनेको थियो। तर जति सोध्दा पनि राजकुमारले ढाँटेकाले त्यति बेला प्रमाण पुर्याउन सकिएन। यसपल्ट भने म ढुक्कसँग
टाँडीको सुराकीलाई साथमा लिएर मोटरसाइकलमा उसको घरतर्फ गएँ।
गुणराज पाठक, जो जमानाका नामुद खाग तस्कर थिए, तिनको घरनजिकै रहेछ उसको घर। म बाहिरै बसेँ; ऊ भित्र गएर पत्ता लगायो। समनबहादुरघरमै थियो। मैले सौराहाबाट साथीहरु र गाडी मगाएँ।उनीहरु आएपछि मैले हात्तीसारको एक कर्मचारी साथीलाई स्प्रिङ पत्ता लिएर उसको घरमा गयौँ। ऊ माथि तलामा थियो।
मैले ‘को हुनुहुन्छ घरमा?’ भनेँ। उसले बाहिर निक्लेर ‘किन होला?’ भन्यो। सुराकी र रविले बताएको हुलियासँग उसको हुलिया ठ्याक्कै मिल्दो
थियो। मैले ‘यो पत्ताको खुकुरी बनाउनु थियो’ भनेँ। ऊ तल आयो। ऊसँग गफ गर्दै मैले आफूसँग आएको साथीलाई अरु साथीहरुलाई बोलाएर ल्याउन आँखाले इसारा गरेँ। हामी कुरा गर्दै थियौँ; साथीहरु सरासर भित्र आए।
त्यसपछि मैले उसलाई भनेँ– ‘तिमी हामीसँग हिँड।’ ऊ केही नबोली लुरूलुरू हिँड्यो। उसकी श्रीमती हाम्रो गाडी भएको चोकसम्म आइन्। ऊ गाडीमा बसिसकेको थियो। श्रीमतीले अमिलो मन गरेर ‘फेरि कता लाने हुन्?’ भनिन्। उसले पुलुक्क श्रीमतीलाई हेर्यो। हामी उसलाई लिएर कसरातर्फ लाग्यौँ।
बेलुका सोधपुछ सुरू भयो। ऊ आफूले केही नगरेको बताउँदै थियो। उसलाई पन्ध्र–बीस दिनअगाडि जिल्ला वन कार्यालयले पनि पक्राउ गरेर लगेको रहेछ तर त्यहाँ इन्कारी बयान दिएर छुटकारा पाएको रहेछ।
ऊ भन्दै थियो– ‘म निर्दोष छु सर।’ उसले केही नबताएपछि हामीले ‘रवि पाख्रिनलाई खाग दिएको होइन तिमीले?’ भन्यौँ। उसले ‘ल ल्याउनुस् ती बाबूलाई’ भन्यो। रविलाई सामुन्ने ल्याएपछि ऊ अलिक गल्यो। रविले ‘उहाँबाट मैले तीन वटा खाग लगेको हुँ’ भनेर कहिले, कति पैसा तिरेर लगेको सबै खुलाएपछि ऊ ‘ल भैहाल्यो, हो, मैले गरेको हुँ’ भन्न थाल्यो।
त्यसपछि हामीले ‘खाग तिमीलाई दिने को हो र तिमीले चाहिँ कसलाई कति वटा खाग दियौ?’ भनेर सोध्यौँ। उसले ‘गैँडा मारेर खाग ल्याउनेमध्ये
डुमरवानाको हरि विक एक जना हो’ भन्यो। आफूले जम्माजम्मी नौ वटा खाग बेचेको स्वीकार गर्यो।
अनि भन्यो– ‘हरिले राजाको हेलिकप्टर चलाउने बाराको पाइलट रमेश भन्नेलाई लगेर खाग दिन्थ्यो।’
समनबहादुरबाट एकदमै महत्वपूर्ण सूचना पाएपछि म त्यसैत्यसै फुरूङ्ग भएँ। खागको तस्करी कोबाट र कहाँबाट हुन्छ, जनतालाई देखाउन पाइने
भयो भनेर मक्ख परेँ। अनि त्यहाँ उपस्थित स्टाफहरुलाई भनेँ– ‘यसले भनेको कुरा कतै लिक नहोस् है; त्यो रमेश भन्नेको कानसम्म यो सूचना नपुगोस्।’
त्यसपछि हामीले उसलाई थुनुवाकोठाभित्र राख्न भन्यौँ र आ–आफ्नो कोठातर्फ लाग्यौँ। राति उसले खाना खाएनछ। भोलि विश्वकर्माको पूजा
भएकाले आज व्रत बसेको रे भन्ने खबर आयो। मैले ‘ठीकै छ त्यसो भए’ भनेँ। उसको कोठामा पाँच–छ जना थुनुवा थिए।
भोलिपल्ट बिहान करिब चार बजेतिर गेमस्काउट पहुवारी यादवले हडबडाएको
स्वरमा ‘सर, सर’ भनेर बोलायो।
मैले ब्युँझेर ‘किन?’ भनेँ।
उसले भन्यो– ‘सर, हिजो ल्याएको मान्छे त झुन्डिएछ।’
म हडबडाउँदै उठेँ। एकदमै नमज्जा लाग्यो। अति चिन्तित हँुदै कपडा लगाएर थुनुवाकोठातर्फ लागेँ। ढोका उघारेर हेरेँ— झुन्डेको झुन्ड्यै थियो।
नजिकै गएर हेरेँ— मृत्यु भैसकेको रहेछ। जिउँदै छ कि भन्ने मेरो झीनो आशा निराशामा परिणत भयो।
मैले त्यो कोठाका अरु थुनुवालाई सोधेँ– ‘कसरी भयो त यस्तो?’
कान्छालालले भन्यो– ‘बेलुका तपाईंहरुले कोठामा ल्याएपछि उता फर्केर सुतेको थियो। म बिहान पिसाब फेर्न उठेर ढोका खोल्दा त झुन्डिएको रहेछ।
त्यो देखेर डराउँदै अरु साथीलाई उठाएँ अनि ढोका ढकढक्याएर उहाँ सर (पहुवारी) लाई बोलाएको हुँ।’ चिफ वार्डेन भट्ट सौराहामा हुनुहुन्थ्यो। फोनबाट जानकारी दियौँ। उहाँले सीडीओ र एसपीसँग कुरा गर्नुभएछ; पुलिसको टोली आइपुग्यो। आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणका लागि भरतपुर लगियो।
मैले वीरेन्द्र अटो वर्कसपका जितबहादुर लामालाई फोन गरेर समनबहादुरको परिवारलाई खबर गरिदिन भनेँ। उसका आफन्त आएर शव बुझेर लगेछन्। हामीले किरियाखर्च र सद्गत गर्नलाई केही रकम उपलब्ध गरायौँ। यसरी एउटा ठोस प्रमाणको दुःखद अन्त्य भएकामा म सार्है चिन्तित थिएँ। बडो दुःख र कष्ट गरेर तस्करीका नाइकेहरु विरूङ भेटिएको प्रमाण हातैबाट फुत्किएकामा मलाई थक्कथक्क लागेको थियो। आफ्नो कस्टडीमा लिएको मान्छेलाई जोगाउन नसक्नु हाम्रो ठूलो कमजोरी थियो।
यो घटनाले गर्दा विरोधीले हामीमाथि औँला ठड्याउने मौका प्राप्त गरे। मलाई लाग्यो— रवि पाख्रिनलाई सुरूमै उसका सामु राखेर कुरा गर्नुपर्नेमा हामीले पहिले उसलाई मात्र एक्लै राखेर सोध्नु गल्ती भएछ। आफूले कुरा नबताएपछि अकस्मात् रविलाई सामुन्ने ल्याइएकाले उसलाई आफूविरूङ अरु के–के हुने
हो भन्ने अत्यास लाग्यो होला। अनि यसै नहुने उसै नहुने, बरू मरिदिन्छु भन्नेतर्फ मन गयो होला। आफ्नो प्रतिकूलता देखेर उसले मन सम्हाल्न
सकेन होला।
समनबहादुर वास्तवमा धेरै पहिलेदेखि गैँडाको चोरी सिकारमा लागेको थियो। यसभन्दा पहिले पनि गैँडा केसमा जेल बसेको थियो। उसको बाबु पनि यही पेसा गथ्र्यो। कुख्यात तस्कर गुणराजलाई खाग दिने मान्छे थिए उनीहरु। गैँडा मारेर पैसा कमाउन उसलाई बाबुले नै सिकाएको थियो। गैँडा मार्न बन्दुक पनि आफैँ बनाउने समनबहादुरको संयोगवश विश्वकर्मा बाबाको पूजाको दिन नै अवसान भएको थियो।
उसको मृत्यु भएपछि उसले भनेको मान्छे हरि विकलाई खोज्न आफू नगएर मैले अरु स्टाफलाई अर्हाएँ। चिफ वार्डेनले पनि मलाई ‘अब केही समय
आराम गर्नुस्’ भन्नुभएको थियो। उनीह?ले हरिलाई बाराको सिमरानजिकै मोटरसाइकलमा कतै जाँदै गरेको अवस्थामा भेटेछन्। तर पक्रन लाग्दा ऊ
मोटरसाइकल हुत्याएर टाप कसेछ। ऊ सिमराको एउटा रेस्टुराँमा खाजा खान आएको छ भन्ने थाहा पाएर अलिक दिनपछि हामी पाँच जना त्यहाँ पुग्यौँ। तर ऊ रेस्टुराँसामु एक छिनरोकिएर मोटरसाइकलबाट झर्दै नझरी हुइँकियो। हामीले पछ्याउँदा पनि भेट्न सकेनौँ। यसरी ऊ दुई पटक हाम्रो हातबाट फुत्कन सफल भयो।
प्रतिक्रिया दिनुहोस